‘महिला’ पनि कृषक ?


प्रकाशित मिति :2018-12-10 12:58:30

-टंकबहादुर क्षेत्री-

सर्लाही । हरिवन नगरपालिका–८ चापिनीकी शोभा खड्का मंसिरको दोस्रो साता छिमेकीको घरमा हाडे बोडीको कोसा सुकाउँदै गरेको भेटिइन् । ४७ वर्षीया शोभाले बेच्नको लागि बोडी खेती गरेकी थिइन् । सोचेजस्तो भाउ नआएपछि बोडी बोटमै सुकाइन् । तिनै बोडी टिपेर दाना निकाल्न सुकाएकी रहिछन् ।

‘यसपाली हरियो बोडीले भाउ नै पाएन । अनि सुकाएर दाना निकाल्न लागेको’ उनले भनिन्, ‘यसपाली बोडी खेतीमा धोका पाइयो ।’ शोभा एकल महिला हुन् । परिवारको आम्दानी गर्ने मुख्य व्यक्ति पनि । त्यसैले उनी उज्यालो भएदेखि नै खेतमा पुगिहाल्छिन् । तरकारी खेतीका लागि बारीमा नङ्ग्रा खियाउँछिन् । अहिले उनको खेतमा परबल र बोडी छ ।

बाेडी सुकाउँदै शाेभा भन्छिन्, ‘खै म कृषक हुँ र ! आईमाई पनि कृषक हुन्छन् !

शोभाको ८ कठ्ठा जमिन छ । हरदिन त्यही जग्गामा काम गरिरहेको भेटिन्छिन् । ‘रातदिन नखटे त परबल र बोडी कसरी फल्छ’, उनले भनिन्, ‘तरकारी नफले आम्दानी हुँदैन । अनि परिवार धान्न गाह्रो हुन्छ ।’

२०६८ सालमा श्रीमान चन्द्रबहादुर बितेपछि शोभाको काँधमा ४ सन्तानको लालनपालन शिक्षा दीक्षाको जिम्मा आयो । उनका ३ छोरी र २ छोरा छन् । एक छोरीको श्रीमानको मृत्यु अघि नै विवाह भइसकेको थियो ।

श्रीमान घर नजिकैको ईन्दुशंकर चिनी उद्योगमा स्थायी जागिरे थिए । आम्दानीको लागि शोभालाई चिन्ता थिएन । श्रीमानको मृत्यु पछि पारिवारिक जीविकासहित छोराछोरीको शिक्षा दीक्षाको जिम्मेवारी शोभाको काँधमा आयो ।

सुरुमा त के गर्ने उनलाई मेसो नै भएन । पछि आफ्नो ८ कठ्ठा जमिन आम्दानीको स्रोत ठानिन् । त्यसपछि तरकारी खेती थालिन् ।  ‘परिवारको मुख्य अभिभावक गुमाउँदा पहिला त साह्रै आँत्तिएकी थिएँ’, शोभाले भनिन्, ‘तर छोराछोरीको भविष्य सोचेर तरकारी खेती सुरु गरें ।’

शोभा पूर्णरुपमा कृषक भएको ७ वर्ष बितिसकेको छ । आफ्नै खेतमा लगाएको तरकारीको आम्दानीबाट १ छोरी र २ छोरा पढाउँदै आएकी छन् ।

तर, उनलाई आफू कृषक हुँ भन्ने लाग्दैन । शोभाले आफूलाई कृषक नठान्नुमा कारण पनि छ । शोभाले कारण खुलाइन्, ‘खै म कृषक हुँ र ! आईमाई पनि कृषक हुन्छन् ! पुरुषहरू पो कृषक भन्दै तालिमहरूमा जाने गरेका छन् । ठाउँठाउँमा भाषण गर्दा पनि म किसानको छोरो हुँ भन्छन् ।’

उनले प्रतिप्रश्न पनि गरिन्, ‘अहिलेसम्म कृषक भनेर कसैले खेती सम्बन्धी तालिम लिन बोलाउँदैनन् । कुनै अनुदान पनि पाइएको छैन । अनि कसरी हामी जस्ता महिला किसान भइयो र ?’

साधारण लेखपढ गरेकी खड्का गाउँमा हुने विभिन्न विकासका कामका लागि गठन हुने उपभोक्ता समिति, टोल सुधार सम्बन्धी छलफल वा कृषि सम्बन्धी तालिम, छलफल वा कार्यक्रममा कहिल्यै सहभागी भएकी छैनन् ।

‘त्यस्ता छलफलमा सबै पढेलेखेका र जान्ने सुन्नेहरू हुन्छन्’, उनले भनिन्, ‘सार्वजनिक ठाउँमा बोल्न डर लाग्छ । नपढेकालाई कसैले गन्दैनन् । अनि हामी जस्ता महिलाको त्यहाँ के काम ?’

रातदिन खेती गरेर परिवार धान्दै आएकी खड्कालाई कृषि सम्बन्धी हेर्ने सरकारी कार्यालय कहाँ छ ? तरकारी खेतीका लागि प्राविधिक सहयोग वा अनुदान आउँछ कि आउँदैन ? लगायत थाहा छैन ।

 ‘खै बढी फलाउनका लागि थरी थरीका तालिम आउँछ रे भन्ने चाहिँ सुनेकी छु’, उनले गुनासो गरिन्, ‘तर मैले अहिलेसम्म केही थाहा पाएकी छैन ।’ तालिम पाए, अनुदान सहयोग पाए तरकारी खेतीबाटै घरव्यवहार चलाएकी आफू जस्तालाई निकै टेवा पुग्ने उनको आशा छ ।

०००

खड्का जस्तै वागमती नगरपालिका–८, भूजेलटोली निवासी ३५ वर्षीया विमला भूजेल पनि खेती किसानी गर्दै घर सम्हालेर बसेकी छिन् । श्रीमान झपड भूजेल ४ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेयिबा छन् ।

२ छोराकी आमा भूजेलले १५ कठ्ठा जग्गामा धान, मकैसहित तरकारी खेती गर्दै घरव्यवहार सम्हाल्छिन् । ‘खाना पकायो, छोराहरूलाई खुवायो अनि खेतबारीमै दिन बितायो’, उनले दैनिकी सुनाउँदै भनिन्, ‘खेतीबाली नगरे त जागिरले मात्रै कहाँ खान पुग्छ र ?’

 

‘हामी महिलाले कृषक हुँ भन्दै कहाँ हिँड्नु र ?’ – विमला भूजेल

खेतीबाली सबै आफैले सम्हालेपनि आफूलाई कृषक हुँ भन्ने चाँही अहिलेसम्म महसुस भएको छैन । ‘हामी महिलाले पनि कृषक हुँ भन्दै कहाँ हिँड्नु र ?’ उनले भनिन्, ‘पकाउने खुवाउने, लुगा धुने सबै काम आफैले गर्नुपर्छ । त्यसैले खेतबारी हेर्यो अनि घरकै काम गर्यो ।’

कृषक हुँ भन्दै तालिम, गोष्ठी आदि कार्यक्रममा हिँडन थाल्यो, नेता जस्तो भाषण गर्न थाल्यो, विभिन्न समितिहरूमा बस्न थाल्यो भने गाउँ समाजमा अनेकखाले कुरा काट्ने डर भुजेलको मनमा छ । त्यही डरले उनलाई घरबाहिर निस्कनै मन लाग्दैन ।

हुन त कृषि सम्बन्धी तालिम लिन मन पनि छ । तालिम पाए सिकेअनुसारको खेती गरेर राम्रो आम्दानी होला भन्ने पनि ठान्छिन् । ‘कृषि सम्बन्धी तालिम, प्राविधिक सहयोग अनि बिउ बिजनमा अनुदान पाए त साह्रै राम्रो हुन्थ्यो’, उनले भनिन्, ‘खै कतै केही खबरै गर्दैनन्, गाउँका टाठाबाठाले भित्रभित्रै आ–आप्mना मान्छेलाई तालिम, अनुदान जस्ता फाईदा दिलाउने गर्छन् ।’

०००

जिल्लाकै दक्षिणी क्षेत्रस्थित बरहथवा नगरपालिका–५, हातिडण्डाकी अनिता मंग्राती पनि रातदिन खेती किसानी गर्छिन् । तर उनले अहिलेसम्म आफूलाई कृषक हुँ भन्दै कतै चिनाउन सकेकी छैनन् र चिनाउन चाहेकी समेत छैनन् ।

वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा कार्यरत श्रीमान कर्णबहादुर १ वर्षअघि स्वदेश फर्किएर अटो (टेम्पो) चलाउन सुरु गरेका छन् । ‘उहाँ अटो चलाउनु हुन्छ, म खेतबारी हेर्छु । बचेको समय सिलाइ कटाइ गर्छु’, अनिताले भनिन् ।

उनका अनुसार १५ कठ्ठा जग्गामा सिजन अनुसार धान, मकै तथा तरकारी उब्जाउने गरेकी छिन् । श्रीमान भाडामा अटो चलाएर हिँड्ने गरेकाले सम्पूर्ण खेतीबारी उनैको जिम्मामा छ ।

‘अचेल त सबै ईमेल, ईन्टरनेट हेर्छन् । सबै कम्प्युटर र मोबाईलमै पढ्छन् । खेती किसानीको कुरा पनि त्यही हुन्छ रे’ – अनिता

तर खेतीबारी सम्हाल्ने अनिताले अहिलेसम्म कृषक हुँ भनेर गर्व गर्न सकेकी छैनन् । उनलाई त आफू गृहिणी मात्रै हुँ झैं लाग्छ । भन्छिन्, ‘हामी जस्ता महिला त घरधन्दा गर्नेकै रुपमा चिनिन्छौं नि । पुरुषहरूले पो किसानको चिनारी पाउँछन् ।’

अनिताले स्थानीय स्तरमा गठन भएका सामाजिक एवं सार्वजनिक कुनै पनि संघ संस्थामा आफू आवद्ध नरहेको बताईन् । ‘महिला अधिकारका लागि भन्दै नारा जुलुस गर्नुपर्यो भने हामी जस्तालाई खोज्छन्’, उनको गुनासो थियो, ‘केही पाईने ठाउँमा त खबर नै गर्दैनन् ।’

अनिताले पढेकी छैनन् । त्यसैले पनि सार्वजनिक ठाउँमा आफू जान सक्दिन झैं लाग्छ । उनलाई आजसम्म तिमी पनि किसानको पहिचान साथ अघि बढ्न सक्छौ भनेर आँट भर्ने पनि कोही छैनन् ।

‘अचेल त सबै ईमेल, ईन्टरनेट हेर्छन् । सबै कम्प्युटर र मोबाईलमै पढ्छन् । खेती किसानीको कुरा पनि त्यही हुन्छ रे’, उनले भनिन्, ‘आफू त्यस्तो केही जान्दिन । अनि कहाँ कस्तो सेवा सुविधा पाईन्छ ? थाहा पनि छैन र माग्न पनि जाने गरेको छैन ।’

०००

शोभिता खड्का ३९ वर्षकी भइन् । उनको घर बागमती नगरपालिका शंकरपुर हो । शोभिताको काम खेतीपाती र घरधन्दा हो । उनले भनिन्, ‘दुःख गरेअनुसार कृषिले हाम्रो परिवारलाई राम्रो साथ दिईरहेको पनि छ ।’

आफ्नो १० कठ्ठा र ३० कठ्ठा बटैया (अँधिया) मा लिएकोसहित २ बिघा खेतमा उनको परिवारले पसिना बगाउँछ । सिजन अनुसार विभिन्न खेतीबाली गर्नका लागि उनी श्रीमान भन्दा बढी खट्छिन् ।

कृषक हुँ भन्दै ठूलो कुरा गर्न थाल्यो भने घरव्यवहार नै चौपट हुन्छ – शाेभिता

२ भैंसी, एकहल राँगा, २ गाई र ९ खसीबाख्रा समेत पालेकी शोभितालाई बिहान उठेदेखि राती ओछ्यानमा नढल्किएसम्म भ्याईनभ्याई हुन्छ । शोभाका २ छोरी र १ छोरा छन् । जेठी छोरी काठमाडौं कलेजमा पढ्न थालेकी छिन् । १ छोरा र १ छोरी स्थानीय विद्यालयमा पढ्छन् । त्यसैले पनि घरधन्दामा सघाउने कोही छैनन् ।

गाईभैंसी अनि राँगा र खसी बाख्रालाई घाँस काट्ने, दाना खुवाउने, खोले पकाउने लगायत काम गर्नका लागि भ्याई नभ्याई हुन्छ । त्यसैले घरधन्दा सकेपछि खेतबारी अनि पशुपालनको लागि एकछिन फुर्सद पाउँदिनन् शोभिताले ।

‘फुर्सद भनेको त हुँदै हुँदैन । घरधन्दा सकिनेबितिकै घाँसदाउरा अनि खेतबारीमा पसिना बगाउनैपर्छ’, उनले भनिन्, ‘यही खेतबारीमा फलेको धान, मकै, उखु, आलु जस्ता बालीनाली बेचेर र पशुपालनबाटै घरव्यवहार धान्नु परेको छ ।’

खेती किसानीबाटै घरव्यवहार चलाउन सकिएको र ३ लाख रुपैयाँ बचत गरेर जमिन समेत किनेको उनले गौरवसाथ सुनाइन् । ‘खेती किसानीबाटै सन्तुष्ट छु’, शोभिताले भनिन्, ‘खान लाउन पुगेकै छ, छोराछोरीलाई पनि पढाउन सकेकी छु र बचत भएको पैसाले जमिन समेत किनेको छु ।’

कृषि पेशाबाटै जीवन चलाउँदै आए पनि शोभालाई कृषक हुँ भन्ने कहिल्यै लाग्दैन । ‘हामी महिलाले किसान हुँ भन्दै कहाँ हिड्नु र ?’

कृषक हुँ भन्दै ठूलो कुरा गर्न थाल्यो भने घरव्यवहार नै चौपट हुने उनको भनाइ छ । ‘कहिलेकाहीँ घरायसी कामले कतै हिँड्नु पर्ने अवस्था आयो भने राती चाँडै उठेर बस्तुभाउ लगायत घरको सबै काम भ्याउनु पर्छ’, उनले भनिन्, ‘नत्र हिँड्नै पाईदैन ।’

खेतबारीमै दिन बिताउने शोभितालाई कृषि सम्बन्धी जानकारी पाउन भने अथाह मन छ । तर आजसम्म कसैले बोलाएका छैनन् । न त उनी खोज्दै गएकी छिन् ।

०००

४७ वर्षीया याङ्ग्रीमाया मोक्तानको घर हरिवन–८, नारायणचोक हो । बिहान उठेर खाना बनाउने, लुगा धुने लगायत घरधन्दा सकिनेबित्तिकै याङ्ग्रीमाया खेततिर दौडिहाल्छिन् ।

आप्mनो भनेको २ कठ्ठा मात्रै जग्गा छ । त्यसैले तरकारी खेती गर्नकै लागि उनीहरूले एक विगाहा जमिन ठेक्कामा लिएका छन् । अहिले ठेक्कामा लिएको जमिनमा परबल, बोडी, गोलभेँडा, खोर्सानी लगायत तरकारी छन् ।

उनका श्रीमान सानु तरकारीकै व्यापार गर्ने गर्छन् । दिनभरजसो अर्काको खेतको तरकारी संकलन गर्दै बजारमा बेच्न लाने र साँझतिर मात्र घर फर्किन्छन् । खेतबारी याङ्ग्रीमायाले नै हेर्छिन् ।

‘भरसक आफैले भ्याउने गरेको छु, सबै आफैले मात्र गर्न सकिँदैन, अनि गोडमेल, खनजोतमा कहिलेकाँही जन (खेताला) पनि लगाउने गरेको छु’, उनले भनिन्, ‘के गर्नु घरधन्दा र खसीबाख्रा पनि हेर्नै पर्यो ।’

याङ्ग्रीमाया मोक्तान भन्छिन् -‘म कहाँ कृषक हुँ ! बरु बुढोलाई पो कृषक भन्दा हुन्छ’

छोरी सुस्मिता स्नातक तह दोस्रो वर्ष र छोरा सुमन १२ कक्षामा काठमाडौमैं राखेर पढाईरहेका छन् मोक्तान दम्पतिले । ‘घर व्यवहार चलाउन, छोराछोरीलाई काठमाडौंमा राखेर पढाउन साह्रै गाह्रो छ नि’, मोक्तानले भनिन्, ‘यही खेतबारीमा दशनंग्रा खियाउने र खसीबाख्रा पालेरै त जेनतेन भ्याईएको छ ।’

उनको दैनिकी र कृषि कर्मबारे थाहा भएपछि ‘तपाईं त साह्रै असल अनि मेहनती कृषक पो हुनुहुँदो रहेछ’ भन्नेबित्तिकै याङ्ग्रीमाया लाजले भुतुक्कै भईन् । ‘हैन है म कहाँ कृषक हुँ ! बरु बुढोलाई पो कृषक भन्दा हुन्छ’, उनले थपिन्, ‘हामीजस्ता आईमाई कहाँ हुनु, लोग्नेमान्छे पो कृषक हुन् नि ।’

उनको गाउँमा कृषि सहकारी संस्था पनि छ । कृषिकै लागि डिप बोरिङ्ग चलाउने जलप्रबन्ध समिति पनि छ । अन्य विभिन्न सामाजिक एवं सार्वजनिक संघ संस्थाहरू पनि बग्रेल्ती छन् । तर ती सबै संघ संस्थाबारे उनी अनभिज्ञ छिन् ।

याङ्ग्रीमायाले अहिलेसम्म कृषि सम्बन्धी कुनै पनि तालिम लिएकी छैनन् । ‘आ कसैले बोलाउँदैन पनि, बोलाई हाले पनि हामी जस्ताको के काम ?’, उल्टै प्रश्न गरिन्, ‘पढेलेखेका, जान्नेसुन्ने र टाठाबाठाले गरिहाल्छन् नि !’

आफ्नै बलबुताले हालसम्म परबल, बोडी, गोलभेँडा, खोर्सानी लगायत तरकारी खेती गरिरहेकी छिन् । ‘रामभरोसा आप्mनै भरले तरकारी खेती गरिरहेकी छु ।’ तालिम नपाएकी उनले यति मात्रै भनिन् ।

पहिचानविहीन किसान महिला

सर्लाही मुलुकमै सबैभन्दा बढी उखु उत्पादन गर्ने जिल्ला हो । त्यस्तै गोलभेँडा समेत सबैभन्दा बढी उत्पादन हुन्छ । अन्य तरकारी बाली र अनाज उत्पादनमा समेत सर्लाही अग्रणी स्थानमा छ । सबै उत्पादनमा पुरुषको तुलनामा महिलाकै बढी सहभागिता रहेको हुन्छ । तर किसानको रुपमा महिलाले सामाजिक पहिचान पाएका छैनन् ।

जिल्लाका राजनीतिक दल, सामाजिक संस्था, सहकारी संस्था लगायत किसान र कृषिकै नाममा गठित संघ संस्थामा पन महिला किसानको प्रतिनिधित्व नगण्य प्राय छ ।

जिल्लामा क्रियाशील राजनीतिक दल नेपाली काँग्रेस, तत्कालिन नेकपा एमाले, तत्कालिन एकीकृत नेकपा माओवादी लगायत मुख्य पार्टीका जिल्ला नगर र गाउँ स्तरीय किसान संगठन छन् ।

‘घरधन्दा, घाँसदाउरा, खेतबारीको काम सम्हाल्ने महिला । बस्तुभाउ हेर्ने महिला । तर, किसानको पहिचान लिने चाहिँ पुरुष ।’

ती संगठनमा पदाधिकारी एवं सदस्यहरू पुरुष मात्रै छन् । महिलाको संख्या त नगण्य प्राय छ । अन्तरपार्टी महिला संजाल सर्लाहीकी संयोजक बुककुमारी थापा समाजले हेर्ने दृष्टिकोण नै फरक भएकाले कृषक महिला पहिचान र पहुँचको सवालमा निकै पछाडी रहेको बताउँछिन् ।

‘कृषिसहित हरेक क्षेत्रमा महिलाको अग्रणी भूमिका र सहभागिता हुन्छ, तर पहिचान, स्वामित्व अनि पहुँचको सवालमा दयनीय अवस्था छ’, थापाले भनिन् । उनले थपिन्, ‘घरधन्दा, घाँसदाउरा, खेतबारीको काम सम्हाल्ने महिला । बस्तुभाउ हेर्ने महिला । तर, किसानको पहिचान लिने चाहिँ पुरुष छन् ।’

कृषिको विकास तथा कृषकको हकका लागि गठित सहकारी संस्थाहरूमा हेर्दा पनि महिलाको नेतृत्व निकै कमजोर छ । जिल्लाका अधिकांश सहकारी संस्थाहरूमा पुरुषको तुलनामा महिला शेयर सदस्य संख्या अधिक छन् । तर सहकारीकर्मीको रुपमा चिनिने र सहकारीको नेतृत्वमा किसान महिलाको पहुँच नै देखिदैन ।

लामो समय सर्लाहीको जिल्ला कृषि विकास कार्यालयमा अधिकृतको रुपमा काम गरेका र हाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हरिपूर्वाका प्रमुख देवानन्द राय पनि महिलाले कृषि क्षेत्रको विभिन्न तालिम, गोष्ठी लगायत कार्यक्रमहरूमा कृषकको रुपमा परिचय दिँदै सहभागिता जनाउने आँट गर्न नसकेको स्वीकार्छन् ।

‘पुरुषको तुलनामा दिनरात खेतबारीमा काम गर्ने, घाँस दाउरा सहित पशुपालनको ठेक्का नै महिलाको भागमा हुन्छ’, रायले भने, ‘तर असल अनि मेहनती किसानको रुपमा पहिचान दिलाउनेतर्फ महिला दिदीबहिनीहरू निकै पछाडि हुनुहुन्छ ।’

आफूहरूले आयोजना गर्ने कृषि सम्बन्धी तालिम, गोष्ठी लगायत कार्यक्रममा महिलाको सहभागिता निकै कम हुने गरेको समेत रायले बताए ।

सर्लाहीमा १ लाख २५ हजार ९ सय ४८ हेक्टर क्षेत्रफल मध्ये ८३ हजार ८ सय ३९ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । २०६८ को जनगणना अनुसार ७ लाख ६९ हजार ७ सय २९ जनसंख्या रहेको सर्लाहीमा ३ लाख ७९ हजार ९ सय ७३ महिला छन् ।

जिल्लामा धान, मकै, गहुँ लगायत खाद्यान्न बाली १ लाख ८२ हजार ५७ मेट्रिक टन भन्दा बढी उत्पादन हुन्छ । भने उखु, तरकारी लगायत नगदे बाली पनि अरबौं रुपैंयाको कारोबार हुने गरेको छ ।

जिल्लामा १ लाख ७ हजार भन्दा बढी परिवार अर्थात ६ लाख भन्दा बढी जनसंख्या कृषि पेशामा आवद्ध छन् । जुन तथ्यांक अनुसार पनि जिल्लाको कुल जनसंख्याको आधा अर्थात झण्डै ३ लाख भन्दा बढी महिला कृषि पेशामा आवद्ध रहेको सहजै अनुमान गर्न सकिन्छ ।

सर्लाहीमा २०७४ असार मसान्तसम्म २ सय ५२ कृषि सहकारी संस्था तथा ८० साना किसान सहकारी संस्थासहित विभिन्न उद्देश्यका ८ सय ४२ सहकारी संस्था कायम रहेको तथ्यांक छ ।

डिभिजन सहकारी कार्यालय मलंगवा खारेज हुनुअघिसम्म उक्त कार्यालयको प्रमुख रहेका विकाउ यादवले कृषि सहकारी संस्थाहरूमा महिलाको सहभागिता अत्यन्त न्यून देखिएको बताए ।

जिल्ला कृषि सहकारी संघ लिमिटेड सर्लाहीका अध्यक्ष एवं लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्का कृषि सहकारीहरूमा पुरुषको तुलनामा महिलाको सहभागिता अत्यन्त न्यून रहेको बताउँछन् । उनले सहकारीमा सहभागिता महिलाको उत्साहजनक भए पनि नेतृत्व भने १० प्रतिशत पनि महिला नरहेको बताए ।

(लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा संचारिका समूह र ‘सही हो’ अभियानको सहकार्य ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: