स्थानीय सरकार : कुरीति जोगाउँदै


प्रकाशित मिति :2019-03-12 10:45:14

-बिनु सुवेदी-

बाजुरा । बुढिगंगा नगरपालिका–१ की सदस्य सुर्जा परी वडा सदस्यमा निर्वाचित भएपछि पनि बिरामी हुँदा ‘देवता’ खोज्न थाल्छिन् । नजिकैका देवताले निको पारेनन् भने उनी अस्पताल जाने होइन, ‘झन् ठूला देवता’ खोज्न थाल्छिन् ।

‘ठूला देउता’ ले पनि रोग ठीक नपारेपछि चाहिं उनको अन्तिम बाध्यता बन्ने गरेको छ, अस्पताल । परीको वडामा कसैको छोरो नजन्मिए  देवीथान जानु र महीनावारी हुँदा छाउ बार्नु अझै पनि सामान्य घटना हुन् । हिमाली गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला बुढा भन्छिन्, “अझै रुढिवादी कुरीति कायम छ । सुत्केरी र छाउ हुँदा गोठमा राख्ने गरिन्छ । छोरो माग्न देवीथान जानु त सामान्य नै भयो ।”

कुरीतिको चक्रबाट जनप्रतिनिधि नै मुक्त हुनसकेका छैनन् । चन्द्रकला मात्र होइन, बाजुराकै बुढिगंगा नगरपालिका–१ की महिला सदस्य मोतिकला थापा आफूले मान्दै आएका प्रथा र कुरीतिलाई जनप्रतिनिधि बनेपछि पनि चुनौती दिन नसकिएको स्वीकार गर्छिन् । छाउपडी प्रथा अन्त्य गर्न त्यस क्षेत्रका छाउगोठ भत्काइए पनि महीनावारी भएका बेला आम महिलाले झेल्ने झमेला थापाले आफैंले पनि झेल्दै आएकी छन् । उनका अनुसार, ‘देवीदेवता’ र ‘धामीझाँक्री’ का नाममा चलेका विगतदेखिका कुरीति सबैले मान्नै पर्ने बाध्यता छ ।

समाजको ठूलो हिस्साले अभ्यास गरेका गैरकानूनी कुरीति तथा प्रथाहरूलाई महिला जनप्रतिनिधिले मात्र होइन, पुरुष जनप्रतिनिधिले समेत चुनौती दिनसकेका छैनन् । बुढिगंगा नगरपालिकाका प्रमुख दीपकविक्रम शाह आफ्नो क्षेत्रमा कानूनले हटाइसकेका अनेक अन्धविश्वास र कुरीतिहरू अझै कायम रहेको स्वीकार गर्छन् ।

यस्ता घटना घरैपिच्छे कायम रहे पनि तिनलाई उन्मूलन गर्न नसकिएको शाहको कथन छ । शाह भन्छन्, “गाउँमा साक्षर र शिक्षितको संख्या बढ्यो, स्थानीय सरकारमा जनप्रतिनिधि आए । तर, कुरीति र अन्धविश्वास माथिको विश्वास घटेको छैन ।”

बाजुराका धेरै नगर र गाउँपालिकाका जनप्रतिनिधिको बाध्यता सुर्जा परी र मोतिकला थापाको भन्दा खासै भिन्न छैन । नेपालको संविधानको धारा २९ (२) ले ‘धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाइने छैन’ भनेको छ । मुलुकी अपराध संहिता २०७४ मा छाउपडी प्रथालाई निरन्तरता दिने, छाउगोठमा बस्न बाध्य पार्नेलाई तीन महीनासम्म कैद वा तीन हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

तर, देशको संविधान र कानूनमा भएका यी व्यवस्थालाई बाजुराका स्थानीय तहले गिज्याएका छन् । बनेका कानून लागू गराउन स्थानीय जनप्रतिनिधिमा रुचि देखिंदैन । बरु उनीहरू समाजमा व्याप्त कुरीति र अन्धविश्वासको आफैं वाहक बनेका छन् । सुदूरपश्चिम प्रदेशकी सांसद पूर्णा जोशी भन्छिन्, “प्रथा, परम्परा, प्रचलन र मूल्यमान्यताका नाममा महिलामाथि हुने विभेद, शोषण र अन्यायलाई कानूनले निषेध गरिसकेको छ । तर, फेरि पनि थोत्रा अभ्यास कायम राखिराख्ने जो–कोहीलाई कानून अनुसार दण्डको भागीदार बनाउन ढिलो गर्नुहुँदैन ।”

आम दृश्य

कुप्रथाका कारण बाजुराका आम महिलाको व्यथा जनप्रतिनिधिहरूको भन्दा धेरै भिन्न छैन । आम मतदाता र जनप्रतिनिधि कुप्रथा जोगाउने र निरन्तरता दिने मामिलामा एउटै बाटोमा छन् । धनकला रावल हिजोआज धेरै समय बाजुराको बुढिगंगा नगरपालिकामा रहेको माइती घरमै भेटिन्छिन् । उनको बुझाइमा ‘पुरातन समाज बदल्न’ माओवादी जनयुद्धमा लागेका पति मारिएपछि उनको आत्मा धनकलाको शरीरमा चढ्ने गरेको छ, जसलाई उनले आफूमाथि देउता चढेको ठानेकी छन् । खेतीपाती र घरधन्दा गर्दा समेत पतिको आत्मा भड्किएर धनकलालाई दुःख दिन्छ । आफ्नो घरमा बस्दा यही समस्याले सताएपछि माइत आएकी धनकलालाई यता पनि त्यो पीडाले पछ्याउन छाडेन । “यता, उता जता पनि मलाई बस्न दिएनन्” धनकला भन्छिन्, “माइत आएपछि पनि छोडेनन् ।”

छाउ (महिनावारी) भएका महिलाले प्रयाेग गर्ने धाराे

स्थानीय शासन फेरिएको छ । तर, धनकलाको अन्धविश्वास उस्तै छ ।

समाजमा व्याप्त अन्धविश्वासमा विश्वास गरेकाले उनी अहिले पनि आफ्ना पतिको आत्मा आफ्नो शरीरमा चढ्ने गरेको बुझाइमा छन् ।

तर धनकलाको समस्या के हो ? हामीले धुलिखेल अस्पतालका वरिष्ठ मनोचिकित्सक डा. अजय रिसालसँग सम्पर्क ग¥यौं ।

उनी भन्छन्, “यो डिसोसिएटिप डिसअर्डर हो । लामो समयको मानसिक तनाव शारीरिक लक्षणको रूपमा देखा पर्छ । तर मानसिक उपचार गरेर उनलाई निको पार्न सकिन्छ ।”

धनकला जस्तै बुढिगंगा–५ नुवाघरकी भावनादेवी थापा गत मंसीरमा छोरो बिरामी भएपछि स्थानीय स्वास्थ्य चौकीमा जचाउन पुगिन् । तर, डाक्टरले दिएको औषधिले बिरामी छोरोलाई सन्चो भएन । उनी भन्छिन्, “देवता लागेको रहेछ । डाक्टरको औषधिले के सन्चो हुनु ?”

धामीको धन्दा

स्थानीय सरकार र राज्यका अरू संयन्त्रहरू कुरीति र अन्धविश्वास विरुद्ध बलियोसँग प्रस्तुत नहुँदा बाजुरामा धामी–झाँक्रीको धन्दा फस्टाएको छ । ‘देउता लागेपछि’ धामीलाई देखाउन जानेको लर्को कतिपय बेला स्वास्थ्य चौकीमा जाने बिरामीको भन्दा लामो हुन्छ ।

चन्द्रभाने सार्की गाउँका नाम कहलिएका झाँक्री हुन् । चन्द्रभानेलाई भेट्न घरबार बिग्रिएकादेखि ‘इज्जत लुटिएका’ सम्म धाउँछन् । “कसैको धनमाल चोरी भयो वा इज्जत लुटियो भने पनि देवता पुकार्ने चलन छ” चन्द्रभाने भन्छन्, “पूँजी नहुनेहरू, बोल्न नसक्नेहरू हे प्रभु तु छइ मेरो, छलफल गर भनेर उजुरी गर्न आउने धामीलाई नै हो ।”

स्थानीयले प्रयाेग गर्दै अाएका धाराे

 

अर्को दृष्टान्त हेरौं :

स्थानीय विष्णादेवी थापा भारतमा काम गर्दागर्दै दुर्घटनामा परेका आफ्ना पति देवबहादुर थापा ‘देवता’ कै दयाले बाँचेको विश्वासमा छिन् ।

“देवतालाई भाकल नगरेको भए मेरा श्रीमान्लाई निको हुँदैनथ्यो”, उनी भन्छिन् ।

उनका पति भारत र नेपालका विभिन्न अस्पतालमा १८ लाख रुपैयाँ खर्च गरेर निको भएका हुन् तर, विष्णादेवीको भरोसा भने देवीथानमै छ ।

बुढिगंगा नगरपालिका–५ की सुन्तलादेवी थापाका तीन सन्तानमध्ये माहिलो छोरो लोकेन्द्र थापा बिहेलगत्तै भारत पसे । दुई वर्ष परिवारको सम्पर्कमै नआएका उनी ८ वर्षसम्म घर फर्किएनन् । छोरो खोज्न र घर फर्काउनका लागि सुन्तलादेवीको परिवारले भाकलकै सहारा लियो । बुहारी राजुदेवी थापाले माइतीतिरका र सासूले घरतिरका ‘देवता’ पुकारेपछि छोराले घरमा फोन गरेको सुन्तलादेवीको विश्वास छ ।

घर छाडेकालाई फर्काउन मात्र होइन, छोरो जन्माउन पनि देवी–देउता पुकार्नेको कमि छैन । देउताले आफ्नो पुकारा सुनेर छोरो उपहार दिएको ठान्छिन् सोही ठाउँकी सुनादेवी थापा । देवतासित वर मागेर आएको १० महीनामै छोरो जन्मिएपछि उनलाई देवता माथि झन् विश्वास बढेको छ । कतिसम्म भने छोरोले बिरामी भएर दूध खान छाडे पनि उनी देवीथान नै जान्छिन् । भन्छिन्, “छोराले दूध खान छोडेपछि म फेरि नदाई (देवीथान) जान्छु ।”

सुनादेवीले जस्तो देउतासँग वर माग्ने सबैले छोरा पाउन भने सकेका छैनन् । लगातार ६ छोरी जन्मिएपछि छोराको रहर पूरा गर्न उज्वलादेवी थापाका पति वीरबहादुर थापाले दोस्रो विवाह गर्ने निधो गरे । उनले नयाँ पत्नी पाउन उज्वलालाई नै देवीथान पठाए । आफूबाट छोरो नजन्मेपछि खिन्न भएकी उज्वलाले देवीथान पुगेर पतिका लागि दोस्रो पत्नी मागिन् । उज्वलाका पति त्यतिमा रोकिएनन्, उनले उज्वलालाई फेरि छोराको बर माग्न पठाए । तर, उज्वलाको त्यो भाकल भने फेल भयो, उनकी सौताले पनि छोरी नै जन्माइन् ।

त्यस्तै बुढिगंगा नगरपालिका–४ कोटकी २३ वर्षीया प्रियंका खत्रीलाई आफूसँग विवाह भएको वर्ष दिनमै आफ्ना श्रीमान्ले अर्को विवाह गर्नुको कारण देवता रिसाउनु हो भन्ने लाग्छ । तर, सौता ल्याउने पति कुमारका विरुद्ध न उनको आवाज बलियो छ, न समाजले खत्रीलाई साथ दिएको छ । देउताको डरले सबै चुपचाप छन् ।

‘म बौलाएँ’

छाउपडी प्रथा लगायत त्यस क्षेत्रका धेरै कुरीतिलाई कानूनले अपराधको सूचीमा राखिसकेको छ । तर, बाजुराका महिला र किशोरीले अझै पनि छाउपडी बार्न छाडेका छैनन् । त्रिवेणी नगरपालिकाको तोली माध्यमिक विद्यालयका किशोरीहरू महीनावारी भएको चार दिनसम्म स्कूल जाँदैनन् । स्थानीय शान्ताकुमारी साउँद पहिलोपटक महीनावारी हुँदा स्कूल गएकी थिइन् । साउँद भन्छिन्, “त्यतिबेला म बौलाएँ, अनि स्कूल जान छोडिदिएँ ।”

विद्यालय गएको बेला आफूहरूलाई महीनावारी भएको देउतालाई थाहा हुने मनोविज्ञानमा छन् कलिला किशोरीहरू । फलतः उनीहरू महीनावारी भएको चार दिन घर नजिकैको गोठमा बस्छन्, स्कूल जाँदैनन् । महीनाको चार दिन विद्यालय नजाँदा वर्षभरिमा सामान्यतया ४८ दिन बराबरको पठनपाठन क्षति हुन्छ । परिणामतः महीनावारीकै कारण छात्रको तुलनामा छात्राहरूको सिकाइ उपलब्धि कमजोर हुन्छ ।

तोलीकै कुष्माकुमारी साउँदलाई पनि महीनावारी भएको बेलामा स्कूल जाँदा देवता रिसाएको अनुभव छ । बुढिगंगा नगरपालिका–५ की सुस्मिता थापा १४ वर्षकी भइन् । उनी महीनावारी भएको बेला गोठमा बस्ने गरेकी छैनन्, स्कूल पनि जाने गरेकी छन् । तर, उनी पनि केही कुरामा भने अझै कट्टर छन् । “हामीले छाउ हुँदा दूध खायौं भने भैंसीले दूध दिंदैनन्, त्यसैले म पनि यो नियम पालना गर्छु” सुस्मिता भन्छिन् ।

स्कूले किशोरी मात्र होइन, जनप्रतिनिधिकै परिवारमा पनि यही नियम लागू हुने गरेको छ । अझै महीनावारी भएको बेला दही–दूधबाट आम महिलालाई वञ्चित गर्ने गरिएको बुढिगंगा नगरपालिका उपप्रमुख तारा थापा खातीको भनाइ छ । उपप्रमुख खाती भन्छिन्, “मेरै बुहारी महीनावारी हुँदा घरसँगै जोडिएको कोठामा राख्ने गरेका छौं । उनले पकाएको खाना अरूले खाँदैनौं ।”

महीनावारी भएको बेला किशोरीहरूले दूध–दही जस्ता पोषणयुक्त खानेकुरा झन् बढी खानुपर्छ । तर, महीनावारी भएको बेला दूध नखाने सुस्मिता नुहाउन र लुगा धुन पनि छुट्टै धारा–कुवा प्रयोग गर्छिन् । सुस्मिता भन्छिन्, “सार्वजनिक धारा–कुवा प्रयोग गर्दा गाली गर्छन्, त्यसैले अलग्गै धारा–कुवामा जाने गर्छु ।”

गैरसरकारी संस्था सोच नेपालको अध्ययन अनुसार देशभरमा वर्षौंदेखि प्रचलनमा रहेका ५७ प्रकारका कुरीतिले महिलामाथि शोषण, विभेद र अन्याय गरेका छन् । तीमध्ये अधिकांश सुुदूरपश्चिममा छन् । तिनलाई कानूनले वर्जित गरे पनि आम समाज र जनप्रतिनिधि स्वयंले जोगाइरहेका छन् ।

कुरीतिलाई आम नागरिकको व्यक्तिगत जीवन र समाजबाट उन्मूलन गर्न स्थानीय तहका जनप्रतिनिधि जागरुक हुनुपर्नेमा उनीहरूको व्यवहार चाहिं ठीक उल्टो भएको छ । सांसद जोशी भन्छिन्, “जनप्रतिनिधि जति छिटो जागरुक हुन्छन्, त्यति नै छिटो कुरीति खत्तम हुन्छन् ।”

खाेज पत्रकारिता केन्द्र

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: