श्रीमान् चुँड्ने विदेश


प्रकाशित मिति :2019-02-17 13:51:55

–उमा पौडेल–

सिन्धुली । सुनितादेवी मुसहर जन्मिएको एक वर्षमा उनको आमाको मृत्यु भयो । बुबाको अनुहार अलिअलि मात्रै याद छ । बुबाको निधनमा उनी ५ वर्षकी मात्रै थिइन् ।

ज्याला मजदुरीले धानिएको परिवारमा बुबा आमा नै परलोक भएपछि काम गर्ने कोही भएन । त्यसको असर कयौं दिन भोकै बिताएकी छिन् उनले । उमेर अनुसारको पौष्टिक आहार खानुपर्ने बालक भोकै भएपछि के हुन्छ ? सुनिता बिरामीले थलिइन् ।

धन्न छिमेकी मनकारी रहेछन् । उपचार गराए । परिवारमा एक्लीएकी उनलाई घरमा राखे, सहयोगीको रुपमा ।

उमेरले फक्रँदै गरेकी उनी जिम्मेवारीले थिचिन थालिन् । छिमेकीले पालेबापत काम तोकिदिए, बाख्रा चराउने, घाँस काट्ने, भाँडा माझ्ने, कपडा धुने…..।

उमेर ५ वर्ष भएर के गर्नु ! हातमुख जोर्नकै लागि उनले कामको बोझबाट छुटकारा पाइनन् । भन्छिन् ‘काम नजानेर पिटाई नखाएको दिन हुँदैन थियो । आधा पेट खाएर पनि दिन रात नभनी काम गर्नुपथ्र्यो ।’

कलिलैको दुःख मानसपटलबाट सजिलै कहाँ मेटिन्छ र ! सुनिताले पनि पाँच वर्षे उमेरदेखि गरेका हरेक काम र पाएको हैरानी भुलेकी छैनन् ।

उमेर बढ्दै जाँदा कामको बोझ पनि थपिँदै गयो । त्यहाँ नबसौं जाने ठाउँ छैन । बसुँ दिनदिनैको सकस कसरी काट्नु । हरेक दिन वर्ष झैं लाग्थे उनलाई ।

जसोतसो ६ वर्ष त्यहि घरमा बिताइन् । अर्थात् ११ वर्षको उमेरसम्म काम गरेर भोक मेटाउन पाइन् उनले । ११ वर्षको उमेरमा उनले पाँच वर्षको उमेरदेखि बिर्सिएको मायाको अनुभव भएझैं लाग्यो उनलाई ।

अर्थात्, एक युवकसँग नजिकिइन् । उनप्रति आकर्षित हुन थालिन् । विस्तारै उनले माया दिन थाले । उनी थिए सिन्धुली दुधौलीका बुद्धिलाल मुसहर । बुद्धिलाल जनकपुर काँकडभित्ताको गाडिमा सहचालकको काम गर्थे ।

सुनिताका अनुसार एकदिन बुद्धिलालले सुनितालाई विवाहको प्रस्ताव गरे । घर मालिकको कामको बोझ र यातनादेखि दिक्क भएकी उनको लागि त्यो प्रस्ताव स्वर्ग पुग्ने बाटो झैं भयो ।

चुपचाप स्वीकार गरिन् । अनि ११ वर्षकै उमेरमा बुद्धिलालसँग एकल निर्णयले लगनगाँठो कसिन् । उनीहरुले विवाह गरे । विवाह के भनौं, न जग्गे न जन्ती । खुसीखुसी एकअर्कालाई अपनाए ।

कलिलैमा जिम्मेवारीको भारी त उनको काँधमा आयो नै । तर, अनावश्यक शारीरिक र मानसिक यातना थिएन त्यहाँ । त्यसैले बुद्धिलालको घर स्वर्ग झैं लाग्यो उनलाई ।

बुद्धिलाल गाडीमै काम गर्थे । समय समयमा घर आउँथे । बुद्धिलाललाई गाडीको आम्दानीले भन्दा सुनिताको मायाले तान्यो । विवाहपछि १ वर्ष गाडीमै काम गरेका उनी आफ्नै गाउँ फर्केर ज्याला मजदुरी गर्न थाले ।

उनीहरुबीच मायाको डोरी कसिलो थियो । खुसीले जीवन अघि बढ्दै थियो ।

विवाहको ७ वर्ष बित्दासम्म ४ सन्तान (२ छोरा र २ छोरी) को जन्म भइसकेको थियो । सदस्य थपिएपछि परिवारको खर्च बढ्ने नै भयो ।
ज्याला मजदुरीको आम्दानीले परिवार चल्न हम्मेहम्मे हुन थाल्यो । बुद्धिलालले सुनितलाई ‘विदेश जान्छु’ भने ।

सुनितालाई बुद्धिलालको विदेश जाने निर्णय मन त परेको थिएन । तथापी कमाउने भरपर्दो माध्यम दुबैले देखेनन् । अन्ततः वैदेशिक रोजगार नै उनीहरुको बिकल्प बन्यो ।

२०७४ साल जेठमा बुद्धिलाल वैदेशिक रोजगारीका लागि साउदी अरेबिया गए । उनी त्यहाँ मजदुर थिए । दुरीले टाढा भएपनि सुनिता र बुद्धिलाल भावनात्मक रुपमा निकै नजिक थिए । श्रीमन् विदेश गएपछिका दिन सम्झदै भन्छिन् ‘दिनमा एकपटक त सँधै कुराकानी हुन्थ्यो । बुद्धिलाल विदेश यस्तो छ उस्तो छ भनेर सुनाईरहन्थे । मेरो र छोराछोरीको बारेमा पनि सोधिरहन्थे ।’

बुद्धिलालको विदेशको संघर्ष र सुनिताको नेपालको दुःखबाट केही आम्दानी गरेर धेरै सपना साकार पार्ने सोचेका थिए यी दम्पत्तीले ।

सुनिता भन्छिन् ‘बुद्धिलालले विदेशबाट फर्किएर पक्का घर बनाउने भन्थे म उसको सपना पुरा गर्न फारु गरेर घरखर्च धान्थे ।’

बुद्धिलालले विदेशिएको १ वर्षमा करिब डेढ लाख रुपैयाँ घर पठाएका थिए । सुनिता त्यो रकमले बुद्धिलालले विदेश जाँदा लिएको ऋणको मासिक ब्याज बुझाउँदै , सावाँ घटाउदै गर्थिन् ।

श्रीमान् फर्किएपछि सुन्दर र सुखी संसार बसाल्ने उनको सुनौलो सपना थियो । भावीले पनि कोहीकोहीलाई त ‘सुख तिम्रो भागमा छैन’ भनेर पहिल्यै निर्धारण गरिदिन्छ कि क्या हो !

जन्मिएकै वर्ष आमा गुमाउनु । पाँच वर्षमा बुबा गुमाउनु । अनि श्रमिक भएर बाँच्ने आधार जुटाउनु त उनले भोगेकै थिइन् । अब अर्को बज्रपात उनको भागमा थपियो – विदेशमा श्रीमानको मृत्यु ।

२०७५ साल भाद्र १६ गते सुनिताले बुद्धिलालको विदेशमा हृदयघातका कारण मृत्यु भएको खबर आयो । भन्छिन् ‘छिमेकमा नन्द पर्नेले सुनाएको यो कुरा विश्वास गर्नै सकिन । बिहान ३ बजे मात्रै फोनमा कुराकानी भएको थियो ।’

खप्न नसकेर तत्काल श्रीमानको विदेशको नम्बरमा फोन गरिन्, फोन उठेन । केही बेरपछि साउदी मै रहेका देवरले दाइको मृत्यु भएको भन्दै फोन गरे । अब श्रीमानको मृत्यु स्वीकार गर्नुको बिकल्प उनीसँग रहेन ।

मृत्यु भएको ३ महिनापछि कफनमा भरिएर आए बुद्धिलाल । आए के भन्नु, उनको मृत शरीर ल्याइयो । मुटुमाथि ढुंगा राखेर परम्परा अनुसार दाहसंस्कार गरिन् सुनिताले । आखिर जति माया गर्ने मान्छे भएपनि सँगै मर्न नसकिने रहेछ !

बिमा बापत पाँच लाख रुपैयाँ पाएकी थिइन् । भन्छिन्, ‘त्यो पैसा श्रीमान विदेश जाँदाको ऋण र अरु घरायसी ऋण तिर्दा सकियो ।’ उनका अनुसार अझै २० हजार ऋण तिर्न सकिएको छैन ।

सुनिता भन्छिन्, ‘श्रीमान् विदेश गएर कमाएको आम्दानीले घर बनाउँला भनेको तर ऋण तिर्न नसकेर बसिरहेको घर समेत गुमाउनुपर्ने पो हो कि भन्ने डर लाग्छ ।’

सुनिताका दुई छोरी र एक छोराको विवाह भइसकेको छ । उनी अहिले जेठो छोरा बुहारी र कान्छा छोराको साथ बस्छिन् । सबै जना गाँउमै ज्याला गरेर घर खर्च धान्छन् ।

‘बुबाको विदेशमा मृत्यु भएकाले छोराहरु पनि विदेश जान रहर गर्देनन् ।’ सुनिता भन्छिन् – ‘मलाई त झन् श्रीमान् चँुड्ने विदेश सम्झन पनि मन लाग्दैन ।’

जीवनमा सर्वस्व ठानेको व्यक्ति भौतिक रुपमा नभएपनि जीवनको कुनै कन्दरामा पक्कै रहन्छ । सुनिताले पनि श्रीमान् गुमाइन् । उनलाई मायाको अनुभुती दिलाउने श्रीमान । त्यसैले उनको जीवनबाट बुद्धिलाल गएझैं नै लाग्दैन ।

‘बुद्धिलाल मेरो जीवनबाट गएपनि सपनामा आईरहन्छन् ।’ सुनिता भन्दै थिइन्, – कहिले सँगै लैजान्छु भन्छन् । कहिले नयाँ कपडा लिएर आइपुग्छन् ।’

बोल्दाबोल्दै आँखाको डिलमा आइपुगेको एक ढिक्का आँशु गाला हुँदै च्यापुबाट भुईंमा खस्दै थियो । त्यो आँशुको ढिक्काको माटोमा मिलेपछि अर्थ रहँदैन । तर, सुनिताले सुनिताले भने आफू बाँच्नुको अर्थ खुलाइन्, – सपनामा आउने बुद्धिलाल र ४ छोराछोरीको मुख हेरेर बाँचिरहेकी छु ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

उपसभामुख बीच अब भिडियो कुराकानी

–महिला खबर– ललितपुर । संघीय संसद र प्रदेश संसदका उपसभामुख बीच बिद्युतीय रुपमा सम्बाद शुरू भएको

पुरुष सभामुखले जब संसद चलाइरहेकै बेला शिशुलाई दूध ख्वाए

एजेन्सी । संसदमा चर्काचर्की बहस चलिरहेकै बेला न्युजिल्याण्डका सभामुखले बच्चालाई दूध खुवाएर बसेका छन्।

छाउगोठ हैन छाउसोच भत्काउँ

-राधिका सापकोटा-  २०७४ असार १ गते म विहान देखि नै अफिसको काममा थिए । जिल्लामा सिन्धुपाल्चोक

बलात्कारको मुद्दा मिलापत्र गर्न खोज्ने ८ जना पक्राउ

–महिला खबर– नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा ६ वर्षीया बालिका बलात्कारको मुद्दामा मिलापत्रको प्रयास गर्नेहरूलाई प्रहरीले

अधिकारकर्मीको दबाब : महिला आयोगमा छिटो नियुक्ति गर

–महिला खबर– ललितपुर । राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन भएपछि सरोकारवालाले चासो देखाएका छन्।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: