अंशमा अल्झेको अस्मिता


प्रकाशित मिति :2018-12-04 17:07:20

तीज हाम्रो चाड होइन । तर पनि यो चाड मानेर ब्रत बसेका छिमेकी दिदीबहिनीहरू सित मलाइ पनि मन्दिरमा गएर नाचगान हेर्न मन लाग्दथ्यो । त्यो तीजमा पनि म रातो सारीमा सोह्र सृंगार गरेर साथीहरुसित मन्दिर गएकी थिएँ । हामी समूहमा नाचीरहेका थियौँ । मेरो जेठानी दिदीले मेरो हात च्याप्प समातेर ग्रुपबाट बाहिर ल्याइन् ।

नाचिरहेको ठाउँबाट अत्तालिदै पर तानेपछि म अचम्मित भएँ । “कि भेले दिदी ? कथिला खिच्लीए ?” मैले आफ्नै मातृभाषामा सोधें । अँध्यारो अनुहारमा भक्कानिदै गरेको जस्तो स्वरमा जेठानीले भनिन् “पइने घर चल, निक समाचार नहि छै ।”

मैले केही सोध्न सकिन, ट्वाल्ल परेर केहीबेरसम्म जेठानीको अनुहार हेरिरहें । के नराम्रो खबर आयो भन्दै मन डरायो । अगाडि केही बोल्न सकिन, दौडिए घरतिर ।

घरबाट रुवाबासीको आवाज आएको परैबाट सुनें । पाइला झन लम्किए । घर पुगेपछि थाहा भयो एकछिन अगाडि लगाएको मेरो सिउँदोको सिन्दुर सदाका लागि पुछिएछ ।

अफिस जाँदै गरेको बेलामा मेरो श्रीमान् चढेको मोटरसाइकललाई बसले ठक्कर दिएर उहाँको घटना स्थलमै मृत्यु भएको रहेछ । श्रीमतीको लागि श्रीमानको मृत्युको खबर भन्दा नराम्रो खबर अरु के नै हुन सक्दथ्यो र ? म माथी चट्याँङ्ग खस्यो ।

सरिता अर्याल

भदौ महिनाको मध्यान्ह्को घामले उज्यालो बनाएको त्यो क्षण भरमै मेरोलागि औशीको निस्पट्ट अध्यारो हुन पुग्यो । आँगनमा निलो तन्नाले छोपेको श्रीमानको लासको खुट्टा मुनी पुगेर म लडे । होसमा आउँदा मलाई दलानमा गुन्द्रीमा सुताईएको रहेछ । मेरो वरिपरि गाउँभरिका महिलाहरू बसिरहेका थिए । आँखा आँगनतिर दौडाएँ, मेरो आँखाले आँगन शून्य देख्यो । मलाई मेरो श्रीमानको अन्तिम दर्शन पनि गर्न नदिइ उहाँको लास सदगद गर्न लगिसकेको रहेछ ।

बिहान म मन्दिर जान तयार हँुदै थिएँ, उहाँ अफिस जान । म सारीहरू छान्दा अलमलिएको थिए । त्यो बेला रातो सारी श्रीमानले नै रोजिदिरहनु भएको थियो । मेरो शरीरमा त्यै सारी थियो तर यो सारी लगाउ भन्ने श्रीमान् मबाट धेरै टाढा पुगिसक्नु भएछ ।

मेरो आँखाले किन किन आँगनको निलो तन्ना खोज्यो तर त्यो पनि आँगनमा थिएन । ज्यानमतीले आँगन पखाल्दै गरेको देखे । घरमा के कस्तो हावा हुन्डरी चल्यो भन्ने मेसो पनि नपाएका दुइ छोरी संकुचित भएर एक कुनामा बसेको देखें । मसित आँखा जुधेपछि दुबै छोरी दौडेर मेरो काखमा आइपुगे । बाबुको माया पनि थाहा नपाइकन बाबु गुमाएका छोरीहरूलाई अंगालोमा लिन पुगेपछि मात्र मेरो आँखाबाट आँशु खस्यो । आमा रोएको देखेर होला छोरीहरू पनि रुन थाले ।

घरै अँध्यारो कोठै सुनसान, जीन्दगी उजाड भै सकेको थियो । जति रोए पनि गएको मान्छे फर्किएन् । तोते बोलीमा छोरीहरूले बाबु खोज्दा सासै रोकिएला जस्तो भए पनि मर्ने काल मलाई आएन ।

श्रीमानको एक्सिडेन्ट गराउने बस कम्पनीले एघार लाख जरिवाना दियो । मेरै खातामा पैसा पनि जम्मा गरिदिएको थियो । तर उहाको मृत्युको दुइ महिना नपुग्दै ससुरा र जेठाजुले चेकमा सहिगर्न लगाएर त्यो पैसा लिनु भयो । घरमा सबैले मलाई छोरी सरह माया गरेको र खान लगाउन कुनै दुख्ख नभएकाले मैले पनि त्यो पैसामा लोभ देखाउन सकिन ।

जतिसुकै सम्पन्न भए पनि राँडी बुहारी घर परिवारको लागि बोझ बनिसकेकी रहिछु । धेरै पछि थाहा पाँए । पैसा लिइसकेपछि म र मेरा छोरीहरूप्रतिको व्यवहारमा परिवर्तन देखिन थाल्यो ।

मेरो श्रीमानहरू दुई भाई, उहाँ कान्छो छोरा । तराईबासी परिवारको कान्छी बुहारी म सधै ससुरा जेठाजुको अगाडि टाउकोमा सारीको पल्लु राखेर अनुहारसम्म छोपेर नै बस्नु पर्दथ्यो । यो हाम्रो संस्कार नै हो । तर जेठाजुको हाउभाउ हेर्दा भाई बितेपछि म माथी गिध्दे दृष्टि लगाउन थालेको आभास भइरहेको थियो मलाई । जेठाजु बुहारी एक अर्कासित बोल्न सम्म नबोल्ने घरभित्र कि बुहारीको कोठामा जेठाजु हवात्त पसिदिने गर्न थालिसकेका थिए ।

बिस्तारै उनी झन्झन् अव्यवहारिक हुँदै गइरहेका थिए । म एक्लै भएको ठाउँमा त उनी पुगेकै हुन्थ्ये र एकोहोरो मलाई हेरिरहन्थ्ये । उनको व्यवहारले म आफ्नै घरमा असुरक्षित महसुस गर्न थालीसकेको थिएँ ।

मलाई श्रीमान मरेको एक वर्षसम्म माइतमा जाने त के माइतीसित फोनमा कुरा गर्ने अनुमति पनि दिइएको थिएन । परिवारका अरु सदस्यले त मलाई केही हानी नै हुने जस्तो व्यवहार देखाएका थिएनन् तर जेठाजुको व्यवहारले म त्रसित हुँदै गइरहेको थिएँ । यसरी नै मैले सात महिना बिताउनै लागेको थिए ।

एक रात मस्त निन्द्राबाट कुनै आवाजले मलाई बिउँझाई दियो । ढोका ढक्ढक् भइरहेको रहेछ । यो मध्यरातमा कस्ले होला ? कतै जेठाजु त होइनन् ? मनमुटु नै हल्लियो । शंकैले पुरै शरीर काम्यो । चिटचिट पसिना आयो । बिस्तारै भने “के छे बहरा ?”

मेरो प्रश्नको जवाफ आएन । कोही केही बोलेन तर दुई तीन पल्ट फेरि पनि ढोका ढक्ढकियो । मैले ढोका खोलिन । धेरै बेरसम्म निन्द्रा नै लागेन डरले ।

“दिदी, आइ तो भैररात नहि सुत्लीए ।” बिहान भान्सामा खाना पकाउँदै गर्दा जेठानीलाई सुनाए ।

“कथिला ? कि भेले ? मन खराब भेले ?”

“नैइ , हमर कोठलीके बाहर कोहि याल रहे । केबाडि पर ठोकल आवाज सुन्लीए । डरसे सुतेल नाइ सक्लीए ।”

“तोरा भक भेल हेते, बाहरके सब चुकुल सब तो हमी लगेने रहिए । बाहरसे केवाडि खोलके के भुत एते ?”

घटना सत्य थियो । तर बाहिरकै ढोका मैले नै लगाएको भनेर जेठानीले मेरो कुरालाई निराधार बनाइदिइन् ।

हुन सक्छ म नै गलत पनि हुन सक्छु । बनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ भने जस्तै मेरो पनि मन डराएको हो कि । मनमनै गुने र सम्भाले डराएको आफ्नो मनलाई ।

दुईदिन पछाडि बिहानै म धारामा नुहाइरहेकी थिएँ । घरका महिलालाई नुहाउन बाँसको भाटाले बारेर कोठाजस्तो बनाइएको थियो । कताकताबाट जेठाजु आएर पछाडिबाट अंगालो नै मारे । म पेटिकोटमा बेरिएकी मात्र थिए । जेठाजुको अप्रत्यासित यो हरकतले म कहालिए । रुदै चिसै पेटिकोटमा म कोठा तिर दौडिए । अनौठो त मलाई त्यो वेला लाग्यो म त्यस्तरी कहालिदै घरभित्र पस्दा पनि घरका अरु परिवारले थाहै नपाएको जस्तो गरे । म कोठाबाटै रुदै कराउन थाले पछि सासूले आएर “जेठानी जस्तो लागेर समाएको हो रहेछ । हल्ला नगर आफ्नै बेइज्जत हुन्छ ।” उफ कसरी सम्झाउनु घर परिवारलाई !

अब त झन जेठाजु म एक्लै भएको ठाँउ र मौका कुर्न थाले । कहिले हात समाएर तान्ने त कहिले अंगालो मार्न आउने । तर घरमा देख्ने मानिस कोही नहुँदा म नै दोषी हुँदै गइरहेको थिएँ ।

गालामा चिसो भयो निन्द्राबाट बिउँझिदा अगाडि जेठाजु अनी उनकै हात मेरो गालामा । म अत्तालिएर कराउँदै बिस्तराबाट उठे । उनी फुत्त बाहिरिए । म कोठैमा कराउँदै रुन थाले । सासू र जेठानी के भयो भन्दै मेरो कोठामा आए । जेठानी र सासूले त उल्टै मेरो चरित्रमा पो औला उठाए ।

एक रात फेरि मेरो ढोका ढक्ढकियो । म चाल मारेर ढोकाको छेउमा गएर उभिएँ । “जोर से मार न बौवा । निन्याल हेते, आवाज सुन्ते तब न केबाडी खोल्ते ।” सासूको आवाज सुने । ओहो सासूलाई पनि थाहा रहेछ । आमाको स्थानमा राखेकी सासू पनि जेठाजुको व्यवहारमा सरिक रहिछन् छि । मनमा कुरा खेल्दै थियो जेठानीको आवाज आयो । “ओइ राइत तो एक्केवेरमे जाइग गेलरहे ।” ओहो परिवारका सबै सदस्य पो जेठाजुको साथमा रहेछन् । अब कुन बिश्वासले यो घरमा बस्ने होला ? दुई अबोध छोरीबाहेक को छ आफ्नु भन्ने यहाँ ? रुँदै खाटमा पल्टिए । भोलीपल्ट बिहान बारीको छेउमा भएको चर्पीमा गएर रुँदै आमालाई फोन गरे । आमा केही बोल्न सक्नु भएन । धेरै बेर म रोइसकेपछि घरमा कुरा राख्छु पिर नगर भनेर फोन काटी दिनु भयो । आफूलाई यत्रो औडाहा हुँदा पनि आमाले सामान्यरुपमा लिएको जस्तो लाग्यो । जन्मदिने आमाले पनि छोरीको आँशु नदेखेको हो कि जस्तो लाग्यो । सबै तिरबाट मेरो लागि ढोका लागेको महसुस भयो । चर्पीबाट बाहिर नै ननिस्कीएर धेरै बेर सम्म रोए । आफ्नो सुरक्षा आफै गर्दै दिन काटिरहेकी थिएँ ।

एक दिन म दिउँसो छोरीहरूलाई सुताउन आफू पनि बिस्तरामा पल्टिए । बाहिर आँगनमा धान सुकाएको थियो । त्यसैले मलाई बाहिर जानु पर्छ भन्ने लागेर ढोका ढप्काएको मात्र थिए । तर छोरीहरूलाई सुताउँदा आफू पनि निधाए छु । गालामा चिसो भयो निन्द्राबाट बिउँझिदा अगाडि जेठाजु अनी उनकै हात मेरो गालामा । म अत्तालिएर कराउँदै बिस्तराबाट उठे । उनी फुत्त बाहिरिए । म कोठैमा कराउँदै रुन थाले । सासू र जेठानी के भयो भन्दै मेरो कोठामा आए । जेठानी र सासूले त उल्टै मेरो चरित्रमा पो औला उठाए । “ओकर घरवाली तो हम अखनि तलिक जीत्ते छीए । हम अखनी तलिक छेवे करिए तोरालग कथिला जेते ? तोहर घरबाला मैर गेले तब भैसुर लग बात लग्बैछी ? ”

यति ठूलो आरोप ! सासूले पनि जेठीबुहारीको हो मा हो मिलाइन ।

मलाई त छर्लङ्ग भै हाल्यो –सबै परिवारको मिलोमतोमा जेठाजुले म माथी गिद्धे नजर लगाएका रहेछन् । तर साथ साथै प्रश्नहरूको पेटारो नै खुल्यो मनमा, आखिर किन ?

सासू र जेठानी कराउँदै कोठाबाट बाहिर निस्किएपछि ढोकाको लाग्लो लगाए । आमालाई फेरि फोन गरे । यो पल्ट दाजुले फोन उठाउनु भयो “हेलो”

दाजुको आवाज सुनेपछि म बोल्न सकिन डाको छोडेर रुन थाले ।

“तिमी कहाँ छौ अहिले ?”दाजुले सोध्नु भयो । रुदै सबै कुरा बताए ।

“हामी आउँदै छौ । तिमी छोरीहरू लिएर कोठा भित्रै बस ।” फोन काटियो । मन अलि शान्त भयो ।

दिउँसो दुई बजेतिर घर अगाडि गाडीको आवाज आयो । केहिबेरमै घरमै धेरै मानिसहरू आएजस्तो कल्याङ्गकुलुङ्ग भयो ।

मेरो ढोका फेरि ढक्ढकियो । तर मैले ढोका खोल्ने हिम्मत गर्न सकिन । “बहिनी ढोका खोल त । हामी पुलिस लिएर आएका छौँ । तिमी नडराइ ढोका खोल ।” दाजुको आवाज सुनेपछि म रुँदै ढोका खोल्न पुगे । साँच्ची नै घरभरस् पुलिस पो आएका रहेछन् । दाजु र आमा मेरो कोठा बाहिर नै देखे । रुँदै आमालाई अंगालो मार्न खोजेको सम्झना छ म त त्यही ढलेछु । होसमा आएपछि थाहा पाए । आमा र दाजुले सदरमुकाम आएर वकिलको सहायता लिनु भएको रहेछ । वकिलकै सहायताबाट पुलिस घरमा आएका रहेछन् । वकिलले आफ्नो पेसा गरेका होलान् तर म कलियुगकी द्रोपदीको लागि त्यो बेला तिनै भगवान कृष्ण भएर आए । होसमा आएपछि पुलिसले मेरो बयान लियो । जेठाजु, सासू र जेठानीलाई मेरै बयानको आधारमा पुलिसले गाडीमा हाल्यो ।

“तिम्रो र भान्जीहरूको सामान बाँध । अब यहा हामी तिमीलाई छोड्दैनौ ।”

सम्पत्तिको लागि मानिस कतिसम्म गिर्दो रहेछ । भाइ बाँचुन्जेल सिधा भएर हेर्न पनि नसक्ने जेठाजुको यो कस्तो नरपिचास रुप ? सबै कुरा सुनिसकेपछि पुलिसको अगाडि रुँदै भने “म त अरुको छोरी थिए माया लागेन होला तर यी अबोध छोरीको के दोष जसको आमालाई नै सिध्याउँने सुरमा उनीहरूको ठूलो बुवा लागेछ । टुहुरा छोरीको समेत माया नगर्ने यो परिवारलाई केसम्मको सजाय दिनसक्नु हुन्छ सबै दिनु ।” यती भनेर म पुलीस चौकीबाट बाहिरिएर समीको बोटमुनिको चौतारामा आएर बसे । आमा र छोरीहरू पनि त्यही आएर बसे । झण्डै दुइ घन्टा पछाडि मात्र दाजु र वकिलहरू बाहिरिए ।

मैले मेरो र छोरीहरूको चाहिने जति सामान बाकसमा भरे । दाजुले बाकस बोकेर बाटोतिर लाग्नु भयो । आमाले नातिनीहरू समाएर हिँडेपछि म पनि पछि पछि लाँगे । आँगनमा ससुरा टाउकोमा हात राखेर टुक्रुक्क बसेको देखेँ । घर अगाडि छिमेकीको भिँड थियो । ससुरासित आँखा जुधे तर केही नबोली म बाटो लाँगे । सफारी रिक्सामा बसेर हामी पुलिस चौकी नै पुग्यौ ।

पुलिस चौकीमा पुगेपछि जेठाजुले दिएको बयानले मलाई छाँगाबाट खसायो । भाइ मरेपछि बुहारीलाई अंश दिनु नपरोस् भनेर म माथी अत्याचार गरेको रहेछ । या त बुहारी समर्पणमा आँउछे या इज्जत जोगाउँन घर छोडेर जान्छे भनेर परिवारकै सल्लाहमा जेठाजुले त्यस्तो घिनलाग्दो कदम चालेको रहेछ ।

सम्पत्तिको लागि मानिस कतिसम्म गिर्दो रहेछ । भाइ बाँचुन्जेल सिधा भएर हेर्न पनि नसक्ने जेठाजुको यो कस्तो नरपिचास रुप ? सबै कुरा सुनिसकेपछि पुलिसको अगाडि रुँदै भने “म त अरुको छोरी थिए माया लागेन होला तर यी अबोध छोरीको के दोष जसको आमालाई नै सिध्याउँने सुरमा उनीहरूको ठूलो बुवा लागेछ । टुहुरा छोरीको समेत माया नगर्ने यो परिवारलाई केसम्मको सजाय दिनसक्नु हुन्छ सबै दिनु ।” यती भनेर म पुलीस चौकीबाट बाहिरिएर समीको बोटमुनिको चौतारामा आएर बसे । आमा र छोरीहरू पनि त्यही आएर बसे । झण्डै दुइ घन्टा पछाडि मात्र दाजु र वकिलहरू बाहिरिए ।

त्यो दिन हामी त्यही होटेलमा बस्यौँ । भोलीपल्ट वकिल र दाजुको सहायतामा मैले अंश मुद्दा हाले ।

अहिले अदालतमा मुद्दा चलिरहेको छ । मैले अंश पाउने निश्चित नै छ भन्नु भएको छ वकिलले । एसएलसी पास गरेकी थिएँ । त्यै सर्टिफिकेटको आधारमा माइती गाँउकै एउटा निजी बिद्यालयमा पढाउन थालेकी छु । दाजुले सदरमुकाममा बसेर उच्च शिक्षा हासिल गर भन्नु भएको छ । विवाह पश्चातको जीवन कस्तोसम्म हुने रहेछ भन्ने थाहा पाइसकेकीले दाजुको भनाइमा सहमत भै सकेकी छु । छोरीहरूको उज्वल भविष्य बनाउने सोचमा आत्मनिर्भर भएर बाँकी जिवन बिताउने अठोट लिएकी छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: