मनोरञ्जन क्षेत्रः आन्तरिक बेचबिखनको थलो


प्रकाशित मिति :2018-12-30 15:02:09

केही समय अगाडि युनएनको कार्यक्रममा भाग लिन अमेरीका पुगेकी थिएँ । ३ दिनसम्म चलेको कार्यक्रममा क्यानडाको टोरोन्टोबाट आएकी एक महिला मेरो साथी बन्न पुगिन् । क्यानडामा बेचबिखनको मुद्दामा पीएचडी गरिरहेकी उनी रातीमा स्थानिय एक डान्सबारमा वेटर काम गर्ने रहिछन् ।

गफैगफमा उनले भनिन्, ‘रातभरी काम गर्छु । त्यही कमाईले आफ्नो पढाईको खर्च जुटाउछु ।’ रिसर्चको लागि नेपालभित्रै हुने बेचबिखनका घटनाको विषयमा अनुसन्धान गर्न नेपाल आउन मन लागेकोले रातभर खटिएर काम गरिरहेको उनले बताइन् ।

वेटरको काम गरेर उनले मासिक १५ सय डलर कमाउने रहिछन् । आफ्नो कामप्रति गर्व गर्दै उनले भनिन्, ‘नेपालमा पनि होटल, रेष्टुरेन्टमा किशोरीहरूले काम पाउदैनन् ?’

उनको प्रश्नले मलाई स्तब्ध बनायो । मनोरञ्जनको क्षेत्रमा काम गर्ने हाम्रा दिदीबहिनीहरू कसैले चिन्ला कि जस्तो गरेर मास्क लगाएर काममा जान्छन् । यी लुना चाहिँ बेचबिखनकै मुद्दामा पीएचडी गर्दैछिन् । उनी संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन डान्सबारमा काम गरेको पारिश्रमिक जोगाएर अमेरिका आईन् र सबैको सामु भनिन्, ‘मेरो डान्सबारको कमाई अन्य ठाउबाट पाउने तलव भन्दा धेरै र काम पनि सजिलो छ ।’

लुना डान्सबारमा वेटरको काम गरेकोमा गर्व गर्छिन् । तर नेपालमा त्यही डान्सबारमा काम गर्ने महिलाहरूलाई राज्यले सम्मानजनक ढंगबाट श्रमिकको रुपमा मान्यता नदिँदा उनीहरू आफ्नो पेसानै लुकाएर काम गर्न बाध्य छन् ।

नेपालमा रेष्टुरेन्ट, डान्सबार, मसाज पार्लरहरूलाई मनोरञ्जनको क्षेत्र भनेर नामाकरण गरिएको छ । ती क्षेत्रमा काम गर्ने महिलाहरू खुलेर आफ्नो पेसा बताउन चाहन्नन्, किनकी त्यो पेसा मर्यादित र व्यवस्थित छैन । मनोरञ्जनको क्षेत्रमा काम गर्नेलाई न त श्रमिकको रुपमा हेरिन्छ न त उनीहरू यस क्षेत्रमा सुरक्षित नै छन् । न उनीहरू नियुक्ति पत्र पाउछन्, न त काम गरेअनुसारको तलव नै । नेपालमा मनोरञ्जनको क्षेत्र आन्तरिक बेचबिखनको थलाको रुपमा विकास हुँदै गएको छ ।

‘टिप्सको भरमा जीवन धान्न बाध्य यो व्यवसायका महिला तथा किशोरीहरूलाई साहुले ग्राहकसंग बसेर मदिरा पिउन र ग्राहकलाई खुसी पार्नको लागि उनीहरूले जे–जे भन्छन्, मान्नुपर्छ भन्दै बाध्यतामा पार्ने गर्छन्’ डान्सबारमा काम गर्ने एकजना किशोरीले भनिन् ।

उनले दुखेसो गरिन्, ‘गाउँमा बुवाले रक्सी खाएर आमालाई सधै कुटेको देखेपछि घर बस्नै मन नलागेर शहर जान्छु, काम गर्छु र मेरी आमालाई पनि ल्याउछु भन्दै घरबाट निस्केँ । तर अहिले ग्राहकसंग बसेर रक्सी नखाई साहुले तलव नदिने रै’छ ।’ उनले थपिन्, ‘काम नगरौ गाउँ फर्केर आमा कुटेको हेरेर कसरी बाँच्ने ? यही काम गरौ ग्राहकलाई रिझाउन सकेन भने तलव नै नपाईने रै’छ । केही दिन अघि ग्राहकको जबरजस्तीमा रक्सी पिउदा आफ्नै आङ्मा बान्ता भयो । त्यो गन्ध र मेरो बुवाले खाको रक्सीको गन्ध एउटै त रहेछ ।’

‘रक्सी खाएर आमा पिट्ने बालाई केही गरेर देखाउन आएकी म त बा भन्दा नि बिग्रनु पर्यो’ उनले मनै चसक्क हुनेगरी आफ्नो पीडा पोखिन् ।

उनी एउटा प्रतिनिधि पात्र मात्रै हुन् । मनोरञ्जनको क्षेत्र भनेर चिनिने क्याविन, मसाज, डान्सवारमा काम गर्ने महिला तथा किशोरीहरूको अवस्था लगभग यस्तै हुन्छ ।

नेपालमा सशस्त्र युद्धको समयमा गाउँबाट विस्थापित भएर शहर पसेका किशोरीहरूको राजधानी प्रवेशपछि मनोरञ्जनको व्यवसाय हवात्तै फस्टाउन पुग्यो । तर त्यो संगसंगै महिला तथा किशोरीहरूको श्रमशोषण र उनीहरूमाथिको यौन दुव्र्यवहारका घटनाहरू बढ्न थाले । राजधानीमा हालसम्म सो व्यवसायमा कति महिला कामदार छन् भन्ने कसैसँग पनि यकिन तथ्याङ्क छैन ।

मनोरञ्जनको क्षेत्रलाई मर्यादित तथा व्यवस्थित बनाउनको लागि सर्वोच्च अदालतले २०६५ सालमा निर्देशिका जारी गरी कानून नबन्दासम्म त्यो निर्देशिकालाई कानून सरह लागु गर्नभनी निर्देशन दियो । केही समय त्यो निर्देशिकाले चर्चा पनि पायो ।

मनोरञ्जन क्षेत्रमा हुने व्यवसायीक यौन शोषण विरुद्ध काम गर्ने गैरसरकारी संघ संस्थाले यसको कार्यान्वयनको लागि आवाजहरू उठाए, तर ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझै यो निर्देशिका अहिले निस्कृय बनेको छ ।

यस क्षेत्रलाई व्यवस्थित बनाउनको लागि तत्कालिन महिला विकास कार्यालय तथा जिल्ला प्रशासन कार्यालय सम्मिलित अनुगमन तथा कारवाही समिति समेत बनेको थियो ।

सो समितिले विभिन्न गैरसरकारी संस्थाहरूसंगको सहकार्यमा कार्यविधि समेत तयार पारेको थियो ।

कार्यविधि अनुसार बिना दर्ता संचालनमा रहेका मनोरञ्जन व्यवसायीलाई अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयमा पनि दर्ता हुनुपर्ने यदि प्रक्रियामा आएनन् भने उनीहरूको व्यवसाय बन्द गर्ने भनि सूचना जारी समेत गरियो । केही व्यवसायीहरू दर्ता पनि भए र उनीहरूले कामदारको लागि दिनुपर्ने सेवा सुविधाका सर्तहरू मान्ने बचनवद्धता समेत व्यक्त गरे ।

भन्छिन्, ‘यो पेसा त अर्काको दास बन्ने पेसा पो रहेछ । मलाई यो समाजले हेर्ने नजर के होला ? भोली मलाई कसले विहे गर्ला ? त्यही भएर अनुहार लुकाएर हिँड्छु ।’

केही समय मनोरञ्जन व्यवसायीहरू अब सरकारले मापदण्ड विपरीत संचालनमा रहेका व्यवसायीलाई कारवाही गर्ने भयो भनि कामदारको सेवा सुविधाप्रति सजग पनि भएका थिए । तर मुलुक संघिय संरचनामा गईसकेपछि राज्यको कामको बाँडफाँड हुन पुग्यो, जसले गर्दा अनुगमन गर्ने संयन्त्रनै निष्क्रिय हुन पुगेपछि समस्या कम हुनुभन्दा झन् बढ्दै गएको छ ।

मनोरञ्जन व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाई त्यहाँ कार्यरत श्रमिकको हक अधिकार सुनिश्चित गर्न तयार पारिएको कार्यविधिको कार्यान्वयनमा सक्रिय रुपमा काम गरिरहेको महिला विकास कार्यालय नै खारेज भएपछि मनोरञ्जनको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने सरकारी प्रयास अलपत्र परेको छ ।

अमेरिकामा भेटिएकी लुना अनि नेपालककी ती डान्सबारमा काम गर्ने किशोरी यी दुवैको काम एउटै हो । तर लुना सम्मानजनक ढंगबाट आफ्नो श्रम बेचिरहेकी छन् भने यी किशोरी जो आफ्नो श्रम बेचेर पनि यौन दासको रुपमा बाँचिरहेकी छन् । उनी काममा जाँदा अनि निस्कदा मास्क अनि कालो चश्मा लगाउछिन् ।

भन्छिन्, ‘यो पेसा त अर्काको दास बन्ने पेसा पो रहेछ । मलाई यो समाजले हेर्ने नजर के होला ? भोली मलाई कसले विहे गर्ला ? त्यही भएर अनुहार लुकाएर हिँड्छु ।’

सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा घन्काएर हिँडिरहदा के कहिले श्रमिकको नाममा आफ्नो अस्तित्व लुटाउन बाध्य यी किशोरीहरूको अधिकारलाई स्थापित गर्न कुनै कदम चाल्यो त ?

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: