वडा अध्यक्षको सिफारिस – ‘चरित्रहीन महिला’


प्रकाशित मिति :2019-04-28 16:19:04

–प्रतिमा सिलवाल–

ललितपुर । धनगढी  उपमहानगरपालिका १८ का वडा अध्यक्ष मुरारी अधिकारीले स्थानीय एक महिलालाई सिफारिस पत्र मार्फत ‘चरित्रहीन’ प्रमाणित गरेका छन् ।

वडा अध्यक्ष अधिकारीले संविधान तथा कानून विपरित गएर स्थानीय गोमा बस्नेतलाई ‘एक महिनादेखि चरित्रहीन’ भनि सिफारिस पत्र नै बनाएर प्रमाणित गरेका हुन् ।

गएको माघ २२ गते जिल्ला प्रशासन कार्यालय र माघ २५ गते प्रहरी कार्यालयमा एउटै व्यहोराको पत्र पठाइ गोमा बस्नेतलाई चरित्रहीन प्रमाणित गरेका हुन् ।

अध्यक्षको हस्ताक्षर सहित जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयलाई पठाइएको सिफारिसमा भनिएको छ, ‘गोमा पराजुली अधिकारी बस्नेत एक महिनादेखि नैतिक तथा चारित्रिक रुपमा समेत नराम्रो काम गरेको ब्यहोरा जानकारी गराइन्छ ।’

वडा अध्यक्षले किन चरित्रहीन प्रमाणित गरे ?

४१ वर्षकी गोमा बस्नेत धनगढी उपमहानगरपालिका १८ का ६६ वर्षका कमलकुमार बस्नेतकी श्रीमती हुन् ।

कमलले पहिलेकी श्रीमतीको निधन भएको २३ वर्षपछि २०७४ सालको असोज महिनामा गोमासँग विहे गरेका थिए । कमलका पहिलेको श्रीमती तर्फमा ४ सन्तान छन् । ४ वटै सन्तान आ–आफ्नै परिवारसँग बस्ने भएपछि उनीहरुकै अनुरोधमा उनले आफूभन्दा २६ वर्षकान्छी गोमासँग विवाह गरेको उनले महिला खबरलाई बताए ।

कमलका अनुसार इलामकी गोमालाई श्रीमानले विवाह दर्ता, नागरिकता नबनाइदिएर कुटपिट गरि घरमा निकालेको अवस्था उनको भाइ हरी बस्नेतले भेटेका थिए । बेसाहारा अवस्थाकी गोमालाई संरक्षण र दाजुलाई जीवनसाथी हुने ठानी जेठो छोरा रमेश र भाइकोे अनुरोधमा विवाह गरेको कमलले बताए ।

कमलले भने, ‘उनको र मेरो उमेरको फरक धेरै भएकोले गोमाको रुची सोध्दा उनैले विवाह गर्छु भनेपछि मैले ल्याएको हुँ ।’

तर, विवाहपछि नागरिकता र विहेदर्ता हुने समयमा बाबुलाई विवाह गराइदिने छोराले नै सौतेनी आमालाई चरित्रहीन सावित गराउन लागिपरे ।

‘कान्छी आमाले सम्पत्ती लिन्छे भनेर विवाह दर्ता र नागरिकता बनाउन दिएका थिएनन् ।’ कमल भन्छन्, ‘मैले विवाह दर्ता बनाइदिए । नागरिकताको लागि पनि सबै काम सकेर लिन मात्रै बाँकी थियो । त्यही दिन गोमालाई घरबाट निकाले ।’

गएको माघ ११ गते छोराछोरीले मोबाइल खोसेर घर छोड्न आदेश दिएयता गोमा परिवारसँग सम्पर्कमा छैनन् ।

गोमा र कमलको सम्बन्ध राम्रो भएपनि छोराहरुले नराम्रो व्यवहार गरेर गोमालाई बेपत्ता बनाएको आरोप कमलले लगाएका छन् । आफ्नी श्रीमती गोमालाई जेठो छोरा रमेशले अपहरण गरी बेपत्ता बनाएको आरोप लगाएर कमलले वडा कार्यालय, प्रहरी, स्थानीय न्यायीक समिति लगायतमा उजुरी समेत गरेका छन् । तर, अहिलेसम्म प्रहरीले कमलको निवेदन दर्ता समेत गरेको छैन ।

वडा कार्यालयले सम्पर्कविहीन भएकी गोमालाई खोज्नुको साटो नैतिक तथा चारित्रिक रुपमा नराम्रो काम गरेको भनी प्रमाणित गरेको छ । साथै सोही पत्रमा गोमा माघ ११ गते घरबाट निस्किएर झापा अर्जुनधारा नगरपालिका १०, मा गएको र आफूसँग भएको सरसामान, गहना र ४० हजार रुपैयाँ पनि लगेको प्रमाणित गरेको छ ।

गोमालाई चरित्रहीन प्रमाणित गराउन उनकै दुई छोरा रमेश र खगेन्द्रले वडा कार्यालयमा निवेदन दिएका थिए । उक्त निवेदनमा बाबु कमलको पनि नाम रहेको सिरफारिसमा जनाइएको छ । कमलले भने आफूले निवेदन नै नदिएको जिकिर गरेका छन् । छोराहरुले थाहै नदिइ नाम राखेको उनले बताए ।

वडा अध्यक्ष भन्छन् – भीडभाडमा हस्ताक्षर गरिदिएँ

वडा अध्यक्ष मुरारी अधिकारी आफूले कार्यालयका ‘भाइहरु’ (कर्मचारी) ले लेखेको कागजमा भीडमाडमा हस्ताक्षर गरिदिएको दाबी गर्छन् । उनले कमल बस्नेतका छोरा रमेशले आफ्नो सौतेनी आमा ‘चरित्रहीन’ प्रमाणित गरिपाउँ भनेर ल्याएको निवेदनमा सोही अनुसार व्यहोराको सिफारिस लेखेर दिएको बताए ।

वडा अध्यक्ष मुरारी अधिकारी

उनले आफूलाई के लेख्न हुने नहुने पूरै कानूनको जानकारी नभएको पनि दाबी गरे । ‘कतिपय कानून पढ्नै भ्याएको छैन’ वडा अध्यक्ष अधिकारीले भने, ‘हामीले सबै कुरा बुझेका छैनौं ।’

प्रशासन र प्रहरीमा सिफारिस पुगेको छैन

वडा कार्यालयले सिधै जिल्ला प्रहरी र जिल्ला प्रशासनलाई फागुनको २२ र २५ गते गोमा नैतिक र चारित्रिक रुपमा राम्रो नभएको दाबी गर्दै सिफारिस पठाएपनि उक्त पत्र प्रहरी र प्रशासनले आफूकहाँ नआएको जनाएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले चरित्रहीन प्रमाणित गरेको पत्र आफ्नो कार्यालयमा नआएको बताए । त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी आभुषण तिम्सिनाले पनि वडाले गरेको सिफारिस आफ्नो कार्यालयमा नआएको बताए ।

उनले कुनै पनि व्यक्तिको चरित्रका बारेमा जनप्रतिनिधिलाई सिफारिस गर्ने अधिकार नभएको बताउँदै भने, ‘हामीकहाँ त्यस्तो व्यहोराको पत्र आइपुगेको छैन ।

प्रहरीमा मुद्दा दर्ता गर्न आनाकानी

गएको चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा आफ्नै छोरा रमेशले गोमालाई बेपत्ता बनाएको किटान गरि कमल कुमार बस्नेतले उजुरी दिएका छन् । तर, प्रहरीले अहिलेसम्म मुद्धा दर्ता गरि कारबाही अघि बढाएको छैन ।

प्रहरी प्रमुख तिम्सिना फरक फरक कोणबाट गोमाको खोजी गरिरहेको बताउँछन् । निवेदन दर्ता गर्दा २५ दिनको हदम्यान लाग्ने भएकोले दर्ता नगरेको उनको भनाइ छ ।

कमलले भने आफूले पटक पटक अनुरोध गर्दा पनि मुद्दा दर्ता नगरिदिएको गुनासो गरेका छन् ।

के भन्छ कानून ?

नेपालको संविधान २०७४ को धारा २८ ले हरेक व्यक्तिलाई गोपनीयताको हक दिएको छ । जसअन्तर्गत भनिएको छ, ‘कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ती, लिखत, तथ्याङ्क, पत्रकाचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानून बमोजिम बाहेक अनतिक्रम्य हुनेछ ।’

त्यस्तै मुलुकी देवानी संहिताको गाली बेइज्जती सम्बन्धी कसूरको दफा ३०६ (क) ले बेइज्जतीको यसरी व्याख्या गरेको छ – ‘अरुको इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भइ लेखेर आचरण वा आकार चिन्ह वा प्रचारप्रसार वा अरु कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस्तो व्यक्तिलाई अरुको दृष्टिमा निजको व्यक्तिगत चरित्र, हत्या गरेमा वा निजको शरीर सामान्यतः घृणित अवस्थामा छ भन्ने अरुलाई विश्वास पर्नेगरि दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचार, प्रसार वा प्रकाशन गरेमा वा कसैको बेइज्जती हुने साधनको रुपमा प्रयोग गरिएको कुनै चिज जानीजानी बिक्रीवा वितरण गरेमा निजले बेइज्जती गरेको मानिनेछ ।’

उक्त कसूर गर्ने गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था कानूनले गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: