कानून मिच्दै वडा सचिवले गरिदिए दोस्रो विवाह दर्ता


प्रकाशित मिति :2019-04-08 10:58:12

–ज्ञानु पंगेनी–

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर ४ घोम्पुरामा वडा सचिवले दोश्रो विवाहको विवाह दर्ता गरिदिएका छन् ।

२०७५ सालको भदौ १ गतेबाट लागु भएको मुलुकी अपराध संहिता अन्तरगतको विवाह सम्बन्धी कसुरमा दोश्रो विवाह गर्न नपाइने र गरेमा स्वतः खारेज हुने कानुनी व्यवस्था छ । तर, यहाँका एक जना वडा सचिवले भने दोश्रो विवाहलाई वैधानिकता दिएका छन् ।

मध्यविन्दु नगरपालिका वडा नम्बर ४ घोम्पुराका प्रेमलाल महतोले जानवी महतोसँग गरेको दोश्रो विवाह वडा सचिव विनय वस्तीले दर्ता गरिदिएका हुन् । वडा कार्यालयमा गत फागुन ५ गते उनीहरुको विवाह दर्ता भएको हो ।

वडा सचिव विनय वस्ती

प्रेमलालकी जेठी श्रीमती सुष्मा महतोले र उनका आफन्तजनले वडा सचिवले आर्थिक चलखेलका आधारमा विवाह दर्ता गरिदिएको आरोप लगाएका छन् । जेठी श्रीमती छ भन्ने जान्दाजान्दै पनि सचिवले दोश्रो विवाह दर्ता गरेकाले उनलाई कारबाही हुनुपर्ने माग समेत गरेका छन् ।

जेठी श्रीमती सुष्माले श्रीमान विरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा बहुविवाहको किटानी जाहेरी दिएकी छिन् । सुष्माका अनुसार एक महिना अघि नै प्रहरीमा जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन मानेन ।

प्रमाण नपुकेको भन्दै प्रहरीले एक महिनासम्म आलटाल गर्दै आईरहेको थियो । विभिन्न महिला अधिकारकर्मी, नागरिक समाज, पत्रकार लगायतको टोलीले दबाब दिएपछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेको हो ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वमा समेत विवाह दर्ता खारेज गर्न निवेदन दिएको भए पनि प्रशासनले समेत पहल नगरेको सुष्माले बताईन् । उनले जिल्ला प्रशासनमा फागुन १५ गते नै विवाह दर्ता खारेज गर्न निवेदन दिएकी छिन् ।

श्रीमान पक्षबाट आर्थिक प्रलोभन र दबाबमा परेर प्रहरी प्रशासनले जाहेरी लिन नखोजेको उनको आरोप छ ।

सचिव विनय वस्तीले भने आफु कुनै पनि प्रलोभनमा नपरेको बताएका छन् । प्रेमलालले आफुलाई झुक्याएको वस्तीको भनाइ छ ।

प्रेमलालले २०७१ सालमा नै विवाह गरेको र कान्छी श्रीमतीसँग छोरा समेत रहेकाले छोराको जन्मदर्ता गर्न विवाह दर्ता आवश्यक परेको भनेपछि आफुले दर्ता गरेको उनले बताए । तर कान्छीसँग छोरा नभएको आफूले पछि मात्रै थाहा पाएको उनको दाबी छ ।

वडा सचिव वस्तीका अनुसार २०७५ सालको भदौ एक गतेभन्दा पहिले भएको विवाहलाई बहुविवाह भए पनि दर्ता गर्न मिल्ने केन्द्रीय पञ्जिकरण विभागले कानुन मन्त्रालयसँग परिपत्र गरेकाले सोही आधारमा आफुले दर्ता गरिदिएको उनले बताए ।

एक महिनासम्म पनि जाहेरी दर्ता नगरेको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी अर्जुन रानाभाटले प्रमाण अपुग भएकाले घटनाका बारेमा सोधपुछ गर्ने काम भईरहेको हुँदा जाहेरी दर्ता नभएको प्रतिकृया दिएका छन् ।

श्रीमानको नामको नागरिकता छ, विवाह दर्ता छैन

सुष्मासंग श्रीमानको नामको नागरिकता छ । छोराछोरीको जन्मदर्ता पनि बनिसकेको छ । तर विवाहदर्ता छैन । सुष्मा र प्रेमलालको विवाह भएको १८ वर्ष भएको छ । ठूली छोरी १७ वर्षकी, माईली छोरी १५ वर्षकी र कान्छो छोरा ६ वर्षका छन् ।

दुई सन्तानकाे साथमा सुष्मा

सुष्माले विवाह दर्ताका लागि पटक–पटक श्रीमानसँग कुरा राखेको भए पनि श्रीमानले वास्ता नगरेको उनको भनाई छ । ‘पहिले विवाह दर्ताको त्यति चलन थिएन । त्यहि पनि मैले विवाह दर्ता गर्न भनेर श्रीमानसँग भनेको थिएँ ।’ उनले भनिन्, ‘श्रीमानले मेरो नामको नागरिकता भए पछि तँलाई किन विवाह दर्ता चाहियो भन्नुहुन्थ्यो । त्यसैले बनाइनँ ।’

सुष्मालाई विवाह दर्ता नभएका कारणले आफू समस्यामा पर्छु कि भन्ने पिर छ । श्रीमानले भएको धनसम्पत्ती सबै बेचबिखन गरेर सक्न लागेकाले छोराछोरीको लालनपालनमा समस्या हुने हो कि भन्ने चिन्ता लागेको सुष्माले बताईन् । उनले आफूलाई न्याय दिलाउन सबै सम्बन्धित निकायसँग आग्रह समेत गरेकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: