श्रीमती चाहिने छोरी नचाहिने ?


प्रकाशित मिति :2019-03-07 12:58:35

धनगढीको एउटा गैरसरकारी संस्थामा काम गर्ने एकजना महिलाको परिवार सुखी थियो । दुई मात्र सन्तान इश्वरका वरदान थिए । १४ र १० वर्षे छोरी हुर्केपछि उनी घर बाहिरको काम समेत भ्याउन थालेकी थिइन् । तेस्रो सन्तानको त कल्पना पनि थिएन ।

सासू ससुरा र कतिपय आफन्तले बेलाबेला ‘छोरा नभएको घर’ भन्दा मन चसक्क भएपनि उनले यस्ता लाञ्छनाहरु पचाइसकेकी थिइन । तर, प्रविधिले पेटमा रहेको भ्रुणको पहिचान गरिदिने निश्चित भएपछि उनले मन थाम्न सकिनन्, बच्चा पाउने निर्णय गरिन । नभन्दै उनको तेस्रो सन्तानका रुपमा छोरा जन्मियो ।

तीन हप्ता अघि मैले काठमाडौं कै एकजना श्रमिक महिलालाई भेटेकी थिएँ । उनको पहिलो छोरी १० वर्ष पुगेपछि गर्भ रहेको थियो । उनले पनि अस्पताल गएर भ्रुणको लिङ्ग पहिचान गरिन् । दोस्रो बच्चा पनि छोरी रहेछ । यो थाहा पाउँदा पाउँदै पनि उनले त्यसलाई फाल्न सकिनन् । उनी भन्छिन्, ‘गर्भ फाल्न पाँच हजार लाग्छ भने, बिहान बेलुका काम गरेर खानुपर्ने कसरी ल्याउनु त्यत्रो पैसा ?’

त्यसको परिणाम उनले दोस्रो पटक पनि छोरी जन्माइन् । उनी अहिले पछुतोमा छन् । छोरी जन्मिएयता लोग्ने एकदमै कम मात्रामा कोठामा आउँछन् । घर परिवारले गर्ने व्यबहार परिवर्तन भएको छ ।

पछुतो मान्दै उनी भन्छिन् ‘आफुसँग पाँच हजार रुपैयाँ भएको भए यो जन्मने थिइन । लोग्नेको व्यवहारमा पनि यति परिवर्तन आउने थिएन । रातो दिन सौता भित्रिने चिन्ता पनि थपिने थिएन ।’

धनगढी र काठमाडौं दूई फरक पृष्ठभूमिका महिलाको साझा पीडा छ । उनीहरुले छोरा नै पाउनु पर्नेछ । अहिले प्रबिधिले त्यसलाई सजिलो बनाइदिएको छ । त्यसको प्रत्यक्ष असर छोरीमाथि परेको छ । नेपाली समाजमा वर्षांैदेखि शोषण, उत्पीडन र अन्याय सहेर बसेका महिलामाथि अब झन् ठूलो खतरा थपिएको छ । प्रविधिका कारण अब छोरीहरु गर्भमै मारिने क्रम बढ्दै छ ।

स्वास्थ्य मन्त्रालयको एक विवरण अनुसार, पछिल्लो पाँच वर्षमा नेपालमा ३ लाख ५० हजार गर्भपतन भएका छन् । यसमध्ये ठुलो संख्यामा छोरीहरु थिए भन्न सकिन्छ ।

सामाजिक कार्यकर्ता तथा चिकित्सक डा. अरुणा उप्रेतीले गरेको एउटा अध्ययनले के देखाएको छ भने २४ सय छोरा जन्मिएकोमा २७ सय छोरी जन्मिएका थिए ।

डा. उप्रेती भन्छिन्, ‘उपत्यका बाहिरको मेरो अध्ययन विवरण हेर्दा प्राकृतिक रुपमा छोरी धेरै जन्मन्छन् भन्ने देखाउँछ ।’ नेपालको हालको जनसंख्यामा महिलाको संख्या तुलनात्मक रुपमा धेरै देखिनुले पनि उप्रेतीको अध्ययन वास्तविकतमा आधारित रहेको भन्न मिल्छ ।

हरेक व्यक्ति आमाकै कोखबाट जन्मिन्छ । तैपनि समाज जननीकै उपेक्षा गर्छ ।

भ्रुणको लिङ्ग पहिचानको सुविधाका कारण भारतमा जनसंख्याको बनौट नै परिवर्तन हुन थालेको छ । डा. उप्रेतीकै भनाइमा, ‘भारतमा ८ सय छोरी जन्मिदा १ हजार छोरा जन्मन थालेका छन् । यो यहि प्रविधिका कारणले हो ।’ यहि स्थितिलाई थाहा पाएर चर्चित भारतीय चलचित्र नायक आमिर खानले भ्रुण हत्यालाई आफनो कार्यक्रमको विषय बनाएर हलचल मच्चाएका थिए ।

अझ त्यहाँको मेदान्त अस्पतालमा त केही वर्ष अघिदेखि सार्वजनिक रुपमा सूचना टाँस गरेर भनिएको छ, ‘यँहा लिंग पहिचान गरिदैन ।’ यो सूचनाको महत्व आज पनि उत्तिकै छ ।

प्रविधिका कारण मानिसहरु यति स्वार्थी भए कि नौ महिनापछि जन्मिने सन्तानको लिङ्ग के हुनुपर्छ बाबु आमाले पहिल्यै निर्णय गर्न थाले । सृष्टिको मर्म समाप्त गर्न मानवभित्र हुर्किएको यो बर्बरता बुझेर हुनसक्छ अस्पताल प्रशासन यस्तो सूचना टाँस्न बाध्य भएको ।

नेपालमा गर्भमा छोरा छ या छोरी भनेर लिंग पहिचान गर्नु कानुनी रुपमा दण्डनीय छ । तर, व्यवाहारमा भने कतै एक महिना त धेरै ठाउँमा तीन महिना नपुग्दै भ्रुणको लिङ्ग पहिचान भइराखेको छ । यहि पहिचानका आधारमा गर्भपतन भइराखेको छ । तर यो अपराध हो भन्ने समेत भएपनि दण्ड दिएको पाइएको छैन ।

तथ्याङ्कशास्त्री डा. पदम खतिवडाका भनाइमा, ‘अहिले देश बाहिर रहेको १९ लाख मध्ये १७ लाख जनसंख्या पुरुषको छ । यसरी हेर्दा अहिल्यै पनि नेपालमा महिलाको जनसंख्या पुरुषको भन्दा कम छ भनेर मान्नुपर्छ । त्यसमाथि यसरी भ्रुणको लिङ्ग पहिचान गरेर गर्भमै हत्या हुन थालेपछि आगामी दिनमा जनसंख्यामा चरम असन्तुलन आउने खतरा रहन्छ ।’

समाजशास्त्री गणेश गुरुङ भन्छन्, ‘पुरुषहरु यौनिक रुपमा असन्तुष्ट हुने जात हो । यदि महिला कम भए भने उनीहरु झन् आक्रमक हुन्छन् । यसको अर्थ महिला माथि झन् झन् हिंसा बढ्छ ।’

गुरुङ्गका भनाइमा, सामाजिक मान्यता अहिले पनि छोरा भनेको बाबु आमालाई पाल्ने बीमा हो भन्ने मान्यता छ । त्यो रहि रह्यो भने छोरा चाहने क्रम हट्न सक्दैन ।’ यसले त ‘बुढेसकालको सहारा छोरा’ भन्ने मान्यता झन्झन् बलियो बनाउँदै लानेछ ।

अशुरक्षित गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा नकारात्मक असर पार्ने कुरालाई ख्याल गरेर सरकारले २०५९ साल असोज १० मूलुकी ऐन ११ औं संसोधनले गर्भपतन गर्न पाउने कानून ल्याएको हो । त्यो पनि १२ हप्ता सम्मको मात्र ।

तर, गर्भपतन गर्न पाउने कानूनी मान्यता भएपनि बच्चाको लिंग पहिचान गर्ने उद्देश्यले भिडियो एक्सरे समेत गर्न पाइँदैन । नेपालको मुलुकी ऐन ज्यान मार्नेको महल दफा २८ ‘ग’ मा उल्लेख भए अनुसार, यदि कसैले गराएमा तीन महिना देखि ६ महिनादेखि २ वर्षसम्म कैद हुने व्यवस्था समेत छ ।

मूलुकी ऐनलाई विस्थापित गरि गत भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध संहिता ऐनले पनि १२ हप्तासम्मको गर्भपतन गर्न सक्ने व्यवस्थालाई नै निरन्तरता दिएको छ ।

‘सामाजिक मान्यता अहिले पनि छोरा भनेको बाबु आमालाई पाल्ने बीमा हो भन्ने मान्यता छ ।

त्यो रहि रह्यो भने छोरा चाहने क्रम हट्न सक्दैन ।

१२ हप्तादेखि २५ हप्तासम्मको गर्भपतन गरेमा एक वर्ष र २५ हप्ताभन्दा माथिको गर्भपतन गरेमा ३ वर्ष कैद सजायको व्यवस्था छ । अझ अपराध संहिताले भ्रुणको लिंग पहिचान निरुत्साहति गर्न लिंग पहिचान गर्नेलाई थप ६ महिनासम्म कैद सजाय र लिंग पहिचान पछि गर्भपतन गर्नेलाई एक वर्ष कैद सजाय थपेको पनि छ ।

हरेक व्यक्ति आमाकै कोखबाट जन्मिन्छ । तैपनि समाज जननीकै उपेक्षा गर्छ । सकेसम्म छोरीको साटो छोरो नै जन्मियोस् भन्ने चाहना राख्छ । ‘ढिलो होस् छोरा होस्’ भन्ने मानसिकताले लाखौं छोरीले आमाको गर्भमै मृत्युवरण गर्नु परेको छ ।

शिक्षित महिलामासमेत आफूले छोरा नपाए घरपरिवारले हेला गर्ला वा पतिले अर्को बिहे गर्ला भन्ने असुरक्षाको भावना हुन्छ । त्यसैले प्रविधिले लिंग पहिचान गरिदिने भएकोले छोरी रहेको थाहा हुने बित्तिकै महिलाहरु गर्भपतन गराउन तयार हुन्छन् ।

त्यस बाहेक नेपालको तराई क्षेत्रमा ‘छोरी जन्माउनु गरिब हुनु हो’ भन्ने बुझाइ छ । पहाडी क्षेत्रमा पनि ‘छोरा नभएको घर अँध्यारो’ भन्ने उखानै छ । यस्ता परम्परागत मान्यताका कारण पनि महिलाहरु गर्भमै छोरी मारेर पनि छोरा जन्माउन मरिहत्ते गरिरहेका छन् ।

समाज किन छोरीलाई यो धर्तिमा आउनै दिन चाहँदैन ? समाजमा स्वीकार गरिन्छ कि– परिवारमा आमा चाहिन्छ, श्रीमती चाहिन्छ, दिदी चाहिन्छ, बुहारी चाहिन्छ, बहिनी चाहिन्छ । तर, किन छोरी चाहिदैन ?

हुँदा हुँदा अब छोरीको भ्रुण पहिचान गरेर गर्भमै मार्ने क्रम बढ्दै जान थालेको छ । एकजना महिला चिकित्सकका भनाइमा, ‘महिलाहरु अस्पताल आएर यस्तो परिस्थिति देखाउँछन् कि डाक्टरलाई उसको भ्रुण हत्यामा सहयोग गरौं भन्ने लाग्छ । गर्भपतन नभए लोग्नेले अर्को विवाह गर्छ भनेर रुन थाल्छन् ।’

छोरी सृष्टिकर्ता हुन् । सृष्टिकर्तालाई गर्भमै पतन गराउँदा भोलि हाम्रो देशमा पनि चीनमा र भारतका केहि प्रान्तमा जस्तो महिलाको संख्या कम भएर छोराको विवाह गर्न कठिनाई नहोला भन्न सकिन्न ।

भारतमा सन् २००१ को विवरण अनुसार त्यहाँ महिलाको संख्या पुरुषको तुलनामा ६ करोडले न्युन छ । छोराको मात्रै खोजी हुन थालेकोले चीनले एक सन्तान नीति परिमार्जन गरिसकेको छ ।

नेपाली समाजमा महिलाको योगदान अतुलनीय छ । उनीहरु बच्चा हेर्ने, लुगा धुने, खाना बनाउने जस्ता काम गर्छन् जसलाई राष्ट्रिय आयमा समेत गणना गरिदैन । अब आएर छोरीहरु गर्भमै मारिन थाले, यसलाई ज्यादतीको पराकाष्टा हो भन्नु पर्दैन र ?

[email protected]

(निर्मला शर्मा सञ्चारिका समूहका निर्वतमान अध्यक्ष हुनुहुन्छ ।) 

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: