कानून बनाउने कि व्यवहार बदल्ने ?


प्रकाशित मिति :2019-02-11 11:14:32

–कमला पन्थी–

चितवनकी देवी पौड्याल न्याय माग्न हिँडेको ६ वर्ष पुग्यो । श्रीमानले नै हिंसा गरेपछि न्यायको लागि उनले अदालतको ढोका ढक्ढक्याइन् । तर, उनले न्याय पाउने नपाउने आजसम्म टुंगो लागेको छैन ।

देवीका श्रीमानले सम्बन्ध बिच्छेद नगरी बाहिर अर्की केटीसँग सम्बन्ध राखेको देवीले थाहा पाइन् । श्रीमानको विवाहइत्तर सम्बन्धबारे थाहा भएपछि सँगै बस्न सकिनन् । सहेर पनि बसिनन् । हिंसाको प्रतिकार गरिन् ।

त्यसपछि उनका श्रीमान उनी विरुद्ध नै सार्वजनिक रुपमा उत्रिए । कहिले आफै पत्नी पीडित भनेर त कहिले श्रीमतीलाई ‘पागल’ सावित गर्न तम्सिएर । दिमागी सन्तुलन ठिक छैन भन्दै देवीसँग छोरा पनि छिने । यी सब हिंसाका बाबजुद देवी आजसम्म पनि न्यायको लागि भौतारिरहेकी छिन् । न्याय कुरिरहेकी छिन् ।

अर्को घटना, एक पुरुष सञ्चारकर्मीको खबरले सोसल मिडिया तताएको धेरै भएको छैन । उनी हिंसा पीडित, समस्यामा परेकालाई न्याय दिलाउन जोडतोडले लाग्ने सञ्चारकर्मी । तर, उनले नै श्रीमतीसँग सम्बन्धमा हुँदाहुँदै अर्की महिलासँग सम्बन्ध राखेको खबर आयो । उनी स्वयंले स्वीकार पनि गरे ।

स्वीकार पनि कसरी भने, ‘सामाजिक सञ्जालमा श्रीमतीलाई उदासिनताको रोग लागेको र यो रोग लागेकाहरु ज्यादै जिद्धी स्वभावका हुने’ भन्दै उनले सम्बन्ध टुंग्याएको सार्वजनिक गरे । हुन त हामी भन्छौं, हरेक व्यक्तिको व्यक्तिगत जीवन हुन्छ ।

हो, व्यक्तिको व्यक्तिगत जीवन हुन्छ । तर, साधारण मानिस भन्दा बेग्लै पहिचान भएका व्यक्तिको व्यक्तिगत जीवनको पनि समाजमा गणना हुन्छ । उसको जीवनशैलीलाई सामाजिक रुपमा लेखाजोखा गर्न पक्कै बाध्य बनाउँछ ।

मेरो मनमा पनि उनको सार्वजनिक अभिव्यक्तिपछि प्रश्न उब्जियो, उनकी श्रीमतीलाई उदासिनताको रोग लागेको थियोे भने उपचार गर्ने हो कि उनको विकल्पको खोजी ? आफ्नो कारणले समस्या उनीमा देखियो भनेर दुःखी हुनुपर्नेमा उल्टो रोगलाई दोष दिएर विकल्प खोज्नुले के बिम्बित हुन्छ ? उनी कति लैंगिक रुपमा संवेदनशिल छन् भन्ने देखाउन यति कुरा पर्याप्त छैन ?

कञ्चनपुरकी बालिका निर्मलाको हत्या प्रकरणको चर्चा त गर्नै परेन । तर, त्यो घटना माथिका जस्तै महिलालाई वस्तु सरह ठान्ने सोचको निर्मम रुप हो । नेपाली समाजले महिलालाई कहिल्यै प्रधानता दिएन । हुन त हामी आफूलाई समान छौं भन्छौं । संविधानदेखि कानूनी कागजमा पनि केही ‘लेखिएका समानता’ पक्कै छन् ।

तर, चिन्तन परिवर्तन भयो त ? पक्कै भएन । चिन्तनमा आज पनि ‘महिला भोग्य वस्तु हुन्’ भन्ने नै छ । यी सबको जड हो पितृसत्ता । हुन त महिला अधिकारकर्मीहरु नै भन्छौं, ‘अहिले धेरै परिवर्तन भएको छ ।’

मेरो दृष्टिले परिवर्तन देख्दैन । परिवर्तन छ, त बोलीमा । व्यवहारमा छैन । महिलाले भात, भान्छामा उही पुरातन समाजले निर्धारण गर्दै आएका भूमिका निभाइरहेका छन् । बरु, बाहिरी जिम्मेवारी उठाउँछु भन्दा दोहोरो, तेहेरो भूमिका खेपेका छन् ।

यी सब भूमिकालाई महिलाको दृृष्टिले हेरिने सोचको विकास भएकै छैन । बरु उनीहरुलाई दोस्रो दर्जामा दर्ज गर्न उद्धत छ यो समाज । न्यायालय पुरुषप्रधान, कार्यपालिका पुरुषप्रधान, व्यवस्थापिकाको हालत पनि उही ।

आमाको पहिचानबाट चिनिन चाहने सन्तानलाई पनि राज्यसत्तामा बस्नेका पुरुष

नै सर्वेसर्वा हो भन्ने सोचले भाँजो हालेको छ ।

लेखिएका व्यवस्था कार्यान्वयन गराउन हामीमा चिन्तन परिवर्तन हुन जरुरी छ । त्यसको लागि राज्यका व्यक्तिको सोच परिवर्तन हुनपर्छ । राज्यको सबैभन्दा सानो इकाइ घर परिवर्तन हुनुपर्छ । घर बन्न परिवारका सदस्य चाहिन्छ । घरका हरेक सदस्य, अझ अहिलेको अवस्थामा घरमूली अर्थात् पुरुष परिवर्तन हुन जरुरी छ ।

यसको सुरुआत आमाको अस्तित्वलाई स्वीकार गरेर गर्न सकिन्छ भन्ने मेरो व्यक्तिगत धारणा हो । आमाको अस्तित्व छोराले स्वीकार गरौं । तपाई बालिग छोरा हुनुहुन्छ, नागरिक बन्ने हैसियत राख्नुहुन्छ भने पहिले आमालाई अघि राख्नुस् । अनि आमाको पहिचानबाट आफ्नो पहिचान बनाउन सुरु गर्नुस् त हाम्रो समाजमा भएका धेरै असमानताका पर्खाल यहीबाट भत्किन सुरु हुन्छ ।

हुन त आमाको पहिचानबाट चिनिन चाहने सन्तानलाई पनि राज्यसत्तामा बस्नेका पुरुष नै सर्वेसर्वा हो भन्ने सोचले भाँजो हालेको छ ।

नागरिकता सम्बन्धी संशोधन विधेयक २०७५ले व्यवस्था गरेको ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको पुष्ट्याई सहित निज वा निजको आमाले गरेको स्वघोषणा गरेको हुनुपर्ने’ भन्ने व्यवस्था कति विभेदकारी छ हामी मनन गर्न सक्छौं ।

राज्यले यस्ता व्यक्तिलाई सजाय सहित जवाफदेही बनाउनुपर्नेमा उल्टो ती अबोध बालबालिकालाई जन्मिएकोमा अभिसाप जीवनभर गर भनेझैं गरी व्यवस्था गरेको छ । सामुहिक बलात्कारमा परेका र यौन शोषणमा परेका महिलाले स्वघोषणा कसरी गर्ने ?

यस्तो अवस्थामा उनीहरुको अवस्था गोप्य रहनेगरी नागरिकता दिनुपर्नेमा स्वघोषणा गर भन्नु कति अपमानजनक छ ? भगौडे बाबुको हकमा पनि स्वघोषणा ठिकै होला तर बाबु हुनेले स्वीकार नगरे के गर्ने ? फेरी झुटो ठहरिए ५ वर्ष कैद सजाय । यसको अर्थ महिलाले पहिचान नै नखोज भनिएको होइन ?

समाजले महिलाको अस्तित्वको सट्टा अवहेलना गर्ने परिपाटीले यस्तो भएको हो । त्यसैले जवसम्म हरेक नेपाली महिलाले आफ्नो स्वतन्त्र पहिचान व्यवहारमै पाउँदिन तबसम्म यो अवस्थामा कहिल्यै परिवर्तन हुँदैन । बरु, पुरुष दिने र महिला माग्ने ठाउँमा शताब्दीऔंसम्म रहिरहन्छन् ।

(पत्रकार कमला पन्थी सञ्चारिका समूहकी उपाध्यक्ष हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

राजनीतिमा लैंगिक समानताः मिडियाको भूमिका के ?

क्यानेडियन राजदूतावासका उपराजदूत डेड्रि केन्टले सञ्चार माध्यमले असमान लैंगिक प्रतिनिधित्वको स्थितीलाई हटाउन र समाजको पुरातन

जातका आधारमा महिलालाई घर निकाला

–महिला खबर– आफूलाई कमिनी भन्दै घर निकाला गरेपछि सुशिलाले सासू, ससुरा र पति विरुद्ध शुक्रबार जिल्ला

महिला मन्त्री थापा केन्या प्रस्थान

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा हिजो आइतबार राती केन्या

महिलालाई चुनाव फलामको च्यूरा !

-सविता शर्मा- काठमाडौँ । सङ्घर्षका मोर्चाहरूमा अब्बल रूपमा भूमिका निर्वाह गरेका महिलाले निर्वाचनमा भने निकै असहज

सुत्केरीलाई उपाध्यक्षको कोसेली

उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: