‘कामै’ होइन घरको काम !


प्रकाशित मिति :2018-12-03 16:26:05

घरधन्दा गर्ने महिलाको मुख्य दैनिकी,

ढिलोमा बिहान ५ बजे उठ्ने
– घर सरसफाइ गर्ने
– वस्तुभाउलाई कुँडो पानी गर्ने
– चिया पकाउने
– भात भान्छा गर्ने
– कपडा धुने, घरको सरसफाइ गर्ने
– करेसाबारीमा तरकारी लगाउने
– मेलापात, अर्मपर्म जाने
– गाइभैंसीलाई घाँस काट्ने, चराउने
– बेलुका भातभान्छा गर्ने
– भाँडा माझेर, सरसफाइ गर्ने
– छिटोमा १० बजे सुत्ने

-ज्ञानु पंगेनी/इन्द्रसरा खड्का-

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ६८ लाख २ हजार ८ सय ८२ जनाले घरधन्दा गर्छन् । ‘घरधन्दा’ जनणनामा उल्लेख गरिए अनुसार बिना पारिश्रमिक गरिने पारिवारिक सेवा हो ।

जनगणनाले १० वर्षभन्दा माथि उमेरका व्यक्ति समेटिने गरी उनीहरूको कामको गणना गरेको थियो । ५६ लाख २३ हजार २ सय ८१ जना अर्थात् ८३ प्रतिशत महिला घरधन्दामा संलग्न रहेको तथ्याङ्क छ ।

यी महिलाहरू घरको काम गर्छन् । उनीहरूकै अनुसार करिब १८ घण्टासम्म बिना विश्राम पारिवारिक काममा खट्छन् । तर, देशको कुल गार्हस्थ उत्पादनमा उनीहरूको योगदानलाई समेटिएको छैन । उनीहरूको संख्यात्मक गणना त छ, आर्थिक गणना छैन ।

केन्द्रीय तथ्याङ्क विभागले जनगणनाका क्रममा ‘घरधन्दा’ को रुपमा उल्लेख गरेको काममा हरेक दिन बिना विश्राम खटिने महिलाको सामाजिक तथा आर्थिक अवस्था कस्तो छ त ? हेरौं नवलपरासीका ६ जना महिलाका कथा :–

‘ड्यूटी १६ घण्टा, पारिश्रमिक शून्य’

मंसिर पहिलो साता मध्यान्हको १२ बजे सरस्वती सापकोटाको घर पुग्दा ढोकामा ताल्चा लगाइएको थियो । यताउता खोज्दा सरस्वती भेटिइनन् । छिमेकीसँग बुझ्दा थाहा भयो यतिबेला हरेक दिन भैंसी चराउने उनको समय रहेछ ।

कावासोती नगरपालिका ३, मा रहेको उनको घरबाट करिब चार सय मिटर परको चौरमा भैंसी चर्न थालेपछि नजिकै बसेकी भेटिइन् उनी । सरस्वती ३८ वर्षकी भइन् ।

३१ वर्षको उमेरसम्म उनको दैनिकी आजको भन्दा फरक थियो । सीएमए पढेकी उनी अस्पतालमा ड्युटी गर्थिन् । कहिले बिहान, कहिले राती त कहिले दिउँसो नवलपुर अस्पतालको वार्डमा बिरामीको रेखदेखमा खटिरहेकी भेटिन्थिन् ।

अहिले समय फेरियो । बिरामीको रेखदेख गर्ने सरस्वतीको ड्यूटी गाई भैंसी, छोराछोरीको रेखदेखमा नै बित्छ । अस्पतालमा ड्यूटी गर्दा ८ घण्टा तोकिएको ड्यूटी थियो । त्यसबापत ७ हजार पाँच सय रुपैयाँ तलब पनि मासिक रुपमा आउँथ्यो ।

अहिले उनको ड्यूटीको समय तालिका तोकिएको छैन । नतोकिएरै पनि १६ घण्टाभन्दा बढी उनको ड्यूटी छ । त्यसबापत न त उनले तलब पाउँछिन् न आर्थिक गणना नै हुन्छ ।

सरस्वतीकै अनुसार उनी बिहान पा“च बजे उठ्छिन् । कुचो लगाउँछिन् । गोबर फाल्छिन् । भैंसी दुहुने, घाँस पराल दिने सकेपछि भान्छाको जिम्मेवारी आउँछ । चिया बनेको खबरपछि उनका श्रीमान् माधव सापकोटा उठ्छन् । चिया पिउँछन् ।

८ बजे नै उनलाई अफिस हिँडिसक्नुपर्ने हुन्छ । त्यो समयभित्र खाना तयार गरिसक्नुपर्छ उनले । त्यसपछि खाना खुवाएर छोराछोरीलाई विद्यालय पठाउँछिन् ।

भाडा माझ्ने, कपडा धुने काम । तरकारीको लागि करेसाबारी पनि उनलाई नै पर्खिरहे झैं लाग्छ सरस्वतीलाई । अनि मेलापातको समय भए मेलापात नभए भैंसी चराउने, घाँस काट्ने ड्यूटी हुन्छ उनको ।

‘मैले घर धानेको छु, श्रीमान जागिर गर्नुहुन्छ’ सरस्वती आफ्नो कामबारे जानकारी दिएपछि थप भन्छिन्, ‘तर, श्रीमानले कमाएको देखिन्छ । मेरो केही देखिँदैन ।’

सरस्वती उनी सीएमए पास नर्स हुन् । उनले सात वर्ष नर्सको जिम्मेवारी निभाइन् । ‘घर परिवारका लागि जागिर छोड्नुपर्यो’ उनले भनिन् ।

जागिर गर्दा पनि उनले घरधन्दा सकेरै जानुपथ्र्यो । अस्पतालको काम भएकाले ड्यूटीको सेड्युअल एउटै हुन्नथ्यो । रातीमा पनि ड्यूटी पर्न सक्थ्यो । त्यसैले उनको काममा परिवारबाट सहयोग भएन ।

श्रीमान र सासू ससुराले उनको काम मन पराएनन् । यद्यपि घरको काम सकेरै जागिर गरिरहेकी थिईन् । सासूलाई क्यान्सर रोग लागेपछि भने उनले जागिर छोड्न बाध्य भईन । सासूको स्याहार गर्ने कोही नभएपछि उनले जागिर छोडेको बताइन् ।

उनलाई अहिले आफूले परिवारको लागि भविष्यसँग सम्झौता गरे पनि कामको कदर नभएकोमा दुःख लाग्छ ।

सरस्वतीले परिवारकै लागि सम्झौता गरे पनि उनको योगदानको कदर भने कसैले गर्दैनन् ।

‘घरको लागि जागिर छोडें, अहिले आत्मग्लानी हुन्छ’

१२ वर्षअघि देवकुमारी सापकोटा मासिक ४५ हजार रुपैयाँ कमाउँथिन् । अहिले उनी श्रीमानको कमाइमा निर्भर छिन् । उनलाई आफ्नो विगत सम्झिँदा आत्मग्लानी हुन्छ ।

किनकी त्यतिबेला उनले गरेको कामको गणना थियो । श्रम सिधै रकममा रुपान्तरण हुन्थ्यो । आज त्यो बेलाको भन्दा दोब्बर श्रम छ । तर, आर्थिक रुपमा शून्य ।

‘भगवानलाई नै किन छोरी बनायौ भनेर गाली गर्न मन लाग्छ’ देवकुमारीले भनिन्, ‘छोरी भएर जन्मिएकै कारण जीवनमा सम्झौता नै सम्झौता गर्नुपरेको छ ।’

उनकै भनाइमा बिहे अघिदेखि नै यूएनडीपीको प्रोजेक्टमा फरेष्ट टेक्नियनका रुपमा काम गर्थिन् । महिनाको ४५ हजार रुपैयाँ तलब थियो । उनको कमाइ र श्रीमानको कमाइले कावासोतीमा घडेरी किनेर घर पनि बनाए ।

ती दिन उनलाई आज सपनाझैं लाग्छ । हुन त उनको क्षमता पनि कम भएको छैन । खोज्दा जागिर नपाइने पनि होइन । देवकुमारी भन्छिन्, ‘मैले जागिर गरे घर कसले हेर्छ ?’

घरमा छोराछोरी र उनी गरेर तीन जना मात्रै छन् । श्रीमान जागिरे । काठमाडौं छन् । १२ वर्षको छोरा र तीन वर्षकी छोरीको हेरचाह र घर सम्हाल्दै उनलाई ठिक्क छ ।

उनले कामबारे विस्तृतमा भनिन्, ‘बिहान साढे चार बजे उठ्छु । झाडु पोछा, छोराछोरीलाई चिया नास्ता खानपिन तयार गरेर स्कूल पठाउँदा नै बिहान बित्छ । त्यसपछि घरको सरसफाई, कपडा धुने, करेसाबारीमा गोडमेल गर्ने ।’

देवकुमारी ३५ वर्षकी भईन् । विहे भएको १३ वर्ष भयो । १२ कक्षा विज्ञान र मानविकीबाट स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् ।

छोरा जन्मिएपछि जागिर छोड्नुपर्यो । ‘बच्चा एकातिर, श्रीमान एकातिर अनि आफु एकातिर त्यसैले काम छाडें ।’ उाले थपिन्, ‘पुरुषले घरपरिवार र बच्चा भनेर कहिल्यै सम्झौता गर्दैनन् । सम्झौता महिलाले नै गर्नुपर्छ । यो समाजको नियम जस्तै छ । बच्चाको सरोकार हुदैन आमासँग मात्रै ठानिन्छ ।’

हुन त उनी परिवारसँग खुसी नै छिन् । गृहिणी हुँदा सबैभन्दा दुःख एउटै कुरामा लाग्छ, ‘हातमा पैसा हुँदैन ।’ उनी भन्छिन्, ‘एक रुपैयाँ चाहिए पनि श्रीमानसँग हात फैलाउनुपर्दा आत्मग्लानी हुन्छ ।’

मेरो कामको सम्मान छैन– लक्ष्मी

लक्ष्मीदेवी सुवेदी ५० वर्ष लागिन् । उनलाई लाग्छ अब त आराम गर्ने दिन आउन लाग्यो । कामको भ्याइनभ्याइले आराम गर्ने समय कतिबेला हो पत्तो पाउँदिनन् ।

देवचुली नगरपालिका १० प्रगतीनगरकी लक्ष्मीका श्रीमान दुध डेरी गर्छन् । बिहान ६ बजे जुरुक्क उठेर चिया पिएपछि श्रीमान हरिदत्त डेरी हिँडिहाल्छन् ।

चियामा एकैछिन ढिला भए श्रीमान भोकै पर्लान् भन्ने चिन्ता हुन्छ । तर, चिया पाक्नुअघि उनले कति काम भ्याउँछिन् श्रीमानलाई चासो हुन्न । मात्र समयमा चिया पाकिसक्नु पर्छ ।

पाँच नबज्दै उठेर एउटा भैंसी र दुई बाख्रालाई घाँसकुँडो सकेपछि घरको सफाइ सक्छिन् । अनि चिया तयार गर्छिन् । हुन त उनको दुई छोरा र एक छोरी छन् । उनीहरू पढाइको लागि काठमाडौं बाहिर छन् ।

श्रीमान डेरी गएपछि घाँस काटेर, बिहानको खाना पकाइसक्छिन् । श्रीमान कहिलेकाँही खाना खान घर आउँछन् । नभए खाना पुर्याउन लक्ष्मी नै जान्छिन् ।

दिउँसो फेरि घर नजिकै सामुदायिक वनमा घाँस काट्न जान्छिन् । भनिन्, ‘तीन÷चार बजेसम्म घाँस काटेर आइसक्छु । गोठको काम सकेर भात पाक्दा रातीको कहिले ८ कहिले ९ बज्छ ।’

उनलाई लाग्छ, ‘महिलाले घरमा गर्ने कामको कसैले मूल्यांकन गर्दैनन् ।’ लक्ष्मीले विहेपछि कहिल्यै पनि घरधन्दाबाट छुटकारा पाएकी छैनन् । हरेक दिनको दैनिकी यही हो । आम्दानीमा गणना नहुने भएकोले उनलाई आफ्नै काममा सन्तुष्टि छैन । ‘श्रीमान र घरपरिवार कसैले पनि घरको काम देख्दैनन् । गाह्रो सारो बुझ्दैनन् । अझ श्रीमानले घरमा के काम छ र भन्नुहुन्छ’ लक्ष्मीले भनिन् ।

‘घरको काम गरेर बचेको समय टपरी बेचेर गर्जो टार्छु’

घर छेमउमै रहेको बाटो मुनी बिस्कुन सुकाएझैं सालको टपरी सुकाउँदै थिइन् गंगाकुमारी विक । ४८ वर्षकी उनको आम्दानीको श्रोत हो यो । दिनभरीको समय र यसो फुर्सद भयो कि उनी सालको पात र सिन्का लिएर टपरी खुट्न बसिहाल्छिन् ।

दिनभरी उनले कम्तीमा पाँच सय टपरी बनाउँछिन् । जति धेरै टपरी खुट्न सक्यो त्यति बढी आम्दानी हुन्छ । त्यही आम्दानीले घर खर्च पनि टार्छ । उनले ‘आफ्नो लागि’ सरसामान किन्न पाउँछिन् ।

कावासोती गरपालिका १६ पिप्रेनीमा टिनले छाएको सानो झुपडी छ उनको । दश धुर जमिन छ त्यो पनि सुकुम्बासी । राजमार्गबाट तीन किलोमिटरभित्र पर्छ । उनका श्रीमान काठको काम (सिकर्मी) काम गर्छन् । दुई छोरी एउटा छोरा छन् । छोरीहरूको विहे भईसकेको छ । छोरा विदेश जाने तयारीमा ।

गंगा बिहान बेलुका घरको काम, करेसाबारीको काम सकेर जंगलबाट सालको पात टिप्न जाने अनि घरमा आएर टपरी खुट्ने काम गर्छिन् ।

बिहान ११ बजेतिर जंगल गएर टिपेर ल्याएको सालको पातको टपरी बनाउन दुई तीन घण्टा मात्रै समय पाउने उनले बताइन् । हरेक दिन साँझ पा“च बजेसम्म टपरी बनाएपछि खाना पकाउने खुवाउने र सरसफाइको जिम्मेवारी उनको काँधमा आउँछ । भात खाइसकेपछि पनि उनी टपरी बनाउँछिन् ।

‘घरको भात भान्छा गरेर कमाइ हुँदैन’ गंगाले भनिन्, ‘यही टपरी बनाए हातमा केही पैसो हुन्छ । आफूमा आँट पनि आउँछ ।’

टपरी सुक्नलाई कम्तीमा चार दिन लाग्छ । त्यसपछि उद्योगमा लगेर बेच्ने उनले बताइन् । एउटा टपरी एक रुपैयाँ पच्चिस पैंसा पर्छ । उनले महिनामा बढिमा १० हजारसम्म पनि आम्दानी गर्छिन् । राजमार्गकै छेउको डण्डा बजारमा तीनचार वटा टपरी उद्योग छन् । सुकेको टपरीलाई बोरामा हालेर उद्योगसम्म कहिले साईकलमा, कहिले हिँडेरै, कहिले अटोमा राखेर लैजाने गरेको गंगाले सुनाईन ।

तर यो काम वर्षभरी गर्न मिल्दैन । ‘जाडोको समयमा घाम लाग्दैन त्यसैले टपरी सुक्दैन । उद्योगले टपरी किन्दैनन ।’ गंगामायाले भनिन् ।

गंगाका श्रीमान कृष्ण वहादुर बिक पनि ज्यालादारीमा काम गर्छन् । काम पाईरहे पैसा पनि राम्रै कमाई हुन्छ, नभए घरमै बस्नुपर्छ । घरमै बसेको समयमा बाख्रा कुखुराको काम गर्छन् । नभए उनी सुतेर अथवा यताउता कुराकानी गरेर बिताउँछन् । तर गंगालाई फाल्तु बस्ने फुर्सद नै हुँदैन ।

१५ घण्टा जागिर गरे कति कमाउँथे होला– दयाकुमारी

मध्यबिन्दु नगरपालिका ३, कि दयाकुमारी महतो २८ वर्ष पुगिन् । विवाह भएको १६ वर्ष भयो । उनको १५ वर्षको छोरा र सात वर्षकी छोरी छन् । श्रीमान टोपबहादुर महतो नेपाल प्रहरीमा जागिर खान्छन् ।

उनले घरमा हा“स कुखुरा पालेकी छन् । ६ वटा बाख्रा पनि छन् । एक विगाहा खेतमा आफै खेती गर्छिन् ।

छोराले केही काम सघाउँछ । बाँकी काम सबै उनैको भागमा हो । बिहान चारै बजे उठ्छिन् । हा“स कुखुरा र बाख्रा धेरै भएकाले बिहानको समय खोर सफा गर्ने आहारा दिने गर्दा नै बित्छ ।

कहिलेकाहि अप्ठेरो पर्दा बेचेर काम चलाउन सकिने र मासु किन्न नपर्ने भएकाले हाँस कुखुरा पालेकी हुन् । तर, ती सबै उनी आफैले बेच्न पाउँदिनन् । ‘कति हाँसकुखुर बेचें, के कतिमा बेचें ? के का लागि बेचें ? खर्च गरेर कति पैसा बच्यो श्रीमानलाई फोनमै सुनाउँछु ।’ उनले भनिन् ।

रिपोर्टिङको क्रममा के गर्नुहुन्छ ? प्रश्नमा हाँस्दै भनेकी थिइन्, ‘केही गर्दिन ।’ उनले गर्ने भ्याइनभ्याइ जागिर होइन । जिम्मेवारी हो । जिम्मेवारी पूरा गर्न दैनिक १५ घण्टा खटिन्छिन् । र पनि उनको काम केही होइन झैं लाग्छ उनलाई ।

‘रातदिन काम –काम भनेरै बित्छ । आफ्नो लागि समय नै हुन्न । मैले गरेको यो कामको पनि पैसा मिल्ने भए कति कमाउँथे होला ?’ टोपकुमारीले आफ्नै श्रमको आँकलन नगरेको भने होइन ।

तर आजसम्म उनले पनि आफ्नो काम स्वतः गर्नुपर्ने जिम्मेवारी ठानिन् । परिवारका सदस्यले पनि त्यही ठाने । राज्यले पनि आजसम्म उनीहरूले दिनदिनै गर्ने कामको गणना नगरी सेवामूलक काम भनेको छ ।

‘जति काम गरे पनि पैसा नआउने भएपछि नगनिने रहेछ’ देवकुमारीलाई कामको गणना नहुँदा दुःख पनि लाग्छ । उनका श्रीमान छुट्टीमा घर आउदा काम गर्दैनन् । देवकुमारीलाई श्रीमान घर आएका बेला काम सघाइदिएहुन्थ्यो भन्ने त लाग्छ । तर ‘दुई चार दिन आउँदा पनि’ भन्छन् ।

घरायसी खर्चको लागि त श्रीमाने पैसा पठाउछँन् तर आफुलाई श्रृङ्गारका सामान, लुगा किन्न रहर लाग्यो भने के भनेर माग्ने होला भन्ने चिन्ताले सताउँछ उनलाई । भन्छिन्, ‘श्रीमानले पठाएको पैसाले घरमा चाहिने सबै कुरा किन्न पनि पुग्दैन । कहिलेकाहीँ बिरामी परिन्छ । गाउँघरमा चलाउन पर्छ सहयोग गर्नुपर्छ अनि श्रीमानसँग पैसा माग्दा के गरेर सकियो भन्छन् ।’

‘बुहारीको काम कहिल्यै घट्दैन’

शान्ती चौधरीका श्रीमान योगेन्द्र वैदेशिक रोजगारीमा छन् । २६ वर्षकी शान्ती संयुक्त परिवारमा बस्छिन् । उनका दुई छोरा छन् । घरमा सासू, देउरानी र दुई नन्द गरी ७ जना छन् ।

घरमा सात जना भएपनि शान्तिलाई कामको ‘लोड’ भने कहिल्यै घट्दैन । बिहान उठेपछि नसुतेसम्म भ्याईनभ्याई हुने उनी बताउँछिन् ।

उनी हरेक बिहान पाँचदेखि बेलुका ९ बजेसम्म काममै हुन्छिन् । देउरानीले घरभित्रको काम गर्छिन् । बाहिरको जिम्मेवारी उनको छ ।

कान्छो छोरा १० महिनाको छ । उसको रेखदेख सँगै घाँसपात, बारीको काम, कुखुरालाई आहार दिने खोर सफा गर्ने उनको जिम्मेवारी हो । उनले आफ्नो कामको विश्लेषण यत्ति गरिन्, ‘जति मान्छे भएपनि बुहारीको काम घट्दैन ।’

उनको अनुभवमा महिलालाले गर्ने घरायसी काम केहि पनि होईन भनेर श्रीमान घरपरिवार र समाजले लिने गरेका छन् । ग घरमा काम गर्ने समयमा अरु ठाउँ काम गरे कमाई हुन्थ्यो भन्ने पनि उनलाई लाग्छ ।

‘घरको काम न त देखिन्छ न मुल्य नै हुन्छ । महिलाको काम के हो र ? खाना पकाउने भाँडा माझ्ने त हो नी सबैले त गर्छन् भन्छन्’ शान्तीले भनिन् ।

श्रीमती केही गर्दिनन् !

सरस्वतीका श्रीमान माधव सापकोटा कावासोतीको प्रभु बैंकमा जागिर गर्छन् । तपाईंकी श्रीमती के गर्नुहुन्छ ? प्रश्न सकिनेबित्तिकै सापकोटाले भने, ‘केही गर्दिनन्, घरै बस्छिन् । घरकै काम गर्छिन् ।’

श्रीमतीले जागिर नगरेकाले उनलाई काम हो भन्ने नै लाग्दैन । थप्छन्, ‘एकजनाले त घर पनि त हेर्न पर्यो नि । बूढो बुबा, छोराछोरी छन् । म बाहिर काम गर्छु भ्याउँदिन ।’

देवकुमारीका श्रीमान जीतनाथ चापागाई भने गैरसरकारी संस्थामा काम गर्छन् । हुन त उनको मान्यता श्रीमतीले जागिर खानै हुँदैन भन्ने छैन । तर बालबच्चाको बिचल्ली पारेर आमाले जागिर खान हुँदैन भन्छन् ।

उनलाई माधव सापकोटालाई जस्तै लाग्छ, ‘घर परिवार बालबच्चा हेर्ने जिम्मेवारी महिलाकै हो ।’ भन्छन्, ‘बच्चाबच्ची जन्माउने हुर्काउने काम कुनै पनि पुरुष गर्दैनन् । सबै महिलाले गरेका हुन्छन् । बालबच्चाका लागि पुरुषहरूले जागिर छोड्ने कुरा हुँदैन । पुरुषहरूले त्यो जिम्मेवारी पुरा गर्न पनि सक्दैनन् ।’

लक्ष्मीका श्रीमान हरिदत्त सापकोटालाई पनि श्रीमतीले खासै केही गर्दिनन् जस्तो लाग्छ । ‘उनले के नै गर्ने हो र ? घरको काम त हो !’ उनले भने – ‘सबै महिलाले त घरको काम गर्छन् । अझै मेरो श्रीमतीले भन्दा बढि काम गर्ने महिला पनि छन् ।’

‘घरधन्दा सेवामा गनिन्छ’

शंकरलाल श्रेष्ठ, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग (जनसंख्या शाखा)

महिलाले दिनरात घरमा गरेको काम आर्थिक गणनामा समेटिँदैन । यस्तो कामबाट उनीहरूले पारिश्रमिक पाउँदैनन् । पारिश्रमिक बिना गरिने सेवामूलक कार्यलाई जनगणनाले आर्थिक काममा गणना गनेको छैन ।

२०६८ सालको जनगणानाले महिलाले बिना परिश्रमिक गर्ने सेवालाई ‘घरधन्दाको काम’ को रुपमा अभिलेख गर्ने काम चाहिँ गरेको छ । तर, यसको मापन गर्ने मापदण्ड बनाएर योगदानको आर्थिक मूल्यांकन भने गरेको छैन ।

घरभित्रकै काम पनि पैसा अथवा ज्याला लिएर गरिएको छ भने यसलाई भने राष्ट्रिय लेखाप्रणाली अन्तर्गत मापन गरिन्छ । घरभित्र आफ्नै आवश्यकका लागि गरिने कार्य उसको दायित्व हो । आफ्नो लागि वा परिवारको लागि गरिने कार्यलाई कसरी मापन गर्ने ?

घरभित्रको कामलाई अर्थसँग कसरी र कुन आधारमा गणना गर्ने भन्ने अहिलेसम्म मापकयन्त्र छैन । त्यसैले पनि गणनामा समस्या छ ।

सेवामूलक काम ग्रामिण क्षेत्रका महिलाले मात्रै नभइ शहरबजार बस्ने महिला वा पुरुषहरू दुवैले पनि गरेका हुन्छन् । २०६८ सालमा गरिएको जनगणनामा महिला वा पुरुष जो सुकैले पनि बिना ज्यालामा घरभित्र गरिने कामलाई घरधन्दामा समेटेको छ । तर अधिकांश महिला छन् ।

‘घरधन्दा’ घरधन्दा भन्नाले आफ्नो परिवार वा परिवारका सदस्यहरूको लागि बिना तलब\ज्याला\ (नगद वा जिन्सी) प्रदान गरेका सेवाहरू हो । जस्तो खाना पकाउने, खुवाउने, परिवारका केटाकेटी, बुढाबुढी वा बिरामीको स्याहारसुसार गर्ने, आफ्ना बालबच्चालाई पढाउने, (शिक्षा दिने), घर आँगन सफा गर्ने, लुगा धुने कामहरूलाई घरधन्दामा समेटिएको छ ।

प्रायः परिवारका कुनै सदस्यहरूले सदस्यका लागि वा आफ्ना लागि कुनै किसिमको तलब ज्याला नलिइ गरिने यी सेवाका कामहरूलाई ‘घरधन्दाको काम’ भन्ने गरिएको छ ।

तर, आफ्नो र परिवारको लागि कुनै किसिमको तलब, ज्याला नलिइ गरिने यी काम भएपनि आर्थिक दृष्टिले आम्दानी हुने काम छ भने त्यसलाई विस्तारित आर्थिक कामको रुपमा गणना हुन्छ ।

जस्तो कि घरमै उपभोग हुने अन्न आफ्नै खेतबाट उत्पादन भएको छ तर त्यो काम गरेबापत महिलाले कुनै पारिश्रमिक लिएको छैन भने पनि त्यसको आर्थिक गणना हुन्छ । २०६८ को जनगणनाले यसलाई विस्तारित आर्थिक काम मानेको छ ।

घरभित्र गरिने कार्यलाई मापन गरिनुपर्छ भन्ने आवाज उठ्दै आए पनि यो कामलाई अर्थसँग कसरी जोड्ने, कसरी मापन गर्ने भन्ने समस्या छ ।

१० वर्षको एकपटक हुने राष्ट्रिय जनगणनामा नेपालले विभिन्न अन्तर्राष्ट्रिय नीतिलाई हेरेर गणना गर्नुपर्ने भएकाले पनि यस्ता कामलाई कसरी समेट्ने भन्ने समस्या छ ।

अब २०७८ सालमा राष्ट्रिय जनगणना हुँदैछ । यो जनगणनामा कसरी यस्ता विषयलाई समावेश गर्ने भन्नेबारे प्रश्न त छ । तर, मापक निर्धाण गर्नेगरी छलफल भने भएको छैन । अब हामी आन्तरिक तयारी गर्दैछौं ।

अहिलेको प्रश्नावलीले घरधन्दाको आर्थिक गणना हुँदैन

– अर्थशास्त्री डा. रुद्र सुवाल

राष्ट्रिय, जनगणनामा घरायसी कामलाई आर्थिक काम हो भनेर छुट्याएको छैन । त्यसैले पनि घरभित्र आप्नै वा परिवारको लागि महिला वा पुरुषले गर्ने कामलाई राष्ट्रिय जनगणनामा मापन गर्न समस्या भएको छ ।

छोटो समयमा थोरै व्यक्तिले गणनाको काम गर्नुपर्ने र बजेट पनि कम हुँदा सबै कुरालाई समावेश गर्न समस्या हुन्छ । यसको लागि केन्द्रीय तथ्याङ्क विभागले छुट्टै तयारी थाल्नुपर्छ ।

महिलाले घरायसी काम गर्छन भन्ने सख्या उल्लेख गरिने र उनीहरूले गरेको कामलाई मापन नगर्ने कुरा राष्ट्रिय रुपमा पनि नसुहाउने हो ।

यसका लागि अबको गणनामा महिलाले बिहानदेखि साँझसम्म गर्ने कामलाई आधार मानी बजारमा सोही काम गरेबापत हुनजाने रकमलाई अर्थसँग जोडे सहजरुपमा उनीहरूले गरेको कामको मूल्यांकन हुन्छ ।

राष्ट्रिय लेखा प्रणालीमा महिलाले घरमा गर्ने कामलाई अर्थसँग जोड्न उनीहरूले गरेको काम र त्यही काम ज्यालामा गर्दा कती रकम लाग्छ त्यसलाई आधार मान्न सकिन्छ ।

महिलाले बिना पारिश्रमिक गरिने कामलाई मापन गर्न पहिलेको प्रश्नावलीले मात्रै काम गर्दैन । अब सम्बन्धित सरोकारवाला राष्ट्रिय योजना आयोग लगायत निकायले यसतर्फ ध्यान दिनुपर्छ ।

नेपालको संविधान २०७२ को राज्यका निर्देशक सिद्धान्तले बालबच्चाको पालन पोषण, परिवारको हेरचाह जस्ता काम र योगदानलाई आर्थिक रुपमा मुल्याङन गर्ने भन्ने व्यवस्था गरेको छ । यो संवैधानिक व्यवस्था कार्यान्वयन गर्न पनि महिलाले गर्ने घरको कामलाई आर्थिक योगदानमा जोडेर गणना गर्नुपर्छ ।

(लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा संचारिका समूह र ‘सही हो’ अभियानको सहकार्य ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: