सुमीरा अर्थात् महिलावादी युवा


प्रकाशित मिति :2018-12-13 12:43:09

-प्रतिमा सिलवाल-

८ वर्षकी बालिका । टाउको मुडुलो छ । सेतो रंगको कपडालाई साडी बनाएर त्यसैको सप्कोले आङ ढाकिएको छ । आफ्नो पहिरन, रुप रोगनमा कत्ति पनि हिनताबोध, पीडा वा दुःख बालिकाको अनुहारमा झल्किँदैन ।

रिक्सामा सँगै राखेर कतै लगिरहेका बाबु सोध्छन्, तिमीलाई विवाह भएको थाहा छ ? उनलाई आफ्नो विवाहको हेक्का हुँदैन, न त चासो नै दिन्छिन् । बरु बाटोमा देखिएका दृष्यमा हेर्दै रमाइलो मानिरहेकी हुन्छिन् ।

बाबुले उनको श्रीमान् मरिसकेको भन्छन् । श्रीमान भन्ने व्यक्तिसँगको सम्बन्धबारे जानेको भए पो बालिकाले प्रतिक्रिया दिँदी हुन् । समाजमा महिलाको स्थान, पुरुषको वर्चस्व नबुझेकी अबोधले लोग्ने मर्नुको पीडाबोध कसरी महसुस गर्नु !

समाजका विभेदपूर्ण सम्बन्ध नबुझ्दै उनी भने त्यही समाजले निर्धारण गरेको नियतीको शिकार बन्छिन् । अर्थात्, लोग्ने मरेपछिको बालविधवा । अनि परिवार समाजबाट बहिस्कृत । त्यसपछि घाटको विधवा राख्ने धर्मशाला उनको जीवनभरको आश्रयस्थल । बाबुसँगको संवाद र सुरुआती दृष्य त्यही धर्मशालामा लैँजादाको हो ।

घाटको आश्रयस्थलमा रहेका विधवाहरूबीच उनले बाल्यकाल बिताइन् । विधवा हुनुको बोध गरिन् । अनि तिनै विधवालाई समाजबाट बहिस्कृत गर्ने नियम बनाउने कथित ठालुले रातमा उनीहरूबाटै यौन प्यास कसरी मेट्छन् भन्ने अनुभूति आफैले गरिन् । प्रेम बसे पनि वैवाहिक सम्बन्ध गाँस्नबाट वञ्चित हुनुको अनुभूति पनि गरिन् ।

समग्रमा एउटी विधवाले समाजले निर्धारण गरिदिएको विभेदपूर्ण व्यवहारका कारण कतिसम्म नारकीय जीवन भोग्न बाध्य छन्, सबै भोगिन् ।

भारतीय निर्देशक दीपा मेहताको चलचित्र ‘वाटर’ का थिए माथिका दृष्य कहानी । त्यही कहानी स्नातक तह प्रथम वर्षमा पढ्दा सिनेमामा हेरेकी थिइन् सुमीरा श्रेष्ठले ।

मिताे अवार्ड लिँदै सुमीरा

तिनै सुमीरा जो काठमाडौंमा जन्मिइन् । काठमाडौंमै हुर्किएर स्नातक पढ्ने भइसकेकी थिइन् । उनलाई ‘वाटर’ सिनेमाले नराम्रोसँग बिथोल्यो । भारतीय समाजकै पृष्ठभूमीमा बनेको किन नहोस्, वाटर सिनेमाले नेपाली समाजको यथार्थलाई पनि उजागर गरेको थियो ।

त्यही समयमा नेपालका विधवा सती जाने परम्पराबाट माथि उठेर परिवारमै बस्नसम्म पाउँथे । श्रीमान मरेकै कारणले उनीहरूको सामाजिक हैसियत भने शून्य प्रायः थियो । यो यथार्थ बुझ्न सुमीरालाई वाटर सिनेमाले सघायो । सघायो के भनौं, देखेर पनि नदेखिएका यथार्थबाट उनी छर्लङ्ग भइन् ।

तिनै समय अर्थात् आजभन्दा करिब १४ वर्ष पहिले नेपालमा लिली थापाहरूले एकल (विधवा) महिलाका लागि चलाएका रातो पहिरनको अभियान चर्चामा थियो । लोग्ने मरेकै कारण बेरंगी भएर बस्नुपर्ने विभेदकारी सामाजिक व्यवस्थाका विरुद्ध गाउँ गाउँबाट महिलाहरूले बिगुल फुकेका थिए ।

वाटर चलचित्र हेरेपछि सुमीरालाई नेपाली समाजका महिलाको यही तितो यथार्थले पनि चिमोटिरहेको थियो । कलेज जान्थिन् । काठमाडौंकै असनमा रहेको घर फर्किन्थिन् । तिनै समय पकेट खर्च जुटाउन होम ट्यूसन पनि पढाउँथिन् ।

काम पढाउने अनि पढ्ने थियो । तर, बेला बेला मामाघर जाँदा आफ्नी ‘विधवा’ हजुरआमालाई हेरेर वाटरका दृष्य उनको मथिंगलमा आउँथ्यो । ‘छरछिमेकमा पनि एकल महिला थिए’ उनले जोडिन् । उहाँहरूलाई देख्दा पनि सुमीरा विथोलिएझैं हुन्थिन् ।

स्नातक तहमा विकास अध्ययनको विषयको विद्यार्थी थिइन् सुमीरा । हुन त प्लस टूमा कक्षामा विज्ञान पढेर चिकित्सक बन्न आफन्तले सुझाएका पनि हुन् । सेन्ट जेभियर्स कलेजमा प्लस टूमा विज्ञान पढिन् । चिकित्सक तयारी कक्षाको लागि काठमाडौंको एक नाम चलेको इन्ष्टिच्यूटमा तयारी कक्षा पनि लिइन् ।

चिकित्सक बन्नेतर्फ भने ध्यान गएन । उनको दिमागमा समाजका असमान सम्बन्धहरूको विरुद्ध आवाज उठाउने संकल्प आइसकेको थियो । तर कसरी ? बाटो पहिल्याएकी भने थिइनन् ।

छाेरी बाेकेर भाषण गर्दै सुमीरा

सायद चिकित्सक नपढ्ने उनको निर्णय त्यही संकल्पको बाटो खोज्ने एउटा उपाय थियो । तर, कारणका रुपमा पारिवारको आर्थिक अवस्था बनाइन् ।

बाबुआमाका २ छोरी मात्रै भए पनि आफूहरूलाई पढाउन, हुर्काउन बढाउन पसल र ग्याँस डिलरमा बाबु आमाले गरेको परिश्रम पनि उनले चिनेकी थिइन् ।

‘बुबाआमाको आर्थिक अवस्था मलाई डाक्टर पढाउन पुग्ने थिएन’ श्रेष्ठ खुलिन्, ‘त्यसैले तयारी कक्षा लिए पनि मैले प्रवेश परीक्षा नदिने निर्णय लिएँ ।’

सुमीरा कक्षामा सँधै पहिलो हुन्थिन् । त्यसैले पनि उनको विद्यालय तहमा पढाइ खर्च परिवारले बेहोर्नु परेन । ‘हामी मध्यमवर्गको परिश्रम गर्ने परिवारका हौं ।’ उनले आफ्नो पारिवारिक अवस्था अझ प्रष्ट्याइन्, ‘सायद खर्च जोगाउन होला, आमाले सँधै घरमै फ्रक सिलाइदिनुहुन्थ्यो । हामी त्यही लगाउँथ्यौं ।’

पारिवारिक अवस्थाको र आफ्नो संकल्पको विश्लेषण स्वयंले गरेपछि उनले परिवारलाई निर्णय सुनाइन्, ‘म डाक्टर बन्दिन ।’ परिवारले पनि उनको निर्णयमा नाईंनास्ती गरेनन् । त्यसपछि आफैले रोजेको कलेजमा विकास अध्ययन विषयमा भर्ना भइन् ।

स्नातक तहमा उनले पढेको विषय अनुसार उनीहरूले स्वयंसेवी भएर काम पनि गर्नुपथ्र्यो । किनकी उनको विषयले नै समाज र विकास बुझ्न प्रेरित गथ्र्यो । यहाँका असमान सामाजिक सम्बन्ध, समाजको बनावट, सामाजिक समस्या र यसले समाजको विकासमा पार्ने प्रभाव आदि आदि ।

यही क्रममा नै उनले हेरेकी थिइन्, वाटर सिनेमा । उनको कलेज नजिकै एकल महिलाका लागि काम गर्ने संस्था एकल महिला समूह रहेछ । त्यतिबेला समूहको रुपमा मात्रै थियो । पछिमात्रै मानवअधिकार र एकल महिलाका अधिकारलाई संयुक्त रुपमा समेट्ने गरी मानव अधिकारका लागि महिला एकल महिला समूह भनेर स्थापित भएको हो । त्यहीबाट देशभरका एकल महिलाहरूलाई परिवर्तन र अधिकारको लागि लड्ने प्रोत्साहन थप्न लिली थापाहरू क्रियाशील हुन्थे ।

‘कलेज नजिकै महिला अधिकारको लागि काम गर्ने संस्था छ भन्ने थाहा भयो । बुझ्दा एकल महिलाको विषयमा काम गर्ने संस्था भन्ने थाहा पाएँ ।’ उनले भनिन् । ‘त्यही भोलेन्टियर (स्वयंसेवी) को रुपमा काम गर्न थालें ।’

‘एकल महिला समूहमा भोलेन्टियर सुरु गर्दा खाजा खर्च दिनुहुन्थ्यो’ श्रेष्ठले सुरुआती दिन सम्झिइन् । उनले एकल महिला समूहमा गएपछि अझ प्रष्टसँग नेपालमा एकल महिलाको अवस्था बुझिन् ।

आज १४ वर्ष भयो । सुमीरा एकल महिला समूहमा नै छिन् । सुरुआती चरणमा उनले बुझेको एकल महिलाको पहिरनको अधिकारको लडाईं थियो । त्यसयता सामाजिक पहिचान, सम्पत्तीको अधिकार । आज कानूनी रुपमा यी अधिकार स्थापित छन् ।

‘एकल महिलाका अधिकारका लागि कति पटक माइतीघरमा जुलुस लगाइयो’ उनले फेरि आफ्नो लगाब सम्झिइन्, ‘अधिकार माग्दै चर्का नारा लगाउँदा घाँटी सुकेका दिनहरू पनि थिए ।’

तीनै आन्दोलन र निरन्तरको खबरदारीका बाबजुद कानूनले नै एकल महिलाको सम्पत्तीको अधिकार स्थापित गरेको छ । समाजमा पनि एकल महिलाका पोशाकलाई लिएर गरिने टीप्पणी कम हुँदै गएका छन् । एकल महिलालाई आइपर्ने हिंसा, जोखिमका समयमा उपयोग गर्न मिल्ने गरी सरकारले एकल महिला सुरक्षा कोषको स्थापना गरेको छ । एकल हुनेबित्तिकै सामाजिक सुरक्षा भत्ता पाउने कानूनी व्यवस्था पनि आइसक्योे ।

सुमीरा एकल महिला समूहमा स्वयंसेवीदेखि कर्मचारीतर्फको प्रमुख पद कार्यकारी निर्देशकसम्म पुग्दा भएका परिवर्तन हुन् यी । भन्छिन्, ‘हामीले नारा जुलुस मात्रै होइन हामीले कानूनी रुपमा लडेको लडाईंको उपलब्धी हुन् यी ।’

उनले निरन्तर काम गर्दा संस्थागत परिवर्तनसँगै उनका जीवनमा पनि परिवर्तन भएका छन् । स्नातक भर्ना भएदेखि स्वयंसेवीको रुपमा एकल महिला समूह गएकी थिइन् । विस्तारै उनको पदीय हैसियत बढ्यो । पारिश्रमिक पनि पाँच सयबाट बढेर सय गुणाभन्दा बढी पुगेको छ ।

‘मलाई भोलेन्टियर गरेको डेढ वर्षपछि महिनाको पाँच सय रुपैयाँमा काम लगाइएको थियो’ सुमीरा सम्झिन्छिन्, ‘आज मेरो बुझाइ र कामको दक्षतासँगै पारिश्रमिक सय गुणा बढी पुगेको छ ।’

 

उनले पोल्याण्डको वार्सा विश्वविद्यालयबाट विकास अर्थशास्त्रमा स्नातकोत्तर गरिन् । यहि बीचमा विवाह पनि भयो । अहिले उनको २२ महिनाकी छोरी पनि छिन् । ‘मेरो संस्थागतसँगै व्यक्तिगत जिम्मेवारी तथा भूमिका पनि बढ्दै गएको छ ।’ सुमीराले छोटकरीमा आफ्नो जिम्मेवारीबारे बताइन् ।

‘एकल महिलाका अधिकारका लागि कति पटक माइतीघरमा जुलुस लगाइयो’ उनले फेरि आफ्नो लगाब सम्झिइन्, ‘अधिकार माग्दै चर्का नारा लगाउँदा घाँटी सुकेका दिनहरू पनि थिए ।’

यति धेरै सामाजिक जिम्मेवारीसँगै परिपक्व भएकी सुमीरा ३३ वर्षकी मात्र छिन् । जिम्मेवारी र भूमिका हेर्दा उनलाई ‘युवा महिलावादी’ को उपमा सहज रुपमा दिन सकिन्छ । गएको भदौ अन्तिम साता उनले प्राप्त गरेको ‘मितो अवार्ड’ले पनि उनलाई ‘युवा महिलावादी’ स्थापित गरेको छ ।

भारतय अभियन्ता कमला भासिनले आफ्नी छोरीको नाममा स्थापना गरेको अवार्ड उनको मेहनतले नै दिलाएको हो । ‘यो दक्षिण एसिया स्तरको अवार्ड हो’ उनले भनिन्, ‘सामाजिक काममा योगदान हेरेर युवा महिलालाई दिइन्छ ।’

स्वयंसेवादेखि कर्मचारीको माथिल्लो पदसम्म मानवअधिकारका लागि महिला एकल महिला समूहमा बिताएकी सुमीराले एकल महिलाका थप चुनौती पनि देखेकी छिन् ।

‘अबको समय एकल महिलाको आफ्नो शरीरमा आफ्नै अधिकारबारे बहस गर्ने हो’ एकल महिलाका स्थापित अधिकारपछि वैयक्तिक अधिकारका विषयमा आवाज उठाउनुपर्ने उनले महसुस गरेकी रहिछन् । ‘यसका लागि थप कार्ययोजना पनि बनाउँदै छौं’ उनले भनिन् ।

एकल महिलाका अधिकारका कुरा पनि उनी स्वयंको भावी योजनाबारे जान्न चाहँदा थपिन्, ‘युवा महिलाको लागि केही गर्ने सोच छ ।’ आफू खोज अनुसन्धानको विद्यार्थी पनि भएकाले युवा महिलाकै लागि केही नयाँ गर्न चाहेको उनले स्पष्ट पारिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

किशोरीलाई मन्त्री थापाको लिडरसिप टिप्स

-महिला खबर- ललितपुर । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले किशोरीहरूलाई भावी पुस्ताको नेतृत्वका

मन्त्री थापा र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट

-महिला खबर- ललितपुर । महिला बालबालिका, तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या

नेता महिलाले भने, ‘नेतृत्वमा महिला संख्या बढाउनु पर्छ’

-महिला खबर- ललितपुर । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक

पीडितको कुनै दोष हुदैन

-रमा भट्टराई कैलाली- जहाँ मान्छेको बलि चडिरहन्छ हो त्यहीँ जनावरको बलि चडाइनु हुदैन भन्दै एक थरी उफ्रन

रञ्जनाको हत्याप्रती सोच नेपालको ध्यानाकर्षण

-महिला खबर-  विराटनगर–११ पच्चमुखि चोक माइती भएकी रञ्जना सहनी (बहरदार)को दाइजोको निहुँमा हत्या भएको घटनाप्रती मानवबादी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: