‘तान्ने प्रथा’ अझै


कानुन छ, गाउँमा छैन

प्रकाशित मिति :2019-04-17 11:00:45

-शिव उप्रेती-

बिही (गोरखा)  । ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो ।

‘हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें । ‘माथिल्लो घरको दाइ हो क्या म, ढोका खोल्’ भन्यो । अनि मैले बिस्तारै ढोका खोलेर हेरेको मात्र थिएँ, क्य्राक गाउँको केटा रहेछ । घरभित्र छिर्‍यो र मेरी बहिनीलाई जबरजस्ती तानेर बाहिर लग्यो । बाहिर उसको गाउँका केटा टन्नै रहेछन् । त्यसपछि मैले आमा र भाइलाई बोलाएँ । हामीले यतातिर, उनीहरूले उतातिर, एकछिनसम्म बहिनीलाई तानातान भयो । भर्खरसम्म सँगै सुतिरहेकी बहिनीलाई उनीहरूले तानेर लगे । आमा र भाइ धेरै टाढासम्म पछिपछि गएर केके समझदारी गरेर बहिनीलाई छुटाएर ल्याए । अहिले बहिनी भागेर काठमाडौं गएकी छ । उतै काम खोज्दै होली ।’

ह्यास ट्याग मीटु प्रयोग गर्ने दुनियाँलाई यो एकादेशको कथा जस्तो लाग्न सक्छ । तर, यो राजधानीबाट १४२ किलोमिटर पर गोरखाका ५० देखि ५५ कोस टाढा रहेका हिमाली गाउँको ताजा घटना हो ।

लामो समय लेबनान बसेर फर्केकी सोही ठाउँकी अर्की किशोरीलाई पनि केही समयअघि यसैगरी स्थानीय एक युवाले तानेर लगे । उनी उम्केर भाग्न सकिनन् । केही दिनसम्म घरभित्रै थुनिएर बस्नुपर्‍यो । अनि दाजुभाइको साझा दुलही भइन् । घरबाट भाग्ने मौका पाएपछि काठमाडौं गइन् । उतैबाट विदेश लागिन् ।

उनीहरूको मात्र पनि होइन, उत्तरी गोरखाका दुई दर्जन गाउँबस्तीका चेलीसँग यस्ता दर्दनाक कथाव्यथा छन् । चुमनुब्री गाउँपालिकाअन्तर्गत साबिकका बिही, प्रोक, ल्हो, सामागाउँ, सिर्दिबास क्षेत्रमा जबरजस्ती तानेर बिहे गर्ने परम्परा पुस्तौंदेखि कायम छ ।

चिनेको होस् वा नचिनेको होस्, मन परेको होस् वा नपरेको होस्, केटाले मन पराएपछि जबरजस्ती तानेर दुलही बनाउने चलन रहेको वडा नम्बर ४ का अध्यक्ष पेमाडुण्डुप लामा बताउँछन् । ‘यस्तो चलन बिहीमा अल्लि बढी छ । प्रोकमा पनि छ । अलिअलि त ल्हो, सामागाउँ र सिर्दिबासमा पनि छ’, उनले भने, ‘यो राम्रो चलन होइन, हटाउनुपर्छ ।’ यसबारे आफूले जनचेतना जगाउने उनको भनाइ छ ।

किशोरी असुरक्षित

युवाहरूले तानेर जबरजस्ती दुलही बनाउने (कु) प्रथाका कारण यस भेगका किशोरी असुरक्षित महसुस गर्छन् । मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू आफ्नै घर, बाटो, पानीघट्ट, खेतबारीलगायत जहाँतहीं असुरक्षित रहेको शिक्षिका छिरिङ याङ्जोम बताउँछिन् ।

‘घरमा बसिरहेको बेला होस् वा खेतबारीमा काममा जाँदा, पानीघट्टमा जाँदा, गुम्बामा जाँदा, मेलाजात्रातिर जाँदा जहाँबाट, जतिबेला पनि तान्न सक्छन्’, उनी भन्छिन्, ‘देशको नियमकानुन पनि लाग्दैन । त्यसैले हाम्रो गाउँका छोरीचेलीलाई कहीं पनि सुरक्षा छैन ।’

तल्लो (सहरी) भेगमा जस्तो महिला अधिकारको कुरा गाउँमा नरहेको किशोरी कुन्साङ ल्हामुको भनाइ छ । ‘यो तान्ने चलनचाहिँ पहिलेदेखि चलिआएको हो, तोड्न मिल्दैन भनेर बुवाआमाले पनि भन्नुहुन्छ । केटीहरूले पनि मान्नैपर्ने हुन्छ’, उनी भन्छिन्, ‘आमाबुवाले जबरजस्ती गरेर पनि तान्ने केटासँगै पठाइदिन्छन् ।

यहाँ त मानवअधिकार, महिला अधिकारको कुरा कहाँ छ र ? ’ केटाको र पुरानो चलनको फन्दामा परेका युवती बेस्सरी रुने उनी बताउँछिन् ।

जाडो महिनाभरि आरुघाट गाउँपालिकाको आर्खेतमा सञ्चालन भएको स्याला आधारभूत विद्यालयमा वार्षिक परीक्षा सकिएपछि एक महिना छुट्टी भयो । कक्षा पाँचको परीक्षा दिएकी सोनाम आङ्मो आफ्नो लामो छुट्टी मनाउन घर ड्याङ जान तयार भइन् । तर, उनलाई कोही तान्न आउँछन् कि भनेर कताकता डर लाग्यो ।

उनी भन्छिन्, ‘विद्यालय एक महिनालाई छुट्टी भएको छ । बिदामा घर जाऔं भने कोही नचिनेको मान्छे आएर तान्छ कि भन्ने डर लाग्छ । स्कुल पनि आर्खेतबाट स्यालामा सर्‍यो । सबै जना घरघरमा गएका छन् । म पनि घरमा आएको छु । भित्रभित्रै डर लागिरहन्छ ।’

संस्कृति पनि विकृति पनि

तानेर विवाह गर्ने चलनलाई संस्कृतिका रूपमा पनि लिन सकिने यस क्षेत्रका पढेलेखेका युवाको भनाइ छ । ‘हाम्रो गाउँमा कि मागी विवाह हुन्छ, कि तानी विवाह हुन्छ’, प्रोकका निमा लामा भन्छन्, ‘प्रेम विवाह गर्ने चलन छैन । त्यसैले मिलेमतोमै केटाले ताने जस्तो गर्ने, केटीले नमानेको जस्तो गर्ने चलन छ ।’

तानेर बिहे गर्ने चलन कायम राख्न पनि तानेको अभिनय गर्ने गरेको उनको भनाइ छ । ‘केटा र केटीको माया प्रेम बसेको हुन्छ । बाआमासँग कुरा गर्दा मिल्दैन अनि केटाले तानेर लगे जस्तो गर्ने चलन पनि छ’, उनी भन्छन्, ‘यस्तो अवस्थामा देख्नेलाई चाहिँ जबरजस्ती गर्‍यो जस्तो पर्छ । तर, सहमतिमै भएको हुन्छ ।’

परापूर्वकालदेखि मान्दै आएको परम्परालाई सिरानी हालेर कतिपयले जबरजस्ती तान्ने गरेको उनी स्वीकार गर्छन् । ‘कतिपय केटाहरूले चाहिँ परम्पराको बद्नाम पनि गरेका छन्’, निमा भन्छन्, ‘कुनै केटी आफूलाई मन पर्‍यो भने उसले आफूलाई मन नपराएको भए पनि तान्दिने चलन छ । योचाहिँ विकृति हो ।’

कतिपयले कुनै युवती आफूसँग हाँसेर बोलिन् भने मन पराएको भन्ने भ्रममा परेर तान्ने गरेको उनी बताउँछन् । ‘तल्लो भेगमा जस्तो केटाकेटी मज्जाले हाँसेर बोल्ने चलन छैन । कोही केटी कोही केटासँग हाँसेर बोलिन् भने मन परायो अब ताने पनि हुन्छ भन्ने भ्रममा परेर केटाहरूले तान्ने गर्छन्’, उनले भने, ‘तानिसकेपछि मन नपराए पनि प्रायः विद्रोह गर्ने चलन छैन ।

मिलेर बस्न अभिभावकको पनि दबाब हुन्छ, साथीसंगीले पनि दबाब दिन्छन् । अचम्म त के भने, जो महिला यसअघि नै जबरजस्ती तानेर बिहेको फन्दामा परेका छन्, तिनले पनि मिलेर बस्न दबाब दिन्छन् ।’

आधाजसोले सहमतिमै तानेर बिहे गर्छन् भने आधाजसोले जबरजस्ती तान्ने गरेको सिर्दिबास न्याकका दीपेश गुरुङको तर्क छ । ‘५० प्रतिशत त सहमतिमै तान्ने चलन छ । बाँकी ५० प्रतिशतचाहिँ मन्जुरीबिना जबरजस्ती तान्ने चलन छ’, उनले भने ।

चौंरीको घिउले भित्र्याउने

तानेर लगेपछि साइत हेरेर चौंरीको घिउ र खादा लगाएर औपचारिक रूपमा बुहारी भिœयाउने चलन छ । ‘तान्नुअघि नै कुन दिन तान्ने, कुन दिन भिœयाउने भन्ने योजना बनिसकेको हुन्छ’, निमा भन्छन्, ‘केटीलाई थाहा नहुन सक्छ, केटाले भोलिपल्ट लगन जुरेको छ भने अघिल्लो दिनमा तानेर लान्छ ।

रातभरि केटी भाग्ने दाउ हेरिरहेकी हुन्छे । केटाहरू जसरी पनि छेक्ने भनेर घर घेरेर बसिरहेका हुन्छन् । भोलिपल्ट साइत हेरेर चौंरीको घिउ र खादा लगाएपछि औपचारिकता पूरा हुन्छ अनि भिœयाउने चलन छ ।’

केटी भित्रिन नमाने माइती पक्ष र उसका साथीसंगीलाई बोलाएर सगुन खुवाएर फकाउने चलन छ । अझै नमाने केही दिन थुनेर भए पनि मान्न बाध्य बनाउने स्थानीयको भनाइ छ । ‘तानिसकेपछि प्रायः स्थानीय केटाको पक्षमा हुन्छन् । केटीको पक्षमा कोही हुन्नन्’, निमा भन्छन्, ‘फेरि फर्काएर माइतमा लग्यो भने बेइज्जत हुन्छ भन्ने डरले पनि माइती पक्ष र साथीसंगीले बस्न बाध्य पार्छन् । दुई–तीन दिन थुनिसकेपछि बाध्य हुन्छन् ।’ त्यसपछि साइत हेरेर भिœयाउने उनले बताए ।

विद्रोह छैन

जबरजस्ती तानेर बिहे गर्नुलाई नयाँ पुस्ताले विकृति भनेर बुझेका छन् तर हटाउने प्रयास भएको छैन । काठमाडौंलगायत सहरतिर बस्नेहरूले यस्तो नगर्ने, गाउँतिर विरोध गर्ने तागत नहुने भएकाले परम्परा कायम रहेको निमा बताउँछन् ।

‘काठमाडौं, गोरखातिर बस्नेहरूमा यस्तो हुँदै हुँदैन । त्यसैले उनीहरूलाई मतलबै भएन । गाउँमा बस्नेले विद्रोह गर्नै सक्दैनन्’, उनी भन्छन्, ‘सहमतिमा तान्ने परम्परा कायम राखेर जबरजस्ती तान्ने परम्परा तोड्नुपर्छ ।’

वडाध्यक्षको प्रतिबद्धता

शिक्षा र चेतनाको विकाससँगै साविक सामागाउँ, ल्हो, प्रोक र सिर्दिबास गाविसमा क्रमशः हट्दै गएको छ । तानेर विवाह हुने गरे पनि त्यहाँका अगुवाहरू ‘त्यस्तो चलन हटिसक्यो’ भन्न रुचाउँछन् । तर बिहीमा भने अधिकांश विवाह तानेरै हुने गरेको छ ।

‘यस्तो चलन राम्रो होइन’, वडाध्यक्ष सोनाम ग्याल्जेन भन्छन्, ‘तर अहिल्यै हटाइहाल भनेर आदेश दिन पनि गाह्रो छ । म अब छिट्टै आम भेला राखेर तानेर जबरजस्ती विवाह गर्ने नियम बन्द गर्न आग्रह गर्छु ।’ जबरजस्ती गरेको विषयमा प्रशासनमा उजुरी गर्ने चलन नभएको उनले बताए । ‘गाउँमा राम्रोसँग छलफल गरेर चलन हटाउन सकिएन भने कानुनी कारबाही गर्न बाटो खुला गर्छु । कानुन पल्टायो भने त धेरै ठूलो कारबाही छ ।’

कानुनमा के छ ?

मञ्जुरीबिना विवाह गर्ने–गराउनेलाई कानुनले दण्डजरिबानाको व्यवस्था गरेको छ । मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ७२ मा महिला वा पुरुष जो कसैको मञ्जुरी नभई भएको विवाह बदर गर्न सक्ने उल्लेख छ ।

त्यस्तै मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७२ ले मञ्जुरीबिना विवाह गर्न नहुने र कसैले गरे–गराएको छ भने त्यो व्यक्तिलाई दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था छ । मुलुकी अपराध संहिता ऐन २०७४ कै दफा ३२ ले मञ्जुरीबिना विाह गरेमा क्षतिपूर्तिको व्यवस्थासमेत गरेको छ ।

साभार : अन्नपूर्ण पाेष्ट 

    Comment Here!

Related NEWS
मुख्य खबर

सांसद महिला राम्रो बोल्नुहुन्छः डा. शिबमाया तुम्बाहाम्फे, उपसभामुख

अहिले पहिलेको जस्तो समस्या छैन । महिलाहरू भाका मिलाएर, सीप देखाएर प्रष्टसँग बोलिरहेका छन् ।

डल्ले खुर्सानीको व्यवसाय खेती

सर्मिला बुढाथोकी दोलखा । दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुका महिला किसानहरू अहिले डल्ले खुर्सानीको

बलात्कार कसुरमा १४ वर्ष कैद फैसला

-महिला खबर- पाँचथर । १३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा २१ वर्षीय मणिविक्रम गुरुङलाई जिल्ला अदालत

महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक २ हजार भत्ता

चितवन । इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ

महिला सांसद्लक्षित ट्रम्पको ‘रङ्गभेदी’ भनाइको अमेरिकी संसदद्वारा निन्दा

बीबीसी। अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसद्प्रति

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: