रक्सी पिउने श्रीमान्, हिंसा भोग्ने श्रीमती


प्रकाशित मिति :2019-05-23 09:48:02

-मेनुका ढुंगाना-

श्रीमान् भारत रहँदा २२ वर्षीया पवित्रालाई श्रीमानश्रीमती सँगै सुखदुःख बिताउने रहर थियो । उनको रहरमा श्रीमानले पनि मलजल गरे । २०७० सालमा पवित्रालाई अछामबाट भारतमै बोलाए । श्रीमानले पनि बोलाएपछि २ छोरी लिएर सुखद सपना सजाउँदै उनी भारत गइन् ।

उनको सुखको दिन जीउने सपना भने लामो समय टिकेन । श्रीमान भएठाउँ पुगेको तीन महिनादेखि नै श्रीमानले कुटपिट गर्न थालेको पवित्राले बताईन् ।

मदिरा सेवन गर्ने उनको श्रीमानले लगातार यातना दिन थालेपछि पवित्राले सहन सकिनन् । अन्ततः भारत पुगेको ३ वर्षपछि नेपाल फर्किइन् ।

भारतबाट फर्किएपछि २ छोरी सहित माइतीको सहारामा छिन् । ‘जँड्याहा श्रीमान भएपनि दुई छोरी च्यापेर दुःख सहेरै बसेकी थिएँ । मैमाथि अनेक शंका गरेपछि ज्यान जोगाउन भागेर माइतीको सहारामा आउनु पर्यो’ उनले भनिन् ।

पवित्रा अहिले मजदुरी गर्छिन् । त्यसैको कमाइले दुई छोरी पढाउन थालेकी छिन् । उनले मंगलसेनको जिल्ला प्रहरी कार्यालयमा श्रीमानले मदिरा सेवन गरी कुटपिट गरेको भन्दै एक वर्षअघि उजुरी दिइन् । प्रहरीको रोहवरमा छलफल भयो । छलफलमा मिलेर बस्ने सहमति पनि भयो । तर, घर जाँदा आफू सुरक्षित हुनेमा ढुक्क छैनन् । त्यसैले आजसम्म निर्धक्क घर फर्किन सकेकी छैनन् ।

०००

रामारोशन गा गाउँपालिका ७ की उर्मिला कक्षा ७ पढ्दा सोही विद्यालय पढ्ने किशोरसँग प्रेममा परिन् । उनीहरुको सम्बन्ध करिब ३ वर्षसम्म चल्यो ।

उनीहरुबीचको सम्बन्धबारे घरपरिवार र साथीहरुले पनि थाहा पाए । दुबै किशोर किशोरीलाई आफूबीचको सम्बन्ध गाउँमा थाहा भए आउने प्रतिकृयाको लाजले थिच्यो । लाज जोगाउने उपायस्वरुप उनीहरुले कक्षा १० पुरा नहुँदै २०६९ साल मंसिरमा प्रेम विवाह गरे ।

विवाहको ३ महिना पछि उर्मिलाको किशोर श्रीमान कमाउन भारत पसे । श्रीमान भारत गएपछि उर्मिलालाई लाग्थ्यो, ‘जति टाढा माया गाढा’ । तर, उनको जीवनमा गाढा भएन माया ।

सेफ हाउसमा बसेका हिंसा प्रभावित महिला । 

श्रीमानसँगको दुरी बढ्यो तर माया झनै घट्दै गयो । घरको कामले थिचिएकी थिइन् उर्मिला । श्रीमानले पनि ८ महिनासम्म त सम्पर्क गरिरहेका थिए । ८ महिना पछि सम्पर्क बन्द भयो ।

उर्मिला भने श्रीमानको प्रतिक्षा गरिरहिन् । ४ वर्ष पछि श्रीमान घर त आए, सँगै ल्याए अर्की पनि विवाह गरेको खबर । घरमै सौता नल्याएकोले खबर साँचो होकी होइन सोधीखोजी गर्दा श्रीमानले कुट्न थाले ।

उनका अनुसार श्रीमानले अपहेलना गर्न थालेपछि परिवारका अरु सदस्यले पनि घरबाट निस्किन दबाब दिन थाले । घरमा बस्नै नसक्ने भएपछि २०७१ भदौमा उनले घर छोडिन् । माइतीको सहारामा नजिकैको प्रहरी चौकीमा उजुरी दिइन् । त्यहाँ मिल्ने सहमती भयो । तर सम्बन्ध दिगो रहन सकेन ।

घर छोडेपछि ३ वर्षयता उर्मिला मंगलसेनको एक सुरक्षित आवास गृहमा छिन् । प्रहरी र अधिकारकर्मीको सल्लाह अनुसार आवास गृहमा बसेको उनले बताइन् ।

०००

मंगलसेन नगरपालिका ११ की ३५ वर्षीया रम्भालाई श्रीमानले जहिले मदिरा सेवन गरेर कुटपिट गर्थे । पटक पटक दोहोरिने कुटपिटको कहिले गाउँमै त कहिले प्रहरीको रोहबरमा मिलापत्र पनि भइरहन्थ्यो ।

रम्भाका अनुसार उनी ४ पटकसम्म जिल्ला प्रहरी कार्यालय मंगलसेनमा न्यायका लागि पुगिन् । प्रहरीले घरेलु झगडा हो भनि मिलापत्र गर्दै पठायो । न्याय माग्न जाँदा मिल्न दबाब आएपछि श्रीमानसँग छुट्टिएर बस्नुको बिकल्प नभेटिएको उनले बताइन् ।

अन्ततः उनले पनि घर छोडिन् । मंगलसेनको सुरक्षित आवास गृहमा आइन् । त्यहाँ एक महिना बसिन् । मनोपरामर्शकर्ताबाट परामर्श पाइन् । आफैं केहि गर्नसक्छु भन्ने अठोट बोकिन् र घर फर्किइन् । सुरक्षित आवास गृहमा बस्दा सिलाकटाइ सिकन् र अहिले सिलाइ कटाइ गरेर जीवन निर्वाह गर्दै आएकी छिन् ।

०००

मदिराकै कारण, हिंसामा परेर घर नै छोड्न बाध्य हुने पवित्रा, उर्मिला र रम्भा प्रतिनिधि पात्र मात्र हुन् ।

मदिराको कारण घरभित्रै हुने हिंसा त कयौं छन् । तर निकै कम मात्रै प्रहरीसम्म पुग्छ । अछाममा पा“च वर्ष यता मदिराकै कारण २२ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्क छ ।

समाजमा हुने हत्या, आत्महत्या र कुटपिट लगायतका अधिकांश घटनाका पछाडि मदिरा जोडिएको अछामका प्रहरी प्रमुख डिएसपी जनक शाहीले बताए ।

‘प्रहरी कार्यालयमा आउने मुद्दा मध्ये धेरैजसो घटना मदिरा सेवन गरेकै कारण भएका हुन्छन् ।’ डिएसपी शाहीले भने, ‘मदिरा सेवन गरेर मातेको अवस्थामा ज्यान नै लिने गरी भएका यस्ता घटनाले अछामबासी हैरान भएका छन् ।’

थप मारमा बालबालिका

मदिराको कारण महिला मात्रै होइन अबोध बालबालिका समेत जोखिममा पर्ने गरेका छन् । मदिरा सेवन गरेर श्रीमतीको हत्या गरी श्रीमान जेल जाने कारण बालबालिका बिचल्ली भएका छन् ।

२०७४ माघमा कमलबजार नगरपालिका ५ का ३५ वर्षीय केशव खड्काले ३० वर्षीया श्रीमती पवित्रा खड्कालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरे । आमाको हत्या गरेर बावु जेल गए ।

जेल गएपछि ४ छोराछोरीको बिचल्ली भएको छ । केशवले मदिरा सेवन गरेर जग्गा समेत बेचेकाले उनका बच्चा कसरी पढाउने भन्ने चिन्ताले आफन्तलाई सताएको छ ।

उनकी १२ वर्षीय जेठी छोरी निर्मला बुबाले घरमा मदिरा सेवन गरेर खान बस्नै नदिने भएपछि आफन्तको सहारामा गत पुसमा नै कैलाली गइसकेकी थिइन् ।

घरमा झगडा भएर घर कमजोर हुँदा बालिका यौन हिंसामा पर्ने, छिमेकीले हेप्ने जस्ता घटना पनि घट्ने गरेका छन् तर उजुरी भने नआउने डिएसपी शाही बताउँछन् ।

कतिपय मान्छेको स्वभाव राम्रो चाहने र नचाहने दुवै हुन्छ । सामाजिक मूल्य मान्यताका कारण नशामा नहु“दा बोल्न नसकेका विषयमा मदिरा सेवन पछि उत्तेजित भएर बोल्ने, विभिन्न घटना गराउने बयालपाटा अस्पतालका डाक्टर विकास गौचन बताउ“छन् ।

डाक्टर गौचनले भने ‘कतिपय मान्छेले मदिरा सेवन गर्यो भने सामाजिक मूल्य मान्यता बिर्सन्छ । गलत प्रवृति र मानसिकतालाई दबाउन सक्दैन ।’ गौचनका अनुसार बढी रक्सि पिउ“दै जाँदा उसको मानसिक सन्तुलन सामान्य अवस्थाभन्दा फरक हुन्छ । त्यसकारण पनि मदिरा सेवनपछि धेरै घटना हुने गरेका छन् ।

नियमन बिना मदिरा खरिद बिक्रीे

मदिराले अछाम बिग्रन थालेको भन्दै २०४४ सालमा नै मदिरा विक्रीवितरण पुर्णरुपमा बन्द गरिएको थियो । तर लुकीछिपी मदिरा जिल्ला भित्रने थाल्यो । घरेलु मदिराको उत्पादनमा पनि कुनै नियमन भएन ।

त्यसपछि यहा“का राजनीतिज्ञ, व्यापारी र सरोकारवालाको सहमतिमा २०६८ सालदेखि खुलारुपमा मदिरा बिक्री वितरण हुन थाल्यो । तत्कालिन जिल्ला विकास समितिको जिल्ला परिषद चलिरहेको बेला व्यापारीको समूह मदिरा खोल्ने पक्षमा भएकाले मदिरा विक्रिवितरण खुला गरिएको सरोकारवाला बताउँछन् ।

‘मदिरा ऐन २०३१ अनुसार मदिरा बिक्रीवितरण गर्न पाउनुपर्छ भन्ने आन्दोलन उद्योग वाणिज्य संघले गरेको हो ।’ तत्कालिन उद्योग वाणिज्य संघ अछामका अध्यक्ष चन्द्रप्रसाद ढुंगानाले भने ‘आन्दोलन पछि तत्कालिन प्रमुख जिल्ला अधिकारी, राजनीतिक दललगायतको उपस्थितीमा इजाजत लिएर कानुन अनुसार बिक्री वितरण गर्ने सहमति भएको हो ।’

एक किलो चामल उधारो नदिने व्यापारीले प्रत्येक दिन पुरुषलाई

उधारो रक्सी दिन्छन् । 

उनका अनुसार कानुनले नै बन्देज गरेको घरेलु मदिरा खुला गर्ने सहमति भने भएको होइन । कोष तथा लेखा नियन्त्रक कार्यालय अछामको तथ्यांक अनुसार अछाममा १ हजार २ सय ७४ जनाले मदिरा बिक्री वितरणका लागि इजाजत पत्र लिएका छन् ।

कतिपयले नविकरण नै गरेका छैनन् । व्यवसाय दर्ता नगरी र अवैध तरिकाबाट मदिरा बिक्रीवितरण गर्ने पनि धेरै छन् । तर जिल्लामा कति मदिरा खपत हुन्छ भन्ने तथ्यांक कसैसँग छैन ।

स्थानीय तहले नियन्त्रण गर्न सकेन

जिल्ला समन्वय समितिको आयोजनामा मंगलसेनमा १० वटै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवालाको २०७५ मंसिरमा बैठक बसेको थियो ।

बैठकले मदिरा ओसारपसार, बेचबिखन, सेवन नियन्त्रण तथा नियमन साझा प्रतिबद्धता २०७५ तयार पारेको छ । जिल्लामा न्यून गुणस्तरको मदिराको ओसारपसार, वेचविखन, व्यवस्थापन स्थानीय तहले नीति बनाइ नियन्त्रण गर्ने, घरेलु मदिराको उत्पादन, ओसारपसार तथा वेचविखनलाई निरुत्साहित पार्ने गरी त्यहि बेलादेखि अभियानको सुरुवात पनि गरेको हो । तर, अहिलेसम्म कार्यान्वयन भने हुन सकेको छैन ।

मदिरा बिक्रेताले सा“झ ६ बजे देखि ८ बजेसम्ममा मात्र मदिरा बिक्री गर्न पाउने विद्यालय र सार्वजनिक स्थलसँगै जोडिएर बिक्री वितरण नगर्ने लगायत साझा प्रतिबद्धता पटक/पटक जनाउने गरेको जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवर बताउँछन् ।

मदिराको कारण महिला मात्रै होइन अबोध बालबालिका समेत जोखिममा पर्ने गरेका छन् ।

मदिरा सेवन गरेर श्रीमतीको हत्या गरी श्रीमान जेल जाने

कारण बालबालिका बिचल्ली भएका छन् ।

साझा प्रतिबद्धता विपरित मदिरा ओसारपसार, बिक्रीवितरण गरेमा स्थानीय तह र स्थानीय प्रशासनले मदिरा जफत लगायत तोकिए अनुसार जरिवाना गर्न सक्ने निर्णय पनि भएको थियो । तर अहिलेसम्म कसैलाई पनि जरिवाना भएको छैन ।

टोल/टोलसम्मै मदिराको बिगबिगी बढेकाले मदिरा सेवन गरेकै कारण महिला हिंसाका घटना बढ्दै गएको मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा बताउँछन् । ‘निर्वाचित भएर आइसकेपछि पहिलो पटक नै मदिरा व्यवस्थापन गर्ने निर्णय गरेका हौं ।’ उनले भने ‘हालसम्म कार्यान्वयन गर्न सकिएको छैन ।’ मदिरा रोक्ने पहल भइरहेको बोहोराले बताए ।

स्थानीय निकायबाट पहल नभएपछि यहाँका महिलाले भने अभियान थालेका छन् । पहिलोपटक पुरुषलाई नै समूहमा राखेर मदिरा विरुद्ध अभियान सुरु गरेको मंगलसेन ५ पिपलतोलिका मदिरा व्यवस्थापन समितिका अध्यक्ष प्रमिला ढुंगानाले बताइन् ।

उनले भनिन्, ‘हामीले पहिले पनि एकजुट भएर मदिरा विरुद्ध अभियान सुरु गरेका हौं । तर पुरुषले साथ दिएनन् । त्यतिखेर हामी सफल हुन सकेनौं अहिले आवाज बलियो बनाउँदैछौ ।’

पुरुषले रक्सी खाँदा नगद दिनु पर्दैन । ‘एक किलो चामल उधारो नदिने व्यापारीले प्रत्येक दिन पुरुषलाई उधारो रक्सी दिन्छन् । हामीलाई पत्याउँदैनन् ।’

अभियानमा सक्रिय मंगलसेन ५ कि कीडी ढुंगानाले भनिन्, ‘रक्सी खाएर घरमा भएको सबै सम्पत्ति पनि सके । प्रत्येक मदिरा पसलमा उधारो बनाएर मेरा श्रीमान्को मृत्यु भयो ।’ अब छोराको लागि असल समाज निर्माण गर्ने उनको योजना छ ।

न्यायिक समितिमा गोपनियता नहुने डर

मदिरा सेवन गरेर कुटिने हुन या घर झगडा परेर न्याय खोज्ने हुन । सबै महिलालाई एउटै समस्या छ न्याय माग्ने ठाउ“ । अहिले स्थानीय निकायमा न्यायिक समिति त गठन गरिएको छ तर त्यो प्रभावकारी हुन सकेको छैन ।

मंगलसेनकी रुपा विकले श्रीमान्ले वेवास्ता गर्ने गरेको, परिवारलाई समय दिन नसकेको र अन्य पारिवारिक समस्या भएकाले श्रीमानबाट छुट्टिएर बस्नको लागि न्यायिक समितिमा उजुरी दिइन् । उजुरी परेपछि न्यायिक समितिले दुवै पक्षलाई बोलायो ।

उपप्रमुखको कार्यकक्षमा नै छलफल गर्नुपर्यो गोपनियता कायम नहुने भएकाले टुंगोमा पुगेन । ‘श्रीमान् श्रीमतीका गोप्य कुरा पनि विवाद चर्किदा बाहिर आउ“थे । दुई पक्षबीच भनाभन र कुटाकुट समेत हँुदा गाह्रो भयो’ उपप्रमुुख सरिता उपाध्यायले भनिन् ।

यहा“ धेरै श्रीमान श्रीमतीका मुद्दा आउ“छन् । यौनका विषय र अन्य पारिवारिक विषयमा खुल्ला छलफल गर्दा गोप्य रहँदैनन् । ‘इजलासको त के कुरा, आपंmंै बस्ने ठाउ“ त छैन । कसरी काम गर्न सकिन्छ ?’ सरिताले भनिन् ।

गाउ“पालिकाको नया“ भवन नबनेको र पुरानैबाट काम चलाउ“दा असजिलो वातावरणमा काम गर्नु परेको उनको भनाइ छ । मंगलसेनको न्यायिक समितिमा अहिलेसम्म १० वटा मुद्दा दर्ता भएका र ६ वटा मुद्दा मौखिक रुपमा मिलाइएको उनले बताइन् ।

दश स्थानीय तहमध्ये बान्निगढी जयगढ गाउ“पालिका र मेल्लेख गाउ“पालिकामा उपाध्यक्ष पुरुष नै भएकाले उजुरी निकै कम आउने गरेका छन् । ‘स्थानीय न्यायिक समितिमा उजुरी निकै कम आउ“छन् । महिला हिंसासम्बन्धी उजुरी त आएकै छैनन् ।’ बान्नीगढी जयगढ गाउ“पालिकाका उपाध्यक्ष लोकबहादुर साउदले भने ‘जति आए ती सबै जग्गा विवादका उजुरी हुन् ।’

समितिमा न्यायिक कार्यसम्पादन सम्बन्धी विज्ञ नहु“दा कानुनी जटिलता देखिएको जिल्लाका सबै न्यायिक समिति संयोजकको तर्क छ । समितिका पदाधिकारीमा समेत कानुनी ज्ञान अभावले विवाद समाधानमा ढिलाइ हुने गरेको छ । यसले गर्दा महिलाले झन् हिंसा खेप्दै आएका छन् । – समाचारमा उल्लेख हिंसा प्रभावित महिलाको नाम परिवर्तित हो ।

(पत्रकार मेनुका ढुंगाना कान्तिपुर दैनिकको लागि अछाम संवाददाता हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: