मनोरञ्जन क्षेत्रः असुरक्षाको लहरोमा बालिका


प्रकाशित मिति :2018-12-25 14:39:37

गएको हप्ता काठमाडौंको ठमेलमा रहेको दोहोरी रेष्टुरेन्टमा कार्यरत एउटी ‘निर्दयी आमा’को कूकर्मबारे सुनें । त्यो घटनाले छाँगाबाट खसे जस्तो भएँ । अनि अहिले पनि सोचिरहेछु, ‘संसारकै सबैभन्दा मूल्यवान मानिने मायाकी प्रतिमूर्ति, विश्वासकी धरोहर ‘आमा’ पनि यति निर्दयी हुन्छन् त ?’

श्रीमानको असहयोग र वेवास्तापछि तीन छोराछोरीकी आमा दोहोरी रेष्टुरेन्टमा काम गर्न थालिन् । दोहारीमा काम गर्दा कमाएको थोरै पैसाले उनलाई छोरीछोरी पाल्न र डेरा भाडा तिर्नै पुगेन । अभावै अभावका बीच आफ्नो र छोराछोरीको जेनतेन गुजारा गरिरहेकी उनी विस्तारै पुरुष ग्राहकका अतिरिक्त चाहाना पनि पुरा गर्ने बाटो रोज्न बाध्य भइन् ।

३५ वर्षीया ती महिलाको हिमचिम बढ्छ चितवनका ६५ वर्षीय वृद्धसँग । वृद्ध महिलाकै डेरामै बस्न थाले । त्यो कुरा महिलाकी १४ वर्षकी किशोरी छोरीलाई मन परेको थिएन । तर पनि आमाले तिम्रो अंकल भन्दै कोठामै राख्न थालेपछि उनले मन नपराउँदा पनि केही हुने अवस्था थिएन ।

आमासँग वृद्धावस्थामा जीवनको अन्तिम जस्तै मोजमस्ती गर्न सँगै कोठामा बस्ने ती व्यक्तिले बेला बेलामा छोरीलाई पनि छेडछाड गर्न थाले । उनी आमा र छोरी दुबै जनालाई यौन पार्टनर बनाउने आसय व्यक्त गर्थे । भर्खरै महिनावारी भएकी छोरीलाई हजुरबा उमेरको त्यो बुढोको आनिबानी र व्यवहार देख्दै रिस उठ्थ्यो । तर त्यो कुरा आमाले भने थाहा नपाएझैं गर्थिन् ।

मंसिर २७ गते राती । आमा र ती वृद्ध कोठामै रक्सी खाएर बसिरहेका थिए । राती सुत्ने बेलामा वृद्धले बाहिरबाट जुस ल्याएर आए । आमाले गिलासमा हालेर छोरीलाई खान दिइन् । मध्यराती झल्याँस्स ब्यूझिँदा त किशोरीले आफूलाई पुरै रगतमा लत्पतिएको अवस्थामा पाइन् । योनी, स्तन लगायत शरीरका विभिन्न भाग दुखिरहेका थिए । शरीरमा लुगा पनि थिएनन् । जुरुक्क उठ्न खोज्दा आमा र अंकल भनिएका ती वृद्ध खित्का छोडेर हाँस्दै, एक अर्कालाई चिमोठ्दै, जिस्किदै रक्सी खाइरहेका थिए ।

किशोरीलाई रात कटाउन मुस्किल भो । आफ्नो त्यस्तो अवस्था देखेर पनि आमाले समेत कुनै सहानुभूति नदेखाएपछि उनी बिरक्त भइन् । आमाकै सहयोगमा आफूमाथि वृद्धले बलात्कार गरेको ठम्माइन् । अनि रातभर रुँदै बसिन् । अर्को दिन सहनै नसकेपछि केही वर्ष अघि आफू बसेको काठमाडौंकै एक आश्रय केन्द्रका दिदीलाई फोन गरेर जानकारी गराइन् । उनीहरूकै सहयोगमा महाराजगञ्ज प्रहरीमा केस दर्ता भएपछि आमा र ती वृद्ध पक्राउ त परे, तर किशोरीको संरक्षक कोही छैन । उनकै ठूली आमाले बहिनीलाई छुटाउनका लागि किशोरीलाई बयान बदल्न दबाब दिइरहेकी छन् । किशोरी भने एक गैर सरकारी संस्थाको संरक्षणमा छिन् ।

……….

ठमेलकै एक डान्स बारमा वेटरको काम गर्ने एक महिलाका तीन छोरी र १ छोरा छन् । श्रीमान कहाँ छन् अत्तोपत्तो छैन । ३५ वर्षीया उनका छोरीको उमेर १५ देखि २० वर्ष छ ।

उनले डान्स बारमा काम गरेको पैसाले खान नपुग्ने र डान्स बारमा आउने ग्राहकले दुव्र्यवहार गर्ने गरेको भन्दै आफू सानोतिनो व्यवसाय गरेर जीविकोपार्जन गर्न चाहन्छु भनिन् ।

मनोरञ्जन क्षेत्रका महिला तथा बालबालिकाको हक हितका लागि काम गर्ने चेन्ज नेपाल लगायतका संस्थाले उनलाई व्यवसाय गर्न पटक पटक आर्थिक सहयोग पनि गरे । तर ती महिलाले व्यवसाय सुरु गर्दै छोड्दै गर्न थालिन् । कामलाई निरन्तरता दिइनन् ।

अहिले ती महिला फेरि डान्स बारमै काम गर्छिन् । कान्छी छोरी संस्थाकै आश्रयमा राखेकी छिन् । एउटी छोरीले यौन व्यवसाय गर्छिन् । उनको लवाई खवाई, बोली व्यवहार नै फरक छ । मनोरञ्जन क्षेत्रमा काम महिलाको हकहितका लागि काम गर्नेसंस्थाका प्रतिनिधिको भनाइ अनुसार ती महिलालाई जति गर्दा पनि व्यवसायमा लगाउन सकिएन । अन्ततः उनले छोरीलाई समेत त्यही कुकर्ममा लगाएरै छोडिन् ।

……….

आमा बुबाको ठेगान नभएकी (हाल १६ वर्षीया) किशोरी काठमाडौंको कलंकीमा सडक जीवन बिताइरहेकी थिइन् । १४ वर्षको उमेरमा कलंकीमा आफू जस्तै सडक जीवन बिताइरहेका एक किशोर (हाल १७ वर्ष) सँग उनले बिहे गरिन् । १५ वर्षमा छोरी जन्माइन् ।

सडकमा हुँदै कलिलो उमेरमै यौन व्यवसाय गर्दै आएकी उनले गर्भावस्था र सुत्केरी अवस्थामा पनि त्यो कामबाट मूक्ति पाइनन् । श्रीमान छोरी च्यापेर छेउमै हुन्थे । उनी बाटोमै ग्राहकसँग मोलमोलाई गर्थिन् । चित्त बुझे ग्राहकसँग गेष्ट हाउसमा जान्थिन् र घण्टा दुई घण्टामा फर्किन्थिन् ।

कतिपय ग्राहकले यौन सम्पर्कका बेला कण्डम प्रयोग गर्न मान्दैनन् रे । गेष्ट हाउसमै प्रति गोटा ५० रुपैया पर्ने कण्डम किन्न कतिपयले लोभ गर्ने । आफूले किन्ने हैसियत नहुने । त्यही भएर अहिले त उनलाई भिरुङ्गी समेत भइसकेछ ।

यौनाङ्गमा भएको भिरुङ्गीको संक्रमणले उनलाई च्याप्न थाल्यो । उपचार गर्ने पैसा भएन । केही हप्ता अघि उनी गैर सरकारी संस्थाको सम्पर्कमा आइन् । उनको उपचार पनि गरियो । तर अब यो काम गर्दैनौं, हामी सानोतिनो व्यवसाय गर्छौ भनेको त्यो जोडी संस्थाको सम्पर्कमा छैन । उनले बोकेको फोनमा सम्पर्क हुँदैन । उनीहरूलाई सहयोग गरेकी संस्थाकी प्रतिनिधिले किशोरावस्थाको त्यो जोडीसँगै उनीहरूको एक वर्षीया छोरीप्रति निकै चिन्ता व्यक्त गरिन् ।

……….

हुक्का बारको काउन्टर सम्हालेका मालिकको ज्याङ्गो जिउडाल । घुमे्रको, बाक्लो, लामो कपाल पछाडि लगेर बानिएको छ । हुक्का बारमा चुरोट र हुक्काको बाक्लो धुवाँ । अलिअलि कुहिरो छाए जस्तै । काउन्टर रहेको अगाडिको क्षेत्रमा थोत्रा सोफा छन् । मान्छे कोही छैन । भित्रै पस्नै लाग्दा मूल ढोकाको सिधै अगाडिपट्टी रहेको भान्सामै आँखा ठोक्किन्छन् । करिब ५ फुट हाइटकी गोरी, कोरीबाटी गरेकी युवती केही खानेकुरा मुछिरहेकी थिइन् ।

केन्द्रीय बाल कल्याण समिति, कालीमाटी प्रहरी, पत्रकार, काठमाडौं महानगरपालिका वडा नम्बर १४ का जनप्रतिनिधिले यसै साता काठमाडौंको कलंकीमा रहेका खाजा घर, रेष्टुरेन्ट र हुक्का बारमा अनुगमन गर्दा सहभागी हुने अवसर मिल्यो । अनुगमनका क्रममा हुक्का बारको एक दृश्यले मेरो मानसपटलमा अमित छाप बसाइदियो ।

हामी भित्र पसेर सोधपुछ गर्न लाग्दा उनले पुलुक पुलुक हामीलाई हेरिरहिन् । केन्द्रीय बाल कल्याण समितिका रबी गौतम र म हुक्का बारको क्याबिनमा गयौं । क्याबिनमा थिइन् करिब १५, १६ वर्षकी बालिका । ग्रन्च जिन्स पाइन्टमा घुँडासम्म नपुग्ने कुर्ता र सल लगाएकी । उनको अनुहारमा थप मेकअपका लागि कुनै ठाउँ थिएन । तिनै बालिका उनकै उमेरको देखिने जुँगाको रेखी समेत नबसेका बालकसँग लुटुपुटु गरिरहेकी । उनीसँगै टास्सिएर शरीर मुसारिरहेकी । केटाको अगाडि बियरको आधा बोत्तल र गिलास । हातमा हुक्काको पाइप ।

त्यो दृश्यले त्यो ठाउँ कलिला केटाकेटीहरूको लागि सुरक्षित ठाउँ हैन भन्ने सहजै बुझिन्थ्यो । त्यो दृष्य धेरैबेर हेरिरहन सकिने थिएन । बाहिर आएर काउन्टरका वयस्क पुरुषसँग कुरा गर्न थाल्यौं । हाम्रो कुरा सुनेर तीनै जुँगाको रेखी नबसेका केटा बाहिर निस्किए । ती बालिकासँगै अर्की १७/१८ वर्षकी झैं लाग्ने किशोरी पनि निस्किइन् । दुबै जनाको नागरिकता पनि बनेको रहेनछ । एउटा पोखराकी र अर्की धादिङकी रहेछन् ।

विडम्वनाको कुरा त के भने हुक्का बारका ग्राहक केटा बालक र सेवाग्राही बालिकाको त्यो अश्लील व्यवहारको रमिता हेरिरहेकी थिइन्, पाँच वर्षे बालिका ।

अघि भान्सामा रहेकी गोरी, चिटिक्क परेकी महिला हातमा सेकुवा जस्तो पोलेको मासुका चोक्टासहित काउन्टरनेर आइन् र अघिकी तिनै रमिते बालिकालाई खुवाउन थालिन् ।

ती महिलाले यी नानीहरू भर्खरै काम गर्न थालेका हुन् । मसँगै बस्छन् । छोरी जस्तै राखेका छौं भन्न थालिन् । उनको कुरा सुनेर रबी गौतमले अलि कडा रुप भने, ‘तपाईं एउटा नारी । तपाईकी यी पाँच वर्षकी छोरीलाई खुवाउँदै गर्नुभएको मासु कस्तो कमाईको हो ? यी अबोध बालिकालाई अर्का अबोध बालबालिकाको अश्लील हर्कतको रमिते बनाउन अलिकति पनि अप्ठ्यारो लाग्दैन ? तपाईकी छोरीले पाउने शिक्षा कस्तो होला ? के हुन्छ यिनको भविश्य…….।’

उनले यसो भनिरहँदा काउन्टरवाला पुरुष र बच्चीकी आमा (श्रीमान श्रीमती) निशब्ध भए ।

केही बेरमा काउन्टरवालाले सोधे, ‘सर हाम्ले पसलमा केटी मान्छे राख्नै नहुने हो र ?’ रबी गौतमले थपे, ‘राख्न पाइन्छ । तर १८ वर्ष माथिका मात्रै । र अर्को कुरा हुक्का बारलाई यौन पसल जस्तो बनाउन पाइँदैन । कलिला बालकलाई धुम्रपान, मध्यपान बेच्न पनि पाइँदैन ।’

काउन्टरवालाले केही दिनमै हुक्का बारमा काम गर्ने बालिकाहरूलाई घर पठाउने र नागरिकता बनाइदिने प्रतिवद्धता गरे ।

खाजा घर र रेष्टुरेन्टमा ग्राहकको सेवामा खटिनेमा सबै उमेर नपुगेका बालिका र किशोरीहरू थिए । सोधपुछका क्रममा कसैको पनि नागरिकता बनेको भेटिएन । न त उनीहरू काम गर्ने ठाउँमा नियुक्ति पत्र दिने व्यवस्था रहेछ न त बिदाको व्यवस्था नै ।

काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य बसन्त महर्जनले उक्त हुक्का बारको गतिविधी आफ्नै आँखाले नराम्रो देखेकाले अब वडाले हुक्का बारको नविकरण नगर्ने चेतावनी दिए ।

अनुगमनका क्रममा खाजा घर र रेष्टुरेन्टमा ग्राहकको सेवामा खटिनेमा सबै उमेर नपुगेका बालिका र किशोरीहरू थिए । सोधपुछका क्रममा कसैको पनि नागरिकता बनेको भेटिएन । न त उनीहरू काम गर्ने ठाउँमा नियुक्ति पत्र दिने व्यवस्था रहेछ न त बिदाको व्यवस्था नै ।

केही गरी सन्चो नभएर काममा आउन नसकेको दिन दिनको एकसय पैंसठ्ठी रुपैयाँ काटिदोरहेछ । जागिर पनि मालिकले चाहेसम्म मात्रै हो । जति धेरै ग्राहक रिझाउन सक्यो, त्यति धेरै जागिर अवधि ।

मनोरञ्जन क्षेत्रमा कार्यरत बालिकाको हकहितका लागि काम गर्दै आइरहेको संस्था चेन्ज नेपालकी सृजना दाहाल मनोरञ्जन क्षेत्रमा काम गर्ने बालिका र महिला निकै असुरक्षित रहेको बताउँछिन् ।

दाहालका अनुसार मनोरञ्जन क्षेत्र र त्यहाँ कार्यरत महिला तथा बालिकालाई समाजले सम्मानजनक दृष्टिले हेर्दैन । यसैको फलस्वरुप दोहोरी रेन्टुरेन्ट, डान्स बार, खाजा घर, क्याबिन रेष्टुरेन्ट जस्ता ठाउँमा सेवाका लागि आउने पुरुष ग्राहकले त्यहाँ कार्यरत महिला तथा बालिकालाई यौनकर्मीको रुपमा हेर्छन् र त्यही दृष्टिकोणले दुव्र्यवहार गर्छन् ।

जसका कारण रहर वा बाध्यताले त्यस्तो ठाउँमा काम गर्ने अधिकांश महिला तथा बालिकाहरू ग्राहक र मालिकबाटै यौन दुव्र्यवहार खेप्न बाध्य हुन्छन् ।

मनोरञ्जन क्षेत्रका बालबालिकाको अधिकार सुनिश्चित गर्ने सन्दर्भमा केही दिन अघि काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र प्रहरी बीच काठमाडौंमा एक गोष्ठी आयोजना गरिएको थियो ।

एक वडा सदस्य भन्दै थिए, ‘हाम्रो वडामा स्थायी बसोबास गर्ने एक जना व्यक्तिका सन्तान पनि सडकमा छैनन् । सडकमा भएजति सबै बालबालिका उपत्यका बाहिरबाट आएका व्यक्तिका छोराछोरी हुन् ।

उनको कुरा सुनेर गोष्ठीमा सहभागी धेरैले जिब्रो टोके । एउटा जनताको प्रतिनिधिले सडक बालबालिकाको विषयमा राखेको धारणाले उनी बालबालिकाको सवालप्रति कति संवेदनशील छन् भन्ने कुरा झल्काइरहेको थियो ।

उनको कुरामा असहमति जनाउँदै आयोजक संस्थाका प्रतिनिधिले भने, ‘तपाईंको वडामा भएका सडक बालबालिका नेपालको कुनै जिल्लाका मात्रै होइन, विदेशका भए पनि उनीहरुको विषयमा तपाईंको वडाले सोच्नुपर्छ । मेरो वडाको होइन भनेर पन्छिन पाउनुहुन्न ।’

बालअधिकारको सम्मान, संरक्षण, संवद्र्धन र परिपूर्तिका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । बालअधिकारको पक्षमा भएका कानून कार्यान्वयन गर्न र थप कानून आवश्यक भए बनाएर लागू गर्न जरुरी छ भन्छिन्, अधिकारकर्मी सृजना दाहाल ।

कानूनको बर्खिलाप

डान्स रेष्टुरेन्ट, डान्स बार जस्ता कार्यस्थलमा यौन उत्पीडन हुन्छ भनेर सर्वोच्च अदालतले २०६५ सालमै भनिसकेको छ ।

२०६२ सालमा अधिवक्ता प्रकाशमणी शर्मा, राजु चापागाईं, रमा पन्त, कविता पाण्डे र शर्मिला श्रेष्ठले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेपछि श्रीमजीवि महिलाहरु प्रति डान्स रेष्टुरेन्ट, डान्स बार जस्ता कार्यस्थलमा हुने यौन उत्पिडन नियन्त्रण गर्नेसम्बन्धी सर्वोच्च अदालतले निर्देशिका जारी गर्यो ।

तर दशक बितिसक्दा पनि यो निर्देशिका कार्यान्वयन भएको छैन । न त मनोरञ्जन क्षेत्रमा कामगर्ने महिला तथा तिनका छोराछोरी सुरक्षित हुन सकेका छन् ।

त्यसो त ‘बालबालिका सम्बन्धी ऐन २०७५’ को दफा ६६ को उपदफा २ को (क) मा ‘बालबालिकालाई धुम्रपान, मध्यपान वा जुवातास जस्ता कुलतमा संलग्न गराउने काम बालबालिका विरुद्धको कसुर हो’ भनिएको छ ।

त्यस्तै दफा ६६ को (ख) मा बालिगहरूका लागि खोलिएका डान्स बार, क्यासिनो जस्ता मनोरञ्जन स्थलमा प्रवेश वा प्रयोग गराउने काम र यसैको उपदफा ३ को (ग) मा यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने काम गर्नु गराउनुलाई बालबालिका विरुद्धको कसुर मानिएको छ ।

केन्द्रीय बाल कल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति रबी गौतम मनोरञ्जन क्षेत्रका कार्यरत बालबालिकाको अधिकार संरक्षणका लागि बनेको ‘बालबालिका सम्बन्धी ऐन २०७५’ को प्रचार प्रसार हुनै नसकेको बताउँछन् ।

स्थानीय तह, प्रहरी र सरोकाराला संस्थाहरूले विद्यमान ऐन, कानूनको जानकारी गराउने र मनोरञ्जन क्षेत्रको अनुगमन तथा नियमन गर्ने कार्यमा तदारुकता देखाई कानून बिपरित काम गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्न सुझाव दिन्छन् ।

यदि त्यसो हुन नसकेको खण्डमा नेपालको मनोरञ्जन क्षेत्र व्यवस्थित र सम्मानित हुन त सन्दैन नै । त्यहाँ कार्यरत हजारौं महिला तथा बालबालिका पनि सुरक्षित हुन सक्दैनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: