महिला नेतृत्व असफल बनाउने जालझेल


प्रकाशित मिति :2018-12-04 16:24:13

-शिव पुरी-

रौतहट । आगामी आर्थिक वर्षको बजेट बिनियोजनका लागि योजना बनाउन स्थानीय तहले गएको असार मसान्तअघि नगर परिषद् गरिसक्नु पर्थ्याे । रौतहटका अधिकांश स्थानीय तहले परिषद् गरिसकेको छ ।

कटहरिया नगरपालिकामा भने अहिलेसम्म परिषद् हुन सकेको छैन । नगरकै जनप्रतिनिधिबीच विवादको कारण परिषद् नभएको हो । कार्यबाहक नगरप्रमुखको जिम्मेवारी पाएकी उपप्रमुख नरजाहा खातुनलाई नगर परिषद् गर्न वडाका जनप्रतिनिधिले सघाएका छैनन् ।

कटहरियाका नगरप्रमुख सियाराम कुशवाहा कर्तव्य ज्यान मुद्दामा जेल परे पछि ६ महिनायता कार्यबाहक प्रमुखको रुपमा उपप्रमुख खातुनले जिम्मेवारी लिएकी छन् । ९ वटा वडा रहेको नगरमा नेकपाको नगरप्रमुुख, उपप्रमुख सहित ७ जनाको बहुमत छ । तर, एक पनि महिला वडा अध्यक्ष छैनन् ।

कटहरिया नगरपालिकाकी उपप्रमुख नरजाहा खातुन

तर, बहुमत छँदाछँदै पनि खातुन अल्पमतमा परेकी छिन् । खातुनमाथि अनियमितताको आरोप लगाउँदै वडा अध्यक्षहरूले परिषद्मा गर्नसम्म असहयोग गरेका छन् । नगर परिषद्को लागि कयौं पटक छलफल हुँदा समेत वडा अध्यक्षहरूले नगर कार्यपालिकाबाट सहमति जुटाउन सकेका छैनन् ।

३५ वर्षकी कार्यबाहक प्रमुख खातुन भने जनप्रतिनिधिले नै किन विकास निर्माणको काम हुन नदिएको गुनासो गर्छिन् । खातुन तत्कालिन नेकपा माओवादीबाट उपप्रमुखमा निर्वाचित भएकी थिईन् ।

उनले आफ्नै पार्टीका जनप्रतिनिधिले असहयोग गरेको गुनासो गरिन् । चुनौती झेल्दै अघि बढ्ने प्रयासमा रहेकी खातुन आफू महिला भएकैले राजनीतिक हिंसाको शिकार भएको बताउँछिन् ।

‘एउटा मुस्लिम महिलाले यतिको चुनौती खेप्नु चानचुन होईन’ खातुन भन्छिन्, ‘विकास निर्माणको काम राम्रो होस् । बजेट निर्माणमा लगाउनुस् भनेर सल्लाह दिँदा पार्टी भित्रैबाट असहयोह भयो । तर म सरकारको एक पैसा पनि हिनामिना हुन दिन्न ।’

उनले विकास बजेट हिनामिना हुन नदिई विकास निर्माणमा प्रयोग गर्न निर्देशन दिँदा आफूमाथि असहयोग भएको गुनासो गरिन् । आफूले गलत नगरेकोले हिम्मत नहारेको पनि बताइन् ।

वडा अध्यक्षसहित नगरसभाको बहुमत सदस्यहरूको बिरोधपछि नगर परिषद् अघि बढेको छैन । परिषद् हुन नगरसभामा बहुमत सदस्य चाहिन्छ । उनले आफू परिषद्का लागि प्रयासरत रहेको पनि बताइन् ।

‘निकै चुनौतीबीच कार्यबाहक मेयरको मोर्चा सम्हालेकी हुँ’ खातुनले भनिन्, ‘यति डटेर सामना गर्नु चानचुने कुरा होईन । पुरुषको रबैया र असहयोगबीच पनि काम गरेर देखाउँछु ।’

खातुनले आफूलाई कर्मचारीले समेत असहयोग गरेको गुनासो गरिन् । खातुन राजनीतिक पलटमा त्यति दख्खल नेता होइनन् । उनी स्थानीय तहको निर्वाचनका बेलाबाट राजनीतिमा सक्रिय भएकी हुन् । खातुनले आफू गलत नभएको झुटा आरोपको डटेर सामना गर्ने पनि बताईन् ।

खातुनलाई श्रीमान नसरुदिन आलमले सहयोग गर्दै आएका छन् । आलम व्यवसायी हुन् । तर, श्रीमतीलाई राजनीतिमा सहयोग गर्छन् । आलमले आफ्नी श्रीमतीले सफल नेतृत्व गर्न सक्ने भए पनि महिला भएकोले हेपेको महसुस गरेका छन् ।

कार्यबाहक प्रमुख खातुनले विवाद भएपछि आफूलाई असुरक्षित महसुस भएको पनि स्थानीय प्रशासनलाई जानकारी गराएकी थिईन् । स्थानीय प्रशासनले उनलाई एकजना हतियारधारी सुरक्षाकर्मी (पीएसो) पनि खटाईदिएको छ । सुरक्षा थ्रेट महसुस गरिरहेको खातुन परिवार तनावमा छ । खातुनका श्रीमान् नसरुदिन आलम भन्छन्, ‘साँझ ७ बजे नै घरको मुख्य ढोका बन्द गरेर माथि बस्छौं । कुनै भर छैन कतिखेर के हुन्छ ।’

आर्थिक अनियमितताको आरोप लगाउँदै २ महिना अघि खातुन बिना बसेको नगर कार्यपालिकाको बैठकले खातुनलाई निलम्बन गरी छानबिनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस पत्र समेत पठाएको थियो । स्थानीय तहका कुनै पनि कानून तथा नीतिले उपप्रमुखलाई निलम्बन गर्ने सिफारिसको अधिकार स्थानीय कार्यपालिकालाई दिएको छैन । मन्त्रालयले पनि यसबारे केही प्रतिक्रिया दिएको छैन ।

खातुनले गाडी तथा घरभाडा, ईन्धन खरिद, सञ्चालन तथा मर्मत सम्भार, तालिम गोष्ठी कार्यक्रम, विविध कार्यक्रम खर्च, औषधि खरिद लगायत शिर्षकमा भष्ट्राचार गरेको आरोप छ ।

आफूमाथिको आरोप राजनीतिक हिंसा भन्दै उनले थपिन्, ‘म निर्वाचित जनप्रतिनिधि हुँ । कार्यपालिकासँग मलाई निलम्बन गर्ने अधिकार नै छैन ।’

कटहरिया नगरपालिका ४, नम्बर वडाका अध्यक्ष चन्दनप्रसाद कुशवाहले नगरपालिकाले गठन गरेको उपसमितिहरू निस्क्रिय पार्ने काम उपप्रमुखबाट हुने गरेको आरोप लगाए ।

‘नगरपालिका सिस्टममा चलेको छैन । विगतमा २ करोड बढी रकम अनियमितता भएको छ’ कुशवाहाले भने, ‘यस्तो अवस्थामा नगर परिषद् हुन सक्दैन ।’

उनले महिला कार्यबाहक उपमेयर भएकोले पनि खातुनलाई सँधै सम्मान गर्दै आएको दाबी गर्दै थपे, ‘तर उहाँको भनाइ र गराइमा फरक छ ।’

राजदेवी नगरपालिकामा पनि महिला उपमेयर छिन् । अंशु सिंह उपप्रमुख हुन् । उनको पनि नरजाहा खातुनको जस्तै गुनासो छ । भनिन्, ‘पुरुष जनप्रतिनिधिहरू एकलौटी गर्न खोज्छन् ।’ उनका अनुसार नगरपालिकाका प्रमुख धिरेन्द्रकुमार सिंह नगरको हरेक काममा एकलौटी गर्न खोज्छन् ।

‘नियम संगत काम गर्न सल्लाह दिँदा किन बाईपास गर्न खोजिन्छ ?’ उनले तितो प्रश्न राखिन् । अंशुकै भनाइमा राजदेवी नगरपालिकामा प्रमुख सिंहले एकलौटी निर्णय गर्दा आवाज उठाउने उनी मात्रै हुन् ।

गएको आर्थिक वर्षको बजेट बिनियोजनामा एकलौटी र उपभोक्ता समिति गठन प्रक्रिया गलत भएको भन्दै गरेको विरोध सार्वजनिक सञ्चार माध्यममा पनि आए ।

‘नगरको विकासमा उपमेयरको पनि अहम् भूमिका हुन्छ’ उनले भनिन, ‘सहकार्य गरी अघि बढ्नु पर्छ । एकलौटी गर्दा सन्देश राम्रो जाँदैन । म मेयर सा’पलाई यही कुरा बुझाउन सक्दिन ।’

अंशुका श्रीमान पनि राजनीतिक पृष्ठभूमीका नै हुन् । उनका श्रीमान पूर्व सभासद बबन सिंह हुन् । आफू क्षमतावान भए पनि आफूलाई नगरको जिम्मेवारीबाट प्रमुखले वञ्चित गर्ने गरेको गुनासो उनले सार्वजनिक फोरमहरूमा समेत राख्दै आएकी छिन् ।

त्यतिमात्रै नभएर नगरसभा र यहाँका आयोजनाको योजना गर्दा समेत आफूलाई सहभागी नगराइएको उनले बताइन् । रौतहटमा १८ स्थानीय तह छन् । १७ स्थानीय तहको प्रमुखमा पुरुष र उपप्रमुखमा महिला छन् । एक नगरपालिकमामा मात्रै महिला प्रमुख छन् ।

गौर नगरपालिकामा न्यायिक समिति गठन भएको ८ महिना भयो । न्यायिक समितिको संयोजक उपप्रमुख किरण ठाकुर छिन् ।

उनका अनुसार न्यायिक समिति गठन भएयता ६१ मुद्दा न्यायिक समितिमा आए । उपप्रमुख ठाकुरका अनुसार सबैभन्दा बढी जग्गा किचलो सम्बन्धी मुद्दा आउने गर्छन् ।

ती मध्ये २२ मुद्दा मिलापत्र भईसकेका छन् । ६ वटाको न्याय निरुपणको काम भएको उनले सुनाइन् । ठाकुरका अनुसार न्यायिक समितिमा मुद्दा लिएर आउने व्यक्तिहरूले भने आफ्नो कुरा सुन्ने गर्छन् ।

उनले भनिन्, ‘समस्या लिएर आउनेहरूले चाहिँ महिला भएकैले नसुन्ने गर्नुहुन्न ।’ सुरु सुरुमा प्रमुखको व्यवहार एकलौटी भए पनि आफ्नो बलियो प्रस्तुतिका कारण अहिले आफूलाई सम्मान गर्ने गरेको उनले बताइन् ।

‘हामीले सकेसम्म न्यायिक समितिलाई चुस्त बनाउने काम गरेका छौं, उपप्रमुख ठाकुरले भनिन्, ‘यसमा नगर प्रमुखको पनि साथ र सहयोग चाहिन्छ ।’

गौर नगरपालिकाका प्रमुख अजय गुप्ता भने उपप्रमुखलाई सहयोग गर्छन् । उनले नगरको कुनै निर्णय गर्नुअघि उपप्रमुखको सल्लाह लिएर गर्ने बताए । अरुलाई पनि महिला उपप्रमुखप्रतिको दृष्टिकोणमा कुनै शंका नगर्न अनुरोध गर्छन् ।

‘बल्लबल्ल स्थानीय तहले जनप्रतिनिधि पाएको छ । त्यसमा पनि अधिकांश तहमा उपमेयर महिला छन्’ उनले भने, ‘उहाँहरूलाई काममा सहयोग र साथ दिनु पर्छ । बेवास्ता गर्नुहुन्न ।’

स्थानीय तहको निर्वाचन पछि राजनीतिमा महिलाको राम्रो आकर्षण बढेको उनको अनुमान छ । आफूले पनि आफू मातहतका महिला जनप्रतिनिधिलाई सहयोग गर्ने गरेको उनको भनाइ छ ।

‘अरु नगरपालिकामा महिला उपमेयरप्रतिको व्यवहार कस्तो छ ? मलाई थाहा छैन’ प्रमुख गुप्ता भन्छन्, ‘गौर नगरपालिकामा महिला उपमेयरप्रति सबैको साथ र सहयोग छ ।’

पीडा पोख्न उपमेयर क्लब

जिल्लाभरका स्थानीय तहमा प्रमुखले उपप्रमुख महिलालाई बेवास्ता गरी एकलौटी निर्णय गर्न थालेपछि उपमेयरहरू संगठित भइ उपमेयर क्लब गठन गरेका छन् ।

सबैको गुनासो सुन्ने र त्यही अनुसार अघि बढ्ने सहमति अनुसार जिल्लाका उपप्रमुख महिलाले क्लब गठन गरेका हुन् । गएको आर्थिक वर्षमा अधिकांश स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच मनमुटाव बढ्यो । एकलौटी ढंगले नगरपालिका चलाउन थालिएको भन्दै अधिकांश उपप्रमुख विरोधमा उत्रिए । त्यसपछि उनीहरूले क्लबै गठन गर्ने निर्णय गरेका थिए ।

अहिले उपमेयर क्लबको अध्यक्ष गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर छिन् । उनी जिल्लाको स्थानीय तह मध्ये सबैभन्दा क्रियाशील महिला उपप्रमुखमा पर्छिन् ।

उपमेयर क्लबका अध्यक्ष किरण ठाकुर

महिलालाई जिल्लामा काम गर्ने वातावरण नभएको ठाकुरको गुनासो छ । ‘सभा समारोहमा महिलाको वकालत गर्ने नेताहरू महिला कुनै ओहोदामा पुग्यो भने खुट्टा तान्न पछि पर्दैनन्, उनले भनिन्, ‘यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ?’

उनले सबै स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच संवाद गरेर महिला उपप्रमुखलाई काम गर्ने राम्रो वातावरण बनाउनको लागि क्लब गठन गर्नु परेको बताइन् ।

यस अघि क्लबको बैठकमा नगरपालिकाको काम कारबाहीमा मेयरले हस्तक्षेप गर्ने गरेको, अधिकांश स्थानीय तहमा न्यायिक समिति गठन भए पनि इजलाश स्थापना नगरिएको, विवादित उजुरी पर्दा मेयर आफैले तोक लगाएर उपमेयरको काम काजमा ठाडो हस्तक्षेप गरिरहेको जस्ता गम्भीर विषयमा उपप्रमुख महिलाहरूले छलफल गरेका थिए ।

संविधानले दिएको काम, कर्तव्य र अधिकार उपप्रमुखलाई प्रमुखले प्रयोग गर्न नदिएको उनीहरूको गुनासो आउने ठाकुरले बताइन् ।

तीन महिना अघि चन्द्रनिगाहपुरलाई स्मार्टसिटी बनाउने विषयमा भएको छलफलमा चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरतीदेवी चौधरीले मेयर रामचन्द्र चौधरीले एकलौटी ढंगले काम गरेको भनेर खुलेरै बिरोध जनाईन् ।

नगरपालिकाको कुनै पनि काम कारबाहीमा मेयर चौधरीले आफूलाई सहभागी नगराउने र सल्लाहसमेत नलिने गरेको उनको गुनासो थियो ।

संविधानले नै स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । सोही संवैधानिक व्यवस्था अनुसार अधिकांशमा उपप्रमुखमा महिला चुनिएका छन् ।

तर, संविधानले प्रतिनिधित्व सुनिश्चित गरे पनि पुरुषलाई सर्वेसर्वा ठान्ने स्वभाव भने परिवर्तन नभएको उनीहरूको भनाइले पुष्टि गर्छ । जननिर्वाचित भए पनि कार्यालयभित्रै अधिकारविहीन बनाइएपछि आफूहरू अन्यायमा परेको उनीहरूको गुनासो छ ।

कार्यालयमा काम नभएपछि ‘गफ गरेर दिन काट्नुबाहेक अरु काम नभएको’ उनीहरू बताउँछन् ।

स्थानीय तहको सेवा संचालन तथा व्यवस्था सम्बन्धी आदेश २०७४ मा उपप्रमुखलाई सम्बन्धित कार्यपालिकाको न्यायिक समितिको संयोजक, योजना अनुगमन मूल्यांकन समितिको संयोजक, बजेट परामर्श समितिको संयोजक, विकास बजेट सिलिङ गर्ने समितिको संयोजक लगायतका महत्वपूर्ण जिम्मेवारी दिइएको क्लबकी अध्यक्ष ठाकुरले बताईन् ।

‘उपप्रमुखको संवैधानिक जिम्मेवारी धेरै छ,’ क्लबकी अध्यक्ष ठाकुरले भनिन्, ‘तर मेयरले एकलौटी गर्दा जिल्लाभरीका स्थानीय तहमा उपमेयरहरू पीडित हुनु परेको गुनासो छ ।’

स्थानीय तहभित्र सञ्चालन भएका विभिन्न योजनाको अन्तिम अनुगमन तथा भुक्तानीका लागि सिफारिस गर्ने अधिकार उपमेयरलाई दिईएको छ । तर मेयर आफैंले अनुगमन समितिको हस्तारक्षर बिना भुक्तानी आदेश जारी गरेको गुनासो गर्छिन् राजदेवी नगरपालिकाकी उपप्रमुख अंशु सिंह ।

उनी मात्रै होइन जिल्लाका धेरै उपप्रमुखले आर्थिक वर्ष २०७४/०७५ को अनुगमन प्रतिवदेनमा हस्ताक्षर नै नगर्दा पनि सम्बन्धित योजनाहरूको भुक्तानी दिइसकेका गुनासो गरेका थिए ।

गरुडा नगरपालिकाका उपप्रमुख रंगिला देवीले गएको आर्थिक वर्षको योजना लागतको काममा मेयरले बहुमतको दम्भमा केही निर्णयहरू एकलौटी गर्न लागेको भन्दै असहमति जनाएर ‘नोटअफ डिसेन्ट’ लेखेको सुनाईन् ।

गरुडा नगरपालिकाका उपप्रमुख रंगिलादेवी

नगरपालिकाका कर्मचारीले समेत नटेर्ने उनको आरोप थियो । कर्मचारीले समेत उपप्रमुखको कुरा नसुनिदिँदा समस्या हुने गरेको भन्दै उपमेयरहरूले यसअघिका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल समक्ष गुनासो पोखेका थिए ।

कटहरिया नगरपालिकाका उपप्रमुख नरजाहा खातुनले आफूलाई नगरपालिकाका प्रशासकीय अधिकृत र लेखापालले समेत नटेरेको बताउँछिन् ।

‘योजनाको हिसाब किताब देखाउ भन्दा कर्मचारी नै तालाबन्दी गर्छन्’ उनले भनिन्, ‘यहा“ त जनप्रतिनिधिलाई समेत नटेर्ने कर्मचारी छन् ।’

तरार्ई मधेशका अधिकांश महिला उपप्रमुखहरूका कुरा नसुन्ने, उनीहरूलाई निर्णयमा सहभागी नगराइने गरेका आरोपहरू सञ्चारमाध्यममा सार्वजनिक समेत हुने गरेका छन् ।

चन्द्रपुर नगरपालिका ५ का वडा अध्यक्ष सञ्जय काफ्ले भने आफ्नो नगरको उपप्रमुखलाई सम्मान गर्ने गरेको बताउँछन् । उनले आफू पुरुष भए पनि पदीय हिसाबले उपप्रमुखभन्दा तल भएकोले उपप्रमुखको कुरा सुन्ने बताए ।

‘हामीले गलत परम्परा र रुढिबादी मान्यता त्याग्नु पर्छ । महिला भनेर हेप्नु पनि हुँदैन’ उनले भने, ‘महिलाले नेतृत्व सम्हालेका छन् । यसमा गौरब गर्नुपर्छ ।’

सामाजिक अभियन्ता महिला भन्छन्, पुरुषले टेर्दैनन्

देवकी नेपाल २५ वर्षदेखि महिला अधिकारको क्षेत्रमा सक्रिय छिन् । चन्द्रपुर नगरपालिका ४ कि नेपालको अधिकारको क्षेत्रमा काम गर्दाको लामो भोगाइ भने महिला उपप्रमुखको भन्दा फरक छैन ।

महिलामाथि हुने हिंसामा पीडित र पीडक पक्षबीचको संवादमा बस्दा महिला भएकै कारण उनका कुरा नसुन्ने, बेवास्ता गर्ने उनको अनुभव छ ।

सामाजिक अभियन्ता देवकी नेपाल

उनले आफूमाथि भएको एक घटना सुनाइन्,

‘२०६४ सालमा दिनेशकुमार सिंह भन्ने भारतीय नागरिक चन्द्रनिगाहपुरमा डेरा लिई बस्थे । उनले दुई किशोरीलाई घरमै राखेर यौन शोषण गर्दै आएको हाम्रो जानकारीमा आयो । मैले नै मुख्य भूमिका लिएर दुई किशोरीको उद्धार गरियो । घटनालगत्तै सिंहलाई प्रहरीले पक्राउ गरेर जबरजस्ती करणीको मुद्दा चलाएको थियो । त्यसपछि पीडकको तर्फबाट पटक पटक ज्यान मार्ने धम्की आयो । धेरै दिन घरमा नै प्रहरीको सुरक्षामा बस्नुपरेको थियो ।’

हुन त यो एउटा मात्रै घटना होइन । उनका अनुसार अधिकांश हिंसाको घटनामा पीडकलाई सजाय हुने भयो भने उनलाई सबैजसो पटक ज्यान मार्ने धम्की आउँछ ।

‘पुरुषप्रधान देशका पुरुषवादी चिन्तन बोकेका व्यक्तिका दम्भले महिलालाई अघि बढ्न दिँदैनन् । महिलामाथि हिंसाको कारण पनि यही हो’ शक्ति समूहको जिल्ला अध्यक्ष समेत रहेकी नेपालले भनिन् ।

उनी हरेकजसो घटनामा महिला अघि सरे पुरुषहरूले तिमी नबोल भनेर पछाडि हटाउने अनुभव सुनाउँछिन् ।

मेनुका भारती

‘महिलाका हरेक मुद्दामा पुरुषवादी सोच बाधक बन्ने गरेको छ’ उनले भनिन्, ‘महिलामाथि हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आएको छैन ।’

मेनुका भारतीको अनुभव र देवकीको अनुभव मिल्दोजुल्दो छ । भारती एक दशकदेखि महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा क्रियाशील छिन् ।

अनौपचारिक शिक्षा, प्रजनन् स्वास्थ्य तथा महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी भारती भन्छिन्, ‘छोरीलाई हेर्ने दृष्टिकोण नै फरक छ । विभेदका कारण हामी महिलाले काममा थप चुनौती भोग्नुपर्छ ।

मधेशका महिलालाई नेतृत्व तहमा काम गर्न अझ समस्या भएको उनको भोगाइ छ । मधेशमा महिलालाई वस्तुसरह व्यवहार गर्ने प्रचलन कायमै छ । त्यसको प्रतिरुप महिलामाथि भइरहेको हेपाहा प्रवृत्तिमा झल्किन्छ । उनी भन्छिन्, ‘महिलालाई नेतृत्वमा आउन हौसला दिनुपर्नेमा उल्टै ह्यारेसमेन्ट गर्छन् ।’

केन्द्रीय राजनीतिमा पनि पुरुषले हेप्छन्

रौतहटकै नेता कल्याणी खड्काको लामो राजनीतिक पृष्ठभूमी छ । उनी अहिले प्रतिनिधिसभा संसदको विकास समिति सभापति पनि हुन् । महिला ठूलो ओहोदामा पुग्यो भने खुट्टा तान्ने प्रवृत्ति हाबी हुने उनको अनुभव छ ।

‘यस्तो अवस्थामा महिलाले कसरी काम गर्न सक्छन् ?’ उनले भनिन्, ‘केन्द्रीय राजनीतिमा पनि महिलालाई तल पार्न खोज्छन् । सबै कुरा खोलेरै भन्न सहज हुँदैन । महिलालाई कति गाह्रो हुन्छ भन्ने सबैलाई थाहै छ ।’

कल्याणी खड्का

 

नेपाली काँग्रेसका महासमिति सदस्य सरस्वती भारती गिरी कुशल राजनीतिज्ञ हुन् । पुरुषहरूको हेराई र व्यवहारमा अहिले पनि परिवर्तन आउन नसकेको उनको अनुभव छ ।

२०६४ सालको संविधानसभा निर्वाचनका बेला समानुपातिकमा नाम परेर पनि हटाइएको उनले सुनाईन् । राजनीतिक पहुँच र पुरुषवादी सोच हाबी हुँुदा हेपाइमा परेको उनको बुझाइ छ ।

तत्कालीन राष्ट्रपति डा. रामवरण यादव निकट मानिएकी गिरी स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवार थिइन् । तर पार्टीले टिकट दिएन । उनको अनुभवले भन्छ, ‘पुरुषको बर्चस्व भएको देशमा महिलामाथि विभेद हुने क्रम रोकिएको छैन ।’

उनले भनिन्, ‘समाजमा महिलामाथि हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म कुनै पनि महिलाले निर्धक्क नेतृत्व गर्न सक्दैनन् । पुरुष मात्रैको नेतृत्वमा हुने कुनै पनि काम लैंगिक समावेशी हुन सक्दैन ।’

जारी छन् महिला नेतृत्व विरुद्धका प्रयास

राजनीति लगायत हरेक क्षेत्रमा महिला सहभागिता हुनुपर्छ भन्ने आवाज ल्याटिन अमेरिकाबाट सुरु भए पनि महिलाले सरकारको नेतृत्व गर्ने अवसर विश्वमै सबैभन्दा पहिला दक्षिण एसियाले पाएको इतिहास छ । (दुर्गा कार्की, कान्तिपुर, फाल्गुन १४, २०७४)

राष्ट्र प्रमुखको जिम्मेवारी सम्हाल्ने विश्वमै पहिलो महिला (तत्कालीन सिलोन) अहिलेको श्रीलंकाकी श्रीमाभो आर डी बन्दरानायके हुन् । उनी सन् १९६० मा श्रीलंकाको प्रधानमन्त्री भइन् । उनले श्रीलंकामा ३ कार्यकाल प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरिन् । श्रीलंकामा १९९४ देखि २००५ सम्म उनकै छोरी चन्द्रिका कुमारातुङ्गा राष्ट्रपति रहिन् ।

एसियाली देशहरू भारत, श्रीलंका, बंगलादेश, पाकिस्तानमा धेरै अघिदेखि महिलाले राष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न थालेका हुन् । ६० को दशकको अन्त्यमा भारतमा इन्दिरा गान्धी उदाइन् । उनी १९६६ मा पहिलो प्रधानमन्त्री भइन् भने २००७ मा प्रतिभा पाटिल पहिलो महिला राष्ट्रपति भइन् । १९८८ मा पाकिस्तानमा बेनजिर भुट्टो मुस्लिम देशहरूमै पहिलो महिला प्रधानमन्त्रीका रूपमा आएकी थिइन् । उनी पाकिस्तानमा २ कार्यकाल प्रधानमन्त्रीका रूपमा रहिन् । बंगलादेशले पनि राष्ट्र प्रमुखका रूपमा शेख हसिनाले नेतृत्व गरिरहेकी छन् । खालिदा जिया २ पटक बंगलादेशको प्रधानमन्त्री भएकी थिइन् ।

जतिसुकै योग्य र सफल भए पनि महिलालाई नेतृत्व सम्हाल्न दिइदैन । उनीहरुलाई पदच्यूत गर्न राजनीतिक जालझेल र तिकडम कति गरिन्छ भन्ने ठूलो उदाहरण त पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगको पृष्ठभूमि हेर्दा नै काफी छ ।

चिलीकी राष्ट्रपति बाचालेटलाई घरजग्गा कारोबारमा कर छल्न छोरा–बुहारीलाई सघाएको आरोप लाग्यो । कोस्टारिकामा लाउरा चिन्चिला शासनलाई असफल बनाइयो ताकि उनको शासनकालमा कोस्टारिकाको आर्थिक वृद्धिदर ४ बाट ५ प्रतिशत भएको थियो । सन् २०१६ मा ब्राजिलमा डिल्मा रुसेफलाई उनको दोस्रो कार्यकालमा आर्थिक कारोवार सम्बन्धी कानुनहरू पालना नगरेका आरोपमा महाअभियोग लगाएर हटाइयो ।

गतवर्ष दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हाईलाईआफ्नी एक विश्वास पात्रलाई गैरकानुनी कामका लागि छुट दिएको आरोपमा महाअभियोग लगाइयो । ह्विप नमानेर आफ्नै पार्टीका सांसदले समेत उनीविरुद्ध मत दिए र सत्ताच्युत गरियो । गतसाल अमेरिकी राष्ट्रपतीय निर्वाचनमा लोकप्रिय मत पाउँदा–पाउँदै पनि इलेक्टोरल कलेजमा हिलारी क्लिन्टनले मत पाउन सकिनन् ।

नेपालमा पनि प्रधानन्यायाधीश छँदा सुशीला कार्कीमाथि यस्तो प्रयास गरिएको थियो, तर यो प्रयास असफल भयो । अहिले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पनि अनेक बहानामा सभा, समारोह लगायत सार्वजनिक रुपमै हुर्मत तोड्ने काम भइरहेको छ ।

पितृसत्ताले विश्वव्यापी रुपमै महिलाको नेतृत्व स्वीकार गर्न सक्दैन । यो वा त्यो बहानामा महिला नेतृत्व ठिक हैन भन्ने प्रमाणित गरिन्छ र महिलाको आत्मवल कमजोर बनाउन खोजिन्छ । यो तितो यथार्थलाई आत्मसात गर्दै नेतृत्वमा पुगेका महिलाहरुले दह्रो मुटु बनाएर जनताको साथ र समर्थन जुटाइ काम गर्नुपर्ने आवश्यकता छ ।

(लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा संचारिका समूह र ‘सही हो’ अभियानको सहकार्य ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: