राज्यले नदेखेको मनोरञ्जन क्षेत्र


प्रकाशित मिति :2019-04-24 11:27:37

–रसना ढकाल–

सामान्यतया कार्यलयमा काम गर्नेहरु साँझको ५ बज्न लागेपछि घर हिँड्न हतारो गर्छन् । तर, उनलाई भने त्यो समयमा काममा जान हतारो हुन्छ ।

काममा जाने नै भएपनि उनी एक्लै भने हुन्नन् । साथमा सानो भाइ पनि हुन्छ । काम गर्ने ठाउँ पुगेपछि उनलाई स्टेजको सफाइ, माइक चेक र तयारी अवस्थामा राख्न हतारो हुन्छ ।

उनीसँगै काम गर्ने अरु साथीहरु पनि हुन्छन् । पाँच बज्दा नबज्दैदेखि काममा लागेकी उनले माइक तयार, स्टेजको सफाइ र डेकोरेशन सक्दा बेलुकाको ७ बजिसकेको हुन्छ ।

त्यसपछि उनको काम गर्ने भूमिका फेरिन्छ । अरु साथीसँगै स्टेज चढ्छिन् । राष्ट्रिय गान गाउँछन् ।

त्यसपछि विस्तारै ग्राहक आउन सुरु गर्छन् । गीतासहित उनका साथीहरु गीत गाउन थाल्छन् । उनी अर्थात् गीता घतान्ङ्ग ९ वर्षदेखि काठमाडौं स्थित एक दोहरी साँझमा गीत गाउँछिन् ।

लमजुङ घर भएकी २८ वर्षीया गीताको सानैदेखि गायनमा रुची थियो । गाउँघरमा चाडपर्वको बेला एक अर्काको घरमा गएर गाउन अथवा दोहरी खेल्न उनी समूह बनाएर जाने गर्थिन् ।

तिनै समयमा आफ्नै मामाले काठमाडौंमा दोहरी साँझ खोल्ने र त्यसमा आफुलाई गायिकाको रुपमा राख्ने भनेपछि उनी २०६६ सालमा काठमाडौं आइन् ।

मामाको दोहरी साँझमा गायिकाको काम गर्न थालिन । अहिले उनी रातमा दोहरी गाउने काम गर्छिन् । बिहान कलेज पढ्छिन् । उनका अनुसार उनले राती गरेको कामले आमाबुबा र भाइको खर्च टर्दै आएको छ ।

तनहुँ घर भएकी संगीता (३२) पनि ठमेल स्थित एक डान्सबारमा काम गर्छिन् । उनले ४ वर्षयता डान्सरको काम गर्दै आएकी छिन् ।

उनले डान्सबाट आएको टिप्सको पैसाले परिवार धान्दै आएको बताइन् । संगीता पनि विद्यार्थी हुन् । बिहान कलेज पढ्दै गरेको उनले आफ्नो पढ्ने खर्च पनि बेलुका नाचेर आएको कमाइबाट पुर्याएकी छिन् ।

माथिका दुई जना मनोरञ्जन क्षेत्रका श्रमिक महिला हुन् । जो आफनो स्वतन्त्रपूर्वक काम गरेर खाने अधिकारको उपभोग गर्दै आइरहेका छन् ।

कर्मथलो मनोरञ्जन क्षेत्र भएपनि उनीहरु ससम्मान काम गर्दै आएका छन् । संगीता र गीता जस्तै मनोरञ्जन क्षेत्रलाई कर्मथलो बनाएर जीवनयापन गर्ने युवाको संख्या हजारौं छ ।

दोहरी साँझ या डान्सबारमा युवाहरुले आफनो गला र कलाको प्रष्फुटन गरेर आन्तरिक पर्यटन पनि बढाएका छन् । तर, राज्यले अहिलेसम्म मनोरञ्जन क्षेत्रलाई रोजगारीको थलो र त्यहाँका कामदारालाई श्रमिक नै मानेको छैन ।

मनोरञ्जन क्षेत्रमा काम गर्नेहरुको अधिकारमा काम गरिरहेकी विश्वास नेपालकी अध्यक्ष तारा भण्डारी सरकारले मनोरञ्जन क्षेत्रका श्रमिकलाई श्रमिक नै नगनेको बताउँछिन् ।

उनले थपिन्, ‘सरकारले मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई प्राथमिकतामा राखेको छैन । बेलाबेलामा हुने घटना क्रमले पनि यसलाई पुष्टि गर्छ ।’

१३ वर्षदेखि मनोरञ्जन क्षेत्रमा काम गर्दै आएकी भण्डारी मनोरञ्जन क्षेत्रका महिला श्रमिकको सवाललाई स्थानीय तहमार्फत सम्बोधन गर्नुपर्ने तर्क राख्छिन् ।

हुन पनि अनौपचारिक तथा मनोरञ्जन क्षेत्र राज्यबाट उपेक्षित रोजगारीको थलो हो । पितृसत्तात्मक समाजका मूल्यमान्यता तथा स्थापित संरचनाका कारण यस क्षेत्रमा काम गर्ने श्रमिक महिलालाई तुच्छ तथा तल्लो दर्जाको रुपमा व्यवहार गरिन्छ ।

पछिल्लो समय मनोरञ्जन क्षेत्रमा काम गर्न आउनेहरुको संख्या बढदो क्रममा रहेको देखिन्छ । व्यवहारिक रुपमा हेर्दा मनोरञ्जन क्षेत्र युवाहरुको रोजगारीको क्षेत्रको रुपमा विकसित हुँदै गएको तथ्य छ ।

युवाहरु स्वेच्छाले यस क्षेत्रमा काम गर्न आकर्षित भइरहेका छन् । कुनै समय बाध्यताले आउने जस्तो अवस्था अहिले क्रमशः घट्दै छ । देशका सक्रिय युवाहरुको एक जमात यस क्षेत्रमा काम गरिरहेका छन् । तर, दुःखको कुरा यो क्षेत्र आजसम्म राज्यको प्राथमिकतामा परेको छैन ।

सरकारले उद्योगलाई साना, मझौला र ठुला उद्योग भनेर विभाजन गरेको छ । तर, मनोरञ्जन क्षेत्रलाइ कुनै उद्योगको रुपमा विभाजन गरेको छैन ।

राज्यको आम्दानी बढाउने यो क्षेत्रमा काम गर्नेलाई हतोत्साहित गरिन्छ । तुच्छ काम ठानेर श्रमिकलाई अपहेलन गरिन्छ । संविधानको मर्म विपरित कामको आधारमा आत्मसम्मानमा ठेस पुर्याइन्छ ।

अहिले स्थानीय क्षेत्रको सवाललाई व्यवस्थि तगर्ने जिम्मेवारी स्थानीय तहलाई गएको छ । आफ्ना स्थानीय सवाल टुङ्ग्याउन स्थानीय तहले कानून समेत बनाउन सक्छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल अब स्थानीय तहले मनोरञ्जन क्षेत्रलाई कर्मथलो बनाएका हजारौं युवाहरुको भविष्य हेर्नुपर्ने बताउँछन् ।

यद्यपि महानगरलाई आफ्नो क्षेत्रभित्रका मनोरञ्जन क्षेत्र र यसमा काम गर्ने श्रमिकको तथ्याङ्कगत अवस्थाबारे जानकारी छैन । प्रवक्ता डंगोल भन्छन्, ‘मनोरञ्जन क्षेत्र भनेको के हो कसैले बुझेका छैनन । यहाँ काम गर्नेहरुको अवस्था के छ ? उहाँहरु को हो ? कसैलाई सरोकारको विषय छैन । तरपनि हामी श्रमिकहरुको आँकडा संकलनको लागि सरोकारवालाहरुसँग छलफल गरिरहेका छौ ।’

प्रवक्ता डांगोलकै भनाइबाट प्रष्ट हुन्छ सरोकारवाला निकायले यस क्षेत्रलाई कुन प्राथमिकतामा राखेको छ । नेपालले मानवअधिकारको विश्वव्यापी मान्यतालाई आत्मसाथ गरिसकेको छ ।

तर, आफ्नै राज्यभित्र मनोरञ्जन क्षेत्रका श्रमिकले कुन तहको मानवअधिकार उपभोग गर्न पाएका छन् ? कसैको ध्यान पुगेको छैन । आफनो कला देखाउने स्थल नै कहिलले काहि ति श्रमिकहरुको लागि सुरक्षित हुन सकिरहेको छैन । उनीहरुले चर्को सामाजिक अपहेलना सहिरहेका छन् ।

यतिसम्म कि मनोरञ्जन क्षेत्रमा काम गर्ने भनेपछि महिलाहरुले कोठा भाडामा समेत नपाएको अनुभव साँट्ने गरेका छन् ।

यद्यपि पछिल्ला दिनमा यो क्षेत्रलाई हेर्ने दृष्टिकोण केही बदलिएको छ । नयाँ पुस्ताले मनोरञ्जन क्षेत्रलाई आफ्नो प्रतिभा देखाउने स्थल र रोजगारीको थलोका रुपमा उपयोग गरिरहेका छन् ।

त्यसैले देश बलियो हुन आर्थिक पक्ष मजबुद हुनुपर्छ । मनोरञ्जन क्षेत्र सरकारलाई राजस्व बुझाएर श्रमिकलाई ‘राम्रो’ पारिश्रमिक दिन सक्ने एउटा थलो पनि हो ।

देश समृद्धिमा पुर्याउन यस्ता रोजगारीका थलोको पहिचान र स्पष्ट नीति बनाएर व्यवस्थापन गर्न जरुरी छ । तबमात्र समृद्धिको नारा सार्थक हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उपसभामुख बीच अब भिडियो कुराकानी

–महिला खबर– ललितपुर । संघीय संसद र प्रदेश संसदका उपसभामुख बीच बिद्युतीय रुपमा सम्बाद शुरू भएको

पुरुष सभामुखले जब संसद चलाइरहेकै बेला शिशुलाई दूध ख्वाए

एजेन्सी । संसदमा चर्काचर्की बहस चलिरहेकै बेला न्युजिल्याण्डका सभामुखले बच्चालाई दूध खुवाएर बसेका छन्।

छाउगोठ हैन छाउसोच भत्काउँ

-राधिका सापकोटा-  २०७४ असार १ गते म विहान देखि नै अफिसको काममा थिए । जिल्लामा सिन्धुपाल्चोक

बलात्कारको मुद्दा मिलापत्र गर्न खोज्ने ८ जना पक्राउ

–महिला खबर– नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा ६ वर्षीया बालिका बलात्कारको मुद्दामा मिलापत्रको प्रयास गर्नेहरूलाई प्रहरीले

अधिकारकर्मीको दबाब : महिला आयोगमा छिटो नियुक्ति गर

–महिला खबर– ललितपुर । राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन भएपछि सरोकारवालाले चासो देखाएका छन्।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: