‘माफ गर छोरा ! तिम्रो मनोमानीको बाधक मै हुँ’


प्रकाशित मिति :2019-03-01 13:07:17

–सरिता दाहाल–

साँझ ७ बजेको हुँदो हो, १७ महिनाको छोरालाई तेल लगाइदिँदै थिएँ । बाबु नाङ्गै थियो, भागेर ओछ्यानको कुनापट्टि पुग्यो ।

‘आउ न ढिलो भैसक्यो’ तेलैतेल लागेको हातले छोरोलाई आफूतिर तान्दै भनें । छेउमा बसेर पल्लो घरको दाइले टिभी हेरिरहनुभएको थियो । भन्नुभयो, ‘बच्चालाई उसकै मनोमानी गर्न देउ न ।’

‘हतार छ आफूलाई, जैले यस्तै हो ऊ’ जवाफ फर्काएँ ।

तेल लगाइसकें । बाबु फेरि लुगा लगाउनु अगावै कुँद्यो । टेबुल मुन्तिर गएर चुपचाप बस्यो । बालसुलभ चञ्चलता न हो, सायद लुकें भन्ठान्दै होला ।

खाना खुवाउने, लुगा फेर्ने बेलामा अक्सर यस्तै गर्छ । जे गर्दा नि खेल्दै गर्नुपर्ने, निदाउनु अघि पनि ओछ्यानमा खुब गफिनु पर्ने उसको बानी नै हो । नाक चिमोट्ने, कान कोट्याइदिने, आँखामा औला पसाउने गर्दागर्दै निदाउने उसको बानी छ ।

उसकै अनुसार खेलिदिए अझ ढिलोसम्म सुत्दैन । आफूलाई भने कतिखेर निदाइहाल्ला भन्ने हुन्छ । आफ्नो चटारो अनुसार उसलाई कसरी चलाउनु !

आज हतारमा थिएँ । खाना बसालेर उसलाई तेल लगाइसक्नु थियो । खाना खुवाएर, सुताएर ड्युटी सुरु गर्नुको हतारो ।

दैनिक पत्रिकाको जागिरे म । दिउँसोभन्दा राती खट्नुपर्ने ड्युटी छ । पत्रिकाको डिजाइनलगायत सबैकुरा फाइनल गरेर प्रेसमा पठाउँदा आधार रात ढल्किन्छ । अनि म पनि ओच्छ्यानमा ढल्किन पाउँछु ।

बेलुका दुध चुसाएर छोरो निदएपछि उसको बाबासँग सुताइदिएर काम सुरु गर्छु । काम सक्दा जहिल्यै आधा रात । यसबीचमा २÷३ पटकसम्म उ निन्द्राबाट जाग्छ । ममु… ममु…भन्छ ।

बाबाको शरीर छामेर ‘बुबु’ खोज्छ । आमा काममा छ उसले कसरी स्तनपान गर्न पाउँछ र ! बाबाले ‘हो.. हो…’ भन्दै थुम्थुमाए पछि बल्लबल्ल निदाउँछ ।

आज नि उसैगरि ड्युटी सकें । छोरो २ पटक जाग्यो । बाबाले थुम्थुम्याएपछि निदायो ।

ड्युटी त सकें । तर, मलाई ओछ्यानमा जान मन पटक्कै लागेको छैन । झण्डै ५ घण्टादेखि लगातार छिमेकी दाजुको वाक्य मगनमा उफ्रिरह्यो ।

‘बच्चालाई उसकै मनोमानी गर्न देउ न !’

हो, हामी बालबालिकाको अधिकारका सवालमा ठूलै गफ दिन्छौं । मै पनि परिआए लामै भाषण ठोक्छु । तर, दैनिक जीवनमा लागू हुन्छन् त ?

एउटा नवजात शिशु जन्मदा कति निष्कपट निर्दोष हुन्छ । विस्तारै हामी उसलाई आफ्नैै इच्छा अनुसार चल्ने बनाउँछौं । उसका मनमौजीपना कता हराउँछ कता ।

हाम्रो बाध्यता र विवशताका कारण उसका धेरै हक अधिकार खोसिन्छन् । कतिपय जानेरै त कति अञ्जानवश । सानैबाट संस्कार सिकाउने नाममा ‘ज्ञानी’ बनाउन लागिपर्छौं । आफू अनुकुल बनाउँदै लैजान्छौं । अनि उसले आफ्नो निश्चलता, चल्चलता, निष्कपटता कसरी नभुलोस् ।

बालबालिकाहरु जे गर्दा खुशी हुन्छन्, अक्सर हामीलाई त्यसैले दिक्क बनाउँछ । भान्छाको भाँडाकुडा भुर्इँमा बजार्न पाए बालबालिका खुसी, हामी दिक्क ।

ढोकाछेउको चप्पल अन्यत्र लगेर ताँती लगाउन पाए उनीहरु खुसी, हामी दिक्क । खानेकुरा असरल्ल छर्न पाउँदा उनीहरु खुसी, हामी दिक्क । जमेको पानीमा थ्याप्थपाउँदै खेल्न पाए उनीहरु खुसी,हामी दिक्क ।

एउटा नवजात शिशु जन्मदा कति निष्कपट निर्दोष हुन्छ ।

विस्तारै हामी उसलाई आफ्नैै इच्छा अनुसार चल्ने बनाउँछौं ।

उसका मनमौजीपना कता हराउँछ कता

आईरन गरेर पट्याको लुगा छर्न पाए उनीहरुको खुसीमा सीमा नै रहँदैन हाम्रो चाहिँ हैरानी र दिक्कले सीमा नाघ्छ । हामीलाई सँधै कामको चटारोमा हुन्छौं । अझ नेपाली आमाको कामको असीमितताको त कुरै नगरौं । बालचञ्चलतामा रमाएर बस्न कुन आमालाई मन नहँुदो हो र ?

सारा हतारको बाबजुद नानीबाबुलाई दिइने थोरै समय कति पर्याप्त होलान् ? आफ्नै अनुभवले बताउँछ, जागिरे आमाहरुका सन्तान प्राकृतिक रुपमा आफ्ना अधिकार पूर्ण उपयोग गर्नै पाउँदैनन् ।

आमासँग जति बढी समय बिताउन पायो, बालबालिकाहरुको मानसिक विकास उति चाँडो हुने र मानसिक तन्दरुस्त हुने बाल मनोवैज्ञानिकहरुको तर्क छ । स्वस्थ्य विज्ञानको पनि यस्तै तर्क छ ।

एउटा सानो उदाहरण जोड्न मन लाग्यो,

स्वास्थ्यकर्मीका अनुसार दुधे बालकलाई कम्तिमा १५ देखि २० मिनेट एउटै स्तनपान गराउनु पर्छ । र, दिनमा कम्तीमा ८ देखि १० पटक । बालबालिकाको पूर्ण स्वस्थ्यको लागि कम्तीमा २ वर्ष स्तनपान गराउनुपर्छ ।

म जस्ता जागिरे आमाहरुलाई यो संभव होला ?

सुत्केरी बिदा सकिनासाथ आमा र बालबालिकाको भेटको समय छोटिन सुरु हुन्छ । कार्यलयमा शिशु स्याहार कक्षको अभावदेखि यावत समस्या सर्वविदितै छ ।

याे पनि पढ्नुहाेस् :

श्रीमती पाल्ने कि श्रीमान् ?

पैसाले टुटायो प्यार

बहाना प्रेमको, चाहना यौनको

दिउँसो मात्रै हैन, मैले त रातको समय पनि छोरालाई पूरा दिन सकिन । कहिले त सारा काम छोडेर बसौं झैं लाग्छ । पत्रकारिता आज नदेखिँदा भोलि हराउने क्षेत्र, अनि मन मान्दैन ।

आफ्नो व्यस्तताको कारण कहिले सन्तानलाई शिशु स्याहारमा पठाउने उमेर होला भनेर अतालिँदै दिन गनेर बसेको छु ।

मलाई थाहा छ, मेरो यो सोच उसको बालबापन खोस्ने एउटा कारण हो । मन झस्किन्छ पनि, मेरो चटारोले छोराको बलाचञ्चलता कुण्ठित होला भनेर ।

यो पनि थाहा छ, बेपरवाह खेल्ने उमेरमा हतार हतार पठाईने मन्टेश्वरीमा उसको बालापन कस्तो फक्रन्छ ? रोजीरोटीको बाध्यता र उसलाई हुर्काउनैको लागि पनि देखिएका तथ्यलाई अनदेखा गर्नुपर्ने कस्तो बिडम्बना !

बालबालिकाहरुको तनाव व्यवस्थापन सम्बन्धी विषयका प्रशिक्षक डिल्लिराम पाण्डेय भन्छन्, ‘बालबालिकाहरुलाई पूर्व बाल्यावस्था (२ देखि ३ वर्ष) उमेरको बीचमा नै विद्यालयमा पठाउन तिर लाग्नु पूर्णतः गलत हो ।’

उनका अनुसार यो काम उनीहरुको रुचीभन्दा बाहिरको हो । विद्यालयमा उपलब्ध सामग्री अनुसारका क्रियाकलापमा मात्र जोड दिनु उनीहरुको हितमा छँदैछैन ।

बालबालिकाहरुलाई प्रकृतिसँग नजिक राखेर प्राकृतिक रुपमा नै हुर्काउनु पर्छ भन्छन् उनी । हामी भने सुनौला हजार दिनभित्र पनि बालिबालिकाहरुलाई उनीहरुको बालापन आफ्नो चटारो अनुसार चलाउन खोज्छौं ।

सरकार नारा दिन्छ ‘आजका बालबालिका भोलिको देशको भविष्य हुन् ।’ नारामा म पनि सहमत छु । तर, खै न सरकारले भोलिको भविष्यको आधार निर्माणमा आज सशक्त योजना ल्याएको । न त म स्वयंले आफ्नो सन्तानका लागि विशेष योजना ल्याउन सकें ।

म सन्तानकै भविष्यको लागि दिनरात मेहनत गर्छु । उनीहरुको वर्तमान चाहिँ कसरी गुज्रिरहेको छ ? उनीहरु वर्तमानमा के चाहिरहेका छन् ? त्यही मेरो प्राथमिकतामा पर्दैन, परेन ।

कहिलेकाँही आफैलाई प्रश्न गर्छु, मेरो प्राथमिकता आज (वर्तमान) मा छ कि भोलि (भविष्य) मा ? भविष्य राम्रो बनाउन आज कति लगानी गर्ने ।

आजै मेरो छोरा उर्जावान नभए उसको भोलि के होला ? म जस्ता हरेक अभिभावकसँगै र स्थानीय तहदेखिको सरकारले यो मनन कहिले गर्ने ? आफैले पनि मनन गर्न सकिएको छैन । त्यसैले छोरालाई मनमनै भन्छु, ‘माफ गर छोरा ! तिमीलाई मनोमानी गर्न नदिने तिम्रै आमा अर्थात् म हुँ ।’

(पत्रकार दाहाल सञ्चारिका समूह ३ नम्बर प्रदेश शाखाको अध्यक्ष हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका महासचिव तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे सार्वजनिक

-महिला खबर- ललितपुर । सञ्चारिका समूहकी महासचिव तथा कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

वडा अध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे

-महिला खबर- खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष

बालिका आश्रममा सौन्दर्यकर्मीको स्थापना दिवस

-महिला खबर- देवघाट । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न,३ ले आफ्नो ११ औं स्थापना दिवस

सबैका लागि समानता (तस्वीरमा)

–महिला खबर– आज विश्व समाज कार्य दिवस । सामाजिक क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन्

महिला मात्रै पढ्ने क्याम्पसमा पुरुष प्रमुख

–महिला खबर– पद्मकन्या क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीले महिला क्याम्पस प्रमुख हुनुपर्ने माग राखि लगातार

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: