कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवा नदिइने


प्रकाशित मिति :2019-04-30 10:44:57

–महिला खबर–

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवा नदिने भएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने जानकारी दिएका हुन् ।

धनगढीमा आयोजित ‘प्रदेश नीति र कुरीति’ विषयक पत्रकार महिलालाई अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन् ।

कानून मन्त्री शाहले भने, ‘नेपालको संविधानदेखि धर्मशास्त्रमा पनि कतै विभेद छैन । तर, हाम्रा व्यवहारले समाजलाई विभेदकारी बनाएकोले कुरीतिजन्य हिंसाको अन्त्य हुन नसकेको हो ।’

उनले छोरी, बुहारी वा आफन्तलाई महिनावारी बार्न बाध्य पार्ने, जातीय छुवाछुत गर्ने, बोक्सी आरोप लगाउनेलाई अव प्रदेश सरकारले दिने सामाजिक सेवा सुविधा रोक्ने पनि जनाए ।

मन्त्री शाहले धर्म र संस्कारका रुपमा मान्छेले मान्छेलाई जीवनयापनमा समस्या पारेको खण्डमा नछोडिने पनि प्रतिवद्धता गरे ।

नेपालमा छाउपडी विरुद्धको कानून, जातीय भेदभाव विरुद्धको कानून निर्माण भईसक्दा समेत सुदूरपश्चिम छाउपडीले चिनिएको प्रदेश भनेर चिनिन थालिएको अवस्थामा प्रदेश सरकारले सामाजिक संस्थाहरुसंग हातेमालो गर्दै कानून पालन गर्न र गराउन तर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।

उनले आफूबाटै परिवर्तनकको सुरुआत गर्न सकेको खण्डमा मात्रै अरुलाई परिवर्तन गर्न सकिने भन्दै कुरीतिजन्य हिंसालाई सून्यमा झार्न सोचलाई सकारात्मक बनाएर अगाडी बढ्न आग्रह गरे ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानून सचिव किशोरकुमार चौधरीले आजको एक्काइसौं शताब्दीमा पनि नेपालमा धेरै कुसंस्कारहरु विद्यमान रहेको भन्दै त्यस विरुद्ध पत्रकारहरुले सशक्त रुपमा कलम चलाउनु पर्ने बताए ।

इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशीले नीति निर्माणमा बसेका र जिम्मेवार व्यक्तिहरु पनि कुरीतिप्रति अन्योल रहेको भन्दै अबको पत्रकारिता खोज र अनुसन्धानमूलक हुन आवश्यक रहेको बताए ।

वरिष्ठ पत्रकार दिलबहादुर छत्यालले नेपालको पत्रकारिता घटना विशेषमै सिमित हुने गरेको बताए । प्रदेश सरकारले परिवर्तनमूलक लेखाईको लागि प्रदेशको सञ्चार नीति प्रभावकारी बनाउन आग्रह गरे ।

कार्यक्रममा पत्रकार लोग्शरी कुँवरले कुरीतिजन्य हिंसा अन्त्यका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै घटना भइसकेपछि मात्रै समाचार लेख्नुभन्दा कुरीति प्रवद्र्धन नगर्ने खालका समाचार संकलनमा जोड दिइन् ।

दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा घिमिरेले राजनीतिमा महिला सहभागिता बढे पनि अर्थपूर्ण सहभागिता नभएका कारण जसको सवाल हो उसैको नेतृत्व हुन नसकेको बताइन् ।

अधिकारकर्मी चित्रा पनेरुले पत्रकारले घटना विशेष समाचार भन्दा पनि परिवर्तनमा टेवा मिल्ने समाचार प्रकाशन प्रसारण गर्नुपर्ने जनाएकी थिइन् ।

सो अवसरमा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले सुदूरपश्चिममा पत्रकारितामा पत्रकार महिलाहरुलाई टिकाइराख्न कठिन भइरहेको बताए । उनले धर्म, संस्कार र परम्पराका नाममा विद्यमान कुरीतिहरुकै कारण पत्रकार महिलाहरुलाई पेसामा टिकिरहन समस्या भएको पनि उनको भनाइ थियो ।

कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ४० जना पत्रकार महिलाको उपस्थिती रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: