सरकार ! तिम्रै भरोसामा छिन् दुर्गादेवी


प्रकाशित मिति :2019-02-18 12:31:42

–सुजाता ढुंगाना–

मलाई साइकल असाध्यै मन पर्छ । काठमाडौंबाट तराई झरेपछि साइकलमा छोरीहरु निस्फिक्री हिँडेको दृश्यले मनै लोभ्याउँछ । कास जिन्दगी, काठमाडौंको यी रोडहरुमा त्यसरी नै दौडन पाए !

हुन त शहर न साइकलमा दौडन सुरक्षित छ न छोरीहरु हिँड्न नै । उसो त गाउँ पनि कहाँ सुरक्षित भयो र !

गाउँमा छोरीहरु सुरक्षित हुन्थे भने घरबाट साथी कहाँ पढेर फर्कन्छु भन्दै साइकल लिएर घरबाट हिँडेकी निर्मला कहिल्यै नर्फकने गरी विदा हुनुपर्ने थिएन । गाउँ त अझ छोरीहरुका लागि भन्दा अपराधीहरुका लागि सुरक्षित भएर निस्कियो ।

बलात्कार पछि हत्या गरेर निर्मलालाई उखुबारीमा फाल्दा समेत उ ढुक्कले कतै हिँडिरहेको छ । त्यसैले उल्टाखाममा घरहरु मात्रै हैन न्याय पनि असाध्यै टाढाको भएर आयो ।

०००

गएको माघ २६ गते शनिबार, बिहान ९ बजे । निर्मलाको घर भिमदत्त नगरपालिका, २ उल्टाखाम जाँदै थिएँ । बाटोमै पर्ने रहेछ, निर्मलाको शव र साईकल भेटिएको ठाउँ । नहरमा पानी उसैगरी बगिरहेको थियो । सायद निर्मलाको निर्मम हत्या हुँदा पनि त्यस्तै हुँदो हो ।

उनको शव भेटिएको उखुबारी मासिएको रहेछ । उखुबारीमा, गहुँका कलिला बिरुवा हुर्कँदै छन् । कस्तो निर्मला जस्तै ! लहलह झुलेर फल दिन हतारिएका झैं लाग्ने । निर्मला त किशोरावस्था कट्न पनि पाइनन् ।

निर्मलाकाे साइकल भेटिएकाे नहर 

गाउँ हरियाली छ । कतै गहुँ त हुर्कँदै कतै तोरी पहेँलै भएर फूल्दै छन् । वातावरण हरियाली भएर के गर्नु ! त्यही गाउँको एक तले घरको भने रंग फुङ्ग उडेको छ ।

निर्मलाकाे शव भेटिएकाे उखुबारी । अहिले गहुँ राेपिएकाे छ ।

सरस्वती माध्यमिक विद्यालयको चौरमा लस्करै साइकलक थिए । बाटोमा साइकल कुँदाएर ओहोरदोहोर गर्ने छोरीहरुको कमी पनि थिएन । मेरो दृष्टिले भने प्रत्येक बालिकाको मुहारलाई निर्मला झैं देख्छ । अनि, आफूसँगै प्रश्न गर्न मन लाग्छ, ‘उनीहरु बेलुका सकुशल घर फर्किने पक्का छ त ?’

निर्मलाकाे घर अगाडि बाटाेमा साइकल चलाएर गन्तब्यमा जाँदै किशाेरी

उल्टाखामको सरस्वती माध्यमिक विद्यालय नजिकै सडक छेउको घर । अघिल्लो कोठामा काठको ठूलो ढोका छ । त्यही हो घरको मूल ढोका ।

निर्मलाकी आमा दुर्गादेवीले त्यही ढोका खोल्दै कुर्सी झिकिन् । अनुहारमा फिक्का हाँसो ल्याएर निलो रंगको प्लास्टिकको कुर्सीमा बस्न अनुरोध गरिन् । सायद, नचिनेका मान्छेलाई स्वागत गर्न उनीसँग यही फिक्का हाँसो मात्रै बाँकी छ ।

‘पर्दैन, म गई हाल्ने हो’ मैले यत्ति भनेपछि उही ठाउँमा कुर्सी थन्क्याइन् । ढोका भित्र प्याजी रंगको साईकल टल्किरहेको थियो । दुर्गादेवी भान्सा तिर लागिन् ।

अाफ्नै घर अगाडि दुर्गादेवी ।

म उनलाई पछ्याउँदै, घरको प्यासेजबाट भित्र छिरेँ । दुई छोरी घरमै थिए ।  अँगेनोबाट धुँवा उडिरहेको थियो ।

‘के गर्न लाग्नु भयो ?’ मेरो प्रश्नको जवाफ फर्काइन्, ‘जाडो भयो, आगो तापौं भनेर ।’

शरीरमा पो जाडो । उनभित्र दन्किरहेको राँको कसले महसुस गर्ने । त्यसैको असर होला । धाराप्रवाह आफ्नी माइली छोरी (निर्मला) बारे के के भनिरहिन् ।

म उनका कुरा चुपचाप सुनिरहें । घरिघरि सुनिरहेको छु भन्ने जनाउको लगि ए ! हो र ? अनि ? भन्ने जस्ता भावले मुन्टो हल्लाइ मात्र रहें ।
‘मेरी छोरी बाहिर (महिनावारी) नै भएको थिइन । तर खै कसको आँखा लाग्यो ? छोरीको उमेर पुगेको थिएन ।’ उनी भन्दै थिइन् ।

उमेर नै पुगेको भए पनि बलात्कार गरेर मार्ने छुट कहाँ छ र !

दुई छोरी तर्फ ईशारा गर्दै बोलिन्, ‘निर्मलाले त छाडेर गई अब मेरा यही दुई छोरी सर्बैसर्वा हुन् । उनीहरुको भविष्य पनि त मैले हेर्नुपर्छ ।’

कञ्चनपुरका प्रहरी प्रमुख कुबेरसिंह कठायतले साउन यता १८ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएको बताईरहँदा म दुर्गादेवीलाई सम्झिरहेको थिएँ । उनलाई अब छोरीहरु बलात्कृत भएको सुन्नै नपरेहुन्थ्यो भन्ने लाग्छ ।

बलात्कारका १८ घटनामा धेरै पीडकहरु कञ्चनपुर प्रहरीले पक्राउ गरिसकेको रहेछ । तर सरकारका संयन्त्र निर्मलाको बलात्कारपछिको हत्यारा पक्राउ गर्न भनेर लाग्दा पनि किन भेटिन सकेन कुन्नी ?

दुर्गादेवी आफ्नो मन आफै बुझाउने भइसकेकी छिन् । आशा बाँकी छ उनमा । भन्छिन्, ‘केही समय लाग्ला । तर, हत्यारा त पक्कै भेटिएलान् ।’ निर्मलाको हत्यारा बाहिर नआउँदासम्म सरकार चुप नबसेहुन्थ्यो भन्ने उनको चाहना छ ।

‘सरकारले ढिलो चाँडो निर्मलाको बलात्कार र हत्या गर्नेलाई त भेट्ला नी है ? ध्यान दिएर खोज्दा हराएको सियो त भेटिन्छ सरकार ति अपराधी कसो नभेटिएलान र !

मलाई भने निर्मलाको घरकै देब्रे खम्बामा टाँसिएको पोस्टरले सरकारलाई नै गिज्याइरहेझैं लाग्यो । लेखिएको थियो, ‘सरकार भेटियो न्याय भेटिएन’

निर्मलाकाे घर

पोष्टरको कुरा छोडौं । दुर्गादेवी स्वयं सिंहदरबार, बालुवाटार पुगेर सरकार भेटिसकेकी छिन् । उनको मुहारमा भरोसा मिश्रित आशा पनि छ । के उनले भेटेको सरकारले छोरीको बलात्कार र हत्या गर्ने अपराधीलाई कानूनी कठ्घरामा ल्याउला त ?

मेरो प्राथना, दुर्गादेवीको मुहारमा देखिएको सरकारप्रतिको भरोसा कायम गरिदिए हुन्थ्यो ।

छोरी खेलेको, हिँडेको र दगुरेको हेर्ने बानी थियो दुर्गादेवीलाई । साउन १० पछिका दिनहरुमा भने उनको बानी फेरियो । आफ्नै घरको खम्बामा छोरीको न्याय मागिएको पोस्टर हेरेर दिन बिताउनु छ । अपराधी आज पत्ता लाग्लान् कि भोली ? भनेर प्रतिक्षामा दिन बिताउनु छ ।

सन्तान गुमाउनुु जत्तिको ठुलो पीडा एउटी आमाको लागि के हुन्छ र ? छोरीको बलात्कार र हत्याको शोकमा विक्षिप्त बनेकी आमा त्यो पीडालाई पेलेर न्यायका लागि धाउनु पर्दा कति उकुसमुकुस भएर आयो होला ।

०००

प्रिय सरकार,

आशा, भरोसा र विश्वास सबै तिम्रै पोल्टामा छाडेर अहिले दुर्गादेवी बाँकी दुई छोरीको रेखदेखमा छिन् । विक्षिप्त भएको मनलाई सम्हालेर अपराधी खाेज्ने जिम्मा तिमीलाई नै सुम्पिएकी छिन् ।

दुर्गादेवीको भरोसा पुरा हुन अझै कति लाग्छ ? दुर्गादेवीले आशै आशामा कहिलेसम्म बाँच्ने ?

ढिलो न्याय दिनु भनेको पनि न्याय नपाउनु सरह हुन्छ हैन र सरकार ? 

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: