सरकारी स्कूल : चर्पी छैन, प्याड फेर्न कहाँ जाने ?


प्रकाशित मिति :2018-12-23 15:55:51

-सरस्वती बानियाँ-

ओखलढुंगा । थलकुमारी राई १४ वर्षकी भइन् । उनी बलखु माध्यामिक विद्यालयको कक्षा ९ कि छात्रा हुन् । गएको मंसिर पहिलो साता दोस्रो घण्टीको कक्षा चलिरहेको थियो । थलकुमारी तेस्रो बेञ्चमा थिइन् । उनलाई कट्टुमा चिसो चिसो महसुस भयो ।

त्यो दिन थललकुमारीलाई बिहानैदेखि हल्का पेट, कम्मर दुखिरहेको थियो । तर, महिनावारी नै हुन्छु भन्ने ख्याल भएन । उनी महिनावारी भइछन् । उनले भनिन्, ‘दोस्रो कक्षा पढाइ भइरहेको थियो । मिन्स भएको थाहा पाएँ । साह्रै डर लाग्यो ।’

बलखु माध्यमिक विद्यालयमा विद्यार्थीको लागि शौचालय छैन । त्यसैले प्याड लगाउन पनि पाइनन् उनले । धन्न ! पहिलोपटकको महिनावारी भएर पनि उनको कट्टुबाहेक फ्रकमै लाग्ने गरी रगत बगेन ।

‘अलि अलि मात्रै ब्लड भएको थियो’ थलकुमारीले भनिन्, ‘ड्रेसमा चाहिँ लागेन ।’ उनले आफू महिनावारी भएको साथीलाई पनि भनिनन् । घण्टी सकिएर शिक्षक बाहिरिनेबित्तिकै नजिकै पसलमा गएर प्याड किनिन् । अनि कक्षामा आएर किताब कापी लिएर घर हिँडिन् ।

थलकुमारीको घरबाट हिँडेर विद्यालय पुग्न डेढ घण्टा लाग्छ । थलकुमारीका अनुसार त्यस दिन विद्यालयमा प्याड लगाउन जाने गोप्य ठाउँ (शौचालय) नभएकोले दुई पिरियड भन्दा अरु पढ्न पाइनन् ।

‘ट्वाइलेट नभएकाले म त्यस दिनको पढाई छोडेर घर गएँ ।’ उनी भन्छिन् ‘अरु बेला दिसा पिसाब गर्न जंगल जानुपर्ने समस्या त छँदै थियो । अझ बढी समस्या हामीलाई महिनावारी हुँदा हुन्छ । खुल्ला ठाउँमा दिसा पिसाब गर्न जानुपर्छ । पानी पनि हुँदैन । प्याड फेर्ने समेत ठाउँ छैन ।’

विद्यालयमा शौचालय नहुँदा विद्यार्थीहरू शौच गर्न नजिकैको जंगलमा जाने गरेका छन् । थलकुमारीसँगै एउटै कक्षामा पढ्ने गीता राई र प्यारीका राई पनि चर्पी नहुँदा समस्यामा छन् ।

महिनावारीको समयमा घरमा लगाएर आएको प्याड बेलुकासम्म फेर्न पाईंदैन । प्यारीका भन्छिन्, ‘बिहान घरमा लागाएको प्याड घर नफर्किउन्जेलसम्म लगाउनु पर्छ । जंगलमा गएर फेरौं भने खुल्ला ठाउँमा अरु धेरै मान्छे हुन्छन्, लाज लाग्छ ।’

सोही विद्यालयको कक्षा १० कि छात्रा पुष्पाकला राई हरेक महिनाको चार दिन विद्यालय जाँदिनन् । उनको पनि महिनावारीको समयमा चार दिन पढाइ छुट्छ ।

‘विद्यालयमा शिक्षकहरूका लागि शौचालय छ, तर हामी विद्यार्थीका लागि छैन’ पुष्पाकला भन्छिन् ‘महिनावारी भएको समयमा विद्यालय जान्न ।’

शौचालय नहुँदा उनीहरूले थप समस्या पनि भोगेका छन् । दिसा पिसाब गर्न जंगल जानुपर्छ ।

कहिलेकाहीँ शौच गरेर फर्किँदा कक्षामा शिक्षक पसिसकेका हुन्छन् । अनि ढिला आएको आरोपमा शिक्षकले भित्र पस्न दिँदैनन् ।

पुष्पाकलाले भनिन्, ‘दिसा पिसाब गरेर फर्किँदा ढिलो भएकै कारण ढोकामा उभिएर धेरै पटक कारबाही भोग्नुपरेको छ । धेरैजसो सरहरूले हाम्रो समस्या नै बुझ्नुहुन्न ।’

अहिले विद्यालयहरूमा किशोरी मैत्री शौचालयका कुरा उठिरहेका छन् । महिनावारी स्वच्छताका सवाल सम्मेलनका विषय भइसके । तर, बलखु माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई प्याड फेर्ने गोप्य ठाउँ (शौचालय) समेत छैन ।

उनले आफ्नो समस्या सुनाइन्, ‘महिनावारी हुँदा हामीलाई समस्या छ । कहिलेकाहिँ स्कुलमै महिनावारी हुन्छ । त्यति बेला कसैले देख्ने हुन् कि भनेर डर लागिराख्छ । बीचमा पढाई छोडेर घर जानु पर्ने बाध्यता छ ।’

बलखु माविका केही विद्यार्थीहरूले कुराकानीका क्रममा भने अनुसार शिक्षकहरूले शौचालय बनाउने कुरा गर्दै आएको वर्षौ बित्यो । तर शौचालय बनेको छैन । उनीहरू भन्छन्, ‘चर्पी भएको भए सँधै स्कुल आउथ्यौंँ, पढाई पनि छुट्ने थिएन ।’

बलखु माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपहरी राई भने विद्यालयमा शौचालय भएको दाबी गर्छन् । उनले भने, ‘सामान्य शौचालय छ, तर किशोरीमैत्री छैन ।’

विद्यालयमा महिलामैत्री शौचालय नभएका कारण छात्राहरू महिनावारीको समयमा जंगल गएको हुनसक्ने उनको भनाइ छ । विद्यालयमा पानीको अभाव भने रहेको उनले स्वीकारे ।

दिपहरी राई ओखलढुंगा–सुनकोशी गाउँपालिका–१ को निर्वाचित वडा अध्यक्ष पनि हुन् । उनले महिला खबरसँगको कुराकानीमा डेढ महिनाभित्र सुविधा सम्पन्न किशोरी मैत्री शौचालय बन्ने बताए ।

मानेभन्ज्याङ गाउँपालिका–३ उबुँकी बन्दना राईको पनि समस्या उस्तै छ । उनी राज्यलक्ष्मी माध्यमिक विद्यालय उबुँको कक्षा १० कि विद्यार्थी हुन् । महिनामा चार दिन बन्दनाको विद्यालय छुट्छ ।

बन्दनाको विद्यालय राज्यलक्ष्मी माविमा शौचालय छ । पानीको धारा पनि छ । तर, पानी आउँदैन । विद्यालयमा चार सय भन्दा बढी विद्यार्थी छन् ।

दुईकोठे शौचालय पनि छ । तर, त्यो शौचालयमा विद्यार्थीको भीडले पालो आउनै १५/२० मिनेट लाग्छ । ‘चर्र्पी भए पानी आउँदैन ।’ बन्दना भन्छिन्, ‘भिड हुन्छ, धेरैबेर पालो पर्खिनुपर्छ । चर्पीबाट फर्कनु ढिलो भए शिक्षकले कक्षाबाहिर उभ्याउनुहुन्छ ।’

बन्दनाको महिनावारीको समयमा धेरै रगत बग्छ । २/३ घण्टाको बीचमा प्याड फेर्नुपर्छ । त्यसैले पनि उनलाई महिनावारी हुँदा विद्यालय जानै मन लाग्दैन । उनले थपिन्, ‘धेरै साथीहरू महिनावारीको समयमा विद्यालय आउँदैनन् ।’

एक दिन स्कुल नजाँदा धेरै पाठ छुट्ने उनले बताईन् । ‘महिनावारीको समयमा स्कुल नजाँदा पाठ छुट्छ । पछि सर मिसलाई सोध्यो भने किन नआएको भनि उल्टै गाली गर्नुहुन्छ ।’ उनले भनिन् ‘के भनेर उत्तर दिनु अप्ठ्यारो लाग्छ ।’

माथिका दुई विद्यालय सदरमुकामबाहिर गाउँका हुन् । गाउँका विद्यालयको अवस्था देखेर सदरमुकामका त त्यस्तो नहोला भन्ने अनुमान गरिन्छ । तर, ओखलढुंगा सदरमुकाम नजिकैमा रहेको सिद्धिचरण नगरपालिका–९ कुन्ता मावि ज्यामिरेका छात्राहरूले भोग्दै आएका समस्या पनि माथिका दुई विद्यालयका छात्राहरूको भन्दा फरक छैन ।

यहाँ अध्ययनरत छात्राहरू महिनावारीको समयमा विद्यालय नै जाँदैनन् । कहिलेकाहीँ विद्यालय गए पनि बीचैमा पढाई छोडेर घर जाने गरेका छन् । विद्यालयको कक्षा ९ कि सामना श्रेष्ठका अनुसार महिनावारीको समयमा किशोरीहरूलाई धेरै समस्या छ ।

‘मेरो विद्यालयमा राम्रो शौचालय र पानी छैन । त्यसैले म महिनावारी हुँदा पढ्न जाँदिन ।’ उनी भन्छिन् ‘कहिलेकाहीँ स्कूल गए पनि चाँडै घर फकिन्छु ।’ बीचमै कक्षा छोडेर घर आउँदा उनी ४ दिनपछिको पाठ बुझ्दिनन् । कहिलेकाहीँ २/३ वटा पाठ नै छुट्ने गरेको पनि उनले बताइन् ।

सोही विद्यालयको कक्षा १० कि छात्रा जानुका श्रेष्ठका अनुसार विद्यालयमा विद्यार्थीलाई दिसा पिसाब लाग्दा झाडीमा जानुपर्छ । किशोरीहरूलाई महिनावारीको समयमा त झनै समस्या छ । जानुका भन्छिन् ‘म महिनावारीको बेला विद्यालय कहिल्यै जान्न ।’

सामनाकी आमा सीता श्रेष्ठलाई महिनै पिच्छे चार दिन छोरी विद्यालय नजाँदा चिन्ता लाग्छ । ‘छोरी महिनावारी भएको समयमा विद्यालय जाँदिनन् । विद्यालय जाउ भन्दा प्याड फेर्ने ठाउँ नै छैन भन्छे । हामीले पनि जाउ भनेर गाली गर्न सक्दैनौं ।’ उनले भनिन्, ‘मेरी छोरीको महिनामा ४ दिन पढाइ छुट्छ । त्यसले गर्दा उनको पढाइमा समेत असर परेको छ ।’

सीताले विद्यालयमा विद्यार्थीका लागि शौचालय र पानीको व्यवस्था गरिदिन पनि विद्यालयलाई अनुरोध गरेको बताइन् । सगरमाथा जनता माध्यमिक विद्यालय सदरमुकाममै छ । उक्त विद्यालयको कक्षा १२ मा अध्ययनरत चार जना किशोरीसँग भेट्दा उनीहरूले पनि विद्यालयमा सबैभन्दा बढी समस्या शौचालयको रहेको बताए ।

विद्यालयको कक्षा १२ कि प्रमिला तामाङ, तेनिसा खत्री, माया श्रेष्ठ र सुमिया राईसँग कुरा गर्दा विद्यालयमा शौचालय भए पनि पानी र प्याड फाल्ने डस्ट वीन (भाँडो) नभएको बताए ।

हुन त उनको विद्यालयमा महिला र पुरुषका लागि बेग्लाबेग्लै शौचालय छ । तर, पानी छैन । शौचालय सफा हुँदैन । उनले भनिन्, ‘दिसापिसाब गरेर सफा गर्दैनन् जहिल्यै नाक थुनेर ट्वाइलेट जानुपर्छ ।’

सदरमुकामको विद्यालय भए पनि छात्राहरूको लागि विद्यालयले प्याडको व्यवस्था गरेको छैन । त्यसैले सुमियालाई महिनावारी हुने पालो आउँदा थाहा नपाइ बेञ्चमा रगत लाग्छ कि भन्ने चिन्ता हुन्छ ।

‘मिन्स हुँदा कक्षाकोठामा बस्दा पनि कतै लाग्योकी कसैले देख्यो कि भनेर चिन्ता लाग्छ’ उनी भन्छिन् ‘विद्यालयमा पानी र प्याडको व्यवस्था भईदिएको भए सजिलो हुन्थ्यो ।’

माथिका विद्यालय र विद्यार्थीहरूको अवस्था जिल्लाको प्रतिनिधि उदाहरण हुन् । ओखलढुंगाका सबैजसो विद्यालयका किशोरी छात्राहरू दैनिक यी समस्या भोगिरहेका छन् ।

केही विद्यालयमा शौचालय नै छैन । भएकामा पनि पानी छैन । न त प्याड फाल्ने ठाउँ नै छ । विद्यालयले प्याडको व्यवस्था त कतै पनि गरेको छैन ।

सिद्धिचरण नगरपालिकाकी उपप्रमुख ईच्छाकुमारी गुरुङ भने नगरपालिकाभित्रका विद्यालयहरूमा अनिवार्य किशोरी मैत्री शौचालय निर्माण गर्न सुझाव दिईएको बताउँछिन् ।

नगरपालिका आफैले विद्यालयमा किशोरी मैत्री शौचालय निर्माणका लागि बजेट भने बिनियोजन नगरेको उनले बताइन् । यद्यपि, विद्यालयलाई आफ्नै स्रोतबाट शौचालय बनाउन निर्देशन दिएको उनको भनाइ छ ।

(पत्रकार सरस्वती बानियाँ अाेखलढुंगाबाट पत्रकारिता गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

निमुखाको शिकार: बाल यौनदुराचारीको दृष्टि नेपालतिर

-जनकराज सापकोटा- ‘नेपालमा ६०० बालगृहमा १५ हजारजति बालबालिका छन् र यहाँ बालगृह एउटा उद्योगकै रूपमा विकास

अब बालविवाह हुन्न

उनका अनुसार पछिल्लो समय विवाह दर्ता गर्न आउनेको संख्यामा उमेर पुगेका जोडी मात्रै छन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: