आफ्नै शरीरको अपमान !


प्रकाशित मिति :2018-12-24 11:51:39

छाउपडी शब्दले काठमाडौंका मान्छेलाई रन्थनाउछ । कसरी यसरी महिलाहरूलाई छाउपडीमा राख्न सकेका होलान् ? कति पिछडिएका त्यहाँका (सुदूर पश्चिमका) मानिस ! तर मैले यदि ‘काठमाडौंमा पनि छाउपडी छ । त्यसलाई हटाउन किन कोही बोल्दैनन्’ भनेर भन्दा ‘सबैले कहाँ छ काठमाडौंमा छाउपडी ?’ भन्लान् ।’

‘घर घरमा छ’ म भन्छु । महिलाहरू महिनावारी हुँदा भान्छामा जान नदिनु, भिन्दै कोठामा सुत्नु, थाल पनि भिन्दै प्रयोग गर्नुको अर्थ के काठमाडौंमा ‘छाउपडी’ छ भन्ने देखाउँदैन र ?

‘अछाममा छाउ भएकी महिलाले छोए मस्टो रिसाउँछन्’ भन्ने अन्धविश्वास र काठमाडौंमा महिनावारी भएकी महिलाले पूजा घर जानु हुँदैन, प्रसाद खानु हुँदैन भन्ने विचार एकै प्रकारको होइन र ?’ ‘महिनावारी हुँदा महिलाको शरीर अपवित्र’ हुन्छ भन्ने मानसिकता दुवैले बोकेका हुन्छन् । त्यसैले काठमाडौंका महिला र पुरुषले ‘अझै सुदूर पश्चिमको ‘छाउपडी’ भन्नु भन्दा ‘उफ काठमाडौंमा पनि छाउपडी रहेछ । यसलाई हटाउनु पर्छ भन्ने हो कि !’

छाउको बारेमा नजान्दै मैले १२ वर्षको उमेरमा ‘छाउपडी’ विरुद्ध क्रान्ति नै गरेकी थिएँ भन्ने अहिले भान भइरहेछ । दशैंको बेलामा पहिलो पल्ट मेरो महिनावारी भयो, घरमा भन्यो भने त कोठामा थुनी दिन्छन् र दशैको दक्षिणा, नयाँ लुगा, मीठो खाना, केही पनि पाउँदिन भन्ने लोभले मैले कसैलाई केही भनिन् ।

दशैं मनाएँ, नयाँ लुगा लगाएँ, पशुपतिमा गएँ । केही समस्या भएन, कसैले पनि थाहा पाएन । त्यसपछि ३ वर्षसम्म मैले महिनावारी हुँदा कसैलाई भनिन । १० कक्षामा एस.एल.सी को बेलामा महिनावारी हुँदा आमालाई भनेँ, तर जाँच छोडाउने कुरा भएन । त्यसपछि त जिन्दगीमा मैले कहिले महिनावारी बारिन । मलाई कहिले अपराध बोध भएन ।

काठमाडौंमा ‘महिनावारी’ मानसिकताले अझै यति धेरै जरो गाडेको छ, कि धेरै महिलाहरू ‘महिनावारी अपवित्र’ होइन भन्ने जान्दा जान्दै पनि भान्छामा गए केही भइहाल्छ कि, प्रसाद खाए बिरामी परिन्छ कि, मन्दिर गए देवता रिसाउँछन् कि भनेर भयभित हुन्छन् । छोरीहरूलाई, नातिनीहरूलाई पनि यही भय सारिदिन्छन् । तर ठमिला स्याङवो, उर्मिला तामाङ्ग नामका केही युवतीहरूले चाहिँ मलाई भनेका थिए ‘हामी कहाँ त बाहुन क्षेत्री कहाँ जस्तो बार्ने चलन छैन । गुम्बा (मन्दिर) पनि जान्छौ, पूजा आजामा पनि भाग लिन्छौ ।’

जनजातीहरूले पूजा गर्दा, मन्दिर जाँदा केही नहुने तर बाहुन क्षेत्रीहरूले मन्दिर जाँदा चाहिँ देवता रिसाउने त हुनु नपर्ने हो । कतै हाम्रो गलत मानसिकताको कारणले त हामीहरू काठमाडौंमा ‘महिनावारी’ लाई अपवित्र भनिरहेका छैनौं भनेर सोच्ने बेला आयो कि ?

जोशी थरका विदेशमा उच्च शिक्षा हासिल गरेका ४४ वर्षीय पुरुष त ‘महिनावारी हुँदा छुनु हुँदैन’ भन्ने मानसिकताले यति प्रभावित छन् कि विदेशमा पनि श्रीमती महिनावारी हुँदा उनी भान्छा चाहिँ छुन दिँदैन थिए रे । विदेशमा पढ्दा त सानो कोठा र सानो भान्छा भाडामा लिएर बसिएको हुन्छ । जोशीले चाहिँ महिनावारी हुँदा श्रीमतीले भान्छा छोए ‘मैले त भात नै खानु हुँदैन भन्ने गर्थे रे ।’ विदेशबाट उच्च अध्ययन गरेर, एउटा अन्तर्राष्ट्रिय संस्थामा कार्यरत जोशी अहिले पनि श्रीमतीलाई महिनावारी बार्न लगाउँछन् । उच्च शिक्षा हासिल गरेकी उनकी श्रीमती पनि ‘आ दुई तीन दिन भान्छामा नपसेर मलाई के भयो र ?’ भनेर भान्छामा जाँदिनन् । के सुदूर पश्चिमको छाउपडी प्रथा नै होइन त यो ?

सुदूर पश्चिममा ‘छाउ’ हुँदा महिलाहरूले मन्दिरमा नजाने मात्र होइन कि मन्दिर जाने बाटो पनि छुनुहुन्न भनेर, गोरेटो नै भिन्दै बनाइदिएका छन रे । ‘धन्य काठमाडौंमा महिनावारी हुने महिलाको लागि भिन्दै बाटो बनाउनु परेको छैन । नत्र भने यहाँ पनि महिनावारी हुँदा छाउ बाटोमा हामीले हिड्नु पर्दथ्यो । छाउको बारेमा छलफल गर्दा ४२ वर्षीया उमाले भन्दा हामी हाँस्यौ ।’

छाउगोठ, छाउपडी आदिको मानसिकता बोकेर सुदूर पश्चिमका मानिसहरू अमेरिकासम्म पुग्दा होलान् त ? भन्ने प्रश्नले मलाई घोची रह्यो । मैले सुदूर पश्चिमका केही आफ्ना नाता गोतालाई सोधेँ पनि ‘आफ्नो गाउँमा छाउगोठ बनाएर महिलाहरूलाई महिनावारी र सुत्केरी हुँदा त्यहाँ राख्नु हुन्छ र तर अमेरिका जानु भयो भने के गर्नु हुन्छ ?’

त्यसैले काठमाडौंका महिला, पुरुष र अधिकारकर्मीहरू पहिले आफू नै ‘छाउपडी’ को मानसिकताबाट मुक्त हुनु पर्दैन त ? मन्दिरमा नजाने महिलाहरू एक चोटी विचार गर्नुस है कतै तपाईले आफ्नै शरीरलाई त अपमान गरिरहनु भएको छैन ?

‘हामी अमेरिका जाँदा छाउगोठ त बनाउन सक्दैनौ, तर सुन पानी छर्केर महिलालाई ४ दिनमा शुद्ध बनाउँछौ । त्यहाँ भान्छा पनि एउटै कोठामा हुन्छ । के गर्ने परिस्थितीवश त्यस्तो गरेको हो । नेपाल आएपछि त फेरि ‘छाउ’ बारिहाल्छौ नि ।’ यस्तो भनाइको अर्थ यो हो कि, महिलाहरूको महिनावारी अशुद्ध नै हो । अर्थात छाउपडीको मानसिकता लिएर सुदूर पश्चिमका मानिसहरू काठमाडौं आउछन्, अमेरिका, जर्मनी पनि पुग्छन्, तर जती पढेलेखे पनि महिलालाई अपमान गर्न छोडदैनन् । काठमाडौंका मानिसहरू पनि त्यसै गरी छाउपडीको दर्शनबाट प्रभावित छन् ।

कति महिलाले चाहिँ मलाई भनेका पनि छन् ‘हाम्रा सासू ससुराको लागि हामी महिनावारी बारेको जस्ता गर्छौ । कुनै कुनै महिनामा त वास्ता नै नगरेर भात पनि पकाउँछौ, पूजा पाठमा पनि भाग लिन्छौ । खोई अहिलेसम्म केही नराम्रो भएको छैन । हामीलाई थाहा छ कि महिनावारी बार्नु पर्ने, भान्छामा जान नहुने आदि कुरा फजुल हुन् । तर घरका बुढाबुढीको मन शान्त पारिदिन कहिले कहिले त आफूले नचाहेको कुरा पनि गर्नु पर्ने रहेछ ।’

यस्ता महिलाहरूको कुरा सुनेर लाग्यो कमसेकम उनीहरूले महिनावारीलाई पाप चाहिँ मान्दा रहेनछन् । ‘तर मेरी आमाले त हरेक ४ दिन काठमाडौंका महिनावारीलाई अशुद्ध मानेर भिन्दै बस्ने चलन हुन्छ ।’ काठमाडौंमा सरकारी अस्पतालमा काम गर्ने नर्सले भनेकी थिइन् ।

त्यसैले काठमाडौंका महिला, पुरुष र अधिकारकर्मीहरू पहिले आफू नै ‘छाउपडी’ को मानसिकताबाट मुक्त हुनु पर्दैन त ? मन्दिरमा नजाने महिलाहरू एक चोटी विचार गर्नुस है कतै तपाईले आफ्नै शरीरलाई त अपमान गरिरहनु भएको छैन ?

काठमाडौंमा बसेर आफैलाई अपमान गर्नु अनि सुदुर पश्चिममा छाउगोठमा महिलाहरूले दुःख पाए भनेर किन विलौना गर्नु ?

(डा. अरुणा उप्रेतीको फेसबुक वालबाट ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

नेपाली चेलीलाई ‘हार्वर्ड हिरो २०१९’ को उपाधि

उनको कार्य सम्पादन मुल्याङ्कनलाई आधार मानेर  उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ ।

शितलका हत्यारालाई थुनामा राख्न आदेश

आफूबाट टाढिएर अर्कै केटासँग कुरा गर्न थालेको आशंकामा तामाङले शितलको हत्या गरेको स्वीकार गरेको पाँचथर

सफा गाउँ अभियानले बिरामी कम

प्रकाश सिंह/महिला खबर उनले भनिन् ‘पहिला महिनामा दश बाह्र जना बिरामी पर्थे, अहिले भने महिनामा एक/दुई

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: