विहेको हप्ता दिन नहुँदै विदेशले तान्यो श्रीमान्


प्रकाशित मिति :2019-05-09 12:49:48

-उमा पौडेल- 

सिन्धुली । ज्यान फतक्क गलेको छ । निन्द्रा लागेकै छैन । थकाइले लखतरान छु । आँखा लोलाउन खोज्छ तर, लोलाएका आँखालाई उथुलपुथुल भएको मनले जितेको छ । अल्छिलाई जित्दै जुरुक्क उठ्यो जुर्मुराएको मन । मनले जितेपछि त्यही अनुसार मष्तिस्क पनि तयार भए । अनि कोरियो यी मनैले कोरे यी अक्षरहरु ।

यी अक्षरहरु तीनका भोगाइ हुन्, जसले श्रीमानसँग विवाहको उमंग पाँच दिनपनि बाँड्न पाएनन् । जीवनसाथीलाई नजिकबाट बुझ्नै भ्याएनन् । कसैको त विवाहको रीत मानिने ‘दुलन’ समेत फर्काउन पाएका छैनन् । श्रीमानलाई वैदेशिक रोजगारीले तान्यो । उनीहरु बेतलबी कामदार झैं श्रीमानको घर धानिदिएर गनिरहेका छन् श्रीमान घर फर्किने दिन ।

विहेको डेढ वर्षमा पनि दुलन फर्काउन पाएको छैन

  •  मीना

१९ वर्षको भएँ । विवाह भएको डेढ वर्ष भयो । परिवारमा सासू ससुरा सहित ६ जना छन् । माईती काभ्रे, घर मरिण, सिन्धुली । विवाहको पर्सिपल्ट श्रीमान साउदी जाउनुभयो । विवाहको २ दिनमात्रै सँगै बस्यौं । श्रीमान् साउदीमा स्काफफोल्डिङ्ग कामका गर्नुहुन्छ । उहाँको श्रम अवधी ३ वर्षको छ । अब डेढ वर्षपछि मात्रै ३ वर्ष पुग्छ । श्रीमानसँग बिताएको विवाहपछिको २ दिन सम्झिएर दिन बिताउँदैछु ।

विवाहअघि विदेश जाने कुरा मलाई थाहै थिएन । विवाहको पहिलो रातमै श्रीमानले पर्सिपल्ट विदेश जाने सुनाउँदा अत्यास मात्रै लागेन । राती नै भागेर माइती जाउँ जस्तो लागेको थियो । विवाहको बेला कक्षा १० पढ्दै थिएँ । विवाहपछि पढाइको लागि माइतीमै बस्ने कुरा थियो । तर, त्यस्तो भएन ।

म विहे भएदेखि श्रीमान्कै घरमा छु । हाम्रोतिर विहेपछि श्रीमान्सँग दुलन फर्काउन जाने चलन छ । मेरो त श्रीमान घर हुनुहुन्न । एक्लै माइती जाँदा गाउँलेले के भन्लान् भनेर माइती जानपनि सकेको छैन ।

जो भनेर विवाह गरेर आएँ, उही विदेश गयो । सासू,ससुरा, नन्द देवरहरुसँग बोल्नै डर लाग्छ । कसरी हाँसीखुसी बस्नु ! कहिलेकाहीँ श्रीमान्सँगै साउदी जानपाए हुने जस्तो लाग्छ ।

तर, साउदीमा त्यस्तो हुँदैन रे । श्रीमानले कमाएको पैसा सबै सासूको नाममा पठाउनुहुन्छ । श्रीमानले महिनामा ५ हजार दिनु भन्नुभएको छ, त्यही अनुसार सासूआमाले खर्च दिनुहुन्छ ।

श्रीमानले आम्दानी परिवारमा पठाएकोमा मलाई गुनासो छैन । तर, एक्लै बिताउनु परेको जिन्दगीप्रति भने गुनासो छ । मलाई चित्त नबुझेका अरु कुरा पनि छन्, ‘श्रीमान्का परिवारले फर्निचरको काम गर्ने मान्छे हो’ भनेर पर्सिपल्ट विदेश जाने मान्छेसँग विवाहको कुरा छिने । विवाहपछि पनि पढाउने भनेका थिए अहिले घर सम्हालेर बस्नु परेको छ ।

श्रीमानसँग पोखरा घुम्नजाने रहर थियो । त्यो पनि पाइन । विवाह भएपछि परिवार कसरी चलाउने भनेर त दुबैजना मिलेर निर्णय गर्न सकिन्थ्यो नि ! । मलाई यति छिटै छाडेर विदेश जानुपथ्र्यो र ?

मनै बाटभन्दा भन्दा, श्रीमान् र उनको परिवारप्रति रत्तिभर माया छैन । जबरजस्ती जीवन चलारहेको छु । विवाह भनेको महिलाको लागि बन्धन रहेछ ।

थाहै नदिइ विहेको पाँचौ दिनमा श्रीमान् विदेश

  •  हेमकला (२२)

श्रीमान् कतार हुनुहुन्छ । घर कमलामाई नगरपालिका हो । श्रीमानको नाम महेश । मेरो विवाह गएको फागुनमा भएको हो । श्रीमान् विदेश जानुभएको ४ महिना भयो । विहेको ५ दिनपछि कतार जानुभयो ।

विवाहपछि श्रीमान् विदेश जाने थाहा थियो । तर, पाँच दिनमै उँड्छन् भन्नेबारे थाहा थिएन । श्रीमान्ले विवाहको १÷२ वर्षपछि विदेश जाने भन्नुभएको थियो । विवाहको पर्सिपल्ट सँगै माइती गएर फर्कियौं ।

चौथो दिनमा ‘काठमाडौंमा सानो काम छ’ भनेर हिँड्नुभएको थियो । त्यसपछि सम्पर्क नै भएन । घर छोडेर हिडेको १० दिनमा श्रीमान् विदेश जानुभएको सासूबाट थाहा भयो । एक्कासी श्रीमान् विदेश गएको सुन्दा छाँगाबाट खसेजस्तो भएँ ।

श्रीमानले विदेश पुगेको पर्सिपल्ट मात्रै विदेशको नम्बरबाट फोन गर्नुभयो । त्यतिवेला मलाई सासुले मेस विदेश गएको भनेर सुनाई सक्नुभएको थियो मैले श्रीमान्सँग भन्दै नभनी विदेश गएकोमा गुनासो गरें । आक्रोश पनि पोखें । श्रीमान्ले उल्टै धम्काउनुभयो – ‘मलाई तनाव नदे, चुप लागेर बस ।’ म केही बोल्नै सकिन ।

हिजोआज हप्तामा एकपटक जस्तो फोन गर्नुहुन्छ । केही गुनासो गरे गाली गर्नुहुन्छ भन्ने डरले आफ्नो केही कुरा भन्नै सक्दिन । सोधेको प्रश्नको उत्तरमात्रै दिन्छु ।

श्रीमान विदेश गइसक्नुभएको थियो । त्यतिबेला विहे गरेको २ महिना भएको थियो । मलाई एक्कासी रगत बग्यो । महिनावारीको समय पनि थिएन । आत्तिएँ । तर,सर्लाहीमा हुनुभएको बुबाआमासँग दुखेसो गर्न मन लागेन । घरमा सासू ससुरालाई भन्दा सहयोग भन्दा बढी लान्छाना सहनुपर्ने डरले केहि भन्न सकिनँ । त्यतिबेला आफ्नो बच्चा खेर गएको जस्तो लाग्यो ।

श्रीमान्ले विदेश गएदेखि कतिपनि खर्च पठाउनुहुन्न । विहेमा टीका लगाएर दिएको पैसाले आफ्नो खर्च धानेकी छु । लोग्नेले यत्रो झुट बोल्दा, बेवास्ता गर्दा, खर्चबर्च नहेर्दा, परिवारले माया नगर्दा कसैले देखेका छैनन् ।

मैले भोली अर्को विवाह गरें वा पेशा व्यवसायका लागि बाहिर गएँ भने समाजले नै नराम्रो भन्छ । श्रीमानले जस्तो व्यवहार गरेपनि उनलाई नै कुरेर बस्ने अठोट गरेको छु ।

श्रीमान नहुँदा मेकअप किन ?

  • अंकिता (२४)

मेरो श्रीमानको नाम सन्तोष हो । हाम्रो घर हरिहरपुरगढी गाँउपालिकामा पर्छ । हामी एकअर्कालाई माया गथ्र्यौं । उहाँको विदेशको प्रोसेस गरेको थाहा थियो । विदेश जाने पक्का भएको तीन दिनअघि भागेर विहे गर्यौं ।

मेरो विवाहको उमेर पुगिसकेकाले परिवारमा कुरा चलिरहन्थ्यो । मैले सन्तोषसँगको प्रेम भन्न सकिन । उ विदेशबाट फर्किदासम्म परिवारले करकापमा मेरो विवाह गरिदिने डर लाग्यो र सल्लाहमा भागेर विवाह गर्यौं ।

विवाहअघि नै हामीले काठमाडौंमा कोठा खोजेका थियौं । सन्तोष विहेको ३ दिनमा विदेश गए । त्यसपछि म कोठामा बस्न थालें ।

सन्तोषले परिवारमा विवाह गरेको भनिसकेकाले १ महिना काठमाडौं बसेर श्रीमान्को घर फर्किएँ । श्रीमान्ले महिनामा ४० हजार रुपैयाँ पठाउनुहुन्छ ।

हामी दुईजनाको सम्बन्ध राम्रो छ । तर, श्रीमान नहुँदा मेकअप गरेपनि नचाहिने शंका गर्ने र हेछन् । विहेपछि सिन्दुर, टिका, पोते, चुरा लगाउने त सामान्य नै हो नि ! गाउँ फर्किएपछि एकदिन सासूले ‘लोग्ने घरमा छैन, कस्को लागि अनुहारभरी पोतेर बस्छेस् ?’ भन्नुभयो ।

‘श्रीमान् नभएको बेला मेकअप’ भन्दै छिमेकीहरु पनि कुरा काट्छन् । सबैको नराम्रो हुनुभन्दा बरु आफू नै नराम्री भएर बस्छु । कहिले श्रीमान् आउँलान् र उनीसँगै राम्री बनेर हिँडौ जस्तो लागेको छ ।’

महिलाका कुरा सुनिसकेपछि एकपटक पढेको ट्रक साहित्य झल्झली याद आयो– देशमा बसौं बेरोजगारीको चाप, विदेश जाउँ श्रीमती टाप ।
यसको जवाफ मनमै कोरें – ‘खै त श्रीमतीलाई घर बस्ने आधार ? श्रीमानका परिवार बुहारीप्रति बन्नुपर्दैन समझदार ?

(पात्रहरुको नाम परिवर्तन गरिएको छ । )  

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: