पीडक समाजमै, पीडित विस्थापित


प्रकाशित मिति :2018-12-12 12:50:36

हिंसामा परेपछि महिलाले नै घर परिवार त्याग्नुपर्ने हाम्रो सामाजिक अवस्था छ । अझ यौनजन्य हिंसामा परेका बालिकाहरूले त आजीवन परिवारको साथ छोड्नुपर्ने अवस्था छ । अपराध गर्ने पीडकले कानूनी सजाय भोगे पनि पीडित महिलाहरू त्यो भन्दा ठूलो सामाजिक बहिस्कार भोग्न बाध्य छन् ।

–एसबी जेरो–

ओखलढुंगा । ओखलढुंगाकी १३ वर्षकी बालिका असोज १० गते राती र ११ गते दिउँसो आफ्नै बाबुबाट बलात्कृत भइन् । त्यो पनि आफ्नै घरभित्रै । उनकी आमा छैनन् । ३ वर्ष अघि उनीसहित ३ सन्तान छाडेर आमाले अर्कै विवाह गरिन् ।

आमाले छोडेपछि नौ र सात वर्षका दुई भाइलाई १३ वर्षीया बालिकाले नै हेर्दै आएकी थिइन् । खाना बनाएर खुवाउँथिन् । सरसफाइ गर्थिन् । भाइहरूको कपडा धोइदिन्थिन् । उनकै भनाइमा भाइहरूको उनलाई असाध्यै माया लाग्छ ।

तर, आफ्नै बाबुले डर त्रास देखाएर जबरजस्ती करणी गरे । धेरै अगाडिदेखि बलात्कार गर्दै आए पनि उनले अरुलाई भनेकी थिइनन् । असोजको दुई दिन लगातार बलात्कृत भएपछि उनीमाथि भएको कुकर्म बाहिर आयो । छरछिमेक आफन्तले घटना प्रहरीसम्म लैजान सहयोग गरे ।

उनले बाबु विरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिइन् । प्रहरीले असोज १३ गते बाबुलाई पक्राउ गर्यो । आरोपित बाबुलाई जिल्ला अदालत ओखलढुंगाले कात्तिक ९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो ।

त्यसपछि उनलाई लागेको थियो, ढुक्कसँग भाइहरूसँग बस्न पाउँछु । विडम्बना उनले चाहेजस्तो भएन । उनी त घर परिवार र समाजबाट अलग भइन् । घटना सार्वजनिक भएसँगै अधिकारकर्मी महिलाले आश्रयको लागि सुरक्षित गृहमा लगे । बाबु जेल, दिदी आवास गृह गएपछि दुई भाइलाई काकाले राखेका छन् ।

बालिका ‘आमा’ बनेर भाइहरूको रेखदेख गर्थिन् । अहिले भाइहरूबाट छुट्निुपर्दा उनी निकै चिन्तित छिन् । भाइहरूले खान पाए, पाएनन् ठूलो चिन्ता लाग्छ उनलाई ।

दुई भाइको याद आउँदा उनलाई कतिबेला भाइहरूकहाँ पुगौं झैं हुन्छ । सुरक्षित आवास गृहमा भेट्दा उनले भाइहरूको मायाले सताउने गरेको बताईन् । उनी भन्छिन् ‘मेरो भाइहरूले खान पाए पाएनन्, पढ्न गए, गएनन् याद आईरहेको छ । रुन मन लाग्छ । कुरा गर्न पनि पाएको छैन । एक पटक फोनमा भए पनि बोल्ने मन छ ।’

००० ०००

ओखलढुंगाकै सिद्धिचरण नगरपालिकाकी एक बालिका १ वर्ष हुँदा बुबा र आमा दुवैले दोश्रो विवाह गरेपछि हजुरबुबाको रेखदेखमा थिइन् । त्यसपछि ११ वर्षसम्म हजुरबुबाले रेखदेख, पालन पोषण गरे । दुई वर्ष अघि उनको एक मात्र अविभावक हजुरबुबाको पनि निधन भयो ।

उनलाई रेखदेख गर्ने कोही भएन । जन्म दिने बाबुआमा जीवितै भए पनी बेसहारा भईन् । हेरचाह गर्ने कोही नभएपछि गाउँकै एक व्यक्तिको घरमा काम गर्दै पढ्न थालिन् । अहिले १३ वर्षकी उनी कक्षा चारमा पढ्दै छिन् ।

गएको कात्तिकमा जुन घरमा काम गर्दै पढ्दै बसेकी थिइन्, त्यही घरको १८ वर्षका छोरासँग विवाह भयो । दुबैको उमेर नपुगेकाले स्थानीय न्यायिक समितिमा स्थानीयले उजुरी गरे ।

गएको कात्तिक १५ गते प्रहरी दुबै जनालाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिएपछि नेपाल प्रहरीले गरेको अनुसन्धान तथा जिल्ला अस्पताल रुम्जाटारमा गरिएको शारीरिक परीक्षणबाट उनीहरूले शारीरिक सम्पर्क नगरेको प्रमाणित भयो ।

अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी)ले व्यक्तिगत तथा पारिवारिक परामर्शबाट विवाह नभएको स्पष्ट पारेको छ । विवाहको प्रमाण मानिने शारीरिक सम्बन्ध राखेको प्रमाणित नभएपछि सामान्य सोधपुछपछि प्रहरीले १८ वर्षका किशोरलाई घर पठाइदियो ।

तर बालिकालाई भने बस्ने ठाउँ नै भएन । उनको जिम्मा लिने अविभावक नभएपछि प्रहरीले उनलाई सुरक्षित आवास गृह (सेफ हाउस)मा पठायो । उनी अहिले त्यही सेफ हाउसमा बस्दै आएकी छिन् ।

००० ०००

तीन वर्ष अघि मानेभञ्ज्याङकी एक किशोरी चालकबाट बलात्कृत भइन् । उनी ८ वर्षकै उमेरदेखि मानेभञ्ज्याङको एक होटलमा काम गर्न बसेकी थिइन् । सोही होटल साहुको ट्याक्टर चलाउने ड्राइभरले उनलाई बलात्कार गरे । किशोरीले राती ९ बजे ड्राइभरलाई खाना दिन लागेकी थिईन् । त्यही बेला एक्कासी मुख छोपेर बलात्कार गरेको उनले बताईन् ।

घटना हुँदा उनको उमेर १४ वर्ष थियो । अरुलाई भने मारिदिने भन्दै ड्राइभरले धम्की दिएपछि उनी नौ महिनासम्म चुप बसिन् । घटना भएको मिति उनलाई यकिन छैन । गर्भ रहेको ९ महिना भएपछि मात्रै उनी बसेको परिवार र आफन्तले उनीमाथि बलात्कार भएको थाहा पाए ।

घटना सार्वजनिक भएको केही दिनमै उनले ओखलढुंगा सामुदायिक अस्पतालमा छोरा जन्माईन् । कसको गर्भ हो भनेर सबैले सोध्न थालेपछि उनले आफुमाथि भएको सबै कुरा खोलिन् । किशोरी बलात्कृत भएको थाहा भएपछि घरपरिवारले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा किटानी जाहेरी दिए ।

तर, प्रहरीले अहिलेसम्म बलात्कारका आरोपीलाई नियन्त्रणमा लिन सकेको छैन । किशोरी अहिले १७ वर्षकी भईन् । किशोरीको छोरो १९ महिनाको भयो ।

उनी अहिले गाउँ घरमा छैनन् । घटना सार्वजनिक भएलगत्तै उनलाई जिल्लास्थित सुरक्षित आवमस गृहमा लगिएको थियो । सोही आवास गृहमार्फत आमा छोरा दुबैलाई काठमाडौंको सुरक्षित आवास गृहमा पठाइएको छ । त्यही आवास गृहका सञ्चालकका अनुसार अहिले उनी कक्षा ६ मा पढ्दैछिन् ।

००० ०००

ओखलढुंगाकी १९ वर्षीया किशोरी घाँस काट्न जाँदा बलात्कारमा परिन् । सिन्धुली घर भई ओखलढुंगास्थित ससुरालीमा बस्दै आएका रत्नबहादुर सुनारले घाँस काट्न जंगल गएको बेलामा जबरजस्ती करणी गरे ।

घर नजिकै रहेको जंगलमा कोही नभएको बेला हात खुट बाँधेर, मुख समेत थुनी जबरजस्ती गरको उनले बताइन् । तर सुरुमा आफूमाथि भएको बलात्कार उनले कसैलाई भनिनन् । एक महिनापछि महिनावारी रोकिएपछि मात्रै उनले घरमा भनिन् ।

गर्भ बसेको थाहा भएपछि परिवार र छिमेकका ठालुहरूले छलफल गरेर किशोरीलाई बलात्कार गर्ने सुनारको जिम्मा लगाईदिए । तर किशोरीले त्यो निर्णय अस्वीकार गरिन् । उनको गर्भ बसिसकेको थियो । किशोरी गर्भपतनको लागि जिल्ला अस्पताल रुम्जाटार गईन् । अस्पताल पुग्दा ५ महिनाको गर्भ भइसकेकाले चिकित्सकले गर्भपतन गर्न नसकिने बताए ।

त्यसपछि जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन प्रणालीको सल्लाह अनुसार उनलाई काठमाडौं पठाइयो । काठमाडौंको थापाथली अस्पतालमा किशोरीको इच्छा अनुसार ५ महिनाको गर्भपतन गरियो ।

उनको बुबाआमाले २०७४ साल मंसिर १८ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जबरजस्ती करणी गरेको भन्दै सुनार विरुद्ध उजुरी गरे । उजुरी परेकै दिन प्रहरीले सुनारलाई पक्राउ गर्यो । पक्राउ परेको पछिल्लो दिन जिल्ला अदालतमा मुद्दा दर्ता भयो । सुनार अहिले पूर्पक्षका लागि थुनामा छन् ।

तर किशोरी भने परिवारबाट विस्थापित भइन् । उनी अहिले काठमाडौंको एउटा सुरक्षित आवास गृहमा बस्छिन् । आवास गृह सञ्चालकका अनुसार उनी पटक पटक परिवारको याद गर्छिन् । आमाबुबासँग भेट्न चाहन्छिन् । तर, उनका परिवारले उनलाई घर फिर्ता ल्याउन सकेको छैन ।

०००००० 

सोलुखुम्बुकी एक महिलाको २०६७ सालमा ओखलढुंगा बर्नालुका पुरुषसँग प्रेम विवाह भयो । विवाह भएको केही वर्षसम्म उनीहरूको सम्बन्ध राम्रै थियो । विस्तारै श्रीमान मदिरा पिउन थाले । मदिराको लत बढ्दै गयो । अत्याधिक मदिरा सेवन मात्रै होइन श्रीमतीलाई कुटपिट पनि गर्न थाले ।

सात वर्षसम्म श्रीमानको कुटाईसँगै अरु मानसिक यातना सहेको उनले बताईन् । उनका अनुसार श्रीमान राम्रो नबोल्ने, खाना, लगाउन र खर्च पनि दिँदैनथे । मानसिक र शारीरिक यातना बढ्न थालेपछि २०७४ साल माघ महिनामा उनले प्रहरीमा उजुरी दिईन् ।

प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेर एक रात प्रहरी कार्यालयमै राख्यो । पछिल्लो दिन प्रहरी कार्यालयमै मिलापत्र गर्ने सहमति भयो । सहमतिका क्रममा उनका श्रीमानले मदिरा सेवन नगर्ने र उनलाई हिंसा नगर्ने बताए ।

प्रहरीमा मिलापत्र भएकै बेलुका अबेर घर आएका श्रीमानले अझ बढी कुटपिट र गाली गलौज गरे । महिलाका अनुसार मलाई प्रहरीमा उजुरी किन गरेको ? मेरो घरमा बस्नु पर्दैन । अब त्यतै जा भन्दै कुट्न थालेपछी उनले २०७५ वैशाख ५ गते घर छोडेर हिँडिन् ।

उनी भन्छिन्, ‘अपराध त मेरो श्रीमानले गरेको थियो । तर सजाय मैले भोग्दै छु । मैले घर छोडेर हिँड्नु परेको छ । दुःख पाएको छु । गल्ती गर्ने श्रीमान सुखसाथ घरमै छन् ।’

श्रीमानको लगातारको यातनापछि घर छोडेकी उनी पनि एक संस्थाको आश्रयस्थलमा काठमाडौंमा छिन् । त्यहीबाट होजियारी र मन्टेश्वरी तालिम लिएकी छिन् । उनका ७ वर्षका छोरा पनि उनीसँगै छन् ।

सेफ होममा पुगेपछि घर फर्किनै सक्दैनन्

माथिका महिलाहरूको यथार्थले पनि प्रष्ट पार्छ हिंसामा परेपछि महिलाले नै घर परिवार त्याग्नुपर्ने हाम्रो सामाजिक अवस्था छ । अझ यौनजन्य हिंसामा परेका बालिकाहरूले त आजीवन परिवारको साथ छोड्नुपर्ने अवस्था छ ।

अपराध गर्ने पीडकले कानूनी सजाय भोगे पनि पीडित महिलाहरू त्यो भन्दा ठूलो सामाजिक बहिस्कार भोग्न बाध्य छन् । जिल्लास्थित परिवर्तनशिल सामुदायिक संस्थाले सञ्चालन गरेको सुरक्षित आवास गृह (सेफ हाउस) को तथ्यांक हेर्दा दुई वर्षको अवधिमा आठ जना महिला तथा किशोरी काठमाडौका विभिन्न सुरक्षित आवास गृहमा पठाइएको छ ।

तिमध्य अधिकांश बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिला छन् । सेफ हाउसकी ईन्चार्ज धनकुमारी थापाका अनुसार बढीजसो बलात्कार र यौन हिंसामा परेका महिला तथा बालिकाहरू समाजबाट विस्थापित हुने गरेका छन् ।

‘घरेलु हिंसा, बलात्कार, कुटपिट, मनोवैज्ञानिक भावनात्मक दुव्र्यवहार, जबरजस्ती विवाह, यौन हिंसा लयागतमा परेका महिला तथा बालिकाहरू सेफ हाउसमा आउने गरेका छन्’ उनी भन्छिन्, – ‘बलात्कार र यौन हिंसामा परेका महिला तथा बालिका बढी घर समाजबाट विस्थापित भएका छन् । यहाँ आएपछि फेरि उनीहरू घर फर्केर जानै सक्दैनन् ।’

सेफ हाउसमा आईपुगेका बलात्कार तथा यौन हिंसामा पीडित अधिकांश महिला र बालिकाहरूले घरको धेरै याद गर्ने गरेको पनि उनले बताइन् । ‘यहाँ आएका महिला र बालिकाले घरको, आमाको, आफन्त तथा भाइबहिनीलाई धेरै सम्झन्छन् ।’ ईन्चार्ज थापा भन्छिन् ‘आफन्त परिवारको यादमा टोलाउँछन्, सम्झेर रुने कराउने पनि गर्छन् ।’

ओखलढुंगामा एक मात्र सुरक्षित आवास गृह छ । उक्त सेफ हाउस मार्फत तीन वर्षको अवधिमा एक सय २७ जना महिला तथा बालिकाले सेवा लिएको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तीन आर्थिक वर्षको तथ्यांक अनुसार महिला पीडित भएका ३२ मुद्दा दर्ता भएका छन् । जस मध्ये सबै भन्दा बढी बजरजस्ती करणीका मुद्दा छन् ।

आर्थिक वर्ष २०७३\०७४ देखि चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १३ वटा जबरजस्ती करणीका मुद्दा जिल्ला प्रहरीमा दर्ता भएका छन् ।

यस बाहेक १० वटा जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जबरजस्ती करणी मुद्दाका पीडितहरू घर फर्किन सक्दैनन् । प्रहरी कार्यालयबाटै उनीहरूलाई सुरक्षित आवास गृहमा पठाइने गरिएको छ ।

(एसबी जेरो ओखलढुंगाबाट पत्रकारिता गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: