ममताको पर्खाइ


कमाउन विदेशिएका आमाका सन्तानकाे कथा

प्रकाशित मिति :2018-12-02 16:36:21

– नानीराम नेपाल /गोमा खत्री –

सिन्धुपाल्चोक । पुराना काठपात र ढुङ्गा माटोले बनाइएको दुईकोठे घर । छानोमा पनि पुरानै जस्तापाता छ । ढोकामा काठको फलेक छ । चुकुल छैन । त्यहि फलेक नै ढोका हो ।

पुराना ‘फरिया’का कपडाले झ्यालबाट छिर्ने सिरेटाे छेक्छ । त्यहि घरको पिँढीको डिलमा हरेक दिन एक बालिका केही सोचेझैं परतर्फ हेरिरहको हुन्छिन् । चिसोले होला गाला फुटेका छन् । हातगोडाको हालत पनि उस्तै ।

सिन्धुपाल्चोक सदरमुकामबाट गाडीको यात्रामा पाँच घण्टा लाग्छ १० वर्षीया बालिका अनिता तामाङको घर बाह्रबिसे नगरपालिका ८, मानेश्वाँरा पुग्न । मंसिर नलाग्दैदेखि चिसो लागिसक्ने मौसम छ मानेश्वाँराको । तर, मंसिरको पहिला साता भेट्दा उनले एकसरो हुट र पातलो सुरुवाल लगाएकी थिईन् । फाटेको चप्पल थियो गोडामा ।

भूकम्प पछि पुरानै घरको काठ, ढुंगा प्रयोग गरि नयाँ घर बनेको छ । तर, पनि व्यवस्थित छैन । यी सब कुरामा अनिताको गुनासो छैन न त मतलब नै । छ त केवल परदेशी आमा फर्की आउने आशा ।

अनिताले यत्ति बुझेकी छिन् उनकी आमा पैसा कमाउन विदेश छिन् । तर, कुन देश, के काम र कति कमाउँछिन् उनलाई केही थाहा छैन । आमाले छाडेर जाँदा ६ वर्षकी मात्र थिईन् । चार वर्ष पछाडि अहिले अनिता १० वर्षको भइन् । विदेश गएपछि आमा फर्किएकी छैनन् ।

२०७१ साल मंसिरमा वैदेशिक रोजगारीका लागि विपरानी तामाङ (अनिताकी आमा) कमाउनको लागि कुबेत गएकी थिईन् । उनी कुबेत गएयता नेपाल फर्किएकी छैनन् ।

अाफ्नै घरकाे अाँगनमा अनिता र सुमित्रा

‘आमाको धेरै न्यास्रो लागेको छ, दशैँमा घर आउँछु भनेको छ’, उनले स्थानीय तामाङ लबजमा भनिन् । अनिता गाउँकै भद्रकाली माध्यमिक विद्यालयमा कक्षा ४ मा पढ्दैछिन् ।

तर, पढाइको भन्दा धेरै घरको जिम्मेवारी अनिताले बहन गर्नुपर्छ । हरेक दिन बिहानैदेखि आमाको भागको काम अनिताले गरिरहेकी छिन् । उठेर घरसफा गर्ने, पँधेराबाट पानी बोक्ने, खाना बनाउने र भाँडा माझ्ने काम अनिताको जिम्मामा छ ।

हर दिन वनमा गएर घाँस र दाउरा ल्याउनुपर्छ । अझ मेलापर्मको बेला त स्कुल नै जान पाउँदिनन् उनी । ‘सबै काम आफैले भ्याउनुपर्छ, मेलापर्म पर्दा स्कुल नै जाँदिन’, अनिताले भनिन् ।

अनिता एक्लैले घरको काम सक्दिनन् । त्यसैले उनलाई ७ वर्षीया बहिनी सुमित्राले पनि सघाउँछिन् । अनितासँग कुराकानी हुँदा सुमित्रा पिँढीमा बसेर ‘होमवर्क’ गरिरहेकी थिइन् ।

सुमित्राले होमकर्व सकिन् । दिदीसँगको कुराकानीतर्फ ध्यान दिईन् । ‘आमाको न्यास्रो लाग्छ ?’ प्रश्न सुन्ने बित्तिकै एकैछिन् अघिको हँसिलो चेहरा मलिन भयो । दश महिनासम्म आमाको गर्भमा बसेर जन्मिएको । ३ वर्ष हुँदासम्म दुध चुस्दै थिईन् । आमाको आवश्यकता हुने तर चेहराको व्याख्या गर्न नसक्ने उमेरमै आमा कमाउन विदेशिइन् ।

गृहकार्य गर्दै सुमित्रा

आज सुमित्रा आमालाई सम्झिने बित्तिकै केही बोल्दिनन् । तर उनका आँखाले आमाको अभाव र ममताको न्यास्रो झल्काउँछ । न्यास्रोको प्रश्नमा पनि त्यहि भयो । उनको आँखामा आँशु टिल्पिलाए । आँशुको ढिक्का बनेर गालाहुँदै भूँईमा तप्प चुहियो उनको ममताको नियाँस्रो ।
कमाउनका लागि आमा परदेश पसेपछि ३ वर्षको सुमित्राको चुलबुलेपन हरायाे । ‘कतिदिन त आमा भन्दै रोएरै बिताइ’ बाबु गोपीलाल तामाङले भने ।

अहिले खाने-खेल्ने उमेरमा आमाको नियाँस्रो आमाले गर्ने काममा भूलेर मेटाउनुपर्दा त्यो बाल मस्तिष्कमा कस्तो असर परेको होला । ७ वर्षकी अबोध सुमित्रा बाहेक अरु कसले जान्ने ! फुटेका हत्केला देखाउँदै सुमित्राले यत्ति भनिन्, ‘भाँडा माझ्नुपर्छ, त्यै भएर हात फुटेको ।’

हुन त उनीहरुका बाबु पनि सँगै छन् । तर आमाको मातृत्व बाबुबाट तृप्ती हुन कहिल्यै नसक्ने रहेछ । ‘मसँगै छन् । सकेको माया दिने कोसिस गर्छु । त्यै पनि आमा चैं खोज्छन्’ उनीहरुका बाबु (विपरानीकी श्रीमान) गोपीलाको यो भनाइबाट पनि पुष्टि हुन्छ । गोपीलालले विपरानीले के काम गर्ने, कति कमाइ गर्ने भन्ने चाहिँ आफूलाई जानकारी नभएको बताए ।

अनिता र सुमित्राकै गाउँ मानेश्वाँराका हुन् ९ वर्षका नारायण भूर्तेल । उनको साथमा बाबु (समुन्द्र) आमा (सानु) दुबै छैनन् । दुबैजना कमाउन कतार गएका छन् । नारायण हजुरआमाको साथमा छन् ।

शुक्रबार घरमा एक्लै भेटिए । दैलो ठेलामा बसेर पाठ घोकिरहेका थिए । गाउँ नजिकैको भद्रकाली माध्यामिक विद्यालयमा कक्षा ४ मा पढ्छन् ।

दैलाेमा बसेर पढ्दै ९ वर्षका नारायण

बाबु आमा दुबै विदेशिएका २ वर्ष पुग्यो । त्यतिबेला नारायण ७ वर्षको थिए । ५६ वर्षकी हजुरआमाको साथ आमा बुबा दुबै हुन् उनको लागि । बाबुआमाबारे कुरा गर्न लागेपछि नारायण टोलाउन थाले । त्यसपछि उनको बालमनमा थप चोट पुर्याउन मन लागेन । प्रसंग मोडियो भूपम्पपछि घरको पुर्ननिर्माणबारे ।

भूकम्पमा भत्किएको घर बाआमाले विदेशबाट पठाएको पैसाले उनकी हजुरआमा (माइली भुर्तेल) ले ठड्याइन् । तर, बाबु आमाको अभावमा हराएको मायालु चुल्बुलेपना हजुरआमाले उठाउन सकेकी छैनन् ।

‘बाउआमाको यादमा धेरै छटपटाउँछ, कुनै दिन त राति अबेरसम्म पनि निदाउँदैन’, हजुरआमा माइलीले भनिन्,–‘बाउआमा विदेश गएपछि यसको अनुहारमा उज्यालो छैन ।’

हजुरआमाको बोलीसँगै नारायण बोले, ‘बाबुको भन्दा धेरै आमाको याद आउँछ ।’

०००

बाह्रविसे नगरपालिका–४ ओख्रेनीकी ३५ वर्षकी मसिना राउत अहिले कुबेतमा छिन् । गाउँमै आयआर्जनको आधार नभेटेपछि ६ महिनाअघि कमाईका लागि काम खोज्दै कुवेत पसेकी हुन् उनी ।

आमा परदेश गएपछि मसिनाकी ५ वर्षीया वर्षिया छोरी साराको मुहार मलिन छ । आमासँगै आमाको माया नै परदेश पसेपछि ५ वर्षिया साराका लागि ‘सहारा’ नै छैन भन्दा फरक पर्दैन ।

हुन त उनका बाबु तीर्थबहादुर साथैमा छन्, तर साराको मलिन मुहारमा ममताको अभाव प्रष्ट देखिन्छ । आमाका काखमै लुटुपुटु गर्ने उमेरमा आमा परदेश गएपछि ५ वर्षकी सारा ‘ममी’ भन्दै निन्द्रामै कराउँछिन् ।

‘निन्द्रामै ममी बोलाउँछे, ब्यूँझिएर रुन थाल्छे’, तीर्थबहादुर पनि छोरीलाई ममताको अभाव पूरा गर्न नसकेको दुःखी देखिए,–‘आमाको झैं माया बाउले दिन नसकिँदो रहेछ ।’

आमा परदेश गएपछि सारको दिदी पन्ध्र वर्षिया मनिसा राउतको दैनिकी बदलिएको छ । बाबु तीर्थबहादुर बिहानै मजदुरी गर्न जान्छन् । घरको काम मनिसाकै थाप्लोमा ।

आमा विदेश गएपछि कलिला भाईबैनीका ‘आमा’ बनेर घर धानिरहेकी छन् मनिसाले । ‘बाबा काममा जानुहुन्छ, पकाई तुल्याई गरेर स्कुल जान्छु’, उनी सुनाउँछिन्,–‘ममी विदेश गएपछि ममीले गर्ने काम मैले गर्नुपर्छ । एकमनले पढ्न पाइएन ।’

मनिसा स्थानीय क्षमादेवी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दैछिन् । अहिले कामको बोझले उनको अध्ययनमा समेत अड्चन देखापर्न थालेको छ ।

वैदेशिक रोजगारीले भत्काएको भविष्य

ओख्रेनीकी १५ वर्षीया पुष्पा राउतको जीवनमा आमाको वैदेशिक रोजगारीकै कारण पीडाको पहाड छ । उनले आमाको काख गुमाएकी छिन् । पुष्पा १३ वर्षको हुँदा उनकी आमा कमला कुवेत गएकी थिईन् ।

कुबेतमा आमाले कति कमाइन् कमाइनन् पुष्पालाई थाहा छैन । आमा नहुँदा १३ वर्षदेखि घरको काम धान्नुपर्दा उनको पढाइ छुटेको थियो । आमा आउँछिन्, पैसा कमाएर ल्याउँछिन् । अनि सँधै माया गर्ने आमासँगै सुखसाथ बस्न पाइन्छ भन्ने उनको सपना थियो ।

तर, के कारणले हो उनलाई थाहा छैन, बुबा तेजबहादुर र आमा कमलाको सम्बन्ध आमा विदेश गएको २ वर्षमा नै टुट्यो । कुबेत गएको २ वर्षपछि नेपाल फर्किएपछि कमला र तेजबहादुरको सम्बन्ध बिच्छेद भयो । त्यसपछि पुष्पाको पनि ममताको आशा टुट्यो ।

सम्बन्ध बिच्छेदपछि पुष्पासँग कमला बसिनन् । उनी कहाँ छिन् पुष्पालाई थाहा छैन । बुबा तेजबहादुरको मानसिक अवस्था बिग्रिएको छ । ‘आमाले छाडिगएपछि घरै धान्नुपरेको छ’ पुष्पाले सुनाइन् । कक्षा ८ पढिरहेपनि परीक्षा पनि दिन नपाएको उनले गुनासो गरिन् ।

अबैध बाटो हुँदै ईराक पुगेकी भोटेकोसी गाउँपालिका मार्मीङकी ल्हामु तामाङको असोजको अन्तिम साता उतै मृत्यु (हत्या आशंका गरिएको) भएपछि उनका दुई छोरीको विचल्ली भएको छ ।

सुखको सपना सजाएर श्रम खोज्दै ईराक पुगेकी ल्हामुको मृत्यु भएपछि उनका दुई छोरी यतिबेला परदेशी आमाको लाश कफनको पर्खाइमा छन् । महिला सञ्जाल मार्मीङकी अध्यक्ष अमृता श्रेष्ठका अनुसार ल्हामु इराकमा घरायसी कामदारका रुपमा कार्यरत थिईन् ।

श्रेष्ठका अनुसार दुईसाता अघि आफुले काम गर्दै आएको घरको वाथरुममा ल्हामुको शव फेला परेको जनाइएको छ । ‘छातीमा गोली नै लागेको छ भन्ने सुनियो’, अमृताले भनिन्,–‘ मृत्यु नभई ल्हामुको हत्या नै भएको हुने अनुमान छ ।’

जो फसेर फर्किए

इराक जाने रहरमा ९० हजार रुपैयाँ सहित पासपोर्ट नै दलाललाई जिम्मा लगाएर भारतसम्म पुगेकी थिईन् मार्मिङ त्याङथलीकी गोपी तामाङ । इराक लैजाने भन्दै दलालले उनलाई भारत पुर्याएर छाडिदियो ।

अन्ततः दलालले फसाएको चाल पाएपछि चार वर्षअघि स्वदेश फर्किइन् । उनले भनिन्, ‘दलाल गाउँ नै छाडेर भागीसक्यो, उजुरी दिएर मात्र के हुन्छ र अब ?’

त्याङथलीकै तारा कार्की पनि दलालले विदेश लैजाने प्रलोभनमा परेर फसेकी महिला हुन् । तर उनले आफूमाथि भएको ठगीको न्यायिक पहल गरिनन् । प्रहरीले दलाललाई समाउँछ भन्ने विश्वास नै छैन उनलाई ।

दलालले सजाय पाउने भरै नभएपछि प्रहरीमा उजुरी नै नदिएको उनले बताईन् । ९ वर्षअघि दलालले नक्कली भिसामा उनलाई कुवेत पुर्याएको थियो । उनी कुबेत त पुगिन् तर काम पाइनन् । सयौं नेपाली चेलीहरु समस्यामा परेको देखेपछि एक महिनापछि उनी स्वदेश फर्किएकी थिइन् ।

एकै वडाका दुई सय महिला विदेश

भोटेकोसी गाउँपालिका–५ साविक मार्मिङ गाविसका दुई सय भन्दा बढि महिला अवैध बाटो हुँदै इराक पुगेका छन् । माइती नेपालको पछिल्लो तथ्याङक अनुसार मार्मिङका दुई सय भन्दा बढि महिलाहरु रोजगार अनुमती नै नभएको देशमा अवैधानिक रुपमा रोेजगारीका लागि पुगेका छन् । इराकमा उनीहरु घरायसी काम गरिरहेका छन् ।

वैदेशिक रोेजागरीमा जाँदा श्रम मन्त्रालायले रोजगार अनुमती लिएका देशहरुमा मात्रै जानका लागि आग्रह गरेपनि अवैधानिक बाटो हुदै साढे दुइ सय महिलाहरु इराक पुगेको माइती नेपालकी जिल्ला संयोजक पवित्रा घिमिरेले बताए ।

भोटेकोशी गाउँपालिका–५ साविकको मार्मिङ गाविसमा माइती नेपालले ६ महिना अघि गरेको सर्वेक्षण अनुसार रोजगारीका लागि विदेशिएका ४ सय ४४ मध्ये २ सय ४७ जना रोजगार अनुमती नै नभएको इराकमा पुगेका हुन् ।

महिलाको क्षेत्रमा काम गर्दै आइरहेको माइती नेपालका अनुसार एउटै घरबाट श्रीमान,श्रीमती समेत वैदेशिक रोजगारीका लागि इराक पुगेका छन् ।

इराक गएका प्रायः सबै अवैधानिक बाटो हुँदै गएका हुन् । माइती नेपालकी घिमिरे भन्छिन्, ‘मार्मिङबाट मात्रै महिला र पुरुष गरी २ सय ४७ जना इराक गएका छन् ।’

इराक गएका मध्ये केही त कम उमेरमै नागरिकतामा उमेर बढाएर गएको सर्वेक्षणबाट देखिएको माइती नेपालकी घिमिरेले जानकारी दिइन् ।

‘मार्मिङबाट ८५ प्रतिशत घरबाट विदेश गएका छन्’, घिमिरेले भनिन–‘विदेशमा हुनेले आवश्यक कागजपत्र पठाउने गरेपछि धेरै त्यसरी जाने गरेका रहेछन् ।’

एउटै वडाबाट यसरी धेरै संख्यामा रोजगार अनुमती नै नभएको मुलकमा जाने मार्मिङ नै पहिलो गाउँ रहेको जिल्लाको तथ्यांकले देखाएको छ । ‘वैदेशिक रोजगारीमा जाने सबैको पहिलो रोजाई इराक नै भएको देखियो’ घिमिरेले भनिन्– ‘त्यसपछि मात्रै अरु मुलुक देखियो ।’

उनका अनुसार छोराछोरीलाई हजुरबुबा हजुरआमाको जिम्मा लगाएर विदेशिने पनि धेरै छन् ।

सो वडाबाट दुबईमा रोजगारीका लागि ४८ जना गएका छन् । दुबई गएका ४८ मध्ये २५ जना त महिला मात्रै छन् । कुबेतमा ३२ र मलेसियामा ३५ जना रोजगारीका लागि गएको तथ्यांकबाट देखिएको छ । माइती नेपालको तथ्याङ्क अनुुसार सिन्धुपाल्चोकबाट मात्रै २ हजार बढी वैदेशिक रोजगारीका लागि विदेश गएका छन् ।

गरिबीका कारण जोखिम मोलेरै उच्च आम्दानीको आशामा विदेश जाने महिलाको संख्या बढेको बाह्रविसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिन बताउँछिन् ।

‘महिलाहरुमा विदेश मोह बढिरहेको छ, सुझबुझ विना नै विदेश पुगेर दुःख पाउनेहरुपनि उत्तिकै छन्’, उपमेयर पाख्रिनले भनिन्,–‘बालबच्चालाई छिमेकीका जिम्मामा छाडेर परदेशिने आमाहरुको संख्या पनि बढिरहेकै छ ।’

चार महिनामा ३ हजारलाई राहदानी

स्थानीय तहको निर्वाचन भएको त डेढ वर्ष बितिसक्यो । निर्वाचनका बेला उमेदवारहरुले यूवा लक्षित योजना र नारा अघि सारेका थिए । तर, जिल्लाको वैदेशिक रोजगारीको तथ्याङ्क हेर्दा सिन्धुपाल्चोकमा युवा शक्तिको विदेश पलायन रोक्ने केही विकल्प नभएको देखाउँछ ।

दैनिकजसो जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागि यूवाहरुको भीड हुन्छ । विदेशिनेको भीड बढेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको पछिल्लो चार महिनाको तथ्याङ्कले पनि पुष्टि गर्छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा जिल्लाका १ हजार ५ सय बढिले राहदानी लिएका छन् । अघिल्लो आर्थिक वर्षमा फारम बुझाएका समेत गरि साउनयता १ हजार ६ सय ४ जनालाई राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

पछिल्लो चार महिनामा राहदानीका लागि ३ हजार जना भन्दा बढीले फारम बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय राहदानी फाँटका अनुसार चार महिनामा १ हजार ६ सय ७ जनालाई राहदानीका लागि काठमाडौं सिफारीस गरिएको छ ।

त्यस्तै सोही अनुपातमा राहदानीका फारम पनि संकलन भएका छन् । चार महिनामा १ हजार ६ सय ६८ वटा राहदानी फारम संकलन भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आउनेहरुले एकै दिन नागरिकता र राहादानी बनाउने गरेका छन् ।

नागरिकताको प्रमाण–पत्र पाउनासाथ सोही दिन नै राहादानीको सिफारिस समेत लैजाने गरेको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । राहादनी बनाउनेमा महिलाहरु त्यसमाथी पनि किशोरीहरु नै बढी रहेको सहायक प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जनाइन् ।

(लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा संचारिका समूह र ‘सही हो’ अभियानको सहकार्य ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: