पत्रकारितामा महिला सहभागिता : विगतदेखि वर्तमानसम्म


प्रकाशित मिति :2019-02-05 11:51:37

-बबिता बस्नेत-

पृष्ठभूमि

पत्रकारितालाई विश्वभर नै ‘मास्कुलिन’ पेशाको रुपमा लिइन्छ । ‘मास्क्युलिनिटि’ अर्थात् पुरुषत्व र पत्रकारिताकाबीच कुनै सम्बन्ध छैन । तर, पुरुषहरुको सहभागिता बढि भएका कारण यो पेशालाई यस रुपमा चित्रण गरिएको हो ।

विश्व पत्रकारिताको इतिहास हेर्दा १६ औं सताब्दीदेखि नै महिलाहरु पत्रकारितामा प्रवेश गरेको देखिन्छ । सन् १६५८ मा डेनमार्कमा सोफी मेर्सिनको नाम अखबारको प्रिन्ट लाइनमा छापिएको थियो । सम्पादकका रुपमा उनको नाम छापिएपनि उनले आफै लेख्ने काम नगरेर पतिको अखबार सम्हाल्ने काम गरेकी थिइन्, भनिन्छ ।

सालट बेनेटलाई डेनमार्कमा लामो समय निरन्तर कलम चलाउने महिलाको रुपमा लिइन्छ । उनले सन् १७८६ देखि १७९३ सम्म मोर्गन पोष्ट भन्ने साप्ताहिक अखबारमा लेखिन् । मोर्गन पोष्ट तात्कालिन समयमा डेनमार्कको चर्चित पत्रिका थियो ।

नेपालको सन्दर्भमा ऐतिहासिक पृष्ठभूमि

नेपाली पत्रकारिताको इतिहास सन् १८५१ मा नेपालमा भित्रिएको हाते प्रेसबाट सुरु हुन्छ । सोही प्रेसमा छापिएको मासिक म्यागेजिन सुधा सागर नेपालको पहिलो पत्रिका हो । सरकारी मुखपत्रका रुपमा सन् १९०१ देखि प्रकाशित भएको गोरखापत्र र सन् १९६५ देखि प्रकाशित द राईजिङ्ग नेपाल नेपालको पत्रकारिताको इतिहासका खम्बा हुन् जो अहिलेसम्म निरन्तर चलिरहेकै छन् ।

सन् १९५२ मा प्रकाशित ‘महिला’ म्यागेजिनबाट पत्रकारिता क्षेत्रमा नेपाली महिलाहरुको उपस्थिति देखिन्छ । ‘महिला’ म्यागेजिनमा साधना प्रधान र कामाक्षादेवी सम्पादक थिए । कतिपयले वि.सं. १९८० देखि नै नेपाली महिला पत्रकारितामा संलग्न हुन थालेका हुन् भन्ने गरेपनि प्रमाणले चाहिँ २००८ साल जेठमा नेपाल महिला संघले प्रकाशित गरेको ‘महिला’ मासिकबाट नै नेपालको पत्रकारितामा महिलाको सहभागिता भएको हो भन्ने देखाउँछ ।

‘नेपाली माटोमा महिलाहरूद्वारा सम्पादित भई प्रकाशित भएको पत्रिकाको जेठो बिरुवा यही हो’ १ । साधना प्रधान र कामाक्षादेवी सम्पादक रहेको उक्त पत्रिकामा शलवन्ती, मधुकरी, प्रमिला सहसम्पादक रहेका थिए भने मायादेवीले व्यवस्थापकको भूमिका निर्वाह गरेकी थिइन् भन्ने तथ्य भेटिन्छ ।

वि.सं. २००८ साल असोजमा प्रियम्बदा शर्माको प्रधान सम्पादकत्वमा ‘प्रभा’ (मासिक) पत्रिका प्रकाशित भयो भने वि.सं. २००९ सालमा कुन्तिदेवीको सम्पादकत्वमा ‘प्रतिभा’ (मासिक) पत्रिका प्रकाशित भयो ।

त्यसैगरी वि.सं. २०१० सालमा रमादेवी ‘जनविकास’ (मासिक) पत्रिकाको सम्पादक तथा प्रकाशकको रूपमा देखापरिन् । उक्त समयमा अरू पत्रिकाहरू एक÷दुई अङ्कमा नै सीमित भइरहेको परिप्रेक्ष्यमा जनविकास मासिक भने १२ अङ्कसम्म प्रकाशित भएको थियो ।

त्यसैगरी वि.सं. २०११ सालमा ‘जनसाहित्य’ (द्वैमासिक) नामको अर्को पत्रिका पनि रमादेवीले नै निकालेको प्रमाण भेटिन्छ । यदि समयको गतिसँगै त्यो क्रम अगाडि बढ्न सकेको भए सञ्चार क्षेत्रमा महिलाको सहभागिताको स्थिति सुरुदेखि नै मजबुद हुने थियो । तर, मुलुकमा व्याप्त राजनीतिक अस्थिरता, शिक्षाको अभाव तथा रुढीवादी पारिवारिक–सामाजिक मूल्य मान्यताले गर्दा पत्रकारिता क्षेत्रमा महिलाको सहभागिताले निरन्तरता पाउन नसकेको हो भन्न सकिन्छ ।

सन् १९५० मा रेडियो नेपाल र सन् १९८५ मा नेपाल टेलिभिजनको स्थापना भएपछि सञ्चार माध्यममा महिलाको सहभागिता स्पष्ट रुपमा देखा परेको हो । यस अघिको सहभागितालाई फाट्ट फुट्ट मात्रै मान्नु पर्ने हुन्छ । सन् १९९० मा मुलुकमा प्रजातन्त्र आएपछि भएको संचार माध्यमको विकाससंगै सबै प्रकारका सञ्चार माध्यममा महिला सञ्चारकर्मी र पत्रकारको सहभागिता बढेको हो ।

वर्तमानमा सहभागिताको अवस्था

सञ्चारिका समूहले सन् २०१६ मा नेपालभरका ९ सय ७ सञ्चारगृहमा गरेको अध्ययनले राजधानीका विभिन्न मिडियामा २१ प्रतिशत महिला पत्रकार कार्यरत रहेको देखाएको छ । यसैगरी मोफसलमा २६.७ प्रतिशत महिला पत्रकारको संख्या छ । महिला पत्रकार र सञ्चारकर्मी मध्ये धेरैजसो रेडियोमा कार्यरत रहेको अध्ययनले देखाएको छ ।

समूहको प्रतिवेदन अनुसार, महिला पत्रकारहरु रेडियोमा ४७.८ प्रतिशत, छापामाध्यम (पत्रपत्रिका) मा ४०.५ प्रतिशत, टिभीमा १० प्रतिशत र अनलाइनमा १.७ प्रतिशत कार्यरत रहेको पाइयो ।

आफुले गरेको काम सबैले थाहा पाउने र मूल्यांकन गर्न सक्ने हुँदा विभिन्न क्षेत्रका मानिसहरुले गर्ने ‘रेस्पोन्स’ र त्यसबाट मिल्ने सन्तुष्टी छुट्टै प्रकारको हुन्छ ।

सञ्चारगृहले उपलब्ध गराएको तथ्यांक केलाउँदा मुख्य निर्णायक पदमा महिलाको संख्या निकै निराशाजनक देखिन्छ । मुलुकभरिको अवस्था हेर्दा कुल ४१ प्रधान सम्पादकमध्ये २.४ प्रतिशत मात्रै महिला देखिएको छ । यस्तै, प्रबन्ध÷कार्यकारी सम्पादक ४७ जनामध्ये महिला ४.३ प्रतिशत र ७ सय ७७ सम्पादकमध्ये ११.१ प्रतिशत महिला छन् ।

सरसर्ती हेर्दा सम्पादक तहमा धेरै महिला भएजस्तो देखिए पनि प्रभावकारी सञ्चार संस्थामा भने औंलामा गन्न सकिने मात्रै महिला छन् । राजधानीका ३२ सञ्चारगृहको तथ्यांक हेर्दा त्यसमा प्रधान सम्पादक कुल १२ र प्रबन्ध÷कार्यकारी सम्पादक ६ मध्ये महिलाको संख्या शून्य छ । यस्तै, सम्पादक कुल ६७ मध्ये पुरूष ९८.५ र महिला १.५ प्रतिशत छ ।

अधिकांश सञ्चारगृहसँग स्पष्ट रूपमा लैंगिक नीति छैन । ६१.८ प्रतिशतले आपूmसँग लैंगिक नीति नभएको बताएका छन् । सर्वेक्षणमा भाग लिएका १४.७ प्रतिशत सञ्चारगृहले मात्रै छुट्टै लैंगिक नीति रहेको बताए भने २३.५ प्रतिशतले त्यसबारे बताउन चाहेनन् ।

सञ्चारिका समूहले गरेको अध्ययनअनुसार,जातीय रुपमा हेर्दा कुल १ हजार ८ सय ६२ महिला पत्रकारमध्ये ब्राह्मण÷क्षेत्री÷अन्य समुदायका ६१.४ प्रतिशत छन् । यस्तै, आदिवासी जनजाति समुदायका २५.१ प्रतिशत, मधेशी समुदायका ६.९ प्रतिशत र दलित समुदायका ६.६ प्रतिशत छन् ।

केही समययता सञ्चार माध्यमको संख्यात्मक बृद्धिसँगै सञ्चार माध्यममा महिलाको सहभागिता पनि बढि रहेको छ । तर पनि पुरुष पत्रकार तथा सञ्चारकर्मीको तुलनामा महिला पत्रकार र सञ्चारकर्मीहरुको संख्या न्यून छ । लामो समयदेखि महिला र सञ्चारमा केन्द्रित रहेर अध्ययन अनुसन्धान नभएका कारण यो संख्या कति छ भनेर किटान गर्न सक्ने अवस्था छैन ।

सन् २०११ मा काठमाडौं उपत्यकालाई केन्द्रित गरेर सञ्चारिका समूहले नै गरेको अनुसन्धानमा सञ्चार क्षेत्रमा महिला सञ्चारकर्मीको संख्या २४ प्रतिशत देखिएको थियो । सन २०१५ को अध्ययनलाई सन् २०११ को अध्ययनसँग तुलना गरेर हेर्दा ४ वर्षको बीचमा राजधानीमा महिला पत्रकारको संख्या २ प्रतिशतले बढेको देखिन्छ ।

सन् २०११ को अध्ययनमा रेडियो, टेलिभिजन र छापालाई छुट्याएर हेर्दा रेडियोमा महिला पत्रकार तथा सञ्चारकर्मीको संख्या ४२ प्रतिशत, छापा माध्यममा ३२ प्रतिशत र टेलिभिजनमा २६ प्रतिशत रहेको तथ्याङ्कले देखाएको थियो ।

राजधानीमा मात्र नभएर विभिन्न जिल्लामा सञ्चार माध्यमको संख्या बढ्ने क्रम जारी छ । विशेषगरी एफएम रेडियोहरुको स्थापनासँगै महिला पत्रकार तथा सञ्चारकर्मीको सहभागिता पनि बढि रहेको छ ।

लगनशील भएर मेहेनतका साथ काम गर्नेहरुलाई अवसर पनि त्यत्तिकै छ । मिडियाको बढ्दो प्रतिस्पर्धामा रोजाइहरु धेरै छन् । अझ अंग्रेजी पृष्ठभूमिबाट आएकाहरुलाई त नेपालमा बसेर विदेशी सञ्चार संस्थाहरुमा काम गर्न पाउने संभावना पनि त्यत्तिकै छ ।

विभिन्न जिल्लामा एफएम स्टेशनहरु स्थापना भएका र तिनमा महिलाहरुको उत्साहजनक सहभागिताका कारण यो संख्या पहिलाको तुलनामा बढेको हो । बिगतमा समाचार बाचकका रुपमा महिलाहरुको सहभागिता बढि भएपनि अहिले समाचार शाखा या रिपोर्टिङ्गमा संलग्न महिलाहरुको संख्या बढ्दै गएको छ ।

विद्युतीय सञ्चार माध्यमहरु रेडियो, एफएम र टेलिभिजन च्यानलका तुलनामा छापा माध्यममा काम गर्ने महिलाको संख्या अझ कम छ । नाम चलेका कतिपय ठुला मिडिया हाउसमा पनि महिला रिपोर्टरको संख्या बढ्न सकेको छैन । दैनिक पत्रिकाहरुमा पत्रकारहरु प्रायः एउटाबाट अर्कोमा जाने क्रम चलिनै रहन्छ । साप्ताहिक पत्रिका र म्यागेजिनहरुमा महिलाको सहभागिता दैनिकमा भन्दा अझ न्यून छ ।

नीतिगत अवस्था

सरकारी, निजी कुनै पनि संचार माध्यममा महिलाका लागि छुट्टै नीति छैन । जसका कारण काम गर्ने वातावरण महिला मैत्री नभएको गुनासो महिला पत्रकार तथा सञ्चारकर्मीको रहँदै आएको छ ।

सरकारी सञ्चार माध्यममा अन्य सरकारी निकायमा जस्तै महिलाहरुलाई पैवेश र बढुवामा विशेष प्राथमिकता दिने उल्लेख भए पनि ब्यवहारमा भने त्यो खासै लागु हुन सकेको छैन । सरकारले तय गरेको सकरात्मक विभेदको नीति अनुसार, प्रवेशमै अन्य निकायमा झैं सरकारी संचार माध्यममा २० प्रतिशत महिलाको सहभागिता हुनुपर्छ ।

प्रधानमन्त्री, राष्ट्रपति लगायतको राज्य स्तरीय भ्रमणमा महिला पत्रकारलाई समावेश गर्ने नीति छैन । कुनै पनि कुरा लिपीबद्ध नभएसम्म व्यवहारिक रुपमा लागु नगरिने भएबाट त्यस प्रकारको नीति नै बन्नु आवश्यक देखिन्छ ।

सन् २०११ मा सञ्चारिका समूहको अध्ययनले समेटेको कुल ४६ सञ्चार संस्थामध्ये १२ वटाले मात्र मानव संसाधन नीतिमा महिलाको कुरा उल्लेख भएको तथा ३४ वटा सञ्चार संस्थामा भने सो सम्बन्धी कुनै पनि नीति नभएको बताएका थिए । समग्रमा हेर्दा २४ प्रतिशत सञ्चार संस्थामा मात्र महिलासँग सम्बन्धित मानव संसाधन नीति भएको र ७४ प्रतिशत संचार संस्थामा नीति नभएको देखिएको थियो ।

संघ संस्था तर्फ नेपाल पत्रकार महासंघले सदस्यताका लागि महिलाहरुलाई विशेष नीति अबलम्बन गरेको छ । जसअनुसार, पुरुषका लागि साधारण सदस्य हुन तीन वर्ष काम गरेको हुनु पर्छ भने महिलाका लागि एक वर्ष कायम गरिएको छ । यसैगरी केन्द्रीय पदाधिकारीमा पनि आरक्षणको ब्यवस्था गरेको छ ।

महिलालाई दिइने जिम्मेवारी

पत्रकार महिला तथा सञ्चारकर्मीहरुलाई राजनीति, द्वन्द्व, शान्ति प्रक्रिया, परराष्ट्र, सुरक्षा जस्ता मूल प्रवाहका विषयमा भन्दा प्रायः महिला, बालबालिका, स्वास्थ्य लगायतका विषयहरुको जिम्मेवारी दिने गरिएको छ । तर जसले राजनीति, अर्थ, परराष्ट्र, सुरक्षा जस्ता विषयलाई ‘बीट’ बनाइरहेका छन् तिनले पनि त्यतिकै राम्रो गरिरहेका छन् । यस अर्थमा महिलाहरुले मूल प्रवाहका विषयमा रिपोर्टिङ्ग गर्न सक्दैनन् वा हिच्किचाउँछन् भन्ने अर्थ लाउने ठाउँ देखिदैन ।

सञ्चारिकाको सर्वेक्षणले धेरैजसो पत्रकार महिला (४६.५ प्रतिशत) सबैखाले वा मिश्रित बीटमा काम गर्छन् । यस्तो अवस्था उपत्यका बाहिरका सञ्चार माध्यममा बढी पाइएको छ । यस्तै, टिभी र रेडियोमा कार्यरत पत्रकारमा ठूला पत्रिकामा काम गर्ने पत्रकारका तुलनामा बीट छुट्याएर काम गर्ने चलन कम भएकाले पनि यस्तो भएको अध्ययनबाट देखिएको छ ।

जति महिलाहरु पत्रकारितामा टिकेका छन् तिनले श्रंखलाबद्ध रुपमै तनाव र अनेक दुःखहरु भोगेका छन् ।

यसमा समाचार वाचनदेखि रिपोर्टिङ्ग गर्नेसम्म परेका छन् । कुल पत्रकार महिलामध्ये १८.३ प्रतिशत सामाजिक बीटमा कार्यरत छन् । ३ प्रतिशत पत्रकार महिलाले मात्र राजनीति र समसामयिक विषयलाई बीट बनाएका छन् । अर्थ र वाणिज्य बीटमा काम गर्ने पत्रकार महिला त्योभन्दा कम (२.५ प्रतिशत) छन् । अन्तर्राष्ट्रिय तथा परराष्ट्र मामिलामा काम गर्ने पत्रकार महिला ०.८ प्रतिशत मात्रै छन् । यस्तै, १५.१ प्रतिशतले अन्य बीटमा काम गर्ने बताए ।

कार्यस्थलको वातावरण र यौन हिंसा

मिडियालाई नजिकबाट हेरि रहेका विश्वभरीका मानिसहरु त्यतिबेला छक्क परे जब सन् २०१७ मा विश्वव्यापी रुपमा गरिएको ‘मी टू’ अभियानमा धेरै महिला पत्रकारले कार्यस्थलमा यौन हिंसा भोगेको बताए ।

‘मी टू’ कार्यस्थलमा यौन हिंसाको अवस्था बुझ्नका लागि गरिएको विश्वव्यापी अभियान थियो । नेपालको सन्दर्भमा पनि कार्यस्थलमा यौन हिंसाको कुरा बेला बेलामा उठ्ने गर्छ तर उजुरी भने अहिलेसम्म परेको छैन । नेपाल पत्रकार महासंघले यस प्रकारका हिंसामा घटना दर्ता गर्ने व्यवस्था गरेको छ । कुनै पनि बेला महिला पत्रकारले आफुमाथि भएका घटनालाई टेलिफोन मार्फत दर्ता गर्न सक्ने व्यवस्था छ । तर परिभाषित र मापन गर्न अप्ठ्यारो पर्ने खालका घटनाहरु धेरै हुने हुँदा महिला पत्रकारहरुले सिधा उजुरी गर्न सक्ने अवस्था छैन ।

पाँच वर्ष अघि एफएममा कार्यरत मोफसलकी एक पत्रकारले आफ्ना स्टेशन म्यानेजरको व्यवहारका कारण रेडियो छोडेकी थिइन् । घटना दर्ता गर्न उनका सहकर्मीहरुले सुझाब दिँदा उनले घटना भोगेपनि आफुसँग कुनै प्रमाण नभएको बताएकी थिइन् ।

सन् २०१६ को अप्रिल २२ र २३ गते युनेस्को र मिडिया एड्भोकेसी ग्रुप (म्याग) द्वारा काठ्माडौंमा आयोजित महिला पत्रकारको सुरक्षा सम्बन्धी कार्यक्रममा ती पत्रकारले आफू माथि भएको उक्त घटना सेयर गरेकी थिइन् ।

उनका अनुसार, स्टेशन म्यानेजरले काम गरि रहेको बेला उनको पछाडी उभिएर कम्प्युटरमा काम गर्न कम गाह्रो हुन्छ र ? तिमीलाई कति दुखेको छ म बुझ्न सक्छु भन्दै ढाडको माथिल्लो भागमा मसाज गरेका थिए । उनले ‘होइन सर मलाई केही पनि भएको छैन, म ठिक छु’ भन्दा होइन मलाई थाहा छ तिमीलाई कति गाह्रो भाको छ भन्दै त्यसलाई निरन्तरता दिएपछि उनी जुरुक्क उठेर हिँडेकी थिइन् ।

भोलीपल्ट फर्किएर रेडियो जान नसकेपछि उनले जागिरबाट हात धुनु परेको थियो । यौन हिंसाका घटना अदृष्य हुने हुँदा बाहिर ल्याउन सहज छैन । सन् २००५ मा गरिएको संचारिकाको देशव्यापी अध्ययनमा २ प्रतिशत महिलाले आफुहरुले कार्यस्थलमा यौन हिंसा भोगेको बताएका थिए । सन् २०१६ मा आउँदा यो संख्या कति थियो भनेर सर्पेक्षणले भन्न सकेको छैन ।

संख्यात्मक सर्वेक्षणका क्रममा तथ्याङ्कमा संख्या नआएपनि गुणात्मक सर्भेमा भने महिला पत्रकारहरुले मापन गर्नै नसक्ने तरिकाका यौन हिंसा हुने गरेको बताएका थिए । पुरुष सहकर्मीले शारीरिक हाउभाउ, महिलाका विषयमा यौन तथा चरित्रका कुरा गर्ने लगायतका कुरालाई महिला पत्रकारहरुले यौन हिंसाको रुपमा लिएका छन् ।

पत्रकारितामा महिलाका चुनौती

पत्रकारिताले उद्योग व्यवसायको रुप लिइ नसकेको कारणले यो क्षेत्र नै आर्थिक चुनौतीबाट गुज्रिरहेको हुँदा महिला पत्रकारहरु पनि स्वतः यो समस्याबाट मुक्त छैनन । बिहान बेलुका जतिबेला पनि काममा दौडिनु पर्ने हुँदा घर र कामबीचको समय समायोजन गर्न पनि निकै कठिन हुन्छ ।

अहिले कामकाजी महिलाको चुनौती भनेकै दोहोरो भूमिका हो । कामकाजी महिलाको थाप्लोमाथि घर र अफिस सम्हाल्नुपर्ने दोहोरो जिम्मेवारी छ । यो भार पत्रकार महिलालाई मात्र होइन, अरु व्यावसायिक महिलालाई पनि उत्तिकै छ ।

पुरुषले घरका काममा नसघाइदिँदा महिलामाथि दोहोरो बोझ थपिएको हो । महिलाहरू समाचार डेक्समा बसेर घर व्यवहार र समस्याका बारेमा सोच्न बाध्य छन् । धारामा पानी आयो कि आएन, बच्चालाई के खायो होला… तरकारी किन्न कुन बेला जाने, भान्सामा यो छैन, त्यो छैन जस्ता कुराले पनि महिलाको कार्य क्षमतामा बाधा पुर्याइरहेको छ ।

बच्चा जन्माउने, हुर्काउने जिम्मेवारीका कारण महिलाको काममा थप चुनौती आइपर्छन् । जुन कुरा पुरुषले सोच्नुपर्दैन । महिला पत्रकारका निम्ति सुरक्षाको चुनौती पनि छ । बेलुका अबेरसम्म काम गर्ने महिलालाई सवारी साधनको व्यवस्था भएन भने यात्रा जोखिमपूर्ण हुन्छ । अहिले पनि राति १० बजे महिला खुला सडक र गल्लीमा एक्लै निर्धक्क हिँड्न सक्ने अवस्था छैन । आर्थिक पोटो अर्को चुनौती हो ।

घर परिवारमा पनि महिला पत्रकारहरुलाई त्यति धेरै उत्साहपूर्ण वातावरण रहेको पाईंदैन । समयको पावन्दी नहुने र आम्दानी पनि निश्चित नहुने पेशा भएकोले यस प्रकारको पेशामा भन्दा बरु समयमा कार्यालय गएर समयमा घर फर्किने ९ देखि ५ बजे सम्मको जागिर तर्फ जान नै परिवारका सदस्यहरुको जोड रहन्छ ।

अनेक प्रकारका तनाव, दौडधुप, चुनौती र समयको पावन्दी नहुनु जस्ता कुरा भएर के भो त मेरी छोरीको, बुहारीको, श्रीमतीको या दिदी बैनीको आफ्नै नाम छ पहिचान छ भनेर गर्व गर्ने वातावरण बनि नसक्दा महिलाहरु खुलेर यो पेशामा सहभागी हुन सकेका छैनन् । जति महिलाहरु पत्रकारितामा टिकेका छन् तिनले श्रंखलाबद्ध रुपमै तनाव र अनेक दुःखहरु भोगेका छन् । तर यति हुँदा हुँदै पनि महिला पत्रकारहरुलाई अवसर पनि त्यतिकै छ ।

पत्रकारितामा महिलाका अवसर

विश्वव्यापी रुपमै मिडियाको द्रुत गतिमा विकास हुँदै गएकाले नेपालमा मात्रै सीमित नरही आफ्नै देशमा बसेर विश्वका कुनै पनि मुलुकका मिडियामा काम गर्न सक्ने अवस्था पनि सिर्जना हुँदै गएको छ ।

विभिन्न मुलुकबाट सञ्चालन हुने इन्टरनेट पत्रिका (नेपाली भाषामै पनि), ब्लग, पत्रपत्रिका, टेलिभिजन च्यानल लगायतका सञ्चार माध्यमहरुमा मुलुकमै बसेर काम गर्न सकिन्छ । कम खर्चिलो र धेरै जानकारी हुने हुनाले विभिन्न विदेशी समाचार एजेन्सीहरुले सोही देशका पत्रकारलाई सम्वाददाता राख्ने र त्यसमा महिला पत्रकारलाई प्राथमिकता दिने प्रचलन बढ्दै गएकोले स्वतः नेपालमा पनि त्यो संभावना बढेर गएको छ जसलाई महिला पत्रकारहरुको निम्ति राम्रो अवसरका रुपमा लिन सकिन्छ ।

पत्रकारिता चुनौतीसँगै अवसरले भरिएको पेशा हो । महिलाहरुले पत्रकारितालाई पेशाका रुपमा अपनाउनु पर्ने केही सुखद कारणहरु छन् । हाम्रो जस्तो समाजमा महिलाको आफ्नै नाम, पहिचान हुनु आफैमा ठुलो कुरा हो । अरुको नाम र नाताबाट आफ्नो परिचय पाउने आम नेपाली महिलाहरुको अवस्था भएको हाम्रो समाजमा पत्रकारिता क्षेत्रमा स्थापित भएका महिलाले कसैकी छोरी, श्रीमती या बुहारी भनेर चिनिनु, चिनाउनु पर्दैन ।

बढिमा आफू कार्यरत सञ्चार संस्थाको नाम भन्नु पर्ला नत्र परिचयका निम्ति आफ्नो नाम नै काफी हुन्छ । आफुले गरेको काम सबैले थाहा पाउने र मूल्यांकन गर्न सक्ने हुँदा विभिन्न क्षेत्रका मानिसहरुले गर्ने ‘रेस्पोन्स’ र त्यसबाट मिल्ने सन्तुष्टी छुट्टै प्रकारको हुन्छ । अन्य क्षेत्रमा काम गर्नेहरुले आफ्नो नाम कमाउन जीन्दगीका धेरै वसन्तहरु पार गर्नु पर्छ, अनुभवले खारिदै कपाल फुलाउनु पर्छ तर मिडियामा कहिले काँही अत्यन्तै राम्रो भयो भनें एउटै सामाग्रीले पनि जनमानसमा राम्रो प्रभाव जमाउन सक्छ, नाम कमाउन सकिन्छ ।

त्यस्तै सधै नयाँ सूचनाहरुसँग खेल्न पाउनु पनि कम रोमाञ्चकारी कुरा होइन । घर परिवार र नातेदारहरुका आराम बिमार र अनेक टिका टिप्पणीबाट माथि उठेर देशको राजनीति, अर्थ, व्यवसाय, सुरक्षा लगायत महत्वपूर्ण प्रायः सबै विषयमा जानकारी लिने मौका, आफ्नो ‘बीट’ अनुरुप कतिपय विषयमा जान्नै पर्ने अवस्था, देशको मात्रै नभएर विश्वमै भएका अनेक घटनाहरुका बारेमा ‘अपडेट’ हुने अवसर अरु क्षेत्रमा पाईंदैन ।

लगनशील भएर मेहेनतका साथ काम गर्नेहरुलाई अवसर पनि त्यत्तिकै छ । मिडियाको बढ्दो प्रतिस्पर्धामा रोजाइहरु धेरै छन् । अझ अंग्रेजी पृष्ठभूमिबाट आएकाहरुलाई त नेपालमा बसेर विदेशी सञ्चार संस्थाहरुमा काम गर्न पाउने संभावना पनि त्यत्तिकै छ । केही वर्षदेखि हाम्रो मुलुक विदेशी मिडियाका निम्ति समाचारको उर्वर भूमी रहँदै आएको छ, महिलालाई प्राथमिकता दिने विश्वव्यापी मान्यता अनुरुप खटेर व्यवसायिक रुपमा काम गर्ने महिलाहरुले पुरुष पत्रकारले भन्दा चाँडो काम पाउन सक्छन् ।

विभिन्न क्षेत्र, तह र तप्काका मानिसहरुले दिने सम्मान पनि यो क्षेत्रमा जस्तो अन्त कमै हुन्छ । एउटा व्यवसायिक पत्रकारलाई सबै राजनीतिक पार्टीहरु, व्यवसायिक संघ÷संगठनहरु, कटनीतिक नियोगका प्रतिनिधि लगायतले उत्तिकै दुरीको महत्व दिइ रहेका हुन्छन् ।

नेतृत्वमा महिला पत्रकारको सवाल

नेपाली मिडियाको नेतृत्व तहमा महिला पत्रकारको सहभागिता अत्यन्त न्यून छ । सरकारी तथा निजी दुबै क्षेत्रका संचार माध्यमको नेतृत्व तहमा महिलाहरु नगण्य मात्रामा छन् । सम्पादकीय र लगानीकर्ता दुबैमा यो लागु हुन्छ । यता मिडियासँग सम्बन्धित संघ संस्थाहरुमा पनि महिला सहभागिता उपल्लो स्तरमा पुग्न सकेको छैन ।

संघ संगठनमा आबद्धता

नेपाल पत्रकार महासंघको तथ्याङ्क अनुसार, महासंघका जम्मा १३ हजार ४० जना सदस्य संख्यामा २ हजार ३ सय ६० जना महिलाको संख्या छ । प्रतिशतमा यो संख्या करिब १६ प्रतिशत हो ।

यसैगरी नेपाल प्रेस युनियनमा १२.७ प्रतिशत, प्रेस चौतारीमा १२.५ प्रतिशत, क्रान्तिकारी पत्रकार संघमा २३.५ प्रतिशत महिलाको संख्या रहेको छ । मधेशी पत्रकार संघमा १४.७ प्रतिशत र आदिवासी जनजाति पत्रकार महासंघमा २७.४ प्रतिशत महिला सहभागिता रहेको छ । यी कुनै पनि संचार संस्थाको प्रमुख अहिलेसम्म महिला बनेका छैनन् ।

किन भयो त यस्तो ?

सञ्चार क्षेत्रमा मात्र नभएर प्रायः सबै क्षेत्रको नेतृत्व तहमा महिलाको सहभागिता न्यून छ । इतिहासलाई हेर्दा नेपालको मिडिया क्षेत्रमा महिलाको अलि बाक्लो उपस्थितिको सुरुआत भएको धेरै भएको छैन । नेतृत्व भन्ने कुरा एकै पल्ट जन्मिने कुरा पनि होइन ।

त्यसैले हामीले पत्रकारितामा महिला नेतृत्वको कुरा गर्दा यसको इतिहासलाई पनि हेर्नुपर्ने हुन्छ । र अर्को चाहिँ निरन्तरता । पत्रकारितामा महिलाहरुको प्रवेश पछि पनि त्यसलाई निरन्तरता भने कमैले दिएको पाइन्छ । विगतमा केही राम्रो संभावना भएका महिलाहरु सरकारी तथा अन्य मिडिया हाउसमा थिए तर ति मध्ये धेरैले संचार क्षेत्रलाई आफ्नो करियर बनाउन सकेनन । यस्तो हुनुमा पनि कारण छ, एउटा आर्थिक अर्को व्यक्तिगत ।

नेतृत्वमा पुग्ने राम्रो संभावना भएका साथीहरु मध्ये कतिपय अहिले अन्तराष्ट्रिय संस्थामा कार्यरत छन् भने कति चाहिँ पेशाबाटै पलायन भएका छन् । सिंगो पत्रकारिता क्षेत्रकै आर्थिक अवस्था आकर्षक हुन नसकेका कारण सञ्चारमा आफूलाई स्थापित गरि सकेका महिलाहरु पनि अन्तर्राष्ट्रिय संस्थामा काम गर्न गए जुन स्वभाविक पनि हो ।

झट्ट हेर्दा महिलाहरु मात्रै यस प्रकारका जागिरमा गए जस्तो देखिए पनि धेरै पुरुष साथीहरु पनि पत्रकारिताको आफ्नो नाम र पहिचान सहितको करियर छोडेर संयुक्त राष्ट्रसंघीय निकाय एवं अन्तराष्ट्रिय संस्थामा गएका छन् । महिलाको संख्या थोरै भएका कारण परिचित महिलाहरुले मिडिया क्षेत्र छोड्दा स्पष्ट देखिएको मात्रै हो ।

अर्को व्यक्तिगत कारण चाहिँ विवाह नै हो । विवाह भएपछि घर परिवारमा सीमित हुँदा धेरै महिलाहरुले यो क्षेत्र छोडेका छन् । जतिले घर परिवार धान्दै पत्रकारितामा आफ्नो करियर अघि बढाइ रहेका छन तिनको निरन्तरताको कथा निकै कठिन प्रकारको छ । अझ छोराछोरी भएपछि तिनलाई हुर्काउँदासम्मका कहानी त महिला पत्रकारका लागि झनै सुन्न र सुनाउन गाह्रो हुने खालका छन् ।

दोहोरो कामको बोझ महिला पत्रकारका लागि एउटा प्रमुख समस्या हिजो पनि थियो र आज पनि छ । महिला हुनुको अर्थमा विशेष भूमिका र दोहोरो कामको बोझका कारण समय छुट्याउन नसक्नु नेतृत्वमा महिला नपुग्नुको अर्को कारण हो । यस्तै महिलालाई हेर्ने दृष्टिकोण पनि एउटा कारण हो ।

‘त्यहाँ (सम्बन्धित ठाउँमा) पुगेर केही गर्न सक्लान र ?’ भन्ने प्रश्न अहिले पनि पत्रकार महिलाको हकमा जुन रुपमा लागु हुन्छ पत्रकार पुरुषको हकमा लागु हुँदैन । पत्रकार महासंघदेखि विभिन्न सरकारी र अन्य सञ्चार संस्थाको नेतृत्व सम्ममा यो कुरा लागु हुन्छ ।

कसरी बढाउने त महिला नेतृत्व ?

अन्य धेरै क्षेत्रमा जस्तै सञ्चार क्षेत्रको पनि नेतृत्व तहमा महिला भएनन् या कम भए भनेर महिलाले मात्रै कुरा उठाएर या सरोकार राखेर खासै ठुलो परिवर्तन होला जस्तो लाग्दैन । यो सवालमा सरकार र संचार क्षेत्रमा भएका ‘शिर्षस्थ’ व्यक्तित्वहरुले आवाज मात्र उठाउने होइन व्यवहारमै लागु हुने गरी काम गर्नु आवश्यक छ ।

साथै सञ्चार क्षेत्रमा संलग्न महिलाका लागि नेतृत्व विकास तालिमको पनि त्यतिकै जरुरी छ । नेतृत्व भन्ने कुरा अरुले तयार गरेर हुँदैन आफै अघि बढ्नु पर्ने हुन्छ । त्यसैले महिला स्वयंको पनि यसमा ठुलो भूमिका हुन्छ । मिडियामा भएका महिला स्वयंको रुची, नेतृत्वमा पुग्नका लागि गर्नु पर्ने मेहनत, निरन्तरता, लगनशिलता र त्यहाँसम्म पुग्नका लागि वातावरण सबै नै यसमा जिम्मेवार हुने भएकाले यी सबै कुराको तालमेल हुनु आवश्यक छ ।

(सञ्चारिका समूहका पूर्व अध्यक्ष बबिता बस्नेतले चितवनको पटिहानीमा भएको पत्रकार महिलाको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरेको कार्यपत्र ।) 

    Comment Here!

Related NEWS
मुख्य खबर

यी हुन् नेकपाको जिल्ला अध्यक्ष महिला

नेकपाले आज सोमबार सार्वजनिक गरेको जिल्ला अध्यक्षहरुमध्ये ३ जना मात्रै महिला रहेका छन् ।

मुक्त हलिया बस्तीमा पुगिन् मन्त्री अर्याल

–महिला खबर– कञ्चनपुरको भीमदत्तनगरपालिका स्थित मुक्त हलिया बस्तीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा

साहसी मथुरा : समाजको अपहेलना चिरेर बनिन् त्यही समाजको नेता

एचआइभी भएकै कारण चरम सामाजिक अपहेलना हुन थालेपछि उनले आत्मविश्वासले समाजको चेत फर्काउन सफल भइन्

सीपले बनायाे आत्मनिर्भर

घरायसी कारणले कक्षा ८ सम्म पढेर पढाई छाड्नु परेका उनको हातमा कपडा सिलाइ गर्ने सीपले

‘आफ्नै’ ले लुटेको त्यो कलिलो शरीर

उसलाई बुवा आमासँग मामाले आफूसँग गरेको व्यवहार भन्ने आँट आएन । तर, मामा आउँदा जहिलेपनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: