बुहारी ! नो फेसबुक


प्रकाशित मिति :2019-03-24 11:55:17

-बेलिना थापा-

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका १ कपुरगाउँकी कृपा विकलाई अरुले जस्तै सामाजिक सञ्जाल (फेसबुक) चलाउने रहर छ ।

फेसबुकमा के हुँदो रहेछ भन्ने चासो पनि उत्तिकै छ । तर, परिवारबाट फेसबुक चलाउन रोक लागेको छ । परिवारको कुरा काट्न नसकेपछि उनी फेसबुक चलाउँदिनन् ।

‘सबैले फेसबुकको कुरा गर्छन्, चलाउँछन् । मलाई पनि चलाउन त मन छ नि । तर, के गर्नु परिवारको कुरा नमानौं पनि कसरी’ उनले भनिन्, ‘इमो चलाउने गरेको छु । विदेशमा रहेको श्रीमानलाई यसैबाट भिडियो कल गर्छु । म्यासेज पठाउँछु ।’

कपुरगाउँका महिलाहरु

१९ महिनाअघि कामको सिलसिलामा दुबई गएका श्रीमान् फूलबहादुरको इच्छा अनुसार फेसबुक नचलाएको उनले बताइन् । ‘खोई किन हो । फेसबुक चलाउँछु भन्दा कराउनु हुन्छ । किन चलाउनुपर्यो ? भन्नुहुन्छ’ कक्षा ८ सम्म अध्ययन गरेकी उनले थपिन् – ‘आफ्नो श्रीमानले भनेको मान्नै पर्यो ।’

उनले फेसबुकमा देशभरका गतिविधि थाहा हुने अरुले बताएको सुनेकी छिन् । कृपालाई पनि के रहेछ बुझ्ने मन छ । तर, बन्देज लगाइएको छ । भन्छिन्, –‘म बुहारी भएकै कारण फेसबुक चलाउन पाउँदिन ।’

कपुरगाउँमा छोरीलाई फेसबुक चलाउन खुल्ला गरेपनि बुहारीले भने चलाउन पाएका छैनन् । फेसबुक चलाएर ज्ञानका कुरा सिक्ने र हेर्ने रहर बोकेका उक्त गाउँका बुहारीले आफ्नो इच्छा मनभित्रै लुकाएका छन् ।

सोही गाउँकै आइतकुमारी विकको पनि फेसबुक आइडी छैन । फेसबुक चल्ने एन्ड्रोइड मोबाइल बोकेपनि उनलाई फेसबुक चलाउने अनुमती छैन ।

गाउँका रहेका अन्य दिदीबहिनीको फेसबुक हेरेर कहिलेकाँही आफ्नो खसखस मेटाउँछिन् । ‘७ कक्षा पढेको छु । मोबाइल चलाउन आउँछ । अक्षर चिनेको छु । फेसबुक पनि चलाउँ कि जस्तो लाग्छ’ आइतकुमारीले भनिन्, ‘श्रीमानले चलाउन दिनुहुन्न । फेसबुक कस्तो हुन्छ भनेर अरुको मोबाइलमा हेर्ने गरेको छु । चित्त बुझाएको छु ।’

एक वर्षअघि साउदी अरेविया गएका श्रीमान धीरबहादुर विकले इमो चलाएपनि फेसबुक नचलाउ भन्ने गरेको उनले बताइन् ।

गाउँकै उमा विकको श्रीमान दिपेश साउदी गएको २ महिना भयो । श्रीमानसँग कुराकानीका लागि मोबाइल लिएकी छिन् । उनले पनि गाउँका अरु बुहारीले जस्तै इमोबाट श्रीमानसँग कुरा गर्छिन् ।

कपुरगाउँ

‘यो गाउँका कुनैपनि बुहारीले फेसबुक चलाउँदैनन् । मैले मात्र के चलाउनु जस्तो छ । मन भएपछि बुढाले चलाउन दिनुहुन्न’ उनले भनिन्, ‘फेसबुककै कारण कति महिला बिग्रिएको सुनेका छौं । त्यसैले पनि हामीलाई चलाउन नदिनुभएको होला । बुढाले भनेको मान्नै पर्यो ।’

स्थानीय स्वास्थ्य स्वयंसेविका विष्णुमाया गुरुङका अनुसार कपुरगाउँका सबैजसो घरका युवा रोजगारीका लागि विदेश गएका छन् ।

कतिका श्रीमती छोराछोरी पढाउन गाउँबाट बजार झरेका छन् । कति गाउँमै छन् । सबैको हात–हातमा मोबाइल भएपनि सामाजिक सञ्जाल (फेसबुक) कसैले चलाउन पाउँदैनन् ।

कतिलाई सासुससुरा त, कतिलाई श्रीमानले रोक्ने गरेका छन् । उनले भनिन्–‘पढेलेखेका त चलाउँदैनन् । नपढेकाले कहाँबाट चलाउनु । फेसबुकले विकृति ल्यायो भनेर पनि होला श्रीमानहरुले चलाउन दिएका छैनन् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: