‘पढ्ने मन छ, फी कसले तिरिदिन्छ ?’


प्रकाशित मिति :2018-12-30 15:08:37

–रविन्द्र भट्टराई–

सिन्धुली । रविना सदा १७ वर्षकी भइन् । ६ महिनायता उनको दैनिकी बनिबुतोे गरेर बित्दै आएको छ । उनी अहिले विद्यालय जाँदिनन् । उनको विद्यालय छुटेको नै डेढ वर्ष बितिसकेको छ ।

रविनालाई पढ्न मन नभएर पढाइ छुटेको भने होइन । डेढ वर्ष अघि सिन्धुलीको सुघाँरे माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै थिइन् । आमाले मजदुरी गरेर कमाएको आम्दानीले बिहान बेलुकाको छाक टार्न मात्र ठिक्क हुन थाल्यो ।

‘छोरीलाई पढाउन नसक्ने अवस्था भयो । पढ्न टाठी छे । राम्रो नम्बर आउँछ । तर, आम्दानीले पढाउन नपुग्ने भयो’ पढाउन समस्या भएपछि उनकी आमाले छिमेकीसँग छोरी पढाउन भएको समस्याबारे कुरा गरेकी थिइन् ।

उनको कुरा सुनेपछि छिमेकीले ‘मेरो साथीको घरमा काम गर्ने मान्छे चाहिएको छ । तेरो छोरीलाई पठाई दे पढाई पनि दिन्छन्’ भने । छोरीले पढ्न पाउँछे भनेपछि आमा खुसी भइन् । अनि विराटनगर स्थित ती छिमेकीको साथीको घरमा गइन् ।

‘११ महिना त्यहाँ बसें’ रविना भन्छिन्, ‘स्कूल भर्ना गरिदिने कुरै गरेनन् । बरु काम मात्रै थोपर्थे ।’ त्यहाँ बस्न नसकेपछि ६ महिनाअघि भागेर घर फर्किइन् । तर, उनले विद्यालय फेरि थाल्न सकेकी छैनन् । ‘पढ्न मन लागेर के गर्नु’ रविनाले भनिन्, ‘पढाइदिने कोही छैन ।’

ममता कुमारी कुम्मरले पनि कक्षा ९ मा पढ्दा पढ्दै पढाइ छाडिन् । अहिले उनी १८ वर्षकी भइन् । आमाको मृत्युपछि बुवा मदिरा पिउन थाले । बुवाले काम नगर्ने, पढ्न खर्च नदिने गर्न थालेपछि उनको पढाई कक्षा ९ बाटै रोकियो ।

‘शुरु शुरुमा दिन बिराएर स्कूल जान्थें’ ममताले भनिन्, ‘दाइले विहे गरेपछि घर छोडें । अनि भाइबहिनी मैले नै हेर्नुपर्ने भएपछि स्कूल जानै भ्याइन ।’ अहिले उनी भाइ बहिनी हेर्छिन् । मजदुरी गर्छिन् । उनले मजदुरी गरेर कमाएको ज्यालाले नै भाइबहिनी र आफ्नो खर्च बेहोर्दै आएकी छिन् ।

‘पढेर राम्रो काम गर्ने मन थियो ।’ ममताले भनिन्, ‘पढाइदिने कोही नभएपछि मजदुरी गरेर नै बस्नुपर्ने रै’छ ।’ शिक्षा विभागको तथ्याङ्क अनुसार देशभर २०७४ सालमा भर्ना भएकामध्ये ३९ प्रतिशत बालिकाले मात्रै १० कक्षासम्मको पढाइ पुरा गर्छन् ।

प्रदेश नम्बर ३ मा २०७४ सालमा ५ लाख ५३ हजार बालबालिका विद्यालय भर्ना भएकामा २ लाख ९ हजारले मात्र माध्यमिक तहको शिक्षा पुरा गरेको विभागको तथ्यांक छ । सिन्धुली जिल्लामा भने माध्यमिक तहमा २७ हजार विद्यार्थी भर्ना भएकोमा ४ हजारले मात्रै माध्यमिक तह उत्तीर्ण गरेको तथ्याङ्क छ ।

धनकुमारीलाई विद्यालय पठाउने त परको कुरा संरक्षण दिने पनि कोही भएन । त्यसपछि उनी दिदीको संरक्षणमा पुगिन् । पढाइ भने कक्षा ५ बाट अघि बढ्न सकेन । अहिले पनि उनी दिदीकै घरमा छिन् । मजदुरी गर्छिन् ।

बीचमै पढाइ छाड्नेमध्ये एक हुन् धनकुमारी सदा । धनकुमारीले कक्षा ५ मा नै विद्यालय छोडेकी थिइन् । धनकुमारीका आमा बुवा अत्याधिक मदिरा पिउँथे । सोही कारणले उनी पाँच कक्षा हुँदा बुवा आमा दुवै बिते ।

धनकुमारीलाई विद्यालय पठाउने त परको कुरा संरक्षण दिने पनि कोही भएन । त्यसपछि उनी दिदीको संरक्षणमा पुगिन् । पढाइ भने कक्षा ५ बाट अघि बढ्न सकेन । अहिले पनि उनी दिदीकै घरमा छिन् । मजदुरी गर्छिन् । आफ्नो लागि अलिअलि कमाउँछिन् ।

‘कहिलेकाँही दिदीलाई पनि पैसा दिन्छु’ उनले भनिन् । धनकुमारीलाई पढ्नै मन नभएको भने होइन । उनलाई पढेर शिक्षक बन्ने रहर थियो । तर पुरा भएन । भनिन्, ‘हामी जस्तो गरिबले त पढ्न पनि नपाउने रै’छ । गाउँमा सरकार आएको छ भन्छन् । हामीलाई त क्यै न क्यै ।’

दुधौलीकै कविता सदाले पढाइ छोडेको ९ वर्ष पुग्यो । अहिले उनी २० वर्षकी भइन् । उनको विवाह पनि भइसकेको छ । ११ वर्षको उमेरमा कविता कक्षा ३ मा पढ्थिन् । लखी माध्यमिक विद्यालयमा पढ्दा पढ्दै उनको पढाइ रोकियो ।

घरमा ४ जना दिदीबहिनी थिए । आमा बुवा मजदुरी गर्थे । उनीहरू कसैलाई पनि बुवा आमाले पढ्न प्रोत्साहन गरेनन् । न विद्यालय पोशाक, न त किताब कापी किनिदिने नै बुवाआमाको प्राथमिकता हुन्थ्यो ।

दिनभर मजदुरी गरेर आउँथे । बेलुका खाना खायो, आ–आफ्नै सुरुमा सुत्यो । बाबुआमाको प्राथमिकतामा नपरेकै कारण चारै जना दिदीबहिनी निःशुल्क पढ्न पाउन्जेल विद्यालय गए । त्यो पनि आफ्नै स्वेच्छाले । कसैले ३, कसैले ५ कक्षासम्म पढे । त्यसपछि पढाइ रोकियो ।

कविताका अनुसार अहिले सबैको विवाह भइसकेको छ । उनका दिदीहरू पनि पढाइ छोडेर कमाउन कोही भैरहवा, काठमाडौं गएका छन् । माथिका सबैजना सिन्धुलीको दुधौली नगरपालिकामा रहेको दनुवार र मुसहर बस्तीका बालिका, किशोरी हुन् । कविता, धनकुमारी, रविना मात्रै होइन, यहाँका अधिकांश बालबालिकाको माध्यमिक तह पुरा हुँदैन ।

एक त उनीहरूका परिवारका सदस्यको प्राथमिकतामा पढाइ पर्दैन । अर्कोतर्फ परिवारको कमजोर आर्थिक अवस्थाका कारण मन भएर पनि पढाउन नसक्ने अभिभावक छन् । दुधौलीकी विन्दा सदालेका ४ जना छोराछोरी छन् ।

अर्कोतर्फ मातृभाषा बोल्ने उनीहरूलाई विद्यालयमा भाषाको समस्याले पनि विद्यालय छाड्ने गरेका छन् । कक्षा ६ सम्म पढेकी संगीता सदा अझै पनि नेपाली भाषा बोल्न जान्दिनन् । उनी २० वर्षकी भइन् । ‘कथि कथि बोल्छो रे यी पहडीया हम नई बुज्बो’ (के के सोध्छ बुझिन्) उनले भनिन् । संगीताका अनुसार विद्यालय पढ्दा पनि उनलाई भाषा बुझ्न निकै समस्या हुन्थ्यो । भाषा नै नबुझ्ने भएपछि उनलाई विद्यालय जान पनि मन लागेन । अभिभावकले पनि कर गरेनन् । कक्षा ६ बाट उनको पढाइ रोकियो ।

सविना अधिकारी स्नातक तहमा पढ्दैछिन् । उनी गाउँको विद्यालयमा प्राथमिक तहमा पढ्दा मुसहर, दनुवार समुदायमा सँगै पढ्ने साथी धेरै नै थिए । सविना नियमित विद्यालय गइन् । पाँच कक्षाबाट माथि लागेपछि उनका मुसहर र दनुवार साथीहरू घट्दै गए ।

एक त उनीहरूका परिवारका सदस्यको प्राथमिकतामा पढाइ पर्दैन । अर्कोतर्फ परिवारको कमजोर आर्थिक अवस्थाका कारण मन भएर पनि पढाउन नसक्ने अभिभावक छन्

सविना भन्छिन्, ‘दनुवार र मुसहर समुदायका मेरै साथीहरू पनि सरले पढाएको भाषा बुझ्दैनथे ।’ आफू ब्राम्हण समुदायको भए पनि मुसहर र दनुवार समुदायमा हुर्किएकोले सुरुमा आफूलाई समेत पढ्ने भाषामा समस्या परेको उनको अनुभव छ ।

उनले भनिन्, ‘मेरो घर वरपर दनुवार समुदायको बाक्लो बस्ती छ । उनीहरू दनुवारी भाषा मात्रै बोल्छन् । विद्यालयमा भने नेपाली भाषामा पढाइन्छ ।’ एकातिर भाषाको समस्या, अर्कातिर परिवारको पढाइमा प्रोत्साहन नहुनु पनि उनीहरू विद्यालय छोड्ने मुख्य कारण रहेको सविनाको भनाइ छ ।

दुधौली नगरपालिकाकी उपप्रमुख बालकुमारी अधिकारी पनि भाषागत समस्याका कारण पनि दनुवार र मुसहर समुुदायका बालबालिकाले विद्यालय छोड्ने गरेको बताउँछिन् । भन्छिन्, ‘विद्यालयमा भाषागत शिक्षक छैनन् । नेपाली भाषा नबुझ्ने बालबालिकाहरूले कसरी बुझ्लान् ?’

उनले स्थानीय तहले विद्यालय पनि हेर्ने भएकोले आउँदो बजेट तथा कार्यक्रममा भाषागत शिक्षक राख्नेबारे कुरा उठाउने प्रतिवद्धता गरिन् । मुसहर तथा दनुवार समुदायका बालबालिकालाई विद्यालयभित्रै गरिने व्यवहार पनि उनीहरूको पढाइ छोड्ने कारण भएको सोही समुदायका शिक्षकको अनुभव छ ।

‘विद्यालयमा मुसहर र दनुवार बालबालिकालाई पढ्न प्रोत्साहन गर्ने भन्दा पनि होच्याएर बोल्ने, राम्रो व्यवहार नगर्ने कारणले पनि उनीहरूलाई विद्यालय प्रति वितृष्णा जागेको हो’ स्नातक पास मुसहर समुदायका शिक्षक आशाराम सदाले भने ।

आफूले पनि विद्यालय पढ्दा त्यस्तो व्यवहार भोग्नु परेको उनको अनुभव छ । थप्छन्, ‘हाम्रो समुदायका किशोर किशारीहरूलाई पढ्न जान्ने भए पनि जान्दैनस् भन्ने गर्छन्’ उनले विद्यालयभित्रै पनि सबै समुदायका बालबालिकालाई समान व्यवहार हुनुपर्ने बताए ।

(रविन्द्र भट्टराई सिन्धुलीबाट पत्रकारिता गर्छन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

छहारीको राष्ट्रपतिद्वारा उद्घाटन

–महिला खबर– संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने ।

महिनावारी श्रृष्टिको सुरुआतः मन्त्री थापा

–महिला खबर– महिनावारीका कारण महिलाले भोग्नुपरेको चर्काे विभेद विरुद्ध पुरुष सहभागिता अनिवार्य ।

निर्मला पन्त हत्याको १० महिना पुरा

बालिका पन्त २०७५ साउन १० गते साथी रोशनी बमको घरबाट घर फर्किने क्रममा बेपत्ता भएकी

हिमाल चढ्ने क्रममा श्रीमान गुमाएका महिला चढे सगरमाथा

–महिला खबर– अब आफूहरु जस्तै हिमालमा श्रीमान गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

–महिला खबर– काठमाडौं । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: