मातृस्नेहले पुरिँदै बाल मस्तिष्कघातको असर


प्रकाशित मिति :2019-04-10 16:16:31

जीवनमा केही अनपेक्षित घटना भए हामी भाग्यलाई दोष दिने गर्छौं । कुनै एक पक्षमा आफू कमजोर भए विकल्प खोज्दैनौं । मानसिक तनाब लिन्छौं । जीवनलाई धिक्कार्दै बस्छौं ।

स–साना कठिनाइमा पनि यस्ता व्यवहार देखाउने व्यक्तिहरुका लागि उत्प्रेरणाको स्रोत हुन्, कविता शर्मा ।

हरेक अभिभावकले चाहन्छन्, आफ्ना सन्तान सबैभन्दा उत्कृष्ट बनोस् । तीक्ष्ण होस् । आफ्नो सपना अनुसार समाजले उदाहरण ठानेको पेशामा स्थापित होस् ।

कवितामा पनि यी आकांक्षा हुनु स्वभाविक हो, थियो पनि । त्यसैले गर्भावस्थाको समय पार गरि सन्तान धर्तीमा आउनेबेला फुरुङ्ग थिइन् । एउटी आमाको लागि सन्तान भएपछिको सुख जस्तो अर्को के हुन्छ होला र ?

कविता आमा बन्दा घर–परिवारमा खुसीको सीमा रहेन । उनी स्वयंमा नहुने त विषय नै रहेन । परिवारमा नयाँ सदस्यको आगमनले परिवार र आफन्तजनमा नयाँ उमंग थपिदिएको थियो ।

कविता एक जागिरे महिला । सुत्केरी विदा सकिएपछि दैनिक काममा लागिन् । छोरा प्रतिक जन्मिएको तीन महिना नपुग्दै श्रीमान् उच्च शिक्षाको लागि विदेशिए ।

परिवारमा घरमा सासू, ससुरा अनि सानो बाबुसँगै उनको दैनिकी चलिरह्यो । घर अनि कार्यालयको काम गर्दै उनको दैनिकी अघि बढिरहेको थियो ।

छोरा हुर्कँदै त थियो । तर, अन्य सामान्य बालबालिकामा जस्तो शारीरिक विकास भने देखिएन । नौ महिनाको हुँदा सामान्यतया बालबालिका उभिन सुरु गर्छन् । कविताको छोराले त्यसो गरेन ।

‘केही कारणले ढिलो विकास भयो होला भनेर एक दुई महिना छोराको विकास कुर्यौ कविताले भनिन्, ‘तर जसरी परिवर्तन हुनु पथ्र्योे त्यसो भएन ।’

बालकको हेराइ, बोलाइ र अन्य प्रतिक्रिया राम्रो भएपनि शारीरिक विकास नभएपछि ११ महिनामा उसलाई धुलिखेल अस्पताल लगेर जँचाइन् ।

डाक्टरले छोराको जाँच गरिसकेपछि दिएको प्रतिक्रियाले उनलाई अहिले पनि झस्काउँछ । भनिन्, ‘उहाँले बाबुको जाँचपछि भन्नुभयो–तपाईंको बच्चा कहिल्यै पनि शतप्रतिशत सामान्य हुन सक्दैन । उसलाईसेरेवल पल्सी अर्थात् बाल मस्तिष्कघात भएको छ ।’

त्यतिबेला छाँगाबाट खसेझैं भइन् उनी । आँखाबाट आँशु रोकिएन । अहिले पनि त्यो क्षण सम्झिँदा उनी भावुक हुन्छिन् । त्यतिबेला डाक्टरले ‘यस्तो केसका बालबालिकाको बौद्धिक र शारीरिक दुवै विकास राम्रो हुँदैन ।’ भनेको कुरा उनको दिमागमा अझै ताजै छ ।

‘बिना केही शब्द बच्चा च्यापेर अस्पतालबाट बाहिरिएँ । मनमा अनेक कुरा खेल्न थाले । साँच्चै मेरो बच्चा त्यस्तै हुन्छ होला त ? मनमा यस्तै यस्तै कुरा खेलिरहे । निद्रा आउने कुरै थिएन’ विगत सम्झंदै उनले भनिन् ।

छोरा सामान्य अवस्थामा नआउने चिकित्सकबाट थाहा भएपछि उनले आफूभित्र दृढ संकल्प गरिन् । भन्छिन्, ‘अब मैले बच्चालाई राम्रो बनाउनु छ, उसकै लागि के गर्नसक्छु त्यसतर्फ लाग्नुपर्छ भन्ने खुलदुलीले सताउन लाग्यो ।’

त्यसपछि छोराको सुधारको लागि गर्न सकिने क्रियाकलापबारे सोध खोज गर्न थालिन् । घरमा सकेसम्म बच्चालाई सजिलो हुने सामाग्रीको जोहो गर्न पनि शुरु गरिन् । उनकै भनाइमा आफ्नो सन्तानलाई १०० प्रतिशत मात्र होइन ५०० प्रतिशत बनाउँछु भनेर लागिन् ।

छोरा ११ महिनाको भएपछि फिजियोथेरापी गराउन थालिन् । त्यसपछि छोरामा सुधार पनि हुँदै गयो । एकातर्फ उनको आशाले ठाउँ पायो । छोरामा क्रमिक सुधार हुँदै थियो, तर, समाजमा भने कविता स्वयं अपमानित हुँदै थिइन् ।

अपाङ्गगतालाई पूर्वजन्मको पाप वा अन्य परिभाषा दिने समाजका कारण छोराको अवस्थालाई लिएर उनले अनावश्यक टिप्पणी झेल्नुपर्यो । उनी भन्छिन्, ‘न त अपांगता भएका व्यक्तिको अपमान गर्नेसँग तँ तँ र म म गर्न सकें, न सम्झाउन नै ।’

अहिले उ नको छोरा सात वर्षको पुगे । योबीचमा सात सयभन्दा धेरैपटक ‘तँ अपांगता भएको बच्चाकी आमा होस्, त्यसकारण तैंले अपमान सहनु पर्छ’ भन्ने खालको व्यवहार भोगेकी छिन् ।

अपाङ्गता भएका व्यक्तिलाई हेर्ने सामाजिक दृष्टिकोण राम्रो नभएरै सार्वजनिक यातायात होस् वा भीडभाड स्थान उनलाई हरेक पटक अप्ठ्यारो पर्ने गरेको छ ।

साथीहरुको बीचमा बसेर गफ गरिरहँदा उनीहरु आफ्ना सन्तानले क्लास

टप्यो, यस्तो प्रगति गर्यो भन्छन् । कविता चाँहि मेरो छोराले

हिँड्न सिक्दैछ भन्न पाउँदा खुसी हुन्छिन् । 

तरपनि उनी अघि बढिन् । कविताले भोगेका समस्याका अनेकौं पाटोमध्ये छोरालाई विद्यालय पठाउने समयको पनि एक हो । कविताले सम्झिइन्, ‘विद्यालयहरुले छोराको हेरचाह गर्नकै लागि अन्य १ भन्दा बढी शिक्षक थप्नुपर्ने समस्या देखाउँदै भर्ना गर्न मान्दैनथे ।’

भर्ना लिईहाले पनि अपाङ्गतामैत्री संरचना नहुँदा विद्यालय पठाउने सपनालाई पनि थाती राख्नुपरेको अनुभव कवितासँग छ । कतिले त अपाङ्ग आश्रममा लगेर राखिदेउ भन्थे ।

अहिले कविताका छोरा मामाघरमा बसेर अध्ययन गर्नुका साथै फिजियोथेरापीको उपचार पनि गरिरहेका छन् । कविता थप्छिन्, ‘बच्चाको आत्मबल बढाउँदै उसको स्वास्थ्यका लागि उपयुक्त क्याल्सियम, प्रोटीनयुक्त खानाले गर्दा सिँढी समातेर हिँड्न सक्ने र सहारामा अलि स्थान पार गर्न सक्ने भएको छ ।’

उनले अझ थपिन्, ‘हौसलाको कडी थामेर प्रयास गरिरहेकी छु ।’ हुन त उनलाई एउटा बच्चा पनि आफूसँग राख्न नसकेर माईतमा राखेकी छ भन्ने पनि छन् । यस्ता अनावश्यक टिप्पणीले उनको आँखाबाट आँशु खस्छ । मनमा गहिरो चोट पर्छ । यद्यपि सन्तानको लागि जस्तोसुकै टिप्पणी सहने क्षमता भइसकेको छ उनमा ।

छोराको सुधारका लागि परिवारको भने पूर्ण साथ छ । भाइहरुको हौसलाले पनि उनलाई प्रेरणा दिएको छ । कविता हरेक पटक श्रीमानसँगै रहेर छोराको सुधारबारे छलफल गर्न चाहन्छिन् । तर, विदेश अध्ययन गर्न गएका श्रीमानसँग उनले सँगै बसेर छोराबारे छलफल गर्न पाएकी छैनन् ।

साँच्चै एउटी आमालाई आफ्नो सन्तान अरुको झैं सवल नहुँदा कति पीडा हुन्छ त्यो त कविताले भोगेकी नै छन् । त्यसमा थप समाजका अनेकन कथन । यद्यपि उनको आत्मबल बलियो छ ।

निरन्तर छोराको स्वास्थ्य सुधारका लागि उपचार र विद्यालयमा महिनाकै ५० हजारबढी खर्च लाग्छ । उपचार खर्च जुटाउन पनि उनले काम गरिरहेकी छिन् ।

आमाको तर्फबाट एउटा सन्तानलाई सक्षम बनाउन हरसंभव लाग्ने विशेष आमा हुन् कविता । उनलाई आफ्नो छोराको अवस्थाबारे खुलेर भन्न कुनै संकोच छैन । त्यसैले उनका जस्तै सन्तान भएका अभिभावले पनि उनीसँग सल्लाह लिने गर्छन् ।

साथीहरुको बीचमा बसेर गफ गरिरहँदा उनीहरु आफ्ना सन्तानले क्लास टप्यो, यस्तो प्रगति गर्यो भन्छन् । कविता चाँहि मेरो छोराले हिँड्न सिक्दैछ भन्न पाउँदा खुसी हुन्छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: