सीप र संघर्षको डिग्री


प्रकाशित मिति :2018-12-06 11:39:55

-रुपा गहतराज-

नेपालगन्ज/ ‘महिलामा आँट नै हुँदैन । गर्नै सक्दैनन् ।’ कुनै समय व्यवसायमा लाग्न चाहने महिलामाथि यस्ता टिप्पणी आउँथे । अझ गाउँघरमा त ‘महिलाले घर नधानेर व्यवसाय गरे घर कसरी चल्छ ?’ यीनै प्रश्नहरूलाई छिचोलेर बाँकेका केही महिला आफ्नै श्रम र सीपमा उभिएका छन् । उनीहरू आफू स्थापित भएको मात्रै होइन अरुका लागि प्रेरणाको स्रोत समेत बनेका छन् । औपचारिक शिक्षा नभए पनि आफ्नै श्रम र सीपमा स्थापित ६ महिलाको कथा हेरौंः–

नेपालगञ्ज उपमहानगरपालिका भित्रको साँघुरो बजार एकलैनी । मुस्लिम समुदायको बाक्लो बस्ती छ । ३५ वर्षकी कमरुन निशा अन्सारीको घर पनि त्यही वस्तीमा छ । कमरुनको घरमा लुगा सिलाउने मेसिन छ । यही मंसिर पहिलो साता कमरुनको घर पुग्दा उनी मेसिनमा लुगा सिलाइरहेकी थिइन् ।

त्यही दिन उनले कपडा ग्राहकलाई बुझाउनु पर्ने रहेछ । त्यसैले मेसिन चलाउँदै आफ्ना कुरा बताउँदै थिइन् । यसरी काम गर्न थालेको कति भयो ? प्रश्न सकिनेबित्तिकै ११ वर्षअघिको समय सम्झिइन् ।

११ वर्षअघि, अहिले झैं उनको जीवन व्यस्त थिएन । संयुक्त परिवारको भान्छाभित्र नै उनको जीवन घुमिरहन्थ्यो । महिला, त्यसमाथि मुस्लिम । काम गर्न त परै जाओस् घरबाट निस्कन पनि अनुमति हुँदैनथ्यो ।

उनको न हातमा सीप थियो न त्यसका लागि सहयोग र समर्थन गर्ने परिवार नै । तर, घरको आर्थिक अवस्था भने अस्तव्यस्त थियो ।

आफ्नै पसलमा कमरुन निशा अन्सारी ।

अनुमति नभएर पनि घर चलाउन पैसा कमाउनुपर्ने स्थिती थियो उनलाई । उनी हरेक दिन आफूलाई कसरी काममा लगाउने सोच्न थालिन् । त्यही समय घर नजिकै एक गैर सरकारी संस्थाले मुस्लिम महिलालाई सिलाइ कटाइ तालिम दिँदैछ भन्ने थाहा पाइन् ।

उनलाई त ढुंगा खोज्दा देउता मिलेझैं भो । तालिम लिने निर्णय एक्लैले लिइन् । तर, परिवारबाट अनुमति भएन । जसरी पनि तालिम लिने भन्ने दृढता उनमा थियो । त्यसैले परिवारलाई ‘कन्भिन्स’ गराएरै छोडिन् । र तीन महिना सिलाइ कटाइ सिकिन् ।

सिकाइले कमरुनलाई काम गर्ने उत्साह थप्यो । तर सीपलाई व्यवसायिक रुपमा अगाडि लैजान न सिलाइ कटाइका लागि मेसिन थियो, न पैसा । कमरुनको सिलाइ कटाइलाई पेसा बनाउने सोचलाई उनकै नन्दले सघाउन तयार भइन् ।

नन्दले विवाहमा दाइजो पाएको मेसिन भाउजुलाई दिने निर्णय गरिन् । कमरुन सम्झिन्छिन्, ‘नन्दले विवाहमा पाएको मेसिन मलाई दिएकोले मेरो कमाउने बाटो खुल्यो ।’ त्यसपछि उनको सिलाइ कटाइ यात्रा सुरु भयो ।

घरमै बसेर कपडा सिलाउँदै आएकी उनले सुरुसुरुमा हात बसाउन आफ्नै परिवार र गाउँलेका कपडा सिलाइन् । जब सिलाइमा पोख्त हुँदै गइन् त्यसपछि सिलाएबापतको ज्याला निर्धारण गरिन् ।

भन्छिन् ‘सुरुमा सित्तैमा धेरैका लुगाा सिलाएँ, अब कमाउन पनि थालेकी छु । यसबाट नै मेरो परिवार चलेको छ । केही रकम बचत गर्न सक्ने भएकी छु ।’

अहिले दिनमा ३ देखि चार जोर कुर्ता सलवार सिलाउने उनले बताइन् । एक जोर कुर्ता सलवार सिलाएबापत डिजाइन र कपडा हेरेर २ देखि ३ सय रुपैयाँसम्म ज्याला लिन्छिन् ।

घरमा पाहुना आए पनि काम बिसाएर कुरा गर्ने फुर्सद हुँदैन कमरुनलाई । श्रीमान् जाफर हुसेन राजनीति गर्छन् । उनको नियमित आम्दानी हुँदैन । एक छोरा र एक छोरीको पढाईदेखि लालनपालनको सबै खर्च कमरुनकै कमाइबाट चल्छ ।

नेपालगञ्ज बजारमा धेरै सिलाइ पसल छन् । तर पनि उनकोमा कपडा सिलाउन आउने धेरै हुन्छन् । कमरुन भन्छिन्, ‘सुरुमा घरको आर्थिक अवस्था ठिक थिएन । श्रीमानको कुनै रोजगारी पनि थिएन । घर चलाउन मुस्किल थियो । अहिले दिनको सात सयदेखि एक हजार रुपैयाँसम्म कमाउँछु ।’

चाडबाडका बेला त झन् उनलाई भ्याइनभ्याइ हुन्छ । उनको बस्तीमा मुस्लिम समुदायको बसोबास बढी छ । मुस्लिम महिला बाहिर गएर पसलमा लुगा सिलाउन चाहँदैनन् । लुगा सिलाउँदा नाप लिनुपर्छ । त्यसैले पनि मुस्लिम महिलाहरू लुगा सिलाउन अन्यत्र नगई कमरुनसँगै आउँछन् । यो कमरुनका लागि अवसर पनि साबित भयो । उनले भनिन्, ‘इदमा त दिनमा दश जोरसम्म लुगा सिलाएँ ।’

कमरुनले आफ्नो काम बिहान बेलुकाको घरधन्दा सकेर मात्रै गर्न भ्याउँछिन् । त्यसैले एक्लैले काम सक्न मुस्किल पर्छ । कुनै बेला त रातिको १२ बजेसम्म काम गर्नुपर्ने उनले सुनाइन् । थप्छिन्, ‘कतिपयलाई त काम गर्न नभ्याएर फर्काउनु परेको छ । आफूलाई काम बढी भएको बेला अरु टेलर्समा समेत काम दिने गरेकी छु ।’

लुगा सिलाउने कामबाटै उनले सबै खर्च कटाएर मासिक १० हजार रुपैयाँ बचत गर्ने गरेको उनले बताइन् ।

कमरुनको छुट्टै सिलाई पसल छैन । घरकै एक कोठामा सिलउँछिन् । र पनि टोल र छिमेकी मात्र होइन अरु बजारका महिला पनि उनलाई खोज्दै आउँछन् । त्यसैले होला उनको यो कामबाट अहिले भने उनका श्रीमान् पनि खुसी भएका छन् । पसल खोल्न सल्लाह दिन्छन् । अब यसैलाई थप विस्तार गर्ने योजनामा छिन्, कमरुन ।

०००
सीप बाँड्दै सरिता

सरिता बोहराले विद्यालय शिक्षा पढेकी छैनन् । सरिताका बुवा उनी सानै छँदा बिते । आमाले विद्यालय पठाउन सकिनन् । १७ वर्षमै विवाह भयो । तर, वैवाहिक जीवन पनि खुसी रहेन । पढलेख थिएन । न त हातमा सीप नै । त्यतिबेला उनलाई जसरी पनि कमाउनुपर्ने बाध्यता थियो ।

कामका लागि धेरै ठाउँ चहारिन् । न पढाई, न सीप रोजागारी दिने कोही निस्केनन् । त्यसपछि सीप सिक्ने निर्णय गरिन् । साथीको सल्लाहमा एक गैरसरकारी संस्थाबाट तीन महिने ब्यूटीसियन कोर्ष गरिन् ।

त्यही सीपले उनलाई अर्थोपार्जनमा सघायो । उनले पार्लर सिकेपछि धेरै ब्यूटिपार्लरमा काम गरिन् । १८ वर्षको उमेरमा उनले तालिम लिएकी थिइन् । तर सँधै अरुको अधिनमा भन्दा आफ्नै काम गर्ने मन लाग्यो उनलाई ।

सरिता बोहरा

आमाले बनाइदिएको सुनको सिक्री २० हजार रुपैयाँमा बेचेर ब्युटिपार्लर खोलिन् । भन्छिन्, ‘अरुको आदेशमा चल्नु भन्दा आफ्नै सानो भए पनि आप्mनै पार्लर खोलें ।’ त्यही बेला ब्युटिपार्लर नै सहज अवसर लाग्यो उनलाई । थपिन्, ‘अभाव र बाध्यताका बीच यही सीप नै मेरा लागि भगवान साबित भयो ।

२० हजार लगानीमा खोलेको ब्यूटीपार्लरले जीवन सहज त बनायो तर, बजारलाई धानेन । बजारमा आधुनिकता र डिमाण्ड बढ्दै गयो । जसका लागि लगानी आवश्यक थियो । त्यसपछि उनले बैंकबाट पटक पटक ऋण लिएर ब्यूटीपार्लरको स्तरोन्नती गरेकी छिन् ।

‘बजार र डिमान्ड बढ्दै छ । पार्लर पनि बढाउनुपर्यो’ उनले भनिन् । अहिले पार्लरले आम्दानीमात्र होइन आत्मविश्वास पनि बढाएको उनको धारणा छ । बोहरा भन्छिन्, ‘धेरै महिलासँग भेट हुन्छ । नयाँ कुरा जान्ने अनि बुझ्ने अवसर पाउँछु ।’

उनले पार्लरमा सेवा मात्र होइन, सीप पनि सिकाउन थालेकी छिन् । उनको पार्लरमा सुर्खेत कालिकोट, रोल्पा सल्यानबाट समेत महिलाहरू ब्यूटी पार्लर कोर्स सिक्न आउँछन् । उलने भनिन्, ‘थोरैलाई भए पनि सीप बाँड्ने अवसर पाएको छु ।’

अरुलाई सीप सिकाउने मात्रै होइन उनी आफूमा पनि सीप थप्दै आएकी छिन् । नयाँ नयाँ डिजाइन, नयाँ मेकअप सिक्न वार्षिक ५० हजारदेखि १ लाख रुपैयाँको खर्च जोहो गरेर तालिम लिन काठमाडौं जाने गरेकी छिन् । बोहरा भन्छिन्, ‘सँधै एउटै डिजाइन रहन्न । नयाँ दिनका लागि नयाँ सीप सिक्नुपर्छ ।’

दुना टपरीले दिएको खुसी

नेपालगन्ज–८ घसियारन टोलकी सोमवती केवटका श्रीमान् ग्यारेजमा काम गर्थे । मादक पदार्थ सेवन गर्ने बानीका कारण घरमा एक पैसो दिँदैनथे । श्रीमानको त्यो बानीले उनको आर्थिक अवस्था खस्कँदै गयो । बजारको बसाई, एक छोरालाई पढाउन पनि सकस पर्न थाल्यो सोमवतीलाई ।

सोमवती आर्थिक समस्याले पिरोलिएपछि पैसा कमाउन कुनै उपाय सोच्न थालिन् । मधेसीमूलकी बुहारी सोमवती राम्रोसँग नेपाली बोल्न जान्दिनन् । पढेकी छैनन् । आर्थिक गर्जो टार्नका लागि उनी सीप सिक्न धेरै ठाउँमा भौतिरिइन् ।

सीप सिक्न पढाइ चाहिने भनिरहेकै बेला एउटा संस्थाले टोलमै दुना, टपरी बनाउने तालिम दिने थाहा पाइन् । दुना टपरी बनाउन सिकिन् । तालिम सकिएलगत्तै उनले काम पनि थालिहालिन् ।

‘टाढा जानुनपर्ने घरको काम पनि गर्न सकिने भएकाले सजिलो भयो’ सोमतीले भनिन् । हातमा सीप भएपछि बजारमा पुगेर पात किनिन् । अनि टपरी गाँस्न थालेको उनले बताइन् ।

१० वर्ष अघिको पहिलो आम्दानीबारे यसरी खुलिन् उनी, ‘घरमा बनाएको दुना टपरी बजारमा बेचेर हातमा दाम हुँदा सुरुमा आफै दङ्ग भएँ ।’ दुना, टपरीको कामले बिस्तारै राम्रै कमाई हुन थाल्यो । परिवारको खर्च उठाउनुका साथै मासिक बचत पनि गर्छिन् ।

कुनै चाडबाड होस् वा तिथी, श्राद्ध घसियारन टोल पुग्नै पर्छ, दुना अनि टपरीका लागि । सोमवतीले दिनमा पचास वटा दुना र टपरी बनाउँछिन् । दुना र टपरी बनाउँदै बेच्दै गरेकी उनले दिनको दशदेखि ५० वटा दुना टपरी बिक्री हुने गरेको बताइन् ।

‘दुना ५ रुपैयाँ र टपरी १० रुपैयाँमा बिक्री गर्छु’ सोमवती भन्छिन्, ‘अर्डर आयो भने दिनमा सय वटा दुना टपरी पनि बनाउन सकिन्छ ।’ चाडबाडको बेला ब्यापार बढी हुने उनले बताइन् ।

दुना टपरी बिक्री नहुँदा भने पात सुकेर जाने उनले बताइन् । पछिल्लो समय भने प्लाष्टिकका भाडाँहरूको प्रयोग बढ्दा उनको दुना, टपरीको व्यापार केही खस्किएको छ । यद्यपि, आफ्नो काम र कमाइबाट उनी सन्तुष्ट छिन् ।

परम्परागत सीपबाट आत्मनिर्भर

अधिकांश महिलाहरू आधुनिक सीप सिकेर आत्मनिर्भर बनिरहेका छन् । त्यसको ठिक विपरित राप्तीसोनारी गाउँपालिका १ कि राधिका विक परम्परागत सीपबाट आत्मनिर्भर छिन् ।

राधिका विक

कठिन र बढी परिश्रम लगाउनुपर्ने भनी छोडिँदै आएको आरनको काम गर्छिन् । २३ वर्षकी राधिका फलामका हतियार बनाउने काममा आरनमा आगो फुक्दै फलाम पिट्दै थिइन् ।

बाँकेको महादेवपुरी गाविसको उदयनपुर गाउँमा उनी मात्र गाउँले किसानकी सहयोगी हुन् । किसानका लागि अति नै उपयोगी मानिने फलामका औजार मर्मत गर्न, धार लगाउन किसानहरू राधिकाकै दैलोमा पुग्छन् ।

आरनको काम छोडेर रोजगारीका लागि विहेलगत्तै श्रीमान् काठमाडौं गएपछि दुई/चार रुपैयाँका लागि श्रीमान नै गुहार्नुपर्ने अवस्था आयो उनलाई । श्रीमान् घरै हुँदा आरानमा सहयोग गर्ने राधिकाले यो सीपलाई पेसाका रुपमा अगाडि बढाउने निर्णय गरिन् ।

राधिका दिनको १५ वटासम्म औजार मर्मत गर्छिन् । उनलाई कहिल्यै काम सानो भन्ने लाग्दैन । २३ वर्षकी उनी अहिले प्लसटुमा अध्ययन गर्दैछिन् । घरका सानादेखि ठूला आवश्यकता यही श्रमले जुटाउँछ ।

राधिकाले भनिन्, ‘ठूला औजार पिट्न गाह्रो भए पनि अहिलेसम्म काम बिगारेको गुनासो सुन्नुपरेको छैन ।’ ६ वर्ष अघि विवाह गरेर महादेवपुरी आएकी उनले श्रीमान्लाई काममा सघाउँदै आएकी थिइन् । उनको ४ वर्षकी छोरी, सासू, नन्द, देवरसँगै संयुक्त परिवारमा बस्छिन् ।

नयाँ हँसिया बनाउँदा २ सयदेखि २ सय ५० रुपैयाँ लिन्छिन् । हँसियामा धार लगाउँदा २५, बन्चरोमा २०, खुर्पामा ३० रुपैयाँ ज्याला लिने गरेको उनले बताइन् ।

दिनमा १५ देखि २५ वटासम्म कृषि औजार मर्मत गर्नुका साथै त्यो औजारलाई धारिलो बनाउने काम सकिने उनले बताइन् । खेतीपातीका समय भने कामको चटारो हुने उनको अनुभव छ ।

सामान्यतया पुरुषले मात्र गर्ने चलन रहेको आरनको काम राधिकाले गरेको देखेर गाउँले पनि उनको प्रशंसा गर्छन् । उनको मेहनत र लगनशिलता देखेर सासू देवमती सुनार पनि हौसला दिन्छिन् । देवमती भन्छिन्, ‘महिलाले सबै काम गर्न सक्छन् । सबै काम गर्नुपर्छ ।’

आँटे सकिन्छ– काली

केही अघिसम्म छोरी चेली घरबाट निस्किए भने कुरा काट्ने मात्रै होइन, नकारात्मक दृष्टिकोणले समेत हेरिन्थ्यो । नेपालगञ्ज–२ मुस्लिम समुदायकी बुहारी काली मियाँको पारिवारिक वातावरण पनि त्यस्तै थियो ।

दशकअघि घर बाहिर निस्केर काम गरौंला र त्यसले पहिचान नै स्थापित गराउला भन्ने मियाँले सोच्ने अवस्था पनि थिएन । जब अभावले रोजगारीको आवश्यकता जन्मायो, त्यसैले उनमा महिलाका लागि घरबाहिर र भित्र भन्ने सोच हटाउने संकल्प आयो ।

काली मियाँ ५० वर्षकी भइन् । पुराना दिनमा आफ्नो आँट र परिवारको टीप्पणी यसरी सम्झिइन्, ‘घरबाट निस्कँदा छिमेकीले मात्रै होइन, घरपरिवारकै सदस्यले पनि काट्नसम्म कुरा काटे । सबैले एउटै शब्द उच्चारण गर्थे । मुखबाट खाने पानी नाकबाट खाई ।’

आज त्यो समय फेरिएको छ । तिनै काली समाज र परिवारको आदर्श बनेकी छन् । छिमेकी र परिवारका सदस्यहरू भन्न थालेका छन्, ‘मेरो छोरा–छोरीलाई सही बाटोमा लगाइदेउ न काली !’

काली मियाँ

सामान्य शिक्षा आर्जन गरेकी अर्घाखाँची अमिलिडाँडाकी काली मियाँलाई घर बाहिरको कुरा केही थाहा थिएन । घरभित्रकै संसारमा हराएकी काली परनिर्भर थिइन् । राम्रोसँग बोल्न समेत आउँदैनथ्यो ।

गाउँमा जन्मिएकी कालीले धेरै पढ्न पाइनन् । समाजमा चलेको चलनअनुसार उनको पनि चाँडै विवाह भयो । परिपक्व उमेर नहुँदै अर्काको घर जानुपर्यो । घरव्यवहार सम्हाल्नु पर्यो, बच्चा जन्मियो, बच्चाको स्याहारसुसार गर्नुपर्यो, यी सब कुरा उनको जीवनमा चाँडै भयो ।

मुस्लिम समुदायमा बुहारी बनेर भित्रिएकी काली संयुक्त परिवारको चुलोचौकमा सीमित भइन् । आफ्ना रहरहरू पुरा गर्न त परै जाओस् घर चलाउन समेत मुस्किल थियो । बेरोजगार श्रीमान् । दुई छोराछोरी थिए ।

केही कुरा चाहिए परिवारकै भर पर्नु उनको बाध्यता थियो । यही बाध्यताका बीच एक दिन साथीहरूबाट सिलाइ कटाइको तालिम हुँदैछ भन्ने खबर पाइन् । तीन महिने तालिममा कालीले पनि सहभागिता जनाइन् । त्यो तालिम कालीको लागि जीवनको कोसेढुंगा बन्यो ।

तालिमको समयमा कालीले गारमेन्टको महत्व र बजार बुझिन् । हातमा सीप पनि भयो । केही गरेरै छाड्ने अठोट गरिन् । मनमा आँट अनि उत्साह र साहस पनि थियो । त्यतिबेला उनीसँग भएका यत्ति तीन कुरा हुन् ।

काली मियाँले आफ्नै जोखिममा ऋण खोजेर २०६८ सालमा ८ हजारको सिलाइ मेसिन र १३ हजारको पेटिकोट बनाउने कपडा किनेर गारमेन्ट उद्योग सुरु गरिन् । ५ रुपैयाँ ज्याला पाउने गरी एउटा पेटिकोट सिलाइन् । दिनमा पाँच रुपैयाँको दरले ५ सय वटा पेटिकोट सिलाएका दिन सम्झँदै कालीले भनिन्, ‘एकै दिनमा २५ सय हँुदै मासिक ५० हजार बन्दै गयो ।’

‘अब यो बिग्री, आफू त बिग्री बिग्री घर परिवारको इज्जत फाली भन्दै नातेदार परिवारले तथानाम कुरा काटे,’ काली सम्झिइन्, ‘तै पनि म बिचलित भइन, निरन्तर काममा लागिरहें ।’

काम गरेर खान उनलाई लाज लागेन । नेपालगञ्जमा उनले एउटा घर भाडामा लिइन् । त्यही कोठामा कपडा सिलाउने मेसिन राखिन् । त्यसपछि सुरु भयो उनको जीवनमा महत्वपूर्ण संघर्ष र सफलताको यात्रा ।

काम गर्दै जाँदा उनको गारमेन्टको कपडाबारे नेपालगञ्जमा अरुलाई पनि जानकारी भयो । विस्तारै पसलवालाहरू कपडा किन्न उनको कोठामै पुग्न थाले । दिनदिनै माग बढ्न थाल्यो । यसले कालीलाई उत्साहित बनायो । पेसामा निरन्तर लाग्ने उत्प्रेरणा मिल्यो ।

काली मियाँ भन्छिन्, ‘गार्मेन्टबाट नै परिवार र छोराछोरीको जीवन धानेकी छु ।’ हुन पनि उनले अहिले कपडा सिलाउने मेसिन पनि थप्दै गएकी छन् । उनको गारमेन्ट उद्योगमा अहिले १५ वटा मेसिन छन् ।

ओभर लक मेसिन किन्नुका साथै, स्वेटर बनाउने पावर फ्लाइ मेसिन किनिन् । कालीले सुरुको गरेको कपडा सिलाउने काम सानो कोठाबाट अहिले ठूलो उद्योगको रुपमा परिणत भएको छ । उनले उद्योगको नाम ‘लुम्बिनी गार्मेन्ट कपडा उद्योग’ राखेकी छन् ।

गार्मेन्ट सुरु गरेको तीन वर्षमै सात करोडको कारोबार भयो । कुनै दिन आफैं रोजगारीको खोजीमा भौतारिएकी काली अहिले अरुलाई रोजगारी दिने भएकी छिन् । ‘३० जना कामदारसँगै अहोरात्र खटिइरहेकी उनीसँग उत्साह छ,’ भन्छिन्, ‘दक्ष कामदार पाइन्छ भने ५ सय जनालाई रोजगारी दिनसक्छु ।’ उनको गार्मेन्टको कपडा मध्यदेखि सुदूरका जिल्लामा समेत पुग्ने गरेका छन् ।

गार्मेन्टको कपडाको माग दिनदिनै बढ्दो छ । माग अनुसारको कपडा अझै पनि बजारमा पुगेको छैन । ‘उत्पादित कपडा बेच्न कतै जानै पर्दैन । अर्डर गरेर कारखानामै लिन आउँछन् । माग पनि बढ्दो छ । आफूले नभ्याएपछि बाहिर पनि काम दिइरहेको छु’, आफ्नो सफलतामा उत्साहित उनी भन्छिन् ।

सहरमा केही सम्भावना नै छैन, केही गर्नै सकिन्न भन्नेहरूलाई एक राम्रो उदाहरण बनेकी छन् काली मिया । गारमेन्ट उद्योगबाट सबै खर्च कटाएर महिनामा केही आम्दानी सजिलै जोगिने उनी बताउँछिन् । काली भन्छिन्, ‘हातमा सर्टिफिकेट नभएर के भो त । सीप छ । सीपमा डिग्री पास गरेको छु । गर्यो भने नेपालमै प्रशस्त सम्भावनाहरू रहेछन् । मैले सामान्य लेखपढ बाहेक गरिन । त्यसमाथि म मुस्लिम महिला । तै पनि म यस अवस्थासम्म आइपुगें । यो नै ठूलो खुसीको कुरा हो । त्यही आत्मविश्वासले हौसला थप्दै जान्छ । अझै बढी गर्ने साहस दिन्छ ।’

विदेशमा चुहाएको पसिना भन्दा आफ्नै श्रम प्यारो

जानकी गाउँपालिका २ घर भएकी ३५ वर्षीया गीता मौर्यको अविवाहित हुन् । उनको काँधमा बाबुआमाको जिम्मेवारी छ । जिम्मेवारी धान्न पैसा चाहियो । त्यसका लागि सीप, लगानी र अवसरको खाँचो थियो मौर्यलाई ।

त्यही बाध्यताले उनी विदेशिइन् । दक्षिण अमेरिकासम्म गइन् । तीन वर्ष पोल्ट्रि फार्ममा काम गरिन् । तर सन्तुष्ट भइनन् । उनमा आत्मनिर्भर बन्ने सपना थियो । विदेशी भूमिका बस्नै मन लागेन । नेपाल फर्किइन् ।

गीता मौर्य

नेपाल फर्किएपछि के गर्ने भनेर पिरोलिनु पर्यो । हातमा सीप त थियो तर लगानी थिएन । मौर्यले हिम्मत गरिन् र आफ्नै जाग्गा धितो राखेर पाँच वर्ष अघि पोल्ट्री फार्मको सुरु गरिन् ।

बुवाले २० कठ्ठा जमिन बैंंकमा राखेर ऋण उपलब्ध गराइदिए । उनले भनिन्, ‘कुनै व्यवसाय गर्न त्यति सजिलो छैन, त्यसबारे प्राविधिक ज्ञान पनि हुन आवश्यक छ ।’

अहिले नेपालगञ्जको गणेशमान चोकबाट करिब ५ किलोमिटर पूर्व गीताको कुखुरा फर्म छ । बिहानै उठ्यो, कुखुराको खोरमा पुग्यो, कुखुराको अवस्था बुझ्यो, दानापानी दियो, बिरामी कुखुरालाई औषधी गर्यो, फोहोर भएका भाँडाहरू सफा गर्यो–यही हो उनको दैनिकी ।

त्यसपछि आफ्नो सरसफाई र खानेकुरा तयार गर्दै गीताको दैनिकी बित्छ । समय र मौसम अनुकूल औषधी खुवाउने, कुखुराको जाँच गर्ने सबै काम उनी आफै गर्छिन् । पाँच वर्षअघि उनले पोल्ट्री फार्म खोलेकी हुन् । ‘अलिकति बाध्यता र बढी रहरले उद्यमी बनायो’, गीताले भनिन्, ‘७ लाखको लगानीमा आफ्नै घरमा पोल्ट्री फार्म सञ्चालन गरेर तीन जनालाई रोजगारी दिइरहेको छु ।’

जुनसुकै व्यवसाय सुरु गर्दा पनि आवश्यक ज्ञान, सीप, बजार, कच्चा पदार्थ आदिको अभाव हुन्छ । त्यस्तै कठिनाई भयो गीतालाई पनि । विदेशमा सिकेको ज्ञान र सीपले सहयोग गरे पनि कतिपय आवश्यक सामाग्री, उपकरण उपलब्ध नहुँदा गीताले सुरुका दिनमा निकै संघर्ष गर्नुपर्यो ।

कुखुराका चल्लाहरू हुर्काउने बेला कति रात त उनी निदाउन समेत पाइनन् । चल्ला नहुर्किंदासम्म कति दिन खाना समेत खान फुर्सद हँुदैनथ्यो । यसरी नै रातदिन गरेको मेहनतले उनलाई सफलता दिलायो । गीताको फर्ममा अहिले ६ हजार कुखुरा बेच्नका लागि तयारी अवस्थामा छन् ।

तीन हजारले अण्डा पार्छन् भने तीन हजार कुखुरा तयार हुँदैछन् । यसरी अण्डाबाट मात्रै महिनामा ५० देखि ६० हजारसम्म कमाई हुन्छ, गीताको । त्यसैगरी कुखुरा बेचेर पनि महिनामा ५० हजार भन्दा धेरैको आम्दानी हुन्छ ।

‘जागिर मात्रै गर्नुपर्छ भन्ने मान्यता हटाउनुपर्छ’, उनले भनिन्, ‘काम सानो र ठूलो हुँदैन । तर, सोच सँधै सकारात्मक राखेर अघि बढेमा अवश्य सफल भइन्छ ।’

उद्योग धेरै पुरुषका, कामदार बढी महिला

पछिल्लो समय साना तथा मझौला उद्योग फस्टाउन थालेपछि बाँकेमा उद्योग खुल्ने क्रम बढ्नुका साथै उत्पादन पनि बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अनुसार बाँकेमा आर्थिक वर्ष २०७४÷०७५ मा करिब ७ सय ८९ वटा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा ६ सय २९ वटा साना उद्योगहरू दर्ता भएका थिए । घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा हालसम्म ५ हजार ३ सय ६२ वटा उद्योग दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७४÷७५ मा मात्र जिल्लामा ७ सय ८९ साना तथा मझौला उद्योग दर्ता भएका छन् । ती उद्योग मध्ये ७ सय १० उद्योग पुरुषले सञ्चालन गरिरहेका छन् भने २ सय ३५ उद्योग महिलाले सञ्चालन गरिरहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रशिक्षक ऋषि पोखरेलका अनुसार, दर्ता भएका उद्योगहरूमा ४ हजार ९ सय ८३ जनाले रोजगारी गरिरहेका छन् । जसमा पुरुष तर्फ एक हजार ६ सय २९ छन् भने महिला तर्फ ३ हजार ३ सय ५४ जना रोजगारी प्राप्त गरेका छन् ।

उद्योगहरूमा अनुमानित लगानी ६ अरब ४४ करोड रहेको छ । यसबाट अनुमानित आम्दानी २० अरब रुपैयाँ हुने पोख्रेलले बताए । पोख्रेलका अनुसार दर्ता हुने अधिकांश कृषि तथा वन जन्यजन्तुतर्फ अत्याधिक रहेका छन् ।

‘आर्थिक वर्ष २०७४/०७५ मा मात्र २ सय ४८ तरकारी, पशुपालन, दुध डेरी, माछापालनका फर्म कृषि उद्योग दर्ता भएका छन् । उत्पादनमुलक अन्तरगत मिल, स–मिल, ग्रिल, फर्निचर १ सय ९२उद्योग दर्ता भएका छन् ।

उनले भने, ‘गत आर्थिक वर्षसम्म १ सय ७५ वटा सेवामुलक उद्योग दर्तामा थिए ।’

त्यस्तै १ सय ७३ वटा होटल, रेष्टुरेन्ट र टुर्स एण्ड ट्राभल्स दर्ता भएका छन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा उत्पादनमूलकतर्फ १ सय ६२, पर्यटन तर्फ १ सय २६, सेवामूलक १ सय ७६ र कृषि तथा वनजन्यमा १ सय ७५ वटा गरी ६ सय २९ उद्योग दर्ता भएका थिए ।

(लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा संचारिका समूह र ‘सही हो’ अभियानको सहकार्य ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: