वामदेव गौतम भन्छन्ः केन्द्रीय कमिटीमा ७७ जना महिला थपौं


ने क पा मा महिलाको अवस्था बारे वामदेवको विचार

प्रकाशित मिति :2018-12-16 14:01:40

–महिला खबर–

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले पार्टी र सरकारलाई व्यवस्थित गर्ने सम्बन्धमा स्थायी कमिटीमा प्रस्तुत विचारमा महिलालाई यसरी समेटेका छन्ः

– महिला हिंसा चरम अवस्थामा देखापरिरहेको छ । हरेक दिन वालबालिकाहरू वलात्कृत र हत्यामा परेका छन् । यस्तो अवस्थामा के ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा सफल होला ? धेरैले यो प्रश्न गर्न लागेका छन्, तर जवाफ पाउन सकेका छैनन् ।

– अहिले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाई समर्थन प्राप्त सरकार भएको अवस्थामा नेपालको राष्ट्रियतासंग सम्बन्धित विषयहरूमा कमजोरी देखापर्न थालेका छन् । बहुराष्ट्रिय सैनिक अभ्यासमा नेपालको सहभागिता, बेलायती सेनामा नेपाली महिलाहरूको भर्तिको शुरुआतदेखि एशिया–प्रशान्त क्षेत्रीय सम्मेलनका साथै नागरिकतासम्बन्धी विधेयकमा समेत यस्ता कमजोरी प्रकट भएका छन् । नेपाल कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि भन्दै आएका तथा गत निर्वाचनमा हामीले घोषणापत्र मार्फत सार्वजनिक गरेका राष्ट्रियतासम्बन्धी कतिपय विषय अनुरुप सरकार अगाडि बढिरहेको अनुभूति भइरहेको छैन । नेपाल कम्युनिष्ट पार्टीको यति ठूलो बहुमतको सरकारले राष्ट्रियताको झण्डालाई बुलन्द गर्न सकेन भने भविष्यमा जनताको प्रतिक्रिया कस्तो होला ? समयमै विचार गर्नुपर्छ की !
– कम्युनिष्ट पार्टीका सबै कमिटीहरू र निकायका बैठकहरू तोकिएको समयमा बस्छन्, विषयबस्तुमाथि गम्भीर छलफल गर्छन् र छलफलमा कमिटीका प्रत्येक व्यक्तिले भाग लिन्छन् । छलफलहरू गुटबन्दीमा आधारित हुदैनन् तथा खुला खुलस्त र डर त्रास विना सदस्यहरूले बैठकमा आफ्ना विचार राख्छन् । अहिले नेकपा भित्र यस किसिमको शैली हराएको छ । केन्द्रीय कमिटी ४४१ सदस्यीय घोषणा भएको छ । राजनीतिक दल सम्बन्धी ऐनमा व्यवस्था गरेबमोजिम हरेक तहमा ३३ प्रतिशत महिला राख्नुपर्छ । केन्द्रीय कमिटीमा अहिले १७ प्रतिशत मात्र महिलाको उपस्थिति छ । बाँकी १६ प्रतिशत महिला समावेश गरियो भने झण्डै ५११ सदस्यीय केन्द्रीय कमिटी पुग्नेछ । पार्टी एकीकरणको घोषणा गर्न बसेको बैठक पछि केन्द्रीय कमिटीको कुनै बैठकको आवश्यकता देखाइएको छैन । पोलिटव्यूरोको वैधानिक व्यवस्था छ तर अहिलेसम्म बनाइएकै छैन ।

– नेपालको संविधान बमोजिम तीनै तहमा निर्माण गरिने पार्टी कमिटीमा नेपालको कानून बमोजिम ३३ प्रतिशत महिला प्रतिनिधित्व पु¥याउने, एकीकरण पछि निर्माण गरिएको केन्द्रीय कमिटीमा महिलाको १७ प्रतिशत मात्र छ । त्यसो भएर अब केन्द्रीय कमिटीमा ७७ महिला सदस्य थप गर्नुपर्छ ।

– भर्खरै निर्माण गरिएका प्रदेश कमिटीहरूमा महिला सदस्यहरूको नगन्य उपस्थिति छ । सबै प्रदेश कमिटीमा आगामी एक महिनाभित्र ३३ प्रतिशत महिला सदस्य थप गर्नुपर्छ ।

– अब बन्ने जिल्ला कमिटी र स्थानीय तहका कमिटीहरूमा ३३ प्रतिशत महिला सदस्यहरू अनिवार्य समावेश गर्ने । ३३ प्रतिशत महिला सदस्य नपुग्ने अवस्थामा महिला र पुरुषको बराबरी स्थान खाली राख्नुपर्छ ।

– पार्टी कमिटी भित्रका उप कमिटीहरू (कार्यालय, सचिवालय, स्थायी कमिटी र पोलिटव्युरो) मा पनि महिला सदस्य रहनुपर्ने अनिवार्य व्यवस्था गर्ने । त्यसरी समावेश गर्दा न्यूनतम् दुई महिला सदस्य रहनै पर्ने व्यवस्था गर्नुपर्छ ।

– विगतको साम्राज्यवादी र सामन्ती प्रभुत्वको समयमा नेपालको राष्ट्रियतामा प्रतिकूल प्रभाव पर्ने गरी भएका सबै सन्धि सम्झौता र सहमति खारेज गरि पञ्चशीलको सिद्धान्तका आधारमा नयाँ सन्धी सम्झौता गर्ने । हालै बेलायती सेनामा शुरु गरिएको नेपाली महिलाको भर्ति तुरुन्त बन्द गर्न पहल गर्नुपर्छ ।

– १२ कक्षासम्म सबै नेपालीलाई निःशुल्क शिक्षा प्रदान गर्ने, सबै विद्यालयहरूमा स्वच्छ पिउने पानी, महिला, पुरुष र अपांगता भएकाहरूका लागि छुट्टाछुट्टै शौचालय, महिला विद्यार्थीहरूका लागि निःशुल्क सेफ्टी प्याड र बन्द कक्षमा र खुला किसिमले खेलिने खेलको समुचित व्यवस्था गर्नुका साथै पोषणयुक्त खाजाको व्यवस्था गर्ने, टाढाबाट आउने विद्यार्थीहरूलाई ल्याउन र लैजानका लागि बसको व्यवस्था गर्ने, यसका साथै मा.वि. तहमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था गर्नुपर्छ ।

– सबै जिल्ला सदरमुकाम, प्रदेश सदरमुकाम र राजधानीमा असहाय, ज्येष्ठ नागरिकका लागि सुविधासम्पन्न आवास क्षेत्र स्थापना गर्ने, त्यसैगरी बालग्राम, विपत्मा परेका महिलाहरूका लागि आवास र रोजगारीको व्यवस्था गर्नुपर्छ ।

वामदेव गौतम
सदस्य
केन्द्रीय सचिवालय
२९ मंसिर, २०७५

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: