१२ वर्षमै राजीखुसी विहे !


प्रकाशित मिति :2019-03-03 16:45:28

–एसबी जेरो–

तुलसी राई, निकेतन माध्यमिक विद्यालय मानेभञ्ज्याङ्ग गाउँपालिका–९ माधवपुरको कक्षा ६ को छात्रा हुन् । विद्यालयको भर्ना रजिष्ट्रर अनुसार उनको जन्म २०६३ बैशाख ५ गते भएको हो ।

भर्ना मिति अनुसार १२ वर्षकी उनको विवाह भइसकेको छ । ४ महिनाअघि अर्थात् गएको कात्तिक महिनामा मोनेभञ्ज्याङ्ग–८, का १७ वर्षका मिनबहादुर मगरसँग उनको विवाह भयो ।

विवाह हुनुअघि मिनबहादुर स्कूल नजिकै माधवपुर गाउँमा रहेका मावला र तुलसी दिदीकोमा बसेर पढ्थे । उनीहरु बस्ने आफन्तको घर नजिक–नजिक थियो । सुरुमा एक दुई पटक देखादेख मात्र भएको उनीहरुको भेट गाउँलेको धान झार्ने खेताला जाँदा भएको हो ।

पहिलो भेटमा एकअर्काबीच टेलिफोन साटासाट भयो । त्यसपछि फोनमा कुराकानी र भेटघाटको क्रम बढ्दै गएको मिनबहादुरले बताए । ‘हाम्रो पहिलो भेट तल बेँशीमा धान झार्न जाँदा भएको थियो’ उनले भने, – ‘त्यसपछि एक महिना जति फोनमा कुरा भएपछि अनि विवाह भएको हो ।’

मिनबहादुरका अनुसार परिवारकै स्वीकृतिमा तुलसीसँग विवाह घर लगेको हो । गाउँमा आफ्नै उमेरका अरु धेरैले विवाह गरेको देखेकाले आफूले पनि विवाह गरेको उनले बताए ।

कम बोल्ने तुलसीले विवाह भन्दा अघि आफ्नी दिदीको घर बाहेक लामो समय बस्नका लागि अन्त नगएको बताईन् । ‘दिदीको घरमा बस्थें धेरै दिन बस्न अरुको घर गएको थिईन ।’ उनले भनिन् – ‘विवाह गरेर आएपछि आमाबुबा घरको याद खुब आयो, रोएँ ।’

अहिले तुलसीले आमाबुबा मात्रै याद गरेकी छिन् । उनलाई कलिलैमा विवाह गर्दा हुने समस्याका बारेमा खासै ज्ञान छैन ।

अझ उनलाई १२ वर्षमै गरेको स्वतः विवाह बदरहुनेबारे त कुनै जानकारी नै छैन । उनी बाल्यावस्थामा नै छिन् । यो उमेरमा स्वीकृति नै लिएर शारीरिक सम्पर्क गरेको भएपनि त्यसलाई कानूनले बलात्कार भन्छ । यसबारे पनि उनलाई केही थाहा छैन ।

विवाहपछि तुलसी विद्यालय जान छाडेकी छिन् । विद्यालयका निमित्त प्रधानाध्यापक बलबहादुर राईका अनुसार विवाह गर्नु भन्दा पहिले कहिले काँही मात्रै पढ्न विद्यालय जाने तुलसी तीन महिनायता विद्यालय गएकी छैनन् ।

तुलसीसँग विवाह गर्नुअघि छोराले सोधेको मिनबहादुरका बुबा हिरालाल आलेमगरले बर्ता । तर उनले बाल्यकालको विवाक कानूनले स्वीकारर्दैन भनेर छोरालाई सम्झाएनन् ।

‘छोराले बुहारी ल्याउँछु भनी सल्लाह मागेको थियो ।’ उनले भने – ‘उमेर नपुगेको रैछ, राजी खुशी नभए नल्या भनेको थिएँ । दुवै जनाको राजी खुशीले विवाह गरेका रहेछन् । घरमा ल्याएपछि दुवैजनालाई सोधें अनि थाहा पाएँ ।’

बालविवाह सम्बन्धी नयाँ कानुनी व्यवस्थाबारे हिरालाललाई अलिअलि जानकारी छ । तर, छोराबुहारीको खुसीका कारण आफूले केह ीगर्न नसकेको उनले बताए । थपे, – ‘यी दुईलाई छुटाउँदा समस्या आईलाग्छ कि भनेर सामान्य कराएँ मात्र अरु केहि गर्न सकिन ।’

OOO

मानेभञ्ज्याङ्ग गाउँपालिका–३ का १७ वर्षकी किशोरी र २० वर्षका किशोरबीच केही महिनाअघि गाउँमै लाग्ने बजारमा चिनजान भयो । सामान्य चिनजानमै एक अर्काको मोबाईल नम्बर साटासाट गरे । त्यसपछि उनीहरुबीच फोनमा लामो कुराकानी हुन थाल्यो र फोनबाट झाँगियो मायाप्रेम ।

गएको कात्तिक महिनामा किशोरले गाउँमै लाग्ने पाँच दिने बजारमा भेट गर्ने प्रस्ताव गरे । दशैं पछि र तिहार अघि गाउँमा लाग्ने पाँचदिने बजारमा राती भेट गर्ने उनीहरुको सल्लाह अनुसार नै किशोरी खाना खाएर बजार पुगिन् ।

मुलुकी देवानी संहिता र अपराध संहिता ऐन आएपछि २० वर्षमूनिको विवाह स्वतः बदर हुन्छ ।

तर, त्यसयता ओखलढुंगाको मानेभज्याङ गाउँपालिकामा मात्रै ४५ जना बालबालिकाले विवाह गरेका छन् ।

किशोर रातको ११ बजे बजार आईपुगे । उनीहरुकै अनुसार राती अबेरसम्म उनीहरुबीच कुराकानी भयो । घर फर्किन ढिला भएकाले घरमा बुवाको डर लागेको किशोरीले किशोरलाई बताइन् ।

किशोर बलियो भएर प्रस्तुत भए, ‘घर जान डर लागेको भए विशे गरौं । मैले घरमा सल्लाह गरेर आएको छु ।’

‘घरमा आज बुहारी लिएर आउँछु भन्नु भएको रहेछ । सुरुमा जिस्किनुभएको होला भनेर पत्याईन ।’ किशोरीले उनको प्रस्तावको पुष्टि गर्दै सुनाइन्, – ‘घरमा आफ्नो दाजुसँग कुरा गराए । अनि हो रहेछ भनेर बजारबाटै भागेर विवाह गरेका हौँ ।’

१७ वर्षकी उनी कक्षा १२ मा पढ्दै छिन् । किशोरीलाई बालविवाह सम्बन्धि कानून र कसुरबारे सामान्य जानकारी छ । उनले भनिन् ‘अब विवाह दर्ता हुन्न होला । कतै जागिर पानि खान पाईन्न होला चिन्ता लागेको छ ।’

भदौ १ यता ४५ बालबालिकाले गरे विवाह

गएको भदौ १ गते मूलुकी ऐन २०२० खारेजी गरेर नयाँ ऐन आएको छ । मुलुकी देवानी संहिता र अपराध संहिता ऐन आएपछि २० वर्षमूनिको विवाह स्वतः बदर हुन्छ । तर, त्यसयता ओखलढुंगाको मानेभज्याङ गाउँपालिकामा मात्रै ४५ जना बालबालिकाले विवाह गरेका छन् ।

गाउँपालिकामा रहेको आठ वटा माध्यमिक विद्यालयको तथ्याङ्क अनुसार ४५ जना बालवालिकाले भदौ १ पछि बालविवाह गरेका हुन् ।

विद्यालयहरुले उपलब्ध गराएका तथ्याङ्क मध्ये भगवती माध्यमिक विद्यालय मानेभञ्ज्याङ्गमा अध्ययनरत ११ जना बीस वर्षभन्दा कम उमेरका बालबालिका छन् । कालिका माध्यमिक विद्यालय मोलीमा १० र राज्यलक्ष्मी माध्यमिक विद्यालय उँबु र निकेतन माध्यमिक विद्यालय माधवपुरमा अध्ययनरत ७–७ जनाले विद्यार्थीले विवाह गरेका छन् ।

यसैगरी महादेवस्थान माध्यामिक विद्यालय हिलेपानीमा ३, भिमशेनस्थान माविमा २ र मनकामना मावि वाक्सामा अध्ययनरत एक जना विद्यार्थीले विवाह गरेका छन् । उनीहरु कसैको पनि २० वर्ष उमेर पुगेको छैन । हर्कपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद अधिकारीका अनुसार विवाह गरेका केही विद्यार्थी विद्यालय आउँछन् ।

                                    जातिगत तालिका

क्र.स समुदाय  बालिका  बालक जम्मा
१. जनजाती (राई, मगर) २५ २९
२. नेवार
३. अन्य (ब्राम्हण, क्षेत्री)
४. दलित
जम्मा ३४ ११ ४५

स्राेत : स्थानीय विद्यालय

राज्यलक्ष्मी माध्यमिक विद्यालय उबुँका प्रधानाध्यापक रमेशकुमार अधिकारीका अनुसार अधिकांश जनजाती (राई) समुदायका बालबालिकाहरुले बालविवाह गरेका छन् । खुला समाज, परम्परा अभिभावकमा चेतनाको कमीका कारण यस समुदायमा बढि बालविवाह हुने गरेको प्रधानाध्यापक अधिकारीले बताए ।

                               उमेरगत तालिका 

क्र.स वर्ष बालिका बालक जम्मा
१. १२
२. १५
३‍. १६
४. १७ १४
५. १८
६. १९
उमेर नखुलेकाे
जम्मा ४५

स्राेत : स्थानीय विद्यालय

तथ्याङ्क अनुसार सबैभन्दा बढि जनजाती समुदायका बालबालिकाले कलिलैमा विवाह गरेको पाइन्छ । विद्यालयहरुले दिएको जानकारी अनुुसार विवाह गरेका अधिकांश बालबालिकाहरुले विद्यालय छोडेका छन् । कहिले काँही विद्यालय आउनेहरुको पनि पढाई राम्रो नभएको भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद ढुंगानाले बताए ।

कक्षागत तालिका

क्र.स कक्षा संख्या
१.
१० २२
११
१२
विद्यालय बाहिर
जम्मा ४५

स्राेत : स्थानीय विद्यालय

१२ लाखले नरोकेको बालविवाह

बालविवाह न्यूनिकरणका लागि मानेभञ्ज्याङ्ग गाउँपालिकाले १२ लाख ३० हजार रुपैयाँ बजेटको सचेतनामूलक कार्यक्रम गरिएको उपप्रमुख सविता राईले बताईन् । आर्थिक वर्ष २०४७/०७५ र २०७५/०७६ मा गाउँपालिकाको १२ लाख ३० हजार बजेट बालविवाह न्युनिकरणका लागि खर्च भएको हो ।

‘गत आर्थिक वर्ष १० लाख ५० हजार बजेटको नौ वडाको १० ठाउँमा महिला जागरण तथा बालविवाह न्यूनिकरण कार्यक्रम गरियो’ उनले भनिन् ‘चालु आर्थिक वर्षमा तीजको अवसरमा नौ वटै वडामा प्रत्येक वडा २० हजारका दरले बालविवाह न्यूनिकरणका लागि बक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरियो ।’

बालविवाह न्युनिकरणका लागि गरिएको कार्यक्रमले अभिभाकहरुमा चेतना फैलिए पनि बालबालिकाहरुलाई कम जानकारी भएको उपप्रमुख राईको भनाइ छ । बालविवाह न्यूनिकरणका क्षेत्रमा खर्च गर्ने गरी गाउँपालिकामा केही बजेटको व्यवस्था भएकाले अब प्रत्येक माध्यमिक तहका विद्यालयहरुमा सचेतनामुलक कार्यक्रम गर्ने योजना रहेको उनको भनाई छ ।

तर प्रहरीमा भने अहिलेसम्म पनि बालविवाहको उजुरी परेको छैन । बालबालिकाको चाहना र अभिभावको मौन स्वीकृतिमा हुने विवाहको उजुरी गर्ने पनि कोही हुँदैनन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठ बालविवाहको उजुरी दिएको कोही नआएको जानकारी दिन्छन् ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ ले बालविवाहलाई बर्जित गरेको निमित्त जिल्ला न्याधिवक्ता (सरकारी वकिल) सिर्जना घिमिरेले बताईन् । उक्त अपराध संहिता ऐनको (दफा १७३) ले बालविवाहलाई बर्जित गरेको उनको भनाइ छ  । विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने यदि गरे विवाह स्वतः बदर हुने उनले बताइन् ।

त्यतिमात्रै होइन बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने कानुनमा व्यवस्था रहेको घिमिरेले जानकारी दिईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका महासचिव तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे सार्वजनिक

-महिला खबर- ललितपुर । सञ्चारिका समूहकी महासचिव तथा कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे

-महिला खबर- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष

बालिका आश्रममा सौन्दर्यकर्मीको स्थापना दिवस

-महिला खबर- देवघाट । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न,३ ले आफ्नो ११ औं स्थापना दिवस

सबैका लागि समानता (तस्वीरमा)

–महिला खबर– आज विश्व समाज कार्य दिवस । सामाजिक क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन्

महिला मात्रै पढ्ने क्याम्पसमा पुरुष प्रमुख

–महिला खबर– पद्मकन्या क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीले महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राखि लगातार

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: