नेपालमा यौन व्यवसाय : कानूनी मौनता, सामाजिक यथार्थता


प्रकाशित मिति :2019-02-12 12:07:46

–सुजन पन्त–

ल्याटिनको प्रस्टीच्यूटो शब्दबाट अंग्रेजीमा प्रस्टीच्यूसन भनिने शब्दको ठ्याक्कै अर्थ यहि भन्ने छैन । तथापी आफ्नो शरीर यौनजन्य कार्यको निम्ति पैसाको लागि अरुको अगाडी सुम्पिनुलाई यौन व्यवसाय भनिने सर्वमान्य बुझाइ पाइन्छ ।

नेपालीमा समेत ठ्याक्कै शब्द नभेटिएता पनि नेपालमा यौन कार्यलाई विशेष गरि यौनकर्मी र यौन व्यवसायी जनाउने शब्द त् भेटिन्छन । तर, मर्यादित शब्द भने छैनन् ।

वेश्यावृत्ति, वेश्यागमन, देहव्यापार कानूनी र सामजिक वृत्तमा सुनिने शब्द भएतापनि त्यसले यौन व्यवसायलाई मर्यादित पहिचान दिँदैन ।

सिधा अर्थमा भन्दा नेपालमा यौनकर्मीको मुद्दा न राज्यको चासोको विषय बनेको छ न यो विषयमा उति सारो छलफल भएको छ । न त सरोकारवालाहरु खुलेर छलफल गर्न नै चाहन्छन् ।

परापूर्व कालदेखि धर्म संस्कृति र समाज हुँदै हाम्रै समाजको सत्य भएपनि देखेर नदेखिने विषय बनेको छ, यौन व्यवसाय ।

विकसित पेरिस होस् या न्युयोर्क, किभदेखि बैंकक, कलकत्तादेखि रियो बिरलै ठाउँ छन्, जहाँ यौन व्यवसाय नरहेको होस् वा नभएको होस् । यौन व्यवसाय विश्वको सबैभन्दा पुरानो विषय र समाजको आवश्यक शत्रुको रुपमा बुझिँदै र हेरिँदै आएको पक्कै छ ।

विश्वमा यौन व्यवसायीको यकिन तथ्यांक पाईंदैन । तथापी एक अध्ययनले विश्वमा ४ देखि ५ करोडको हाराहारीमा यौन व्यवसायी रहेको देखाउँछ । तिमध्ये पनि ८० प्रतिशत महिला यौनकर्मी रहेको देखिन्छ । यस मानेमा यौन व्यवसायलाई महिला अधिकारको पाटोबाट समेत हेर्नु र बुझिनु पर्ने आवश्यकता देखिन्छ ।

विश्वपरिवेशमा हेर्दा यौन व्यवसायलाई हेर्ने दुईवटा दृष्टिकोण प्रचलित देखिन्छ । कतिपय देशहरुले यौन व्यवसायलाई कानूनी मान्यता दिई त्यसलाई राज्य संयन्त्रमार्फत नियमन गर्ने गरेका छन् । भने, कतिपय देशहरुले यसलाई गैरकानूनी बनाउँदै यसलाई अपराधीकरण समेत गरेका छन् ।

नेदरल्याण्डले यौन सहायता अन्तरगत यौन सहयोगी राख्ने व्यवस्था गरेको देखिन्छ । नेदरल्याण्डको यौन व्यवसायप्रति उदारताको कारण कतिपय देशबाट यौन पर्यटकहरु यहि सुविधा लिन नेदरल्याण्ड जाने गर्दछन् ।

नेदरल्याण्डकै सिको गर्दै जर्मनीले पनि यौन सहयोगी राख्ने व्यवस्था गरेको छ तर शरीर सम्पर्क गर्न पाइने भएता पनि जर्मनमा यौनकार्य गर्न भने छुट छैन । अलि फरक किसिमको ड्राइभ इन यौन व्यवसायलाई मान्यता स्वीट्जरल्याण्डले दिएको छ । जहाँ निश्चित तोकिएको ठाउँमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यौनकर्मीका साथ ग्राहकहरुलाई यौनकार्य गर्न छुट दिइन्छ ।

अष्ट्रियामा मेगा ब्रोथेल्सका रुपमा ठूला ठूला भवनहरुमा यौन व्यवसाय गर्न छुट छ । इरानमा अस्थायी विवाह मार्फत यौन कार्य गर्न छुट छ भने चीनमा यौन दासी राखेको भेटिन्छ ।

यहाँका महिलावादीबीच नै यो विषयमा विवाद छ । एकथरी कानूनी मान्यता हुनुपर्छ  भन्ने धारणा राख्छन् ।

अर्काथरी, महिलालाई सामानको रुपमा हेर्ने हुँदा यौन व्यवसायले

महिला हिंसा र प्रतिष्ठामा आँच आउँछ भन्छन् ।

बेलायतमा इस्कर्ट सुबिधा छ भने आइभरीकोष्टमा उमेर नपुगेका किशोरीलाई गुरुहरुले यौन कार्य गर्न छुट दिएको देखिन्छ ।

जापानमा यौन व्यवसाय गैर कानूनी छ । क्यानडामा केहि हदसम्म छुट छ । थाइल्याण्ड ब्राजिलमा कानूनी मान्यता नभएता पनि उनीहरुको अर्थतन्त्रको ठूलो हिस्सा यौन व्यवसायले धानेको हुँदा राज्य मौन बसेको देखिन्छ । सरसर्ती हेर्दा यौन व्यवसायलाई हेर्ने विभिन्न देशका आ–आफ्नै दृष्टिकोण छन् ।

नेपालमा यौन व्यवसायबारे कानूनी मौनता छ । तसर्थ नेपालमा यौन व्यवसाय वैध वा अवैधा स्पष्ट धारणा पाईँदैन । कानूनी स्पष्टता नहुँदा नेपालमा यौन व्यवसाय वैधानिक नै हो कि भन्ने झैं देखिन्छ ।

यहाँका महिलावादीबीच नै यो विषयमा विवाद छ । एकथरी कानूनी मान्यता हुनुपर्छ । जसले गर्दा पहिचानको सुनिश्चितता र मर्यादित हुन्छ भन्ने धारणा राख्छन् । आफ्नो शरीर आफ्नो अधिकार भन्ने मान्यता राख्नेहरु कानून स्पष्ट बनाएर यौन व्यवसाय सञ्चालन हुनुपर्छ भन्ने मान्यता राख्दछन ।

अर्काथरी, महिलालाई सामानको रुपमा हेर्ने हुँदा यौन व्यवसायले महिला हिंसा र प्रतिष्ठामा आँच आउँछ भन्छन् । त्यसैले यौनव्यवसाय पूर्णत अपराधीकरण हुनपर्ने उनीहरुको वकालत छ ।

यो विषयमा दोस्रो धार हावी हुँदा हालसम्म कानूनमै यौन व्यवसायबारे राज्यले बोल्न नसकेको भने पक्कै देखिन्छ ।

नेपालमा यौन व्यवसायको कानूनी मुद्दा सन् नब्बेको दशकमा एचआईभी र एड्सको वकालत सुरु भएसँगै अगाडि आएको हो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यौन व्यवसायीको तथ्यांक सकलन गर्ने र आवश्यक स्वास्थ्य सम्बन्धि कार्यहरु गर्दै समेत आएको पुष्ठभूमि तथा कानूनी रुपमा मौनता भएकोले नेपालमा यौन व्यवसाय बन्देज छ भन्ने देखिँदैन ।

तथापी स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयबीच नै तालमेल भने छैन । जसका कारण यौन व्यवसायी खुलेर आउन सक्ने वातावरण छैन । अर्कोतर्फ सामजिक हेला र विभेदका कारण समेत यौनकर्मी नै हुँ भन्न नसक्ने पनि पाटो छ ।

नेपालमा यौनकर्मी महिला र अन्य महिलालाई समान प्रकारको कसुरमा पनि फरक फरक सजाय हुने गथ्र्यो । यौन व्यासायलाई अपराधसरह ठानेर पीडितको पेशा र चरित्रलाई आधार मानि कम र बढी सजाय हुने गथ्र्यो ।

यो व्यवस्था संविधान एवं महिला तथा मानवअधिकारको भावना तथा न्यायका मान्य सिद्धान्त बिपरित हुने भनि सर्वोच्च अदालतको मिति २०५९/१/१९ को आदेशले यौनकर्मी महिलालाई हुने बलात्कार र अन्य महिलालाई हुने बलात्कारमा सजायको विभेद हटाएर यौनकर्मीलाई पेशा कै आधारमा विभेद गर्न नपाइने भनेको छ । यसले पनि यौन व्यवसायलाई मान्यता दिएको झैं देखिन्छ ।

यस फैसलाले महिलाबीचको विभेदको मात्र नहेरि यौनव्यवसायी समेत समाजको एक हिस्सा रहेको र पेशा नै भएको भनि मान्यता दिएको भनेर समेत बुझिन्छ ।

नेपालमा यौनव्यवसायबारे कानूनी मौनता तथा सर्वोच्चको आदेश समेत हेर्दा नेपालमा यौन व्यवसाय कानूनी रुपमा पेशा भनेर नै बुझिनु पर्छ । मुलुकी ऐन २०२० मा जीउ मास्ने बेच्नेको महल अन्तर्गत जबजरस्ती यौन व्यवसायमा लगाउन र बेचबिखन गर्न रोक लगाइएको थियो । २०४३ सालको मानवबेचबिखन रोक लगाउन बनाइएको ऐनले पनि वेश्यावृत्तिबारे उल्लेख नगरेको र महिलालाई वेश्यावृत्ति गर्ने उद्देश्यले बेचबिखन गरेमा भन्ने आशयको व्यवस्था समेत हेर्दा स्वतःस्फुर्त यौनव्यवसायमा लाग्ने कार्य कानूनत अपराध नभएको बुझ्न सकिन्छ ।

मानवबेचविखनमा नियन्त्रण, एचआईभी, एड्स तथा यौनजन्य रोग

संक्रमणमा न्यूनिकरण गर्न पनि यौन व्यवसायलाई

कानूनमै उचित सम्बोधन आवश्यक छ ।

हाल प्रचलनमा रहेको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ (१) (ख)मा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने र दफा ४ (१) (घ) मा वेश्यागमन गर्ने कार्य गरेमा मानव बेचबिखन गरेको मानिनेछ भनि व्याख्या गरेको पाइन्छ ।

सोहि दफाको २(ख) ले ‘वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एकठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने कार्य गरेमा मानव ओसारपसार गरेको मानिनेछ’ भनि व्याख्या गरेको पाइन्छ ।

साथै हालै लागू भएको मुलुकी फौजदारी सहिता ऐनको दफा (२१३) ले पनि जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्य अपहरण र शरीर बन्धक मानिने भन्ने व्यवस्था समेतलाई हेर्दा नेपालमा जबरजस्ती यौन कार्यमा लगाउनु गैर कानूनी भएता पनि स्वतःस्फुर्त गरिने यौन व्यवहार र व्यवसाय अवैधानिक हो भनि बुझ्न मिल्दैन ।

फौजदारी सहितकै दफा ११९ ले वेश्यगमनको प्रचार गर्न नहुने तथा दफा १२० ले वेश्यावृत्ति वा वेश्यागमनका लागि घर जग्गा जानीजानी प्रयोग गर्न दिनेलाई सजाय गर्ने प्रावधान राखेता पनि यसले समग्र वेश्यावृत्तिलाई निस्तेज गरेको भनेर बुझिन हुन्न ।

मात्र वेश्यागमनलाई गैरकानूनी भनिएतापनि वेश्यगमन व्याख्या छैन । सजाय पनि निकै कम ३ महिनासम्म कैद हुने भनि लचकता दिएको छ । प्रहरीले पनि कानून अभियोजनमा स्वत स्फुर्त यौन कार्यमा यो ऐन भन्दा पनि हाल खरेजमा परेको केहि सार्वजनिक कसुर सजाय ऐन २०२७ को सार्वजनिक स्थानमा हुलहुज्जत गरेको भन्ने अभियोग लगाई निजी ठाउँमा गरिने यौनजन्य कार्यलाई समेत नियन्त्रण गर्ने प्रयास गरेको देखिएता पनि यसलाई यौन व्यवसाय नै गैरकानूनी भनी बुझिन भन्ने हुन्न ।

संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १७ ले पेशाको स्वतन्त्रताको हक, धारा १८ ले समानताको हक, धारा २४ ले पेशाको आधारमा भेदभाव विरुद्धको हक, धारा २८ ले गोपनीयताको हक तथा समग्रमा संवैधानिक उपचारको हक नै सुनिश्चितता गरिसकेको छ । यस्तो अवस्थामा उमेर पुगेका दुई व्यक्तिबीचको सहमतिमा हुने कुनैपनि कार्य राज्यले नियन्त्रण वा कारबाही गरिनु हुँदैन र मिल्दैन पनि ।

केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्रीले एक औपचारिक कार्यक्रममा नै यौन व्यवसायलाई पनि कानुन बनाएर नै करको दायरामा ल्याउनुपर्ने विचार राखे । यसले पनि नेपालमा यौनव्यवसायबारे चासो बढेको पाइन्छ ।

यौन व्यवसाय पनि हाम्रो समाजको एउटा हिस्सा हो । यौनकर्मी महिलाको अधिकार पनि अहिलेको एउटा सवाल हो । त्यसैले यसतर्फ राज्यको चासो अपरिहार्य छ । महिलाको स्वास्थ्यको विषय समेत मात्र नभई राज्यले उचित व्यवस्था गरिदिदा हिंसा लागायत विभेद रोकिने र मार्यादित पेशाको रुपमा आउनसक्ने तर्फपनि विवेचना आवश्यक छ ।

कानूनी मान्यता दिँदा महिला अधिकार संरक्षण हुने, विभेद रोकिने, राज्यले कर लिन सक्ने र पेशाको मर्यादा पनि रहने हुन्छ । त्यतिमात्रै होइन पर्यटनको विकास तथा यौनजन्य अपराध रोक्ने एउटा बाटो पनि हो । मानवबेचविखनमा नियन्त्रण, एचआईभी, एड्स तथा यौनजन्य रोग संक्रमणमा न्यूनिकरण गर्न पनि यौन व्यवसायलाई कानूनमै उचित सम्बोधन आवश्यक छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

राजनीतिमा लैंगिक समानताः मिडियाको भूमिका के ?

क्यानेडियन राजदूतावासका उपराजदूत डेड्रि केन्टले सञ्चार माध्यमले असमान लैंगिक प्रतिनिधित्वको स्थितीलाई हटाउन र समाजको पुरातन

जातका आधारमा महिलालाई घर निकाला

–महिला खबर– आफूलाई कमिनी भन्दै घर निकाला गरेपछि सुशिलाले सासू, ससुरा र पति विरुद्ध शुक्रबार जिल्ला

महिला मन्त्री थापा केन्या प्रस्थान

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा हिजो आइतबार राती केन्या

महिलालाई चुनाव फलामको च्यूरा !

-सविता शर्मा- काठमाडौँ । सङ्घर्षका मोर्चाहरूमा अब्बल रूपमा भूमिका निर्वाह गरेका महिलाले निर्वाचनमा भने निकै असहज

सुत्केरीलाई उपाध्यक्षको कोसेली

उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: