आमाको वंश नचल्ने प्रजातन्त्र !


प्रकाशित मिति :2019-02-19 13:16:01

नेपालमा सामाजिक न्यायको आन्दोलन भएको शताब्दी बितेको छ । १९७३ सालमा पूर्वी नेपालको भोजपुरबाट योगमाया न्यौपानेको नेतृत्वमा सामाजिक आन्दोलन शुरु भएको थियो । नेपालको इतिहासमा नागरिक तहबाट उठेको पहिलो संगठित आन्दोलन यही हो भन्ने इतिहासका लिखतहरुमा पाइन्छ ।

राणा शासन कालमा धर्म राज्यको नाममा संगठित उक्त अभियान नै नेपाली लोकतान्त्रिक आन्दोलनको जग हो । जसको शिलान्यास एकजना बाल विधवा महिलाले गर्नुभएको थियो । उक्त आन्दोलनलाई एउटा विद्रोह नामले सम्बोधन गर्दा सायद फरक पर्दैन ।

त्यस समयमा उच्च भनिने ब्राम्हण जातीमा जन्मिएर, बालविधवा भएकी छोरी, मुलुक छाडेर, अन्तरजातीय विवाह गरेर अन्तत एकल अभिभावकको रुपमा छोरी लिएर जन्मथलोमा फर्कनु र राणाहरुको निरंकुश राज्यसत्तासँग धर्म राज्यको माग गर्दै नागरिकलाई विद्रोहमा उतार्नु सामान्य कुरा थिएन ।

 

योगमायाको नेतृत्वमा अगाडी बढेको आन्दोलन महिलामाथि हुँदै आएको अत्याचारका विरुद्ध मात्र होइन, वर्गीय रुपमा श्रमजीवी जनतामाथिको शोषण र जातीय रुपमा कथित तल्लो जातका नाममा गरिने विभेदका विरुद्ध समेत लक्षित थियो । जुन विषय आमरुपमा भन्दा सय वर्षपछि संविधानसभाले बनाएको संविधानले राजनीतिक रुपमा सम्बोधन गरेको छ ।

१९९४ सालबाट प्रजा परिषदको गठन गरी राजनीतिक आन्दोलन शुरु भयो । उक्त आन्दोलनमा रेवन्त कुमारी, सीता शर्मा र राममाया पोडेहरु आन्दोलनको अभिन्न अंग थिए । जसले हरेक संकटलाई पार लगाउन पाश्र्व भूमिका निर्वाह गरे ।

जेलको समाचार र सन्देशहरु भित्र र बाहिर गराउने काम होस् वा अरु कुनै उपाय नलागेपछि फोटोको नेगेटिभ कम्मरमा बाँधेर काठमाडैदेखि एक्लै बनारस पुर्याएर राजबन्दीको फोटो प्रचार गर्ने काममा होस्, महिलाहरुले ज्यानको बाजी लगाएर आन्दोलनमा सघाएका थिए ।

२००३ सालको मजदुर आन्दोलनमा विपी, जीपी, मनमोहन लगायतका नेताहरु गिरफ्तार भएपछि नेतृत्व विहीन हुन लागेको आन्दोलनको मैदानमा नेतृत्व दिने दिव्या कोइराला हुन्, या २००७ सालमा बन्द भएको जुट कारखाना खुलाउन २७ दिन लामो अनसनको नेतृत्व गर्ने नन्दा नेपाल । श्रमजीवी वर्गको अधिकार प्राप्ती र रक्षाका लागि जोखिम उठाउन कुनै कसर बाँकी राखेनन् । नेपालको श्रमिक आन्दोलनको जग हाल्ने समयदेखि नै महिलाले आफैले पसिना सिञ्चन गर्दै आएका छन् ।

२००४ सालमा नागरिक अधिकारको माग गर्दै जुलुस निकाल्दा कष्टडीको यातनाको सामना गर्ने सहाना प्रधानहरु हुन् वा महिला अधिकारको माग गर्दै राणा शासक समक्ष संगठित रुपमा आफ्ना माग पेस गर्ने काममा नेतृत्व लिने मंगलादेवी, स्वाभिमानको उँचो शिर र दृढ अठोटका साथ पेस भएका थिए ।

२००७ सालमा राणा शासनको अन्त्यको क्रममा भएको दिल्ली सम्झौता राष्ट्रिय हित विपरित छ भनेर भारतीय प्रधानमन्त्री आउँदा एअरपोर्टमा कालो झण्डासहित पुग्ने श्रीमाया लगायतका महिलाहरु राष्ट्रहितका पक्षमा अरु कोहीभन्दा कम थिएनन् ।

२००८ सालमा नेकपामाथिको प्रतिबन्धपछि किसान आन्दोलनमा मारिएकी डाटी भोटेनी हुन् वा २०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी शुशिला श्रेष्ठहरु, २०१७ सालमा प्रजातन्त्रको अन्त्यपछिको फागुन ७ गते (आजैको दिन) सैनिक मञ्चमा प्रजातन्त्र दिवस आयोजना गर्ने राजाको निरंकुशताको विरद्ध कालो झण्डा बोकेर हातेपर्चा बाँड्ने कामको नेतृत्व गर्ने शैलजा आचार्यहरु, सबैले प्रजातन्त्रको लडाइँमा महिलाको लगाव, समर्पण र अठोटको उदाहरण पेस गरेका छन ।

१० वर्ष लगाएर संविधान घोषणा भयो । ‘सार्वभौमसत्ता जनतामा’ भनियो । महिला विरुद्ध

हिंसा अन्त्य गर्ने प्रावधान लेखियो । विडम्वना ! आँखा नउघ्रदै बसेको पाठेघरको

मर्म र आमाको काखमा बसेर अमृत समान १० धारा दूधको सम्मान भएन ।

निरंकुशताको सुनसान तलाउमा परिवर्तनको छाल ल्याउने शुरुआतको रुपमा २०२८ सालमा भएको झापा काण्डमा होमिने लिला कट्टेलहरु र त्यसपछि भूमिगत रुपमा जनतालाई जगाउने र संगठित गर्ने अभियान मार्फत राजनीति फैलाउने काम, महिलाहरुको सहभागीता र संलग्नता कतै छिपेको छैन ।

२०३५ र ०३६ को विद्यार्थी आन्दोलन, २०३६ को छिन्तांग काण्ड, २०४० को पिस्कर काण्ड, २०४२ को बम काण्ड लगायत महिलाहरुको संलग्नता कुनै मोर्चामा छुटेको छैन ।

२०४६ सालको बहुदलीय प्रजातन्त्र प्राप्तीको आन्दोलनमा पुग्दासम्म महिलाहरु कदममा कदम र आवाजमा आवाज मिलाएर सहभागी हुने मात्र होइन, वाममोर्चाको अध्यक्षका रुपमा नेतृत्व गर्ने जोखिमपूर्ण कामको नेतृत्व नै सहाना प्रधानलाई दिइयो ।

विडम्वना ! आन्दोलनको यी तमाम मोर्चामा जोखिम मोल्न सक्ने यी महिलाहरु २००७ साल होस् वा २०४६, आन्दोलनको सफलतासँगै शक्ति संरचनामा साझेदारी गर्ने काममा सँधै कन्जुस्याईमा परे ।

उनीहरुका माग र अधिकारलाई संस्थागत गर्ने समयमा सँधै शंकाको दृष्टिको हेरिए । उत्पादनको साधन र सम्पत्तीमाथि समान स्वामित्व दिने विषय होस् वा महिलामा निहित ९ महिना आफै बसेर आएको पाठेघरमाथि प्रश्न गर्दै जीवन दिने आमाहरू पहिचान दिनबाट बञ्चितीमा पारिए ।

२०५२ सालबाट सशस्त्र आन्दोलन शुरु भयो । पुरुषहरु कोही युद्धमा होमिन गए । बाँकी सुरक्षाको नाममा गाउँ छाडेर हिँडे । महिलाहरु कोही बन्दुक बोकेर जंगलै पसे । बाँकी गाउँघर, बालबच्चा र बृद्धबृद्धा सम्हालेर गाउँमै बसे ।

समय न हो, २०६१ सालमा राजाले फेरी सत्ता र शक्ति आफ्नो हातमा लिए । शहरमा समेत संकट आयो । त्यसपछि फेरी महिला शक्ति अपरिहार्य हुन पुगे । २०६२ फागुन २४ गते सबै राजनीतिक दल महिलाका समस्या समाधान गर्न प्रतिवद्ध भए ।

आन्दोलनको सफलतापछि वंश र अंशको सुनिश्चितता गर्न र शक्ति संरचनामा साझेदारीका लागि सहभागिताको मुद्दामा सहमत भए । आन्दोलन शुरु भयो । विश्व नै अचम्मित हुने गरी देशव्यापी रुपमा महिलाहरु मैदानमा आए । पिठ्यूँमा बच्चा र हातमा झण्डा बोकेर इन्क्लाबको नारा घन्काए ।

अन्ततः जनताले जिते । लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । १० वर्ष लगाएर संविधान घोषणा भयो । ‘सार्वभौमसत्ता जनतामा’ भनियो । बल्लबल्ल एक तिहाइ महिलाको सहभागिता सुनिश्चित गरियो । कष्टपूर्ण रुपमा समान अंशको प्रावधान समावेश भयो । महिला विरुद्ध हिंसा अन्त्य गर्ने प्रावधान लेखियो । तर विडम्वना ! आँखा नउघ्रदै बसेको पाठेघरको मर्म र आमाको काखमा बसेर अमृत समान १० धारा दूधको सम्मान भएन ।

उल्टै दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा छचल्किएको आँशु र छेवैमा अनिश्चित भविष्य नियाल्ने प्रयत्नमा रुमल्लिएको राज्यविहीन सन्तानको पीडा महसुस हुन सकेन । आमाको वंश फेरि पनि चलेन ।

र, आज पनि बुद्ध र सगरमाथाको गाथा गाउने र माटोलाई आमा मान्ने, अनि जीवन दिने आमालाई निर्जिव वस्तु सरह ठान्ने मेरो देश अभिमानलाई स्वाभिमान भन्दै महिलालाई ‘धेरै दिएका छौ (?)’ भन्न अप्ठ्यारो मान्दैन । बहुसंख्यक जनताले समान नागरिक पहिचान र हैसियत पाएको दिन प्रजातन्त्र दिवस अवश्य सार्थक हुनेछ । हिम्मत अझै टुटेको छैन ।

धन्यवाद !

(प्रतिनिधिसभा सांसद डा. बिन्दा पाण्डेकाे ब्लगबाट साभार)

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: