गलत तिमी, चरित्रहीन म ?


प्रकाशित मिति :2019-04-01 14:32:28

–गायत्री खतिवडा–

केही दिन अघि महिला खबरमा प्रकाशित उन्नती चौधरीको ननभर्जिन केटी शीर्षकको लेखले ध्यान तान्यो । अनि आफ्नो पनि अनुभव बाँड्न मन लाग्यो ।

म हरेक पटक अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जाँदा मेरो नाम थर र उमेर लेखिएको कार्ड हेरेपछि :

डाक्टर : तपाईंको कतिजना बच्चाबच्ची छन् ? 

म : छैन ।

डाक्टर : मतलब, नभएको कि सुर नै नगर्नु भएको ?

म : होइन । छैन भनेपछि छैन ।

डाक्टर : किन, लाज मान्नु भएको हो कि क्या हो ? अहिलेको जमानामा पनि लाज मान्नुपर्छ र ?

म : मेरो विहे नै भएको छैन । किन लाज मान्नु !

(यसपछि डाक्टरले ‘सरी’ भन्नुपर्छ भन्ने ठान्दैन र भन्दैन । मलाई भित्रभित्रै रिस उठ्छ । ‘अब तँसँग कुरा गर्दिन’ भनेर उठ्न मन लाग्छ । तैपनि थेचरिएर चुप लाग्छु ।)

गाडीमा यात्रा गर्दा सँगै सिटमा बसेको अपरिचित पुरुष :

बहिनीको/ दिदीको घर कहाँ हो ?

म : धादिङबेशी ।

ऊ : माइती नि ?

म : धादिङबेशी ।

ऊ : श्रीमान कहाँ छन् ? के काम गर्छन् ?

म : छैन ।

ऊ : बित्नुभएको हो कि ? (जिब्रो लेब्राएर ) कि आफैले छोड्नुभयो ?

म : (कडा स्वरमा ) मैले विहे नै गरेको छैन ।

ऊ : विहे नगरेपनि के भयो र अहिलेको जमानामा । ‘इन्जोय’ गर्ने साथी त हुँदै होलान् ?

(उसले मलाई ‘इन्जोय गर्ने साथी’ भन्नुको मतलब ‘रसरंग गर्ने केटासाथी’ भनेको हो भन्ने बुझ्न कुनै गाह्रो छैन । “वेश्या” ठान्दैछ सायद । किनकी घरि घरि आफ्नो शरीर म तर्फ भारि बोकाउन ल्याउँछ । एक पटक त यस्तै कुराकानी पछि मेरो स्तनमा कुहिनाले धकेल्ने र थिच्ने गर्यो । मैले झपारे पछि उठेर पछाडीको सिटमा बस्न गएको थियो । तैपनि उसले ‘सरी’’ भनेन ।)

अरु बेलामा म भित्रभित्रै मुर्मुरिन्छु । उसलाई चिथोरुँ जस्तै लाग्छ । कराउँछु । झपार्छु । गाडीका अरु कसैले मलाई साथ दिँदैनन् । त्यसपछि चुपचाप बस्छु ।

कतै कार्यक्रममा जाँदा :

पाका उमेरका अपरिचत व्यक्ति

नानीको बोली साह्रै मन पर्यो । राम्रो बोल्नुहुँदो रहेछ । निकै लच्छिनको हुनुहुँदो रहेछ ।

म : धन्यवाद आमा/ बुबा ।

ती व्यक्ति : श्रीमान के काम गर्नुहुन्छ नानी ? बच्चाबच्ची कति जना छन् ?

म : मेरो त विहे नै भएको छैन ।

ती व्यक्ति : ए ! एक बारको जिन्दगी रमाइलो गरेर मात्र जाँदैन । विहे त गर्नुपर्छ, गर्नुस् है । छोरीमान्छेको लच्छिन भनेको पुरुष हो (श्रीमान) । ‘केटा साथी’ त होलान् नि !

(यहाँ मलाई सोधिएको केटा साथी ‘लभवाला ब्वाय फ्रेण्ड’ हो भनेर बुझ्न मलाई कुनै गाह्रो हुँदैन । ‘छोरीमान्छेको लच्छिन भनेको पुरुष हो’ भन्ने वाक्य कानमा ठोक्किन्छ र टाउको दुख्छ । अनि अघि भर्खर ‘निकै लच्छिनको हुनुहुँदो रहेछ’ भन्ने वाक्यको अर्थ खोज्न थाल्छु ।)

माथिको तीन घटना मेरो व्यक्तिगत जीवनमा पटक पटक दोहोरिएको छ । म पक्का छु, अब पनि दोहोरिन्छ ।

हिजोआज जँचाउन जाँदा अस्पतालको ढोकाबाट भित्र छिरेपछि अब यही प्रश्न आउँछ भनेर मेरो दिमाग रन्थनिन्छ । डाक्टरकोमा पुगेपछि जब म आफ्नो स्वास्थ्य समस्या खुलेर बताउँछु त्यसपछि डाक्टरले मेरो रोगको निदानको कुरा पहिले गरोस् भन्ने आशा राख्छु । तर, अहिलेसम्म मैले सोचेझैं भएको छैन ।

डाक्टरले पारिवारिक कुरा पनि जान्न आवश्यक होला । तर किन कतिवटा बच्चा छ ? भन्ने प्रश्नबाट शुरु गर्छन् । र, किन आफुले सोधेको कुरा गलत भएपछि माफी माग्दैनन् ?

विहे नभएका महिला पनि उपचारको लागि आएका हुन्छन् भन्ने किन सोच्न सक्दैनन् ?

मलाई जुन आसयले प्रश्न गर्ने डाक्टरले मेरै उमेरको अर्को पुरुषलाई पनि त्यसैगरि सोध्ला ? पक्कै सोध्दैन ।

केही घण्टाको लागि यात्रा गर्ने कुनै पुुरुष यात्रुले किन ‘तिम्रो श्रीमान कहाँ छ ?’ भन्नेबाट कुरा शुरु गर्छ । तिनका लागि यो जरुरीको विषय हुँदै होइन । अर्को कुरा आजसम्म मैले यात्रा गर्दा महिलाले सँगैै सिटमा बसेको पुरुषलाई यस्ता बेअर्थी र सरोकार बाहिरको प्रश्न सोधेको सुनेकै छैन । न त स्वयंले सोधेको छु ।

पुरुषलाई लाग्दो हो कि यस्तो कुराकानी गर्दा महिलाले रमाइलो मान्छन् । वा श्रीमान कहाँ छ ? भन्ने थाहा पाएपछि जिस्काउन पाइन्छ, या पिछा गर्न सजिलो हुन्छ । प्रायः पुरुषको सोचाइमा महिला भनेको ‘खेलौना’ मात्रै हो ।

५०/६० कटेका पाका मान्छेका लागि विहे गरेका छोरीमान्छे मात्रै ‘लच्छिन’का हुन्छन् । दिनहुँ पिटाइ खान परेपनि उनीहरुको लोग्ने हुन जरुरी छ । विहे नभएका छोरीमान्छे लच्छिनका हुँदैनन्, ‘चरित्रहीन’ हुन्छन् ।

यी भोगाइ महिलाप्रति हेरिने समाजको ऐना हो । आज पनि समाजले २५ वर्ष पार भएकी छोरीमान्छेको विवाह भएको छैन भने कुनै ‘दोष’ भएर नै विवाह नभएको भन्ने अड्कल काट्छ ।

३० वर्ष पार भएपछि त विहे हुने कुरै भएन । समाजले ‘विहे गर्नु नै सबैकुरा पाउनु हो’ भन्ने सिकायो । न कि शिक्षा, ज्ञान, अनुभव र रोजगारी । १६ वर्ष टेकेपछि छोरी हुर्की भन्ने समाजमा ३५ वर्षको हुँदा नि विहे नगर्ने म ‘ननभर्जिन, वेश्या, चरित्रहीन र अलच्छिना’ हुने नै भएँ ।

यो कुरा मलाई समाजले मात्र भनेको छैन । आफ्नै आफन्त र नातागोताका भित्रका मान्छेले पनि भनेका छन् । म सानैदेखि राजनीतिक संगठनमा आवद्ध भएर कार्यक्रमहरुमा जान्थें । उतिबेला देखि नै आफन्तहरुले मेरी आमालाई ‘छोरी वेश्या भएर जाली है’ भनेको बिर्सिएको छैन ।

२०६४ सालबाट स्थानीय एफएममा काम गर्न गएँ । त्यतिबेला पनि केही मान्छेहरुले आमासँग ‘त्यस्तो ठाउँमा काम गर्ने मान्छे राम्रो हुँदैनन् । छोरीलाई किन पठाएको ?’ भने भन्ने थाहा पाएँ ।

अहिले महिलाको मानवअधिकारको लागि पैरवी गर्छु । महिलामाथि हुने विभेद, शोषण र अन्यायको विरुद्धमा आवाज उठाउँछु । फेरि पनि नजिकका आफन्त र चिनेजानेका मान्छेहरुले नै ‘त्यस्तो काम गर्ने मान्छे राम्रा हुँदैनन्’ भनेको पटक पटक सुनेकी छु ।

अन्य क्षेत्रका विद्वान हुँ, बुद्धिजीवी हुँ भन्नेहरुले पनि ‘अधिकारकर्मीहरु चरित्रहीन हुन्छन्’ भनेका कुरा हरेक दिनजसो बजारको चोक, चिया पसल र सडकमा सुनेकी छु । तर सुनेको नसुन्यै गरि हिँडिरहेको छु ।

उनिहरुलाई म चरित्रवान भएको देखाउन मलाई जरुरत छैन । हो, छोरीमान्छे बोल्नुहुँदैन भन्ने समाजमा म ठूलो स्वरले बोलें, बोल्छु । छोरीमान्छे ठूलो स्वरमा हाँस्नु हुँदैन भन्ने समाजमा ठूलो स्वरले हाँसे, हाँस्छु ।

छोरीमान्छे एक्लै हिँड्नुहुँदैन भन्ने समाजमा प्रायः एक्लै हिँड्छु । साँझ परेपछि निस्फिक्री बजार डुल्छु । एक्लै फिल्म हेर्न जान्छु । जे जे गर्नुहुँदैन भनेको छ त्यही त्यही गर्न मन लाग्छ, गर्छु ।

यही कारणले मेरो चरित्र र यौनिकतामाथि कसैले प्रश्न गर्छ भने म होइन तीनै हुन् चरित्रहीन । ‘मर्द हुँ’ भन्ने कुनै पुरुषले भन्दा सयौं गुण इमान, नैतिकता, अनुशासन, शिष्टता र सद्विचार सिकेको छु, निभाएको छु । त्यसैले म आफूप्रति स्वयं गौरव गर्छु ।

सयौं वर्षदेखि पित्तृसत्ताले शासन गर्दै आएको हाम्रो समाजले छोरीमान्छेलाई ‘मान्छेको दर्जा’ नै दिएन । छोरीको पनि मन हुन्छ । छोरीलाई पनि हाँस्न मन लाग्छ । कहीं जान मन लाग्छ । छोरीले पनि साथी बनाउन हुन्छ भन्ने सोच्दै सोचेन ।

छोरीलाई आफ्नो खुशी आफैंले रोज्न पाउने अधिकार दिएन । जन्मेदेखि मृत्युको दिनसम्म अर्कैको नियन्त्रण । अर्कैको खटनपटन । खुट्टामा संस्कारको साङ्लोेले बाँधेर कैद गर्दै आयो ।

त्यसको विरुद्धमा उभिदै अहिले केही छोरीहरुले बोल्न खोजे । आफैले निर्णय गर्न चाहे । आफ्नो खुसी आफैले खोज्न चाहे । तर, चरित्र नामको हतियारले रेट्ने छोडिएको छैन । यद्यपि म ‘चरित्रहीन’ को उपमा लत्याउँदै अस्तित्वका लागि लड्न छोड्ने छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार

–महिला खबर– अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज

आफ्नै पाठेघरबाट जन्मिएकाे सन्तानलाई मेराे भन्न नपाउने ?

–डा.अरुणा उप्रेती– पाँच पाण्डव बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु

सर्वोच्चले खाेलिदियाे जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता लिने बाटाे

–महिला खबर– ललितपुर । जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च

‘तान्ने प्रथा’ अझै

मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

–महिला खबर– झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: