‘आफ्नै’ ले लुटेको त्यो कलिलो शरीर


प्रकाशित मिति :2019-04-21 12:36:58

बलात्कार जस्तो जघन्य अपराधको लागि हाम्रो कानुनले बढीमा एक वर्ष मात्र हदम्याद तोकेको छ । प्रमाणहरु नष्ट भएको अवस्थामा केवल जाहेरी दरखास्त वा उजुरीमात्रलाई प्रमाण मान्नु पर्ने हुँदा मुद्दा कमजोर पर्छ । 

कुनै व्यक्ति, जो तपाईंको बाल्यकालको डरलाग्दो यथार्थसँग जोडिएको छ । त्यही व्यक्ति जसले तपाईं बालिका हुँदा कलिलो शरीरमाथि आफ्ना वयस्क अंगले मनलाग्दी गरेको थियो । अनि त्यो याथार्थ आजसम्म पनि तपाईंसँग मात्रै सीमित छ, डरलाग्दो विगत बनेर ।

हो त्यही व्यक्ति १५/१६ वर्षपछि अचानक भेटिन्छ । पारिवारिक मर्यादाका कारण सार्वजनिक स्थानमा तपाईंले उसलाई नमस्कार गर्नुपर्छ । अनि, उ हाँस्दै तपाईंको नजिक आउँछ । शरीरमा धाप मार्छ र भन्छ, ‘कति ठूली भइसकिछौ । कुनै सम्पर्क, भेटघाट नै छैन ।’

यतिमा मात्रै सीमित हुँदैन । पारिवारिक सम्बन्धलाई आधार बनाएर तपाईंको गाला चिमोट्न पनि भ्याउँछ । अनि नजिक आएर भन्छ, ‘सानामा म तँलाई आफ्नै हातले खेलाउँथे । मेरो काखमा राख्थेँ, बिर्सिस् ?’

त्यतिबेला तपाईको प्रतिक्रिया कस्तो हुन्छ ?

मेरो एक साथीले माथिको घटना आफैले बेहोरेकी छ । हालैको एकदिन उसले मध्यरातमा मेरो निन्द्र खल्बल्याएर फोनबाट एकै सासमा घटना सुनाइ । अनि मुुर्मुरिँदै भनि, ‘त्यसले के सोचेको ? म त्यसलाई मारिदिउँ ? तँ त वकिल भन् त, त्यसलाई मार्दा मलार्ई कानून लाग्छ कि लाग्दैन ? त्यसलाई के सजाय दिन सकिन्छ ?’

उसको अनुसार घटना यस्तो थियो – १५ वर्ष अघि, ‘मामा आए घोडा…’ भनेर कविता कण्ठ गर्दै एक सासले सुनाईसक्ने उनको मामा एकदिन हातभर चकलेट र झोलाभर खेलौना लिएर आए । उसको हातभरी अरेन्जबल टफी राखीदिए । अनि उसका गाला मुसारे, ढाड थप्थपाए र काखमा राखे ।

मामा उसलाई तलैलता भएको जामा पनि ल्याइदिएका थिए । तर, त्यो जामा लगाउनुअघि उसलाई नाङ्गो पारेर एकछिन ‘कुरी कुरी…’ भन्दै जिस्क्याए । हजुरआमा र आमाबुवाले त्यसलाई अनौठो मानेनन् । बरु सबैजना मामासँगै मरीमरी हाँसे ।

उ त्यतिबेला लाजले भुतुक्कै भएकी थिई । सबैले जिस्क्याएपछि के भन्न सक्थी र ! त्यो दिनको भोलीपल्ट बिहान बुवाआमा उठिसके पछि मामा भान्जी सुतिरहेको ओच्छ्यानमा गए । भाञ्जीसँग एकछिन गफ गर्न आएका मामाले उसका कलिला बुबु चलाए । ‘सुसु’ गर्ने ठाउँ खेलाए । त्यतिले मात्रै पुगेन आफ्नो वयस्क शरीर जतासुकै छुन चुम्न लगाए ।

तिनै साना बुबुहरु बढेर अहिले स्तन भएका छन् । सुसु बढेर ‘गुप्ताङ्ग’ । उसले धेरैपछि थाहा भयो ‘मामाले उसलाई माया गरेको होईन शोषण गरेको रहेछ ।’

उसलाई बुवा आमासँग मामाले आफूसँग गरेको व्यवहार भन्ने आँट आएन । तर, मामा आउँदा जहिलेपनि यो सिलसिला दोहोरिन थाल्यो । अझ बढ्दै गयो । अहिले उनलाई थाहा भयो, त्यो त हाडनाता करणी पो रहेछ ।

मेरी बालापनको साथीको जस्तै भोगाइ अर्की शिक्षक साथीको पनि छ । उनी किशोर अवस्थामा हुँदा सहोदर काकाले पटक पटक शोषण गरेका थिए । उनले त आफ्नी आमालाई काकाले आफूमाथी गरेको दुव्र्यवहार सुनाएको पनि थिइन् ।

त्यतिबेला आमाले उनको मुख थुन्दै भनेकी थिइन्, ‘आइन्दा यस्तो कुरा नर्गनु ! उत्ताउलिएर नहिँड् ।’ काकाको डरले गर्दा उनले १६ वर्ष नपुग्दै उनले गाउँकै एउटा केटासँग भागेर विवाह गरिन् ।

उनले भनिन्, ‘काकाले ममाथि गरेको अत्याचारबारे मुख खोल्न नसकेपछि विहे गर्नुको विकल्प मैले देखिनँ । त्यसबेला नेपालमा कस्तो कानुन थियो भन्ने थाहा पनि थिएन । अहिले भए काका न साका जेलमै कोचेर छोड्थें ।’

विहेपछि माइत जाँदा काकाले ‘आखिर तँलाई पोइनै चाइएको रै’छ’ भनेको आजसम्म भूलेकी छैनन् । न त कसैलाई भनेकी नै छन् ।

समय घर्किएपछि भन्नुको अर्थ पनि हुँदैन । त्यसबेलाको केस उजुरी गर्न न हदम्याद पुग्छ, न त प्रमाण नै भेटिन्छन् ।

बलात्कार जस्तो जघन्य अपराधको लागि हदम्यादको अत्यन्त ठुलो महत्व हुन्छ । जुन हाम्रो कानुनले बढीमा एक वर्ष मात्र भनेर तोकेको छ । प्रमाणहरु नष्ट भएको अवस्थामा केवल जाहेरी दरखास्त वा उजुरीमात्रलाई प्रमाण मान्नु पर्ने हुँदा मुद्दा कमजोर पर्छ । कानूनी रुपमा न्याय पाउन कठिन छ ।

कानूनी रुपमा न्याय सहज नभएपनि मुख खोलेमा पीडितलाई केही राहत हुनसक्छ भन्ने पछिल्ला केही घटनाले भने देखाएका छन् । ‘अब त अति भो, कति सहने ?’ भन्दै संसारभर ‘मी टू अभियान’ नै चलेको छ ।

महिलाहरुले आफूलाई कसले र कसरी यौन हिंसा गर्यो भन्ने कुरा अनलाईन मार्फत उजागर गरिरहेका छन् । यो अभियानले विश्वका धेरै महत्वपुर्ण मानिसहरुको चरित्र उदांगो बनाइदिएको उदाहरण पनि छ ।

नेपालमा पनि ‘मी टू’ अभियानले केही हदसम्म पुराना यौन अपराधहरु बाहिर ल्याउने प्रयास गर्यो । काठमाडौं महानगरपालिकाकी एक पूर्व कर्मचारीले तत्कालिन मेयर केशव स्थापितमाथि यौनजन्य हिंसाको आरोप लगाईन् ।

उनले स्थापितसँग ‘क्वालिटी टाइम स्पेण्ड’ नगर्दा जागिर गुमाउनु परेको थियो भनेर सामाजिक सञ्जालमा लेखेपछि प्रदेश नम्बर ३ का मुख्यमन्त्रीले उनलाई मन्त्री पदबाट बर्खास्त गरे । यस्ता अरु केही उदाहरण पनि छन् ।

यस विचारमा उल्लेख भएका मेरा दुई साथीको घटना पनि उनीहरुले धक नमानी खोल्ने हो भने उनीहरुलाई त्यसबेला गरेको कर्तुतको सजाय सामाजिक रुपमा दिलाउन सकिन्छ ।

मलाई लाग्छ, ति दुई पुरुषबाट हिंसामा पर्ने मेरा दुई साथी मात्रै थिएनन् होला । उनीहरुबाट त्यतिबेला अरु बालिकाहरु पनि हिंसामा परे होलान् । मेरा साथीहरुले आफूमाथिको घटना सार्वजनिक गरेभने बाँकी हिंसामा परेकाले पनि मुख खोल्न सक्छन् । त्यसपछि तिनीहरुलाई सामाजिक कारबाही गर्ने बाटो अझ फराकिलो हुन सक्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: