उपहार के दिऊँ आमा ?


प्रकाशित मिति :2019-05-03 14:46:22

आमा ! यो मातातीर्थ औंशीमा तपाईंलाई के उपहार दिऊँ ?’ अघिल्लो दिन साँझ फोनमा सोधेँ ।

‘खै के दिन्छस् र ? बैशाख चल्दै छ, आफै बुझ न’ आमाले मिठो मजाक गर्नुभयो ।

आमासँग यस्ता मजाक भइरहन्छन् । मैले आजसम्म आमालाई केही दिएको छैन । यो मातातीर्थ औंशी अर्थात् म जन्मिएपछिको २५ औँ मातातीर्थ औंशीमा पनि आमालाई ठोस बस्तु दिइहाल्न सक्ने अवस्था छैन ।

–बिरोध खतिवडा–

घरबाट म टाढा छु । मैले केही दिन सक्छु भने अधिकांश आमाका सन्तान (छोराहरु)ले जस्तै बिहानै एक कल फोन, सामाजिक सञ्जालमा आमाको महानतामाथि व्याख्या गर्दै चार पंक्तिको पूर्वतयारी विचार । त्यसको मुन्तिर आमाको एउटा तस्वीर ।

आजकल त आमाको मुख पनि तस्वीरमा हेरिन्छ । अझ भनौँ अरूलाई देखाइन्छ, त्यो पनि वर्षको एकदिन । आमालाई न म केही दिन्छु न आमा माग्नु नै हुन्छ । मैले खाए आमा अघाउनुहुन्छ, म मुस्कुराए आमाको मुहार उज्यालो हुन्छ । अरू आमाहरूलाई जस्तै हाम्री आमालाई सन्तानले ‘राम्रोसँग गरिखाइदिए’ पुग्छ ।

आफ्ना सन्तान टाढा नहोउन् । सुखमा पनि दुःखमा पनि आफ्नै आसपास आफ्नै वरपर रहिदिऊन् भन्ने चाहना कुन आमालाई नहुँदो हो र ! हामीबाट हाम्री आमाले चाहेको पनि त्यही त थियो ।

जीवनको बीसौं वसन्त पार गर्दासम्म आमाबाट टाढिएर बसेको थिइन । सेवा प्रवेश गरेर घर छोडेपछि आमालाई नमिठो लागेको थियो । बेरोजगारीको पीडाले जेलेको म जागिर पाएपछि आमाभन्दा कमै पिरोलिएँ ।

मैले आमाकै काखमा बसेर कक्षा १२ सम्मको पढाइ सकें । त्यसपछि बीबीए पढ्न महंगो खर्चमा घरबाट बिराटनगर गएँ । तर, डेढ वर्षमा उपलब्धी देखाउन नसकेको अवस्थामा घर फर्किएको थिएँ ।

डेढ वर्षको अवधीमा भएको खर्चको प्रतिफल शून्य भयो । त्यो समय बुबामा असन्तुष्टि पैदा हुनु सामान्य थियो । तर, आमाको मप्रति कहिल्यै असन्तुष्टि भएन, मैले महसुस नै गरिन ।

त्यो बेला मलाई लाग्थ्यो, आमाहरूको छातीमा पग्लिने भाग अलि बढी नै हुँदोरहेछ । यसको मतलब यो होइन कि आमाले केही नभनिदिएकै कारण मैले ममता र स्नेहको गलत फाइदा उठाइरहें ।

बरु आमा भित्रको ममताले मलाई बदल्यो । म यसरी बदलिएँ कि पहिलाको मभित्रको ‘म’ फेरिदै गयो । पढाइमा पहिलोपटकको असफलताले गाँजेको मलाइ त्यसको तनावबाट बाहिरिन झन्डै दुई वर्ष लाग्यो ।

मलाई सबैबाट एक्ल्याउने तुच्छ सोचलाई म केही हदसम्म धपाउन सक्षम भएँ । योबीचमा आमाले गर्नुभएको स्नेहयुक्त परामर्शले मलाई पुरानै दिनचर्यामा फर्किन धेरै सजिलो भयो ।

आमाको तरिका र मन्त्रहरू पनि कति अचम्मका हुँदारहेछन् । अध्यात्मभन्दा आदिम र विज्ञानभन्दा नयाँ मातृवात्सल्यले मेरो लगभग पुनर्जन्म नै भयो ।

सँधै अभाव र विपन्नतासँग संघर्ष गरिरहेको परिवारमा मेरो असफलता अझ एउटा ठूलो समस्या भयो । यसको असरबाट जतिसक्दो चाँडो माथि उक्सन मैले रोजगार हुनु थियो । त्यसैले मैले आजको बाटो रोजें ।

‘तैंले साह्रै अप्ठेरो बाटो रोजिस् । तँ हिंडेको बाटो गलत त पक्कै छैन । तर, अप्ठेरो भने अवश्य छ । चिताएको पुगोस्, नराम्रो नचिताउनू,’ भनेर आमाले सधैँ मेरा निर्णयहरूको स्वागत गरिरहनुभयो ।

’घर कहिले आउँछस् ?’ प्रत्येक टेलिफोन कुराकानीमा आमाले सबभन्दा बढी सोधिरहने प्रश्नको जवाफ म तत्काल दिइहाल्न सक्दिन । कामको प्रकृति नै त्यही प्रकारको छ कि छुट्टी कहिले र कतिदिन मिल्छ थाहै हुँदैन ।

‘मिलाएर आउँछु नि !’ आमाको दोहोरिरहने प्रश्नमा मेरो सँधैको रेडिमेड प्रतिक्रिया ।

उमेरले चार दशक नाघिसक्नुभएकी आमाको बढ्दो उमेरसँगै रोग पनि बढ्दै गइरहेको छ । सत्र वर्षको उमेरमा विवाह भएपछि अठारौं वर्षमा पहिलो सन्तान जन्माउनुभयो । त्यसपछि सुरू भएको आमाको पाठेघरको बिमारले पनि यो वसन्त ऋतुसँगै आफ्नो अठ्ठाइसौँ वसन्त पार गरिसकेको छ ।

त्यही समस्याले आमालाई च्याप्दै लगेको थाहा छ । तर, हामी सन्तानलाई आफ्नो पीडा केही पनि थाहा नहोस् भनेर हरेक पीडालाई भित्रभित्रै दबाएर राख्नुहुन्छ ।

तीस दिनको महिनामा बीस दिनभन्दा बढी त आमाको स्वास्थ्यमा समस्या आई नै रहेको हुन्छ । तर, आमाले कहिल्यै त्यसको आभाष हामीलाई नहोस् भनेर पीडा लुकाउने कोसिस गरिरहनुहुन्छ ।

भनिन्छ नि, ‘माया उँधै उँधै’ सायद त्यस्तै हुँदो हो आमाको माया पनि ।

आमाले मलाई गरेजस्तै माया म आमालाई पक्कै पनि गर्दिन होला ।

बुढ्यौलीतर्फ ढल्किरहेको यो उमेरमा पनि आमालाई आफ्नोभन्दा बढी चिन्ता हाम्रै लागिरहन्छ । ‘तँ घर आउँदै छस्, भन्ने सुन्नासाथ साह्रै रमाउनुहुन्छ मम्मी’ बहिनी सुनाउँछे ।

घरमा मिठो मसिनो पाक्दा होस् या चाडपर्व आउँदा, अगाडि हामी नभएसम्म आमाको गाँस निलिँदैन । म आज काममा फर्किन्छु भनेको दिन आमालाई त्यसै बिसन्चो जस्तो हुन्छ । त्यो दिन वहाँको अनुहार साह्रै मलिन देखिन्छ ।

‘आगो माग्न आएजस्तो मात्र गर्छस् त नानी ! आउनभन्दा जान हतार हुन्छ तँलाई पनि ।’ भनेर न्याउरो मुख लगाइरहनुहुन्छ ।

थाहा छैन, म घरबाट निस्किएपछि आमाले कसरी सम्हाल्नुहुन्छ आफूलाई अनि कसरी सम्हालिन्छु म पनि ? म निकै पर पुगुन्जेलसम्म म हिँडेको बाटो हेरिरहनु हुन्छ । तर, उहाँँलाई पछाडि फर्किएर हेर्ने हिम्मतसम्म गर्न सक्दिन म । पानी ओरालो मात्र बग्छ ।

माथिल्लो गरोको पानी तल्लोमा झर्छ तर तल्लो गरोको पानी माथिल्लो तलामा चढ्दैन । भनिन्छ नि, ‘माया उँधै उँधै’ सायद त्यस्तै हुँदो हो आमाको माया पनि । आमाले मलाई गरेजस्तै माया म आमालाई पक्कै पनि गर्दिन होला ।

‘आमा’ सबैका लागि महान हुन्छन् । मेरी आमा पनि मेरा लागि महान् हुनुहुन्छ । म वयस्क उमेरको भइसक्दा पनि स–साना कुराहरूको याद दिलाउने बानी छ आमाको । कहिलेकाहीँ सामान्य बिरामी परेर सुत्दा आमाको फोन आउँछ, ‘मेरो छाती चर्कियोे ! बिरामी परेको होला, कस्तो छ ?’ म छक्क पर्छु, कसरी थाहा हुन्छ हँ यस्तो कुरा आमालाई ?

जीवनहरु धर्तीमा आउँछन् । अस्तित्व लोप भएर पनि जान्छ । अनि तिनका अर्थहरु पनि सँगै लोप हुन पुग्छन् । आमा त सृष्टि हुन् । सिर्जनाकी प्रतिमूर्ति । त्यसैले आमा आफ्नो सिर्जनाको मलजलमा निरन्तर लागिरहन्छिन् ।

म साेच्छु, ‘आमामा प्रकृतिले त्यस्तो के भरिदिएको होला ? जो सदा सन्तानको निम्ति आफ्नो अस्तित्व नै मेटाउन पनि तयार हुन्छिन् । सन्तानकै पीडा व्यथा वेदनाहरूमा रुने वा चिन्तित हुने र सन्तानका सुखमा नै आफूलाई जीवन्त ठान्ने आमा । आफू भोकै नाङ्गै र अशक्त हुँदा पनि सन्तानकै चिन्तामा डुबिरहने आमा । सन्तानको उन्नतीमा आफैलाई भूलेर सुखानुभूति गर्ने आमा । साँच्चै कस्तो मन दिएको छ आमालाई विधाताले ?

सँधै सलेदो बनेर आफैँलाई जलाई सन्तानलाई उज्यालो दिइरहेका आमाहरूको योगदान अहो ! कति फराकिलो अनि उच्च छ आमाको ममता !

आमाको मायाको अगाडी मेरा उपहारहरु अर्थहीन लाग्छन् म स्वयंलाई । सायद त्यसैले आमासँग हरेक मातातीर्थ औंशीमा हुने वार्तालापको सुरुआत एउटै हुन्छ ।

म – आमा के उपहार ल्याऊँ ?

आमा – ‘खै के दिन्छस् र ?’ 

    Comment Here!

Related NEWS
मुख्य खबर

राजनीतिमा लैंगिक समानताः मिडियाको भूमिका के ?

क्यानेडियन राजदूतावासका उपराजदूत डेड्रि केन्टले सञ्चार माध्यमले असमान लैंगिक प्रतिनिधित्वको स्थितीलाई हटाउन र समाजको पुरातन

जातका आधारमा महिलालाई घर निकाला

–महिला खबर– आफूलाई कमिनी भन्दै घर निकाला गरेपछि सुशिलाले सासू, ससुरा र पति विरुद्ध शुक्रबार जिल्ला

महिला मन्त्री थापा केन्या प्रस्थान

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा हिजो आइतबार राती केन्या

महिलालाई चुनाव फलामको च्यूरा !

-सविता शर्मा- काठमाडौँ । सङ्घर्षका मोर्चाहरूमा अब्बल रूपमा भूमिका निर्वाह गरेका महिलाले निर्वाचनमा भने निकै असहज

सुत्केरीलाई उपाध्यक्षको कोसेली

उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: