पत्रकार महिला दक्ष बन्ने कि चरित्रवान् ?


प्रकाशित मिति :2019-02-08 12:41:38

–मेनुका ढुंगाना–

हरेक पेशामा चुनौती हुन्छ । त्यसमाथि हाम्रो जस्तो देशमा महिलालाई हरेक पेशामा स्थापित सहज छैन । हरेक क्षेत्रमा काम गर्ने महिलाका सुरुआती दिन संघर्षपूर्ण हुन्छ । महिला भएकै कारण शंका, अविश्वास, अनेकन प्रश्नहरुका जवाफहरुसँग महिलाले जुध्नैपर्छ ।

धेरैलाई यस्ता समस्या र चुनौती सामना गर्न कठिन हुन्छ । जति महिलाले सामना गर्छन् उनीहरु सफल र स्थापित पक्कै हुन्छन् । यी सबै पेशामा आबद्ध महिलाहरुका यी साझा कुरा हुन् ।

म पत्रकारिता बाहेक अन्य पेशासँग त्यति परिचित छैन । तर, महिला भएकोले यी समस्या नजिकबाट बुझ्न सक्छु । महसुस गर्न सक्छु । तर, चर्चा भने पत्रकारिताकै गर्छु ।

अहिले शहरबजारमा मात्रै होइन् गाउँका टोलटोलमा मिडिया सञ्चालनमा छन् । सञ्चार क्षेत्रको विकास भएसँगै पत्रकारितामा दुर्गमका महिलाको चासो पनि बढ्न थालेको छ । तर, पत्रकारिताको दायरा कहाँसम्म हो ? पत्रकारले के–के गर्नुपर्छ ? यी सामान्य कुरा नबुझेरै मिडियासँग जोडिनेहरुको लर्को छ ।

म पनि यहि परिवेशबाटै आएकी हुँ । यो क्षेत्रमा पुरुषहरु त धेरै टिक्न सक्दैनन् भने हजार चुनौती सामना गर्दै पत्रकार बनेकी महिलालाई झन् यो क्षेत्रमा चलायमान भइराख्न निकै कठिन छ ।

‘पत्रकार महिलालाई बच्न कोही कसैसँग चुनौती छ भने त्यो पुरुष सहकर्मीसँग हो ।’ मैले केहि दिन अघि सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेँ । कमेन्ट गर्ने धेरै पत्रकार महिलाहरुले सहमती जनाए भने पुरुष पत्रकारहरुले आफूलाई नै तोकेरै गाली गरेझैं कमेन्ट गरे ।

पुरुष पत्रकारहरुले यो कुरालाई ठाडै अस्वीकार गरे । ‘सत्य तितो हुन्छ’ भन्ने कुरा त्यो स्टाटसले बतायो । काम गर्दै जाँदा अप्ठ्यारा दिनहरु आउँछन् । काम गर्ने वातावरण आफू अनुकुल हुँदैन । घरपरिवार, आफन्त सहकर्मी साथमा नहुँदा पनि जिम्मेवारीलाई आत्मसाथ गर्दै पत्रकार महिलाले काम गर्न सक्छन् ।

तर, यो क्षेत्रमा संघर्ष गरेर स्थापित हुनै लाग्दा सबैभन्दा नजिकबाट कसैले असहयोग गर्छ भने ती पुरुषसहकर्मी नै हुन् । असहयोग पनि कामको दक्षतासँग जोडेर होइन, चरित्र हत्या गरेर ।

फलानोसँग त्यसको राम्रो सम्बन्ध छ । योसँग हिँड्छे । यो सँग बस्छे । फलानो त त्यो सँग बोल्छ । यी यस्ता कुरामा ‘चरित्र’ का हजार अनावश्यक प्रसंग जोडेर ‘रक्सी गफ’ बनाउँछन् ।

त्यसको असर समस्याका पहाड छिचोल्दै आँखाबाट आँशु होइन रगत बगाएर इज्जत कमाएकी एक महिलालाई कति असर पर्छ भन्ने कुरा पुरुषवादी समाजले कहिल्यै सोचेको छ ?

अफवाहका रुपमा फैलिएका कुराबारे कतिजनालाई स्पष्टीकरण दिँदै हिँड्ने ? कि पत्रकार महिलाले कहाँ जाँदैछु , कोसँग जाँदैछु भन्नेकुरा सबै पुरुष पत्रकारलाई जानकारी गराउनु पर्ने हो ?

फलानोसँग त्यसको राम्रो सम्बन्ध छ । योसँग हिँड्छे । यो सँग बस्छे ।

फलानो त त्यो सँग बोल्छ । यी यस्ता कुरामा ‘चरित्र’ का हजार अनावश्यक प्रसंग जोडेर ‘रक्सी गफ’ बनाउँछन् ।

पत्रकार महिलाको रिपोर्टिङ्गको गोप्य स्रोत अनि इस्यु हुँदैन ? हामीले कुनै ब्रेकिङ इस्यु गर्यौं भनेपनि टाउको दुखाई तीनै पुरुष पत्रकारलाई हुन्छ । फेरि जोडिन्छ, चरित्र । के चरित्र महिलाको मात्रै हुने हो ? पुरुषको कुनै चरित्र हुँदैन ?

माथि उल्लेख गर्दै आएको समस्या म स्वयंले ६ वर्षदेखि भोग्दै आएको छु । आज पनि भोग्दैछु । यसको अर्थ सबै पुरुष सहकर्मी असहयोगी हुन्छन् भन्न खोजेको होइन । तर, सहयोग गर्ने भन्दा असहयोग गर्नेको जमात धेरै ठूलो छ ।

महिलाहरु इमान्दार हुन्छन् । दिएको जिम्मेवारी पुरा गर्छन् भनेर सानादेखि ठूला संचारगृहले पिँजडाको पंक्षी जस्तै बनाएका छन् । एउटा स्टुडियोमा बसेर सांगीतिक कार्यक्रम चलाउँदैमा, अरुले लेखेका समाचार वाचकको हैसियतले पढ्दैमा व्यक्तिगत क्षमतामा वृद्धि हुँदैन ।

अधिकांश एफएम रेडियोहरुले महिलालाई यसैगरी कैद गरेका छन् । महिलाहरुलाई स्टुडियो भन्दा बाहिर निस्कने वातावरण दिएका छैनन् ।

सामान्य स्तरका मान्छे, नपढेका अनि केहि नबुझेकाहरुले त्यस्तो टीप्पणी गर्दैनन् । यस्ता अफवाह फैलाउनेहरु जो समाजमा उपल्लो दर्जाका मानिन्छन्, उनै हुन् । अझ समाजमा उनीहरुको हैसियत बुद्धिजीवि रे ! 

त्यतिमात्रै होइन जुन सञ्चारकर्मी महिला मिडिया हाउसका मालिक वा सिनियर मालिकसँग नजिक भइनन् उनीहरुले निकै दुःख पाउँछन् । स्टुडियो भित्रै नचाहिने हर्कतसम्म गरेका उदाहरण हामीसँग छन् ।

जुन पत्रकार महिला स्थानीय सञ्चार माध्यममा कार्यरत छिन् उनले यस्ता हर्कतको विरोध गरे जागिरबाटै हात धुनुपर्छ । त्यसमैले कहाँ सञ्चार क्षेत्रबाटै विस्थापित समेत हुने अवस्था छ । यस्तै समस्या भोगेर संचार क्षेत्रबाट विस्थापित भएका महिलाहरुको नामै सार्वजनिक किन नगरेको ? भन्ने प्रश्न पक्कै पनि आउँछन् ।

तर, यहाँ व्यक्तिगत कुरा कोट्याउन आवश्यक ठान्दिन । सुकेसकेको घाउ कोट्याउँदा उनीहरुको व्यक्तिगत, वैवाहिक जीवनमा उतारचढाव आउन सक्छ ।

प्रसंग आफूतर्फ नै मोडौं, मेरा धेरै पुरुष साथीहरु छन् । हामी कामको सिलसिलामा सँगसँगै हुन्छौं । मलाई काम गर्न महिला पुरुष जोसँग हिँड्न पनि असहज लाग्दैन । किनकी म बेमतलबमा हिँडिरहेकी हुँदिन । आफ्नो काममा हुन्छु ।

पुरुष साथीहरुसँग रिपोर्टिङमा हिँडेको कुरालाई चरित्रसँग जोडिएर बजारभरी चर्चा हुँदो रहेछ । हल्ला अर्कतिर मोडिएको त पछि पो थाहा हुन्छ ।

सामान्य स्तरका मान्छे, नपढेका अनि केहि नबुझेकाहरुले त्यस्तो टीप्पणी गर्दैनन् । यस्ता अफवाह फैलाउनेहरु जो समाजमा उपल्लो दर्जाका मानिन्छन्, उनै हुन् । अझ समाजमा उनीहरुको हैसियत बुद्धिजीवि रे !

अनि समाज यस्तो छ नि, महिलासँग जोडिएका हल्ला फैलाउने पुरुष हुन्छन्, अनि ‘होइन’ प्रमाणित गर्नुपर्ने चाहिँ स्वयं महिलाले । आफ्नो दक्षतालाई पो प्रमाणित गर्नुपरोस् । वाह ! यसको लेखाइ भनुन् । तर हामी पत्रकार महिलाले ‘चरित्र’ नामको पगरीलाई ‘राम्रो’ सावित गराउनुपर्ने । कस्तो नियतीबाट गुज्रिरहेका छौं हामी ।

स्टुडियो भन्दा बाहिरको पत्रकारिताबारे बुझ्न नपाएका धेरै पत्रकार महिलाहरु अवसरबाट बञ्चित छन् । सामान्य तालिमको अवसर आए पनि हाकिमहरु नै जान्छन् । अवसर दिने हकमा नेपालका मिडिया मालिकहरु निकै कञ्जुस्याईँ गर्छन् । महिलाका लागि पत्रकारिता रहरले गर्ने र बाध्यताले छोड्ने पेशा बनेको छ ।

अब कसले के गर्ने त ?

नेपाल पत्रकार महासंघमा पत्रकार महिलाको प्रतिनिधत्व गर्न पत्रकार महिलाले नै आफ्ना प्रतिनिधि पठाएका छन् । पत्रकार महिलाका समस्याबारे बोल्न, समाधान निकाल्न, सुरक्षाको ग्यारेन्टी गर्न, श्रम गरे बापतको नियमित ज्यालाको बारेमा बोलुन् भनेर प्रतिनिधि पठाएका हुन् ।

तर, मोफसलका महिलालाले अभिभावक भएको महसुस अहिलेसम्म गर्न पाएका छैनन् । महिलाहरुले झेलेका समस्याको बारेमा हाम्रा प्रतिनिधिले कहिले बोल्ने ? दुर्गममा महिलाहरुले कसरी पत्रकारिता गरिहेका छन् भन्ने कुरा काठमाडौंले बताउन सक्दैन ।

दुर्गमको त्यसको लागि स्थलगत अवलोकन गर्नु पर्यो । पत्रकार महिलाहरुसँग छलफल, समन्वय र सहकार्य गर्न हाम्रा प्रतिनिधिले मोफसलमा आउन आवश्यक छ । मिडिया मालिक र हाकिमले गर्ने व्यवहार बदलिनु पर्छ ।

स्टुडियो भन्दा बाहिर पनि पत्रकारिता क्षेत्र छ भन्ने कुरा देखाउनु पर्यो । पत्रकार महासंघले मोफसलका पत्रकारको अवस्थाबारे चासो देखाउन ढिला भइसक्यो । प्रेस काउन्सिलले संचारगृहको अनुगमन गर्न जरुरी छ ।

सरकारले हेरफेर नै नगरी मिडिया सञ्चालनको अनुमति दिने काम बन्द गर्नुपर्छ । हामी महिला पनि आफूमाथि भएका समस्या कठिनाइका बारेमा खुलेर बहस गरौं ।

(पत्रकार मेनुका ढुंगाना अछामबाट कान्तिपुर दैनिकमा रिपोर्टिङ गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: