काम एउटै, ज्याला फरकः कानून कार्यान्वयनमा समस्या


प्रकाशित मिति :2018-12-14 16:56:28

-मनोज भट्टराई-

ओखलढुंगा । ओखलढुंगामा लिंगकै आधारमा ज्यालामा विभेद छ । गलत संस्कृति र लैंगिक विभेदका कारण महिला पुरुषबीच ज्यालामा भिन्नता छ ।

दिनभरी पुरुषले हलो जोते ८ सय कमाउँछन् । भने दिनभरी महिलाले कोदालो खने पुरुषको भन्दा आधा अर्थात ४ सय मात्र पाउँछन् । लिंगकै आधारमा महिला र पुरुषमा ज्याला असमान हुँदा गरिबीको रेखामुनी रहेका दलित तथा जनजाती महिला थप मारमा परेका छन् ।

ओखलढुंगा टारकेराबारीकी पार्वती विश्वकर्मा उमेरले ३० नाघिन् । उनी गाउँघरमै मजदुरी गर्छिन् । दैनिक ज्याला मजदुरी नगरे उनको चुलो बल्दैन । अरु कुनै सीपमूलक काम जानेकी पनि छैनन । दिनभरी ज्याला मजदुरी गरेबापत उनले ३ सयदेखि ७ सय रुपैयाँ कमाउँछिन् । तर उनीसँगै गाउँमा मजदुरी गर्ने गणेश बहादुर विश्वकर्माले पाउने ज्याला भने उनको भन्दा दोब्बर बढी छ ।

चलन चल्तीमा गाउँघरमा दैनिक ज्याला ८ सयदेखि १ हजार ५ सयसम्म चलेको छ । पार्वतीले भने दिनभर परिश्रम गरेर पनि त्यति ज्याला पाउँदिनन् । उनी दिनको ४ सयदेखि ७ सयसम्म ज्याला पाउँछिन् । कारण, उनी महिला हुन् । महिलाको ज्याला पुरुषको जति हुन्न भन्ने गलत सोच हट्न नसकेका काण पार्वतीले पुरुष मजदुरको तुलानामा निकै कम ज्याला पाउने गरेकी हुन् ।

भुकम्पपछिको पुनःर्निमाणमा पुरुष सरह काम गर्दै महिला

‘लोग्ने मान्छे भन्दा बढी नै काम गर्छौ । तर महिलाले लोग्ने मान्छे बराबर काम गर्न सक्दैनौं भनेर कम पैसा दिन्छन्’ पार्वतीले भनिन् । उनले आफूले पुरुषको तुलनामा कम ज्याला पाउदा दुःख लाग्ने गरेको बताइन् । भनिन्, ‘आफूसरह काम गर्ने पुरुषले आफ्नो भन्दा दोब्बर ज्याला पाउँदा ममाथि अन्याय भो भन्ने लाग्छ ।’

आफ्नो जमिनको अन्नले ३ महिना पनि खान नपुग्ने भएपछि लिखु गाउँपालिका ६ गाम्नाङ्गटारकी सरीता भुजेल आफूले जानेदेखि नै ज्यालादारी गर्दै आएकी छिन् । तर अहिलेसम्म पनि आफूसँगै काम गर्ने पुरुषसरह ज्याला नपाएकोमा उनलाई निकै दुःख लाग्छ ।

‘दैनिक खेतबारीमा काम गर्दा पुरुष भन्दा हामी महिलाको काम बढी हुन्छ । तर पनि पुरुषले ६ सय पाउँदा हाम्ले ३ सय मात्रै पाउँछौं’ सरीता भन्छिन्, ‘अरुको के कुरा गर्नु, मसँगै खेतबारीमा मेरो श्रीमान पनि ज्याला मजुदरी गर्नुहुन्छ । पैसा थाप्दा उहाँको पैसा मेरो भन्दा दोब्बर हुने ।’ एउटै काम गर्दा समेत आफू भन्दा श्रीमानको कमाई धेरै हुँदा हेपिएको महसुस हुने उनले बताइन् ।

सिद्धिचरण नगरपालिका ७ कि माङङिमा शेर्पा पनि सदरमुकाम आसपासमा पक्की घर निर्माण गर्ने काममा व्यस्त देखिन्छन् । उनमा पनि एउटै काम गरेबापत पुरुष भन्दा कम पैसा पाउने गरेकोमा ठूलो हिनताबोध छ ।

माङङिमा दैनिक ज्यालादारी गर्दा पाँच सय पाउँछिन् । तर उनीसँगै काम गर्ने बेतीनी रुप्सेका डम्बर बिकले भने दैनिक एक हजार कमाउँछन् ।

माङङिमा, डम्बर, सरीता, गणेश, पार्वती लगायत दैनिक ज्याला मजदुरीमा काम गर्ने महिला पुरुषको कामको प्रकृति एउटै हो । तर ज्याला किन फरक त ? भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ कसैसँग छैन । यद्यपि महिला भन्दा पुरुषको इज्जत र ओहोदा ठूलो छ भन्ने गलत सोचका कारण महिलाले समान काममा पनि पुरुषसरहको ज्याला पाउन नसकेका हुन् ।

एक निर्माण व्यवसायीले ठेक्काको काम सकिएपछि महिला कामदारहरूलाई प्रोत्साहन स्वरुप १ हजारदेखि २ हजारसम्म दिने गरेको बताए । बरु प्रोत्साहन स्वरुप हजार २ हजार नदिएर पुरुषसरहको ज्याला चाहिँ किन दिनुहुन्न भन्ने प्रश्नमा भने वर्षौदेखि चलिआएको चलन आफूले मात्रै तोड्न नसकेको उनले बताए ।

महिला मजदुरहरू आफू भन्दा कम श्रम गर्ने पुरुषले ज्याला बढी पाउने तर आफूहरूले भने दिन भरी गिट्टी, बालुवा बोक्ने काम गरे पनि पुरुषसरह ज्याला नपाउने अवस्थाको अन्त्य खोजिरहेका छन् । मजदुर पार्वती विश्वकर्माले भनिन्, ‘बोल्नेले बोलिदिन्नन्, हाम्ले बोलेको कसले सुन्छ र ? अन्याय त भएकै छ ।’

जिल्लामा ज्याला निर्धारण समितीले आर्थिक वर्ष २०७४/०७५ मा दक्ष कामदारका लागि ७ सय ७० र ज्यामीका लागी ५ सय ५५ ज्याला निर्धारण गरेको छ ।

आर्थिक वर्ष ०७५/०७६ का लागि दक्ष कामदारलाई ८ सय ५४ र ज्यामीलाई ६ सय १० प्रस्ताव गरेको भए पनि कृषि क्षेत्रमा काम गर्ने कामदारका लागि महिलालाई ४ सय र पुरुषलाई ८ सय दिने गरेको पाईन्छ ।

निर्माण व्यवसायीहरूले घर निर्माण तथा अन्य काममा पुरुषका लागि १ हजार देखि १ हजार ५ सयसम्म र महिलालाई ६ देखि ७ सय रुपैयाँसम्म दिईएको पाईन्छ ।

ओखलढुंगामा न्युनतम ४ सय ४० देखि ८ सय ४५ सम्म सरकारी ज्याला निर्धारण गरिएको छ । यद्यपि सरकारी ज्यालामा कुनै पनि स्थानमा मजदुरले काम भने गरेको पाईन्न ।

समयअनुसार निर्माण व्यवसायीको कार्यको अनुगमन गरे पनि ज्यालाको कुरा छायामा परेको र समान काममा असमान ज्याला प्रदान गरिएको भनि कसैले गुनासो गरे कारबाही गरिने ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताईन् ।

चेतनामूलक कार्यक्रमको आवश्यकता

जिल्लाको लिखु गाउँपालिका वडा नं ६ मा आमा समूहको सक्रियतामा महिला पुरुष दुबैलाई समान ज्यालाका लागि चेतनामूलक कार्यक्रमहरू गरिने भएको छ । समान काममा पनि महिला र पुरुषबीच असमान ज्याला भएका कारण स्थानीय स्तरमा चेतनामूलक कार्यक्रम गरिने भएको हो ।

कानूनले लिंगकै आधारमा ज्यालामा विभेद गर्न नपाइने व्यवस्था गरे पनि व्यवहारमा त्यो लागु हुन सकेको छैन । पुरातनवादी गलत सोच र पुरुषवादी समाजको बाहुल्यताका कारण समान कामको समान ज्याला हुनुपर्छ भन्नेहरूले नै असमान ज्याला दिने गरेको श्री ग्रामोदय युगकवि सिद्धिचरण क्याम्पसकी उप प्राध्यापक नेत्रकुमारी पौडेलको भनाइ छ ।

महिलाको नाममा अरबौ खर्च गर्ने सरकारी तथा गैर सरकारी निकायले कानून कार्यान्वयन भए नभएको कुराको अनुगमन नगर्दा बनेका कानून कागजमै सिमित भएको र यो अवस्थाको अन्त्य हुन नसकेको उप प्राध्यापक पौडेल बताउँछिन् ।

लिखु गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष टिकाराम क्याप्छामकी मगरले विशेष गरी खेतीको समयमा मजदुरहरू बढी आवश्यक हुने ग्रामिण भेगमा यो सालदेखि चेतनामूलक कार्यक्रमहरू गरी समान काममा समान ज्याला निर्धारण गर्न अभियान चाल्ने प्रतिवद्धता गरे ।

कसैले समान काममा असमान ज्याला दिएमा स्थानीय न्यायीक समीतीमा उजुरी गर्न समेत मगरले आग्रह गरेका छन् । ‘समान काममा असमान ज्याला दिएको उजुरी आएको खण्डमा कसैलाई पनि छुट दिने छैनौं । कानूनी कारबाहीका लागि सिफारिस गर्नेछौं’ वडा अध्यक्ष मगरले भने ।

जिल्लामा महिलाको अवस्था

ओखलढुंगामा पुरुष कामदार भन्दा महिला कामदार बढी देखिन्छन् । ग्रामिण भेगका अधिकांश परिवारमा पुरुषहरू शहर पलायन भएकै कारण हरेक काममा महिलाले खट्नु परेको छ ।

निर्माण व्यवसायीहरूले समेत दुईजना मिस्त्रीका लागी एक जना हेल्पर पुरुष र ५ देखि सात जना ज्यामी महिलाहरू नै लगाएको पाईन्छ । रोजगारीको सिलसिलामा पुरुषहरू गाउँबाट पलायन हुन थालेपछि महिला मजदुरहरूको संख्या ह्वात्तै बढेको वडा अध्यक्ष टिकाराम क्याप्छामकी मगरले बताए ।

मगरका अनुसार जिल्लाका ग्रामिण भेगमा हलो जोत्नदेखि लिएर पुनःनिर्माणमा समेत महिलाहरू प्रसस्त मात्रामा खटेका छन् ।

युवा तथा पुरुषहरू अध्ययन तथा रोजगारीका लागी शहर अनि विदेश पलायन हुन थालेसँगै हरेक क्षेत्रमा महिला कामदारहरूको संख्या बढेको भए पनि जिल्लामा महिला मजदुरको संख्या यति नै छ भन्ने एकिन तथ्यांङ्क (अभिलेख) भने नरहेको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताइन् ।

होटलमा काम गर्दै महिला

विशेष गरी खेतीपाती लगाउने र भित्र्याउने सिजनमा कामदारहरूको आवश्यकता हुने हुँदा यो समयमा पनि महिलाहरू नै बढी काममा खटिएको पाइएको प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाइ छ ।

जिल्लामा निजी स्वामित्वमा रहेका विद्यालय (निजी विद्यालय) मा शिक्षकका रुपमा महिला, सहकारी तथा वित्तीय संघ संस्थाहरूमा महिला, विभिन्न गैर सरकारी संघसंस्थाहरूमा कार्यालय सहयोगीदेखि फिल्ड कर्मचारी र कार्यालय प्रमुखका रुपमा महिला, होटल तथा रेष्टुराहरूमा वेटरदेखि भान्से महिला र खेती किसानी तथा कृषि फार्महरूमा दैनिक ज्यालादारी गर्नका लागी काम गर्ने श्रमिक महिलाहरू नै धेरै रहेको प्रजिअ न्यापानेले बताइन् ।

एकताका रेडियो कार्यक्रममार्फत श्रोतामाझ निकै लोकप्रिय सानु लामाले अरुका बारेमा समाचार लेख्ने सञ्चार गृहमै महिला र पुरुषबीच समान ज्याला नभएको बताइन् ।

रेडियोमा कार्यक्रम चलाउनेदेखि प्राविधिकसम्मको जिम्मेवारी निर्वाह गर्दा समेत काम अनुसारको तलब नपाएपछि पत्रकारिता रुचिको विषय हुँदाहुँदै पनि धेरै पत्रकार महिलाले पेशाबाट पलायन हुनुपरेको तितो अनुभव सुनाइन् उनले ।

‘अरु पेशाका मान्छेका बारेमा समाचार लेखने, कार्यरत संस्थाले नियुक्तिपत्र दिएन भन्ने, समान पारिश्रमिक दिएन भन्ने संचार माध्यममै महिला र पुरुषबीच समान कामको असमान ज्याला छ’ रमाईलो सामुदायिक रेडियोमा समाचार सहायकको रुपमा काम गरेकी मुना खतिवडाले भनिन् ।

नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका कोषाध्यक्ष बोधनारायण श्रेष्ठ सबैभन्दा बढी महिलाको श्रम शोषण निजी क्षेत्रमा नै हुने गरेको दाबी गर्छन् ।

मजदुर महिलालाई महिना बित्नासाथ तलब नदिने, कम्पनी तथा निजी क्षेत्रमा नियुक्तिपत्र नदिने, तोकिएको बिदा पनि नदिने चलन रहेको छ । कामदार महिला र निजी क्षेत्रको सम्बन्ध कामदार र व्यवस्थापक नभई मालिक र मजदुरको जस्तो रहने गरेको श्रेष्ठले बताए ।

कानूनमा के छ ?

श्रम ऐन २०७४ को दफा ६ मा ‘रोजगारदाताले श्रमिकलाई धर्म, वर्ण, लिङ्ग, जातजाति, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा अन्य त्यस्तै आधारमध्ये कुनै कुराको आधारमा भेदभाव गर्न पाइने छैन’ भन्ने उल्लेख गरिएको छ । सोही ऐनको दफा ७ मा समान कामको लागि पारिश्रमिकमा भेदभाव गर्न नहुनेः (१) लिङ्गको आधारमा श्रमिकबीच समान मूल्यको कामको लागि पारिश्रमिकमा भेदभाव गर्न हुँंदैन । भन्ने लेखिएको छ ।

श्रम ऐन २०७४ को दफा २८ मा ‘रोजगारदाताले श्रमिकलाई प्रतिदिन आठ घण्टा र एक हप्तामा अठ्चालीस घण्टाभन्दा बढी समय हुने गरी काममा लगाउन पाइने छैन’ भन्ने पनि लेखिएको छ । दफा २८ को उपदफा (२) मा श्रमिकलाई लगातार पाँच घण्टा काम गरेपछि आधा घण्टा विश्रामको समय दिनु पर्नेछ भनिएको छ भने उपदफा (३) मा काम रोक्न नहुने तथा लगातार काम चलाइरहनु पर्ने भएमा श्रमिकलाई त्यस्तो विश्रामको समय आलोपालो गरी दिनु पर्नेछ । भन्ने उल्लेख गरिएको भए पनि कानून कार्यान्वयनको पाटो त परको कुरा नियमित अनुगमन समेत भएको पाईंदैन ।

कानूनमा उल्लेख भए बमोजिम ज्याला नदिए, महिला भएकै आधारमा ज्यालामा विभेद भए कानून बमोजिम कारबाही समेत हुने प्रमुख जिल्ला अधिकारी न्यौपानेको प्रतिवद्धता छ ।

(पत्रकार मनोज भट्टराई ओखलढंगाबाट पत्रकारिता गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

राजनीतिमा लैंगिक समानताः मिडियाको भूमिका के ?

क्यानेडियन राजदूतावासका उपराजदूत डेड्रि केन्टले सञ्चार माध्यमले असमान लैंगिक प्रतिनिधित्वको स्थितीलाई हटाउन र समाजको पुरातन

जातका आधारमा महिलालाई घर निकाला

–महिला खबर– आफूलाई कमिनी भन्दै घर निकाला गरेपछि सुशिलाले सासू, ससुरा र पति विरुद्ध शुक्रबार जिल्ला

महिला मन्त्री थापा केन्या प्रस्थान

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा हिजो आइतबार राती केन्या

महिलालाई चुनाव फलामको च्यूरा !

-सविता शर्मा- काठमाडौँ । सङ्घर्षका मोर्चाहरूमा अब्बल रूपमा भूमिका निर्वाह गरेका महिलाले निर्वाचनमा भने निकै असहज

सुत्केरीलाई उपाध्यक्षको कोसेली

उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: