बालाई बाटुलीको प्रश्न – विभेद कहाँबाट शुरु हुन्छ बा ?


प्रकाशित मिति :2019-03-07 11:47:22

लैंगिक विभेद कहाँबाट शुरु हुन्छ बा ?
घरबाटै कि घर बाहिरबाट ?

अनिता गुरुङ

मलाई झल्झली सम्झना छ
दाइले आफूले खाएको थाल पनि नमाझीकन
स्कुल हिंडेको
अनि म भने आँगन बढारेर,
आमालाई खाना पकाउन सघाएर,
दाइ र मैले खाएको भाँडा माझेर
हतार हतार स्कुल पुगेको
घरबाटै शुरु भो त बा विभेद ?

सम्झना अझै ताजै छ
छिमेकका रीता, छिरिङ, श्यामसँग
मोजामा थोत्रा कपडा कोचेर फुटबल खेलेको
तर,
स्कुलमा मलाई सरले खेल्न नदिएको
स्कुलमा खेलमा पनि शुरु भो कि क्याहो बा विभेद ?

मेरा कानमा ती आवाजहरु अझै गुञ्जन्छन्
जब म किशोर अवस्थामा पाइला टेकें
हजुरआमा, आमा, दिदी, काकी, माईजू सबैले
एउटै स्वरमा सम्झाएको
बाटुली अब तिमी ठूली भयौ
छोरी मान्छेले ठूलो स्वरमा बोल्न हुन्न, हाँस्न हुन्न
बिस्तारै बिरालाको चालमा हिंड्नु पर्छ
आफन्तबाटै पनि शुरु भो त बा विभेद ?

मेरो मनमै कुँडिएर बसेको कुरा
मेरो बिहेको कुरो चल्दा
केटा पक्षकाहरु
मेरो जीउडाल मिलेको छ कि छैन ?
सुशील र व्यबहारिक छ कि छैन ?
वरपरकालाई बुझ्न पठाए,
अनि बुझ्न आए
पानी खानु मूलको छोरी ल्याउनु कुलको भन्दै
तिम्रो र आमाको कुल केलाए
तर,
केटा कस्तो छ, आचरण कस्तो छ ?
सुधार गृहमा राखेको छोरो
सुधार्न पो बिहे आँटेका हुन् कि?
केटा पट्टीको कुलको पृष्ठभूमि के हो ?
यस्ता कुराहरु बुझ्न तिमी र मेरा आफन्तहरु जानु पर्दैनथ्यो त बा ?

घरमा सबैको ज्यान खाइलाग्दो छ्, स्वस्थ छन्,
म भन्दा बलिया छन्
तर,
आफुले खाएको थाल माझ्दैनन्,
आफ्नो कपडा पनि धुँदैनन्
सबै मेरै काम हो भन्छन्
बिहान सबेरै उठेर घरको सबै कामधन्दा सक्दा
राति अबेर हुन्छ, जीउ फतक्कै गल्छ
बिहान ९ बजे कार्यालय गएर साँझ ५ बजे फर्कने
मेरा श्रीमानलाई मेरोबारे सोधे भने
अनुहार बिगार्दै भन्छन्,
केही काम गर्दिन घरमै बस्छे
दिनको कम्तिमा पनि १६ घण्टा गरिने
मेरो कामलाई त कामै होइन भन्छन् त बा?

उनको घरमा सबै जनाले खाएपछि मात्रै
मैले खानु पर्ने नियम छ
तर,
मेरो श्रीमान मेरो घरमा आउँदा
विभिन्न थरीका परिकार बनाएर
सबैभन्दा पहिला उनलाई नै टकार्छौ
तिमीले पनि त गर्यौ नि बा विभेद ?

मलाई पटक्कै चित्त नबुझेको कुरा
रक्सी र चुरोटको नराम्रो लत बसेको
साँइला दाइ कलेजोको क्यान्सर भएर पोहोर बिते
साँइली भाउजूलाई लोग्ने टोकुवाको आरोप लगाए
सेतो पहिरन लगाउन लगाए
भाउजूको रुपै अर्को भो
शुभकार्यमा देखापर्न पनि हुन्न
अशुभ हुन्छ भनेर सामेल हुन बन्देज लगाइयो
तर, अचम्म !
केही महिनाअघि श्रीमती बितेका
माइला दाइलाई त कसैले पनि
श्रीमती टोकुवा भनेनन्
सेतो पहिरन पनि लाछैनन्
पल्ला घरे कान्छाको
बिहेको जन्तीमा टाइसुट लगाएर
माइला दाइ ठाँटिएर गए त बा ?
त्यतिमात्र हो र !
माइलो एक्लो भो भनेर
घरका सदस्यहरु उनको दोस्रो बिहेको तरखरमा छन्

हाम्रा छिमेकी माया र हरि मालीको काम गर्छन्
दुबैले एकै नासको काम गर्छन्
तर,
हरिले दिनको आठ सय र मायाले पाँच सय पाउँछ
पसिनामा पनि विभेद किन बा ?

म र म जस्तै थुप्रै बाटुलीहरुका अनगिन्ती यस्ता प्रश्नहरु छन्
यी प्रश्नहरुको न्यायपूर्ण जवाफ खोज्न
हजुरबा, जेठाबा, बा, काका, मामा, दाइ, भाइसँग
हजुरआमा, जेठीआमा, काकी, आमा, माइजू, भाउजू, बुहारी र म
सबै एकठाम भेलाभई संवाद गरौं,
विभेदको गाँठी कारण खोजौं
अनि,
जहाँजहाँ लैंगिकताको आधारमा विभेद भएका छन्
त्यही ठाउँ को ठाउँ अन्त्य गरौं
हामी हाम्रै घरबाट यसको शुरुआत गरौं हुन्न र बा ?

    Comment Here!

Related NEWS
मुख्य खबर

कुस्तीमा संगीताले रचिन् इतिहास, नेपाललाई पहिलो पटक स्वर्ण

यसअघिका सागमा नेपालले कुस्तीमा स्वर्ण जितेको थिएन ।

मुन्द्रा लाउनेसँग नडराउनुस्, गैंडासँग नलोभिनुस् !

“तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन ।

बुहारीलाई छाउगोठमा राखेर मृत्यु भएको आरोपमा जेठाजु पक्राउ

-महिला खबर- छाउपडी प्रथा विरुद्ध मुलुकी अपराध संहिता लागू भएपछि छाउप्रथा कायम राखेको आरोपमा व्यक्ति पक्राउ

बोक्सी आरोपमा दोलखाका एक दम्पत्तीलाई टोल सुधारको भेलाबाट सामाजिक बहिष्कार

–महिला खबर– माइन्यूटमा १ सय १३ जनाले हस्ताक्षर गरेका छन् । 

कर्णालीमा महिला नेतृत्व

कतिपय माथिल्ला तह र भूमिकामा पुगेका महिलाले आफ्ना उत्तराधिकारी वा महिला नेता उत्पादनमा ध्यान नदिनु

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: