–महिला खबर–
काठमाडौँ । महिला, बालवालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले महिला सशक्तिकरणका कार्यक्रहरु गाउँगाउँमा संचालन गरी जागरण सृजना गर्न जरुरी रहेको बताएकी छन् ।
जागरण नेपालले काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री थापाले १६ दिने महिला हिंसा विरुद्धको अभियानलाई सार्थक बनाउन सातै प्रदेशका जनप्रतिनिधिहरुलाई सहभागिता गराउन पहल कदमी गरेको बताइन् ।
उनले तीनटा प्रदेशमा अभियान सम्पन्न गरिसकेको र आगामी दिनमा अरु चार प्रदेशमा समेत अभियान सफलतापूर्वक सम्पन्न गराउने प्रतिवद्धता जनाइन् । कुनै पनि काममा तीनै तहको सरकारमा जनतालाई सहजता प्रदान गराउने बताउँदै मन्त्री थापाले जनाधार नै लोकतन्त्रको बलियो आधार भएको बताइन् ।
मन्त्री थापाले देशमा लामो समयदेखि गरिएको राजनैतिक आन्दोलनबाट प्राप्त उपलब्धी वा परिणामले वर्तमान संविधानमा महिलाको हकहित संरक्षित भएको दाबी गरिन् ।
प्रतिनिधिसभा विकास तथा प्रविधि समितीका सभापति कल्याणी कुमारी खड्काले महिलाका मुद्दालाई महिला सम्बन्धी संघ संस्थाहरुले मात्र नभई राष्ट्रिय मुद्दा बनाई सवै निकाय वा संस्थाहरुले तीनै तहका सरकारले अभियान, तालिम, गोष्ठि लगायतका कार्यक्रमहरु गर्नुपर्ने बताइन् ।
जागरण नेपालका अध्यक्ष सम्झना पोखरेलले संस्थाले परियोजना संचालन भएयता हासिल गरेका उपलब्धीका विषयमा चर्चा गरिन् । उनले महिलाहरुलाई अवसर दिएर मात्र नहुने भन्दै अवसरलाई सदुपयो गर्ने वातावरण समेत सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।
जागरण नेपालका संस्थापक अध्यक्ष शर्मिला कार्कीले एसियाकै उत्कृष्ट संविधान नेपालको भएको भन्दै समावेशी तथा आरक्षणको पूर्ण व्यवस्था र कार्यान्वयनमा आउनु ठूलो उपलब्धी भएको बताइन् ।
Comment Here!