मेरो स्कट छोटो कि तिम्रो सोच ?


प्रकाशित मिति :2019-02-21 14:17:30

– रसना ढकाल –

चार वर्ष पहिले भारतीय सिने जगतका महानायक अभिताभ बच्चनले आफ्नो ट्वीटरमा दुई नातिनी नाभ्या र आराध्याको फोटो सहित आफुले लेखेको चिठी पोस्ट गरे ।

चिठीमा भनिएको थियो :

प्रिय नातिनीहरु, तिमीहरु विरासत धन्ने मेरा नातिनी मात्र होइनौ महिला पनि हौ । तिमीहरुको कोमल काँधमा समाजको प्रश्नै प्रश्न हुनेछ । तिमीहरुले कस्तो कपडा लगाउने र कस्तो व्यवहार गर्ने, त्यो सब समाजले निर्धारण गर्न खोज्छ । तर, तिमीहरुले समाजका कुरालाई छायाँमा पार्नु र आफ्नो बुद्धिले जे सोच्छ त्यहि काम गर्नु । आफ्नो स्र्कटको लम्बाइको आधारमा चरित्रलाई मापन गर्न नदिनु ।

त्यो चिठीले देशदेखि विदेशसम्म चर्चा पायो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा स्थान पाए । हुन त उनको चिठी नातिनीहरुको नाममा थियो । तर, त्यो चिठीले भने आम नातिनीहरुलाई सम्बोधन गरेको थियो ।

यो सत्य हो कि समाज जहिले महिलालाई प्रश्न गर्छ । सन्तान जन्मिएपछि छोरा वा छोरी भएकै कारण उनको भूमिका निर्धारण गरिदिन्छ ।

के खाने ? कस्ता पोशाक लगाउने अनि कसरी कतिबेला हिँड्ने यी प्रश्नको जवाफ छोरा वा छोरी भएकै आधारमा स्वतः निर्धारण हुन्छन् ।
पछिल्लो समयमा देशमा बलात्कार जस्तो जघन्य अपराध बढेको छ । छोरी घरबाट निस्किइ भने आमाबाबु उसको असुरक्षसँग डराएर कुर्नुपर्ने अवस्था छ । घरबाहिर मात्रै के ! आफ्नै जन्मदिने बाबुबाट छोरी असुरक्षित छन् ।

यो सब अवस्थाको दोष आजसम्म महिलाकै काँधमा छ । तिमी किन रातमा हिँड्यौ ? छोरीमान्छे सुनसान ठाउँमा एक्लै हिँड्छन् त ? यी र यस्ता प्रश्नको सामाना महिलाका लागि सामान्य हो ।

यतिमात्रै हो र ! अझ उसको असुरक्षाको निर्धारकको रुपमा उसको पहिरन पो ठानिन्छ । यस्तो छोटा लुगा लगाएपछि केटाहरुले यस्तो गर्दैनन् त ? आफै बिग्रिएकी छे, अनि यस्तो भइहाल्छ नि !

उसका असुरक्षाका मापदण्ड हुन् यी ।

त्यसैले मेरो मनमा प्रश्न बेला बेला उब्जन्छ । महिलाका लुगा छोटा हुन् कि महिलालाई हेर्ने दृष्टिकोण नै छोटा ?

लुगाकै कारण छोरी चेलीहरु बलत्कृत हुन्छन् भने ८ महिनाको नानीको कस्तो पोशाक हेरेर उनको बलात्कार भयो ? ४ वर्षको नानीको कपडा कस्तो थियो कि उनकै हजुरबाले बलात्कार गरे ?

बलात्कारलाई महिलाको पहिरनसँग दाँज्नुजति कायरता अरु के होला ?

कतिसम्म भने न्यायीक क्षेत्रको सर्वोच्चमा रहेका व्यक्ति समेत पोशाक र बलात्कारलाई दाँजेर हेर्छन् । प्रधानन्यायाधीशबाट अवकाश नपाउँदै सुशीला कार्कीले एउटा कार्यक्रममा ‘महिलाले पनि लुगा लगाउँदा ध्यान दिनुपर्छ’ भन्नुभएको थियो ।

यो कुरा सुनेर दिक्क भएँ । न्यायीक क्षेत्रको विरासत धानेर बसेकी एक महिलाले त यसरी सोच्छन् भने आम नागरिकको सोचाइको स्तर के होला ?

बलात्कारलाई महिलाको पहिरनसँग दाँज्नुजति कायरता अरु के होला ?

सृष्टिको रचनामा हामी महिला पुरुषको दर्जामा छौं । हामीलाई प्रकृतिले नै आ–आफ्नो भूमिका दिएको छ । हामी गर्भाधान गर्न सक्छौं । सन्तान जन्माउन सक्छौं । पुरुषले पनि आफ्नो भूमिका त्यसैगरी निभाउन सक्छन् ।

वास्तवमा भन्दा महिला पुरुष एक अर्काका परिपुरक हौं । सृष्टिका उन्नत परिपुरक । तर हामीले सोच्ने तरिका गलत हुँदै आएको छ । एक अर्काको प्राकृतिक भूमिका निभाउँदै हामी सम्मानित जिन्दगी बाँच्न सक्छौं ।

तर, एक अर्कालाई उँचो र निच देख्ने हाम्रो सामाजिक संरचना भने निकै भयानक छ । इज्जत, चरित्र वा यस्तै अनेक नाममा महिलालाई अनावश्यक कमजोर बनाइदिएको छ ।

छोरी भएर चर्को स्वरमा बोल्नु हुन्न । आवाज आउने गरि हिँड्नु हुन्न । अनि छोरालाई तिमी मर्द हौ । तिमी बलियो हुनुपर्छ । तिमीले सबैलाई मुठ्ठीमा राख्नुपर्छ ।

बलियो वा कमजोर जे भूमिका सिकाए पनि महिला पुरुष दुबैका लागि यी जबरजस्त लादिएका कुराहरु हुन् । उनीहरुलाई एकअर्कालाई सम्मान गर । आफ्नो जिम्मेवारी निभाउ भनेर हामीले हुर्कँदैदेखि सिकाउनु जरुरी छ ।

महिलालाइ दिने सामाजिक शिक्षा पुरुष भन्दा उल्टो भएकै कारण आज समाजमा यो दुवैबीच द्वन्द्व छ । ठूलो र सानोको भाव छ ।
समाजलाई सन्तुलित बनाउन सभ्य को हुनु पर्दैन ? सभ्यताको पाठ सिकाउँदा एकतर्फी रुपमा सिकाउन गलत हो ।

कपडाले कसैको चरित्रलाई मापन गर्न सक्दैन ।

अखिर चरित्र पनि हामीले नै निर्धारण गरिदिएका कुरा न हो !

मातृसत्ता र पितृसत्ताको बहस गर्दा पितृसत्ताको चर्चा धेरै आउँछ । वर्तमानमा महिला र पुरुषबीच खाल्डो यही पितृसत्ताले खन्यो । आजको दिनसम्म त्यो खाल्डो पुरिएको छैन ।

जोसँग शक्ति र सत्ता छ उसैसँग समाजको विरासत हुन्छ । र, यो समाजमा शक्ति प्रधान पुरुष भए । आज यो बहसको जरुरत छ ।

छोराछोरी दुबैलाई संस्कार सिकाउनु जरुरी छ । मेरो छोराले अरुलाई कतिको सम्मान गर्छ ? छोरालाइ दिने शिक्षामा कतै चुकेको पो छु कि ? हरेक अभिभावकले यो मनन गर्नु आवश्यक छ । एक अर्कामा सम्मानको कमी भएकै कारण विपरित लिंगमा हिंसा भइरहेको छ ।

अनि अर्को कुरा, स्वतन्त्रता दबाउनेहरु जहिले पनि कपडा जस्तो अनावश्यक कुरालाई चरित्रको मापक बनाउँछन् । अर्काको आत्मसम्मानमा ठेस पुर्याउँछन् । अनि कपडामा लगेर जोड्छन बलात्कारका कारण ।

कपडाले कसैको चरित्रलाई मापन गर्न सक्दैन । अखिर चरित्र पनि हामीले नै निर्धारण गरिदिएका कुरा न हो ! यी सबको कारण सोच हो । एकपटक तपाई स्वयं सोच्नुस् त विपरित लिंगीप्रति आफ्नै धारणा कस्तो छ ?

आफैमाथि प्रश्न गर्नुस्, म किन सँधै महिलालाई कमजोर देख्छु ? किन उनको अस्मितामाथि प्रश्न गर्छु ?

यसको मिहिन तरिकाले कारण केलाउनुभयो भने तपाईं स्वयंले जवाफ पाउनुहुन्छ । अनि ती पूर्व निर्धारित धारणा स्वतः परिवर्तन हुन्छ । त्यसैले अब सोच बदलौं । एकअर्कालाई सम्मान गरौं । महिलामाथिको आधा अपराध त सोच बदले नै घटेर जान्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: