सरकारी कार्यक्रमले नछोएका कृषक महिला


प्रकाशित मिति :2018-12-08 08:00:06

–रुमा रिजाल–

सुनसरी । करेसाबारीमा लसुन–प्याज, साग–सब्जी रोप्न तयारी गरिरहेको अवस्थामा भेटिइन्, इटहरी–९ कि सरिता चौधरी ।

कुराकानी थाल्दै पहिलो प्रश्नमा ‘तपाई के काम गर्नुहुन्छ ?’ भन्दा उनले जवाफ दिइन्, ‘केही गर्दिनँ । घरमै बस्छु । यसो करेसाबारीमा साग–सब्जी रोप्छु ।’

‘साग–सब्जी बेच्नु पनि हुन्छ ?’ सोध्ने बित्तिकै उनले आफ्नो व्यस्तता सुनाइन्, – ‘घरबारीकै कामले फुर्सद हुँदैन । बेच्न कहिले जानु ?’

सरितासँगको कुराकानीले थाहा हुन्छ सम्पूर्ण समय खेतबारीको काममै बितिरहेको भए पनि आफूले गरेको कृषि कर्म पेशा हुन सक्छ भन्ने उनलाई थाहै छैन ।

कहिले आफ्नो, कहिले अर्काको बारीमा खनीखोस्री गर्दै हुर्किएकी सरिता कृषि कर्ममा सीपालु छिन् । यद्यपि उनले आफ्नो सीपलाई आय आर्जनको काममा लगाउन जानेकी छैनन् ।

‘आफूलाई खान मज्जाले पुग्छ । त्यही भएर यसो बसी खाने बियाँलो मात्र हो,’ उनले भनिन्, ‘अहिलेसम्म तरकारी बेचेको छैन । बेच्न जाने कुरा सोचेको पनि छैन ।’

हाम्रो सेरोफेरोमा सरिता जस्ता धेरै महिला छन्, जो आफ्नो अधिकांश समय खेतबारीको काममा समर्पित गर्छन् । तर यसरी लगानी भइरेको समय र सीपको असुली कृषि कर्मबाट गर्न सक्दैनन् । चाहँदैनन् ।

सरिताकै सुँगुरको खोर खाली भएको हप्तादिन मात्रै भयो । बनीबुतो गरेर जोडी पाठा खोरमा हालेकी थिइन् । पाठालाई पर्याप्त स्याहार नपुग्दा राम्ररी फस्टाउन सकेनन् । वर्षदिन पाल्दा पनि पाठा राम्ररी नहुर्किएपछि उनले सुँगुर मासिन् ।

आर्थिक रूपमा विपन्न सरिताका श्रीमान् रोगी छन् । दुई छोरी र एक छोरा पढ्ने उमेरका छन् । आम्दानीको दिगो स्रोत छैन । पर्याप्त जग्गा पनि छैन । बाहिरी काम केही छैन । घरै बस्ने सरिता फुर्सदिली भने कहिल्यै हुन्नन् । उनको सबैजसो समय करेसाबारीमा आफूलाई खाने तरकारी लगाउने, गोडमेल गर्ने काममै बित्छ । बचेखुचेको समय छिमेकीको तरकारी बारी गोडमेलमा लाग्छ । सुँगुरको खोर छ । तर रित्तो छ । पाठो हाल्ने पैसा छैन ।

सरिता चौधरी

सरिताकै छिमेकी ३७ वर्षीया रिता धामीकोे न घर छ, न जग्गा–जमिन नै । लामो समय भयो इटहरी–९ मा डेरा गरी बसेको । रिताले आफूलाई खान हुन्छ भन्दै छिमेकी जग्गावालासँग जग्गा मागेर अधियाँमा तरकारी खेती गर्दै आएकी छिन् । अहिले आफूले गरिरहेको त्यो कामलाई थोरै व्यवस्थित गर्ने हो भने व्यावसायिक हुनसक्छ भन्ने उनलाई पनि थाहा छैन ।

यतिबेला लसुन–प्याज र आलु रोप्ने समय भएकाले रिता बारीमै व्यस्त छिन् । आवश्यक तरकारीको जोहो गर्ने जिम्मा रिताकै हो । घरका छोरा मान्छेहरू बाहिर काम भेटिएको बेला काम गर्न जान्छन्, नत्र त्यत्तिकै समय बिताउँछन् । बारीमा खुट्टै हाल्दैनन् ।

रिताको घरनजिकै जग्गावालाहरूले मुला र आलु खेती लगाएका छन् । त्यो खेतीको रेखदेख र गोडमेल गर्ने काममा पनि सरिता र रिताले समय दिँदै आएका छन् ।

इटहरी उप–महानगरको कृषि शाखा प्रमुख प्रकाश अधिकारीका अनुसार उप–महानगरभित्रको १३ हजार ६ सय ७२ हेक्टर जमिनमध्ये ७ हजार १ सय ५ हेक्टर जमिन खेतीयोग्य छ । र, यहाँ रहेको खेतीयोग्य जमिनमा आधाभन्दा बढी महिलाले नै खेतीपातीको काम धान्दै आएका छन् । तर व्यावसायिक ज्ञानको अभावमा उनीहरूले आफूले गरेको कृषि कर्मबाट अपेक्षित आम्दानी लिन सकिरहेका छैनन् । कृषि पेशा हो, व्यवसाय हो भन्ने सोच नै छैन ।

अर्गानिक सल्लाह

इटहरी उप–महानगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश अधिकारीका अनुसार गत वर्ष १० पुरुष र १५ महिलाले च्याउ खेती तालिम लिए । तर, तालिम लिएर फर्केपछि पाँच–छ जनाले मात्र व्यावसायिक रूपमा खेती गर्न रुचि देखाए ।

सरकारले खेतीयोग्य जमिन सिँचाइमा ७५ प्रतिशत सहुलियत दिन्छ भने अर्गानिक खेती, मल बनाउने तालिम बेमौसमी खेतीका लागि प्लास्टिक टनेल निर्माणका लागि अनुदानको व्यवस्था गरेको छ । तर त्यो सेवा लिन केही गैर–किसान र जो पहुँचमा छ, सधैँ उही मात्र आउने गरेको पाइन्छ । कृषिमा सहुलियत, प्राविधिक सेवा तथा तालिम लिन नजिकको गाउँपालिका वा नगरपालिकाको कृषि शाखामा सम्पर्क राख्नुपर्छ ।

गत असोज महिनामा कृषिसम्बन्धी जानकारी लिन १६ जना पुरुष आए भने महिला ६ जना मात्रै आए । इटहरी उप–महानगरपालिकाको पकलीमा कृषि शाखा स्थापना भएको धेरै सेवाग्राहीलाई थाहा नै छैन ।

शाखामा आउने सेवाग्राहीलाई अर्गानिक खेती गरेर मनग्गे आम्दानी गर्न सकिने सल्लाह दिएको र यसबाट थोरै जग्गामा निर्भर सहरी गरिब, विशेषगरी महिलाहरूलाई सल्लाह र सहयोग दिने गरिएको कृषि शाखा प्रमुख प्रकाश अधिकारी बताउँछन् ।

गर्जो टार्ने कृषि

रामधुनी नगरपालिका १ कि श्यामकुमारी चौधरीलार्ई केही दिन अघिमात्रै आपत् आइपर्यो । १४ वर्षीया छोरी राती पिसाब गर्न खुला ठाउँमा बस्दा गाई–भैँसी बाँध्न ठोकिएको किला यौनाङ्गमा गाडिएर गम्भीर घाइते भइन् ।

धन्न ! त्यो बेला उनीसँग खसी बेचेको पैसा थियो । त्यही पैसाले छोरीको जीवन बचायो । रातारात अस्पताल लगेर छोरीको उपचार गरेको सुनाउँदै श्यामकुमारीले भनिन्, ‘त्यो बेला मसँग खसी बेचेको पैसा नभएको भए छोरीको ज्यान जान पनि सक्थ्यो । अस्पताल पुर्याउँदासम्म धेरै रगत बगिसकेको थियो । उपचारका लागि पैसा खोज्नतिर लागेर अलमल भएको भए जे पनि हुनसक्थ्यो ।’

३५ वर्षीया श्यामकुमारी चार वर्ष पहिले घर बनाउने लेबरको काम गर्थिन् । त्यहाँ उनले ढुङ्गा, गिटी, बालुवा, इँटा ओसार्ने काम गर्नुपथ्र्यो । एकदिन सिमेन्टका बोरा माथिल्लो तल्लामा ओसार्ने क्रममा सिमेन्टको चाङबाट बोरा झरेर उनको खुट्टा भाँचियो । घरधनीले उपचार त गराइदिए तर उनी मज्जाले हिँड्न सक्दिनन् । खुटा भाँचिएपछि उनलाई घर परिवार चलाउनै गाह्रो पर्यो ।

श्यामकुमारी चौधरी

घरमा दुई छोरी र एक छोरासहित श्रीमान् छन् । श्रीमान् स्थानीय मिलमा मजदुरी गर्छन् । कमाएको पैसा घर–व्यवहारमा खर्च गर्न दिँदैनन् । त्यसैले श्यामकुमारीलाई छोराछोरीलाई खुवाउन समेत समस्या पर्न थालेपछि उनले बाख्रा, कुखुरा पाल्न थालिन् ।

सुरुमा एक माउ बाख्राबाट जोडी पाठा जन्मिए । पछि उनलाई बाख्रापालनमा चाख बढ्यो । अरू दुई वटा खसी जोडिन् । अहिले उनीसँग ९ खसी–बाख्रा छन् । ७ वटा कुखुराका माउ छन् । तर उनले पालेका कुखुरा र खसी राम्ररी फस्टाउनै सकेका छैनन् । कति त रोगाएर मरे ।
४ वर्षमा बल्लबल्ल दुईटा खसी बेच्न सफल भएको उनले सुनाइन् । अहिलेसम्म कहीँ–कतैबाट प्राविधिक सल्लाह वा बाख्रा पालनसम्बन्धी कुनै पनि तालिममा सहभागी नभएको चौधरीको भनाइ छ, ‘जति गरेकी छु, आफ्नै विवेकले गरेकी छु’ उनले भनिन् ।

खसी–बाख्रा रोगाएर मर्न थालेपछि उनलाई विरक्त लागेको छ । उनीसँग धेरै जग्ग्गा–जमिन पनि छैन । घाँसपात र खोर व्यवस्थापनमा पनि श्यामकुमारीलाई प्राविधिक ज्ञान छैन । उनलाई कहीँ कतैबाट सहुलियत पाए मिस्त्रीको काममा घरका छ–सात तलामाथि चढेर लेबर काम गर्नुभन्दा घरमै केही गरेर बसेको राम्रो लाग्छ । गरे अनुसारको प्रतिफल लिन नसक्दा भने निरासा छाएको उनले बताइन् । आफूले गरेको कामलाई व्यावसायिक रूप दिने विषयमा उनी अनभिज्ञ छिन् ।

सरकारी अनुदान तथा सहुलियतका बारेमा समेत उनलाई जानकारी छैन । नजिकै रहेको रामधुनी नगरपालिकामा पशु सेवा तथा कृषि शाखाबाट प्रवाह हुने सेवाका बारेमा जानकारी लिन जान हिचकिचाउँछिन् उनी ।

त्यहाँबाट बाख्रा–खसी पाल्दा गोठमा ५० प्रतिशत अनुदान, घाँसका बिउ निःशुल्क, विभिन्न समयमा आवश्यक खोपका सेवा निशुल्क तथा नाम्ले जुकाको औषधिको समेत सुविधा प्राप्त गर्न सकिन्छ ।

महिलालाई कृषिमा आत्मनिर्भर बनाउने विभिन्न तालिम सञ्चालनमा आए पनि ग्रामीण भेगका महिलाहरू भने तालिममा सहभागी हुनै नचाहने कृषि शाखा प्रमुख दुर्गा पराजुली बताउँछन् ।

रामधुनीनगरकै शान्ता कार्कीले १ कठ्ठा जग्गामा तरकारी लगाउन कहिल्यै हलो वा ट्याक्टरको प्रयोग गरेकी छैनन् । अहिले कृषकका लागि भनेर सानै ठाउँमा पनि खनजोत गर्न मिल्ने गरी हाते ट्रयाक्टरसमेत प्रयोगमा आएको छ । शान्ता भने परम्परागत शैलीमा आफैले खनजोत गरेर रोपेको तरकारीले मात्रै उब्जनी दिने बताउँछिन् ।

श्रीमान् कामको सिलसिलामा घरबाहिरै हुन्छन् । शान्ताले घर अगाडि रहेको जग्गामा कोदालोले खनेरै तरकारी लगाउँछिन् । अहिलेसम्म आफूलाई चाहिने आलु, साग, भान्टा, लसुन, प्याज आफ्नै बारीबाट उत्पादन गर्ने गरेको उनले बताइन् । पहिले बारीमा तरकारी नलगाउँदा धेरै पैसा तरकारी किन्नमै खर्च हुने गरेको सम्झिदै शान्ता त्यो तरकारी खरिदको खर्च कटाएर छोरीहरूको किताब–कपी किन्नमा सघाउ पुगिरहेको बताउँछिन् ।

शान्ता पेशाले घर गृहस्थी सम्हालेर बसेकी महिला हुन् । चार छोरीको शिक्षा–दीक्षा लालनपालनमा उनको दैनिकी बित्छ । त्यति मात्रै नभएर करेसाबारीमा अधिकांश समय बित्दै आएको छ । शान्ता भन्छिन्, ‘समय खर्चेर केही उद्योग तथा कलकारखानामा काम गरेको भए महिनाको १० हजार रूपैयाँ हात लाग्थ्यो । बारीमा मरीमरी घोटियो, आफूलाई खान पुग्ने मात्रै उत्पादन हुन्छ । आम्दानीको त कुरैै छोडौँ ।’

गीता श्रेष्ठ

तालिम पाएको भए पो !

रामधुनी नगरपालिकाकै गीता श्रेष्ठका छोराका साथीले च्याउ खेती गर्छन् । आम्दानी पनि राम्रै छ । विदेश जाने योजना बनाएका छोराले घरमा आएर साथीको व्यवसायका बारेमा सुनाए । सुन्नेबित्तिकै गीतालाई च्याउ खेती गर्न जाँगर चल्यो । छोरालाई साथीकहाँ बुझ्न पठाइन् । छोराले बुझेर उनलाई बुझाएकै भरमा वर्ष दिनअघि लामो टहरा बनाएर च्याउ खेती सुरु गरिन् ।

बिना तालिम बिना कसैको सहयोग गीताले सुरु लटमै एक लाख ५० हजार रुपियाँ च्याउ खेतीमा लगानी गर्नुप¥यो । तर उम्रन लागेको च्याउको टहरा भत्कियो । सबैजसो च्याउ नष्ट भए पनि गीताले हिम्मत हारिनन् । अहिले फेरि उनले घर पछाडिको भाग सदुपयोग गर्दै च्याउ लगाएकी छिन् । सवारीचालक श्रीमान् च्याउ खेतीमा समय दिन भ्याउँदैनन् ।

गीताले पनि च्याउ खेतीको तालिम लिएकीे छैनन् । तर अहिले भने च्याउ बरर उम्रिएका छन् । आफूले तालिम बिना नै लगाएको च्याउ खेतीले सन्तोषजनक आम्दानी दिइरहेको उनले बताइन् । उनलाई तालिम तथा सहुलियत लिएर च्याउ खेतीलाई व्यावसायिक बनाउन मन छ । ‘तालिमै छैन । तालिम पाए अझ राम्ररी काम गर्न हुन्थ्यो’ उनले भनिन् ।

त्यसो त रामधुनी नगरपालिकामै गत वर्ष कृषिसम्बन्धी तालिम आयोजना भएको थियो । सो तालिममा १ सय ६६ जना महिला र १ सय १८ जना पुरुष सहभागी थिए । त्यसमा गीता परिनन् ।

तालिम हुँदै छ भन्ने थाहा पाएर गीता स्वयम्ले चासो राखिन् । छोरीलाई सोध्न पठाइन् । तर, प्रक्रियामा आउनुपर्ने र निश्चित व्यक्तिलाई मात्र तालिम उपलब्ध गराउने नगरपालिकाबाट प्रतिक्रिया आएपछि उनी आफूले जति जानेको छ त्यतिमै सिमीत भइन् ।

रामधुनी नगरपालिकाबाट प्रधानमन्त्री कृषि परियोजना कार्यक्रमको पकेट कार्यक्रम अन्तर्गत अनुदान पाउने महिला व्यवसायी ३ जना छन् । २०७५ सालमा नगरपालिकाबाट कृषिमा अनुदान पाउने महिलाको सङ्ख्या १ सय ८ छ । यी कुनै पनि कार्यक्रममा गीता जस्ता धेरै महिलाको पहँुच पुग्न सकेको छैन । रामधुनी नगरक्षेत्रमा २० हजार ४ सय २० हेक्टर जमिन छ । त्यसमा १५ हजार १ सय ६५ हेक्टर खेतीयोग्य छ ।

चाहेर मात्र हुँदैन

बराहक्षेत्र नगरपालिका चक्रघट्टीकी ३९ वर्षीया गीता श्रेष्ठले २ वर्षअघि खेती थालिन् । घर छेउकै आफ्नै जग्गामा धान रोप्नुको साटो उनले तरकारी फलाएर बेच्ने योजनासहित साग खेती सुरु गरिन् । हुन त गीता आफूलाई चाहिले तरकारी पहिले पनि आफैँ फलाउँथिन् । त्यो बेला परिवारमा मेल थियो । सबैको साथ र सहयोग पनि । जब गीताका श्रीमानले दोस्रो बिहे गरे, गीता घर–परिवारबाट एक्लिइन् ।

बालक छोरो हुर्काउने जिम्मेवारी गीताकै काँधमा आयो । आम्दानीको स्रोत कुनै थिएन । त्यसपछि उनले करेसाबारीमा साग रोपेर दुई–चार पैसा कमाइ हुने आसमा खेती सुरु गरिन् । मेहनत गरिन् । साग बेचेर दुई–चार पैसा हात लाग्न थालेपछि सुरु–सुरुमा निकै खुसी भइन् उनी । छरछिमेक, आफन्त, इष्टमित्रले किनिदिएर गीतालाई हौस्याए । बिस्तारै उनले उत्पादन गरेको सागले बजारमा उचित मूल्य पाउन छाड्यो ।

एक्लो ज्यान साग बोकेर बजार–बजार डुल्दै हिँड्न सम्भव भएन । सिँचाइका लागि पनि समस्या हुँदै गयो । त्यसपछि गीतामा जागेको जाँगर सेलाउदै गयो । उनले बिस्तारै साग खेती छाडिन् । गीता भन्छिन्, ‘गर्नु त भन्यो तर भनेरै मात्रै नहँुदो रै’छ । मेहनत गर्यो मरीमरी, आम्दानी भने तरीतरी भने जस्तै भयो । मैले फलाएको साग बजारमा आउने सागभन्दा फरक र नफस्टाएको हुन्थ्यो । बिक्नै छाड्यो । अनि रोप्नै छोडिदिएँ ।’

पछिल्लो समय कृषि पेशामा आकर्षण भए पनि व्यावसायिक सीप र बजारको माग व्यवस्थापन गर्न नसक्दा महिलाहरूको काम दीर्घकालीन हुन सकेको छैन ।

८० प्रतिशत कृषकमा नपुगेको कृषि कार्यालय

अहिले सुनसरीमा पुरुष विदेशिएका कारण तथा बाह्य पेशामा लागेका कारण कुल हिस्साको १ तिहाइभन्दा बढी महिला कृषिमा आबद्ध रहेको कृषिविज्ञ राजेन्द्र उप्रेती बताउँछन् । यतिका सङ्ख्यामा आबद्ध भएका महिलाले यही कर्मलाई पेशा वा व्यवसायका रूपमा अघि बढाउन भने नसकेको विज्ञ उप्रेतीको भनाइ छ ।

उप्रेतीका अनुसार सरकारी स्तरबाट दिइने तालिम तथा सहुलियत दीर्घकालिन नहुनु र तालिम लिएर आएपछि केही त्यही तालिममा सिकेको कुरा व्यवसायका रूपमा अघि बढाउनका लागि धरौटी राख्ने पुँजीको अभावमा पनि धेरैजसो महिला कृषि व्यवसायमा अघि बढ्न नसकेका हुन् ।

परम्परागत कृषिले खर्च धान्न गाह्रो हुने हुँदा आधुनिक प्रणालीमा जान आवश्यक सीपको खाँचो छ । महिलाले उत्पादन गरेको कृषि उपजको बजारीकरणको समस्या छ भने कृषिसँग सम्बन्धित सरकारी कार्यालय २० प्रतिशत मानिससम्म मात्र पुगेकाले पनि सरकारीस्तरबाट प्रवाह हुने कृषिसम्बन्धी सहुलियतका बारेमा धेरैलाई थाहा छैन ।

बाँकी ८० प्रतिशत कृषक कृषि विशेष सरकारी कार्यालयको पहुँच बाहिर रहेकाले पनि कृषिमा व्यावसायिक बन्न समस्या हुँदै आएको विज्ञ उप्रेती बताउँछन् ।

नयाँ संरचनामा कृषि

सरकारले सङ्घीयता कार्यान्वयनको चरणमा स्थानीय तहमा समायोजन भएको जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि नयाँ संरचनाको कृषि ज्ञान केन्द्र स्थापना गरेको छ ।

यसअघि सुनसरी जिल्लामा रहेको जिल्ला कृषि विकास कार्यालय स्थानीय तहमा गएपछि सरकारले जिल्लामा हुने विभिन्न किसिमका कृषिसँग सम्बन्धित काम गर्न कृषि ज्ञान केन्द्र खोलेको हो ।

यस अघिका कृषि विकास, भूमि व्यवस्था र गरिबी निवारण सहकारी मन्त्रालय समायोजन भएर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बनेपछि जिल्ला कृषि विकास कार्यालय गाउँपालिका, नगरपालिकाको शाखाको रुपमा रहेको छ । त्यही कार्यालयको अभाव पूर्ति गर्न मन्त्रालयले प्राविधिक काम र कृषिको योजना बनाउने काम गर्न कृषि ज्ञान केन्द्र खोलेको हो ।

हाल सुनसरीको साविकको कृषि कार्यालय रहेको स्थान इनरुवामै कृषि ज्ञान केन्द्र छ । सोही कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार जिल्लामा १ लाख २५ हजार ७ सय हेक्टर क्षेत्रफल जमिन छ । जसमध्य खेतीयोग्य जमिन कुल क्षेत्रफल जमिनको ६५ प्रतिशत छ (८१ हजार ७ सय ५७ हेक्टर) रहेको छ । यति क्षेत्रफलको जमिनमा पनि विशेष गरी खेतीपाती हँुदै आएको जमिन भनेको ७४ हजार ३ सय हेक्टर छ ।

कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुुख बौवालाल चौधरीका अनुसार अहिले प्रदेशमा कृषिसम्बन्धी नियम निर्देशिका तथा नियमावली बनिसकेको छैन । निर्देशिका अभावमा कृषि ज्ञान केन्द्रले केही पनि काम गर्न सकेको छैन । उनले भने, ‘निर्देशिका आएपछि काम थालिने छ ।’

प्रदेश नम्बर १ का कृषि विकास निर्देशनालय प्रमुख वेनु प्रसाईका अनुसारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जिल्लामा कार्यक्रमहरू पठाइसकेको भए पनि कार्यविधि नबनेकोले कार्यक्रम सञ्चालन हुन भने केही समय लाग्नेछ ।

(लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा संचारिका समूह र ‘सही हो’ अभियानको सहकार्य ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: