अभियन्ता नै हिंसामा


प्रकाशित मिति :2018-12-28 13:29:18

-राधिका बुढाथोकी-

सिन्धुली । सिन्धुलीकी एक अधिकारकर्मी पत्रकार महिला (नाम गोप्य) अरु महिलाको न्यायका लागि कम्मर कसेर लाग्छिन् । कसैको दबाब र प्रभावमा काम गर्दिनन् । त्यसैले पनि हिंसामा परेका महिलाहरू न्यायका लागि सम्बन्धित निकायमा जानु अघि राय सल्लाहका लागि उनकोमा पुग्छन् ।

‘आफ्नै सन्तुष्टिका लागि उहाँहरूलाई न्याय दिलाउन लाग्छु’ उनले भनिन्, ‘पीडितका लागि बोल्नु पेसागत कर्तव्य र व्यक्तिगत चाहाना हो मेरो । जीवनमा अरु केही गर्न नसके पनि हिंसा पीडितको न्यायका लागि बोल्न छोडिन्न ।’

तर अरुको न्याय र अधिकारका लागि आवाज उठाउने, सम्बन्धित निकाय धाउने तिनै महिलाले आफूले भोगेका हिंसाको नालीबेली सुनाउँदा भने आङ झसङ्ग भो । ‘पलपल र पाईला पाईलामा भोगेका हिंसाको लहरो सम्झिदा कहिलेकसो त दिक्क लाग्छ’ उनले भनिन्, ‘म त बोल्न सक्छु । मैले बोल्दा धेरैले सुन्लान पनि । मलाई यस्तो भो भन्दा मान्छेले विश्वास गर्छन् । तर जो दीन दुःखी छन् । आफ्नो अधिकार के हो बुझेकै छैनन् । त्यस्ता महिलाहरूले खेपेका हिंसा कस्ता होलान् ? त्यसैले पनि बेसहारा महिलाको पक्षमा आवाज उठाइरहन मन लाग्छ ।’

अरुको अधिकारको पक्षमा खुलेरै लेख्ने र बोल्ने उनले आफूले चाहिँ कस्ता हिंसा भोगिन् त ? उनले एउटा घटना सुनाइन्, ‘लैंगिक हिंसा विरुद्ध कलम चलाउने, मानव अधिकार प्राप्तीका लागि लड्ने रेडियो सिन्धुलीगढीका अध्यक्ष कृष्णहरी घिमिरेबाट अनकौं खालका मानसिक हिंसा सहनु प¥यो ।’

यही हिंसाका कारण उनले काम गदैँ आएको कार्यालय छोड्न बाध्य भईन् । तर पनि मानव अधिकारकर्मी भनिएका कृष्णहरीले भने उनीमाथि हिंसा गर्न छोडेनन् । धेरै खालका मानसिक तनाव दिए । ‘कृष्णहरीकै कारण मेरो घरपरिवारमा कलह सिर्जना भयो । सासूले अहिलेसम्म पनि मैले छोएको खाना खानुहुन्न’ उनले भनिन्, ‘त्यो पीडाको हिसाब किताब नै छैन मसँग ।’

कृष्णहरीको यातना विरुद्ध न्यायका लागि अदालत जान उनीसँग प्रमाण थिएन । किनकी भौतिक आक्रमण भएको भए प्रमाण जुटाउन सकिन्थ्यो । उनले मानसिक हिंसा दिएका कारण प्रमाण थिएन । त्यसैले उनी न्यायिक निकायसम्म पुग्न सकिनन् । उनले भनिन्, ‘हिंसाको असर अहिलेसम्म भोगिरहेकी छु । लाग्छ, अरुका लागि आवाज उठाउने मैले त यस्तो हिंसा सहनुपर्यो भने बोल्न नसक्ने महिलाको अवस्था कस्तो होला ?’

………..

सिन्धुलीकै अर्की महिलाले २०७२ सालमा रेडियो पत्रकारिता सुुरु गरिन् । आवाजवीहिनहरूको आवाज बन्ने उद्देश्यले रेडियो पत्रकार बनेकी उनले रेडियोमा बोल्ने रहन नै नपुगी रेडियो छोड्न बाध्य हुन पर्यो ।

छोटो समयमै पत्रकारिता छोड्नुको कारण सुन्दा भने अचम्म लाग्यो । अधिकारकर्मी पत्रकार महिलामाथि हिंसा गर्ने रेडियोका अध्यक्ष तथा मानव अधिकारकर्मी कृष्णहरी घिमीरेबाटै उनले पनि हिंसा भोगेकी रहिछन् । रेडियो प्रवेश गरेलगत्तै शुरु भएको मानसिक हिंसा सहन नसकेपछि बाध्यतावश पेसा नै छोडेकी उनले भनिन्, ‘दुनियाँलाई प्रश्न गर्ने पत्रकारबाटै यति विघ्न हिंसा हुन्छ भन्ने सोचेकै थिइन् ।’

त्यसो त उनले पनि हिंसा विरुद्ध आवाज उठाउन नखोजेकी होइनन् । तर उनले जो जोसँग आफूमाथि भएको हिंसाका बारेमा कुरा गरिन्, ती साथीहरूले उल्टै उनलाई नै दोषी देखाए । ‘आफ्नै साथीहरूले विश्वास नगरेपछि न्यायालय जान सकिन । पीडा लुकाएर बस्न बाध्य भएँ’ उनले थपिन्, ‘कृष्णहरीबाट हिंसा खेप्ने म मात्रै रहेनछु । मेरै अर्की एक साथीलाई पनि उनले दिनुसम्मको पीडा दिएका रहेछन् ।’

तर एउटा अधिकारकर्मी पत्रकारको पहिचान बोकेको व्यक्तिबाटै यस्तो भयो भन्दा कसैले विश्वास गर्ने आधार नभएपछि आफूहरू चुप लागेर बसेको पनि उनले बताइन् । यही घटनाका मानसिक बिरामी नै भएकी उनले जसोतसो आफूलाई पूर्ववत अवस्थामा ल्याएको बताइन् ।

………..

२०२८ साल चैत ३ गते हालको मरिण गाउँपालिका वडा नं १ सिन्धुलीमा जन्मिएकी अर्की अधिकारकर्मी पेसाले शिक्षक हुन् । तर उनलाई शिक्षका रुपमा मात्रै चिन्ने कमै छन् । धेरैले उनलाई महिलावादी नेताका रुपमा चिन्छन् ।

सानै उमेरमा उनी कम्युनिष्ट पार्टीमा आवद्ध भईन् । २०४२ सालदेखि महिला नेताको पहिचान बनाइन् । बाह्रमण परिवारकी छोरी भएकाले पर सर्नु अघि नै विवाह गरिदिए बाआमाले । बाबाआमाको कुरा काट्न नसकेपछि १४ वर्षको उमेरमा विवाह भयो उनको । उनको कलिलो जीवनमा त्यसपछि सुरु भयो पारिवारिकसँगै अनेक हिंसा ।

‘पत्रिकामा नछापिदिनु होला र रेडियोमा पनि नबजाई दिनुस् है बहिनी’ उनले यही शर्तसँगै जिल्लाका ‘पावरवाला’ पुरुषबाट खेपेको हिंसाको बेली बिस्तार सुनाइन् । महिला भएकै कारण अनावश्यक रुपमा झेल्नुपर्दाको पीडा पोखिरहँदा उनको अनुहारमा पीडकप्रति बदलाको भाव पनि प्रष्टै झल्किरहेको थियो ।

सानैदेखि उनी विद्रोही स्वभावकी । हरेक क्षेत्रमा महिला र पुरुषको समान सहभागिता खोज्ने बानी छ उनको । गल्ती र विभेद विरुद्ध जसले जे भन्दा पनि डर नमान्ने उनको बानी विवाह पछि पनि बदलिने कुरै भएन । लोग्ने मान्छेले खाइसकेपछि मात्रै महिलाको खाना खाने पालो आउने श्रीमानको घरमा श्रीमानसँगै खाना खान थालिन् । यसमा पनि उनले थुप्रै प्रहारहरू सहनुपर्यो ।

त्यतिमात्रै होइन, विवाह पछि उनले सारी नलगाएर कुर्था लगाउँदा पनि ‘विद्रोही बुहारी’को उपनाम दिईएको उनी सम्झिन्छन् । गाउँमा त उनले कुर्था लगाउन थालेपछि व्यंग्यात्मक गीतै पनि बन्यो रे ।

आफू र पीडकको नाम सार्वजनिक नगरिदिने शर्तमा उनले जिल्लाका प्रहरी, वकिल, न्यायाधीश, नेताले विभिन्न समय र सन्दर्भमा गरेको अन्यायको नालीबेली सुनाइन् ।

भाडामा कोठा पनि पाईदैँन

मिना मगर सिन्धुली प्लस, सामुदायीक हेरचाह केन्द्रकी टिम लिडर हुन्, । २०४० साल साउन २७ गते झापामा जन्मिएकी उनी ३ वर्षदेखि निरन्तर सिन्धुलीमा रहेर एचआईभी एड्सका बिरामीहरूको सेवा गरिरहेकी छिन् । यो क्षेत्रमा उनको लामो अनुभव छ । उनी एचआईभी संक्रमित होइनन् ।

२४ सै घण्टा एचआईभी संक्रमितको हेरचाहमा बिताउने उनले आफू निरोगी भए पनि समाजको छिःछिः र दूर दूर सहेकी छन् ।

बिरामीलाई परामर्श दिने, रोग लागेर मर्न खोजेका, आत्म हत्या गर्ने प्रयास गरेका मान्छेहरूलाई बाँच्च प्रेरणा दिएर काम गरिरहेकी उनले एचआईभी संक्रमितको लागि काम गरेका कारण समाजको हेला सहन बाध्य भएकी हुन् । ‘म एचआईभी संक्रमित होइन भन्ने थाहा पाएर त यस्तो छिःछिः गर्छन् भने एचआईभी संक्रमितले भोग्ने पीडा झन् कस्तो होला ?’ मिना भन्छिन्, ‘ममाथि भएको हिंसा समग्र संक्रमितमाथिको हिंसा र अपमान हो ।’

मिनाले एचआईभी एड्सका बिरामीलाई औषधि लिन अस्पताल जाँदा, बिरामीको स्वास्थ्य अवस्था जाँच गर्ने जाँदा डाक्टरलेसमेतले आफूलाई हेपेर हिंसाजन्य व्यवहार गरेको दुखेसो पोखिन् ।

भाडामा बस्न कोठा खोज्ने क्रममा कोठा पाइयो । कहिलेदेखि बस्ने, कति भाडा सबै तय भो । अन्तिममा घरबेटीले के काम गर्छौ भनेर सोध्दा एचआईभी एड्सका बिरामीहरूको सेवा गर्छु भनिन् । लिन दिन फिक्स भएको कोठा नपाउने भइन् उनले । एचआइईभी संक्रमितका लागि काम गर्न थालेपछि यस्ता थुप्रै हिंसा र विभेद सहनु परेको अनुभव सुनाइन् उनले ।

‘महिलाको गोठै पल्टेर आएछन् भने’

२०३८ सालमा इलाम जिल्लामा जन्मिएकी अधिकारकर्मी पार्वती भट्ट्राई सामुदायीक मेलमिलाप परियोजना सिन्धुलीको कार्यक्रम संयोजक पनि हुन् ।

उनले आफ्नो कार्य क्षेत्र अन्र्तगत रहेर पीडित महिलालाई न्याय दिलाउने काम गर्छिन् ।

मेलमिलाप केन्द्रमा अरु घटनाको तुलनामा महिलामाथि हुने सामाजिक, आर्थिक, शारीरिक, मानसिक हिंसाका घटनाहरू धेरै आउँछन् । लामो समयदेखि महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी पार्वती महिला शसक्तिकरण, महिला नेतृत्व विकासका लागी विभिन्न तालिमहरू पनि दिन्छिन् ।

सामाजिक विभेद तथा मानव अधिकारको क्षेत्रमा परियोजना अन्र्तगत रहेर काम गदैँ आएकी पार्वती आफैले परिवारबाट हिंसा भोग्न परेको छैन् । यद्यपि जब सामाजिक कामका लागि घरबाहिर खुट्टा हाल्छिन् अनि ज्यान सुरक्षाका लागि भगवानसँग प्राथना गर्छिन् ।

पीडक जहिले पनि पीडित भन्दा बलियो पक्षको हुने भएकाले पीडितका लागि काम गर्दा अप्रत्यक्ष रुपमा धेरै खालका धाक धम्की आउने गरेको उनले बताइन् । ‘मानसिक हिंसा नभोगेको सायदै दिन हुन्न’ पार्वतीले भनिन्, ‘अधिकारको वकालत गर्ने पुरुष भन्दा महिलालाई बढी समस्या छ । पीडकले केही गर्न नसक्ने अवस्थामा अधिकारकर्मी महिलाको चरित्र हत्या गरिदिन्छन् ।’

‘प्रहरी कार्यालय, अदालत जस्ता न्यायालयमा पीडित पक्षलाई न्याय माग्दा उल्टै आफू हिंसामा पर्नु पर्छ’ अप्सराले भनिन्, ‘पीडित महिलालाई साथ दिन मन लाग्छ । दिदीबहिनीको पीडा टुलुटुल हेरेर बस्न सकिन्न । पीडितलाइ साथ दिँदा पीडक पक्षले मार्ने पो हुन् कि भनेर कामेर बस्नु पर्ने अवस्था छ ।’

पार्वतीको अनुभवमा न्यायिक निकाय नै लैंगिक मैत्री छैनन् । पुरुष प्रहरीबाट समेत अप्रत्यक्ष हिंसा र प्रहार खेपेको अनुभव सुनाउँदै उनले भनिन्, ‘पीडितले न्याय पाउनु पर्छ भनेर जाँदा ‘महिलाहरूको गोठै पल्टेर आयो’ भन्छन् । सबैभन्दा पहिले न्यायिक निकायका मान्छेहरूलाई लैंगिक मैत्री व्यवहार गर्न सिकाउन आवश्यक छ ।’

महिला अधिकारकर्मी अप्सरा खड्का र विमला थापा पनि अधिकारकर्मी महिलाहरू घरदेखि समाजको हिंसा भोग्न बाध्य रहेको बताउँछन् ।
महिला अधिकार प्राप्तीका लागी संर्घष गरिरहेका अधिकारकर्मीहरू भन्छन्, ‘प्रहरी कार्यालय, अदालत जस्ता न्यायालयमा पीडित पक्षलाई न्याय माग्दा उल्टै आफू हिंसामा पर्नु पर्छ’ अप्सराले भनिन्, ‘पीडित महिलालाई साथ दिन मन लाग्छ । दिदीबहिनीको पीडा टुलुटुल हेरेर बस्न सकिन्न । पीडितलाइ साथ दिँदा पीडक पक्षले मार्ने पो हुन् कि भनेर कामेर बस्नु पर्ने अवस्था छ ।’

महिलाको हक, अधिकारको क्षेत्रमा क्रियाशील महिला अधिकारकर्मीहरू आफै जोखिमपूर्ण अवस्थामा रहेको बताउँछन् । महिलामाथि भईरहेको हिंसा र मानव अधिकार हनन् भएको विरुद्ध आवाज उठाउदा पीडक पक्षबाट विभिन्न धम्कीहरू आउने गरेको उनीहरूको भनाइ छ । यति मात्र हैन आफूमाथि हिंसा भयो भने, घटना न्यायालयमा दर्ता गर्न नपाई मन्त्री, सांसद, पहँुवाला, पावरवालाहरूको दबाब आउने गरेको उनीहरूको भनाइ छ ।

अधिकारकर्मी महिला हिंसामा पदैँ आएका भएता पनि जिल्लामा उजुरी दर्ता भएको छुट्टै तथ्यांक भने छैन । महिला अधिकारकर्मी हिंसामा परेको उजुरी आए पनि छुट्टाएर राख्ने नगरेको सरकारी निकायहरू बताउँछन् ।

जिल्ला प्रहरी कार्यलय सिन्धुली, जिल्ला कानूनी सहायता समितीको कार्यालय, सिन्धुली, जिल्ला सरकारी वकिल कार्यलय र जिल्ला अदालतमा अधिकारकर्मी महिला हिंसामा परेको उजुरी नआएको सम्बन्धित निकायहरूले जानकारी दिए ।

जिल्ला कानूनी सहायता समितीको कार्यालय, सिन्धुलीका कर्मचारी अधिवक्ता प्रविण हायु अधिकारकर्मी महिला हिंसामा पर्दा पनि उजुरी नदिईएको पाईएको बताउँछन् ।

घटनालाई सार्वजनिक गर्दा झनै बद्नामी हुने र जोखिम बढ्ने डरले हिंसापीडित अधिकारकर्मीहरूले हिंसा लुकाउने गरेको हायुको बुझाइ छ ।

न्यायालयमा प्राय घटनाहरू महिला अधिकारकर्मीहरू मार्फत आउने गरेको भएता पनि अधिकारकर्मीहरू नै हिंसामा परेका घटनाहरू सम्बन्धित निकायमा दर्ता नभएको उनी बताउँछन् ।

नेपालको कुल जनसंख्या मध्ये ५४.५ प्रतिशत महिला छन् । २०६८ सालको जनगणना अनुसार सिन्धुलीको कूल जनसंख्या २ लाख ९६ हजार १ सय ९२ रहेकोमा महिलाहरूको संख्या १ लाख ५६ हजार ०६९ र पुरुषहरू १ लाख ४० हजार १ सय २३ को संख्यामा छन् ।

जनसांखिकी दृष्टिकोणले हेर्दा १५ हजार ९ सय ४६ जना महिलाहरू बढी भएको जिल्लामा महिला नेतृत्व न्यून छ । महिलामाथि हुने घरेलु हिंसा, बलात्कार, बलात्कार प्रयास लगायतका हिंसाजन्य घटनाहरू बढ्दै गएको प्रहरी महिला सेलको तथ्यांकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा १ सय ३५ जना, २०७३/०७४ मा २ सय ६९ जना, २ सय ९१ जना र २०७५/०७६ मा हाल सम्म ७७ जना महिलामाथि हिंंसा भएको छ ।

राजनैतिक, आर्थिक, सामाजिक, स्वास्थ्य लगायत क्षेत्रमा महिलाहरूको अवस्था सन्तोषजनक देखिदैन । हिंसा विरुद्ध काम गर्ने अधिकारकर्मी महिलाहरूले समेत विभिन्न हिंसाको सामना गरेको यथार्थ छ । हिंसाको प्रतिकार गर्दा समाजबाटै बहिष्कार हुनुपर्ने डरले अधिकारकर्मी महिलाले समेत पीडा लुकाएर बस्न बाध्य छन् । यस्तो अवस्थामा महिला हक अधिकारका लागि बनाइएका ऐन, कानूनहरू कागजमा मात्रै सिमित भएको आभास हुन्न र ?

(पत्रकार राधिका बुढाथोकी सिन्धुलीबाट पत्रकारिता गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: