बढ्दैछ विश्वास, थपिदैछन् महिला डकर्मी


प्रकाशित मिति :2018-11-29 14:21:21

पछिल्लो केही वर्ष यता निर्माण क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको तलका दृष्यले पनि पुष्टि गर्छ । भूकम्पपछि त निर्माण मजदुरको रुपमा मात्रै काम गर्ने महिलाको नेतृत्व बढ्न थालेको छ । उनीहरू निर्माण मजदुर होइन, दक्ष डकर्मीको रुपमा स्थापित हुँदै गएका छन् ।

-ज्योति श्रेष्ठ-

बनेपा । मंसिर महिनाको पहिलो दिन । बिहानको ठिक १० बजेको थियो । काभे्रको धुलिखेलमा चिसो बतास चलिरहेको थियो ।

सरस्वती बजारबाट दायाँतर्फ थोरै उकालो हिँड्दै गर्दा हुर्खा बजार देखियो । बजारको छेवैमा नयाँ घर बनिरहेको थियो । सामान्यतया घर निर्माण भनेपछि मिस्त्री, मजदुरमा पुरुष कल्पनामा आउँछन् ।

तर, हुर्खा बजारमा भन तेस्रो तल्ला निर्माणमा ४/५ जना महिला एकचित्त भएर काम गर्दै थिए । कोही गारो लगाउँदै, कोही प्लाष्टर गर्दै त कोही टाइपिङ (घर प्लास्टर गर्नुपुर्व गरिने काम)गर्दै ।

पछिल्लो केही वर्ष यता निर्माण क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको यो दृष्यले पनि पुष्टि गर्छ । भूकम्पपछि त निर्माण मजदुरको रुपमा मात्रै होइन निर्माणमा महिलाको नेतृत्व बढ्न थालेको छ । उनीहरू निर्माण मजदुर होइन, दक्ष डकर्मीको रुपमा स्थापित हुँदै गएका छन् ।

तलका केही महिलाका कथाले पनि निर्माण मजदुरको नेतृत्व र दक्षता बढेको थप पुष्टि हुन्छ ।

हुर्खामा निर्माण भएको घरमा सुरुमा धुलिखेलकी ३१ वर्षीया सर्मिला कार्की भेटिइन् । उनलेपछ्यौराले अनुहार र टाउको छोपेकी थिईन् । आँखा मात्र खुला थिए र देखिन्थे । हातमा पहेँलो रङ्गको पञ्जा । अनि घुँडासम्मै आईपुग्ने ड्याम्म बुट ।

गाराे लगाउँदै सर्मिला कार्की

हातमा ज्यावल, साईडमा घण्टी (गाह्रोको लेबल नाप्न प्रयोग गरिन्छ) र मसला पनि थिए । उनी गारो लगाउँदै थिईन् । कुरा थालेपछि सर्मिलाले मुख ढाकेको पछ्यौरी अलिकति तल सारिन् ।

सर्मिलाले १२ वर्षकै उमेरदेखि ज्यामी काम सुरु गरेकी रहिछन् । किताब, कापी र कलम समाउने त्यो उमेर । पढ्ने रहर पनि थियो । तर, पढ्न पाइनन् ।

कारण सुनाइन्, ‘पढ्ने खर्च थिएन । पढ्ने बेला मजदुरी गर्नु पर्यो ।’ ज्यामी काम गर्दा सुरुमा गिट्टी बालुवा, सिमेन्ट, ईट्टा बोक्थें । अनि दिनको ६० रुपैयाँ ज्याला पाउँथे ।’

उनले ६० रुपैयाँ ज्याला पाउँदा डकर्मीले २ सय ५० रुपैयाँ पाउँथे । परिश्रम गरेभन्दा मूल्य कम पाइए पनि उनलाई आफ्नो मेहनतको आम्दानी भनेर खुसी लाग्थ्यो । ‘पछि ज्यामीको पनि ज्याला बढ्यो । तर ज्यामी काम गरिन’ सर्मिलाले भनिन् ।

अरुले काम गरेको हेरेरै टपक्कै टिप्ने क्षमता रहेछ सर्मिलासँग । साथीहरूले काम गरेको हेरेरै उनले डकर्मीको सीप जानिन् ।

‘आफूमा गर्छु र सक्छु भन्ने हिम्मत भएपछि जस्तो काम पनि गर्न सकिदो रहेछ’ उनले भनिन् । सर्मिलाका अनुसार सँगै काम गर्ने पुरुष डकर्मीले पनि उनलाई सिक्न हौसला दिन्थे । डकर्मीको काम आउन थालेपछि उनले धुलिखेल नगरपालिकाले दिएको गारो लगाउने, प्लास्टर गर्ने, डण्डी काट्ने, बाँध्ने तालिम पनि सिकिन् ।

१० वर्ष अगाडि नै उनमा डकर्मीको सीप थियो । तर घर बनाउन महिलालाई नै जिम्मा दिने मान्छे भेट्न चाहिँ निकै मुस्किल पथ्र्यो । ‘पहिला–पहिला घर बनाउने ठाउँ कहाँ छ भन्दै खोज्नुपथ्र्यो ।’ उनले भनिन्, ‘तर अहिले ठिक उल्टो भएको छ ।

अहिले घर बनाउने काम पर्यो कि मान्छेहरू खोज्दै उनकै घर पुग्छन् । अहिले उनको खोजी हुनुको कारण काममा परिपक्वता र ग्राहकहरूको विश्वास रहेको उनको बुझाइ छ ।

सर्मिलाले डकर्मी सीप जानेयता बनेपा र धुलिखेलमा गरी ९० घर, ४ विद्यालय तयार पारिसकिन् । जिम्मेवारीसँगै उनको पारिश्रमिक पनि बढेको छ । दैनिक एक हजार २ सय ५० रुपैयाँ उनको ज्याला छ ।

उनीसँगै काम गर्ने पुरुष डकर्मीले पाउने रकम पनि त्यही हो । ‘हामी जहाँ काम गर्छौँ, त्यहाँ महिला पुरुषबीच समान व्यवहार र समान ज्याला छ । हाम्रो महिला पुरुषबीचको सहकार्य र सम्बन्ध पनि उस्तै राम्रो छ,’ ‘सर्मिलाले भनिन् ।

सर्मिलाको परिवारमा ५ जना सदस्य छन् । आमा, बुबा, २ बिहिनी र सर्मिला । घर व्यवहार उनले नै धान्दै आएकी छिन् । आफूले पढ्न नपाए पनि २ बहिनीलाई भने उच्च शिक्षा हासिल गराउने उनको चाहना छ ।

उनीसहित ३ महिला र एक पुरुष डकर्मीको सहकार्यमा घर निर्माण भईरहेको छ । सर्मिलाले गारो लगाइरहँदा कल्पना भण्डारी भने टाइपिङको लागि तयारी गर्दै थिईन् ।

टाउकोमा कालो र हरियो रङ्गको क्यापटोपी र पछ्यौरा । हातमा डण्डी र फल्याक थियो । उनी टाइपिङको लागि तयारी गर्दै थिईन् । अलि हतारमा झैं देखिन्थिन् । ज्यामीहरू बिदामा रहेछन् । ज्यामी र डकर्मी दुवैको काम कल्पना सम्हाल्दै रहिछन् । प्लाष्टरको मसला बनाउँदै कुरा गर्न थालिन् ।

टाइपिङकाे तयारीमा कल्पना

घर काभ्रेकै भुम्लु गाउँपालिका । उमेर ३० वर्ष । २ वर्षयता कल्पना डकर्मी पेशामा आवद्ध छिन् । ‘रहरले होईन, परिस्थितीले उनलाई डकर्मी बनायो’ कल्पनाले भनिन् ।

कस्तो परिस्थिती ? कल्पनाले खुलाईन्, ‘१० वर्ष अघिसम्म कोशीपारीको सेतीदेवी प्राथमिक विद्यालयमा पढाउँथे । २ वर्षसम्म निजी स्रोतमा पढाए पनि दरबन्दी पाईन । शिक्षण मनपर्ने पेशा भए पनि थोरै पारिश्रमिकमा लामो समय कटाउन सकिएन । त्यसपछि दुबई गएँ । दुबई जाँदा छोरो ५ वर्ष र छोरी २ वर्षकी थिईन् । दुबईमा सेल्सको काम गर्थें । ८ वर्षको बसाई पछि सधैँको लागि नेपाल फकर्नेे निधो गरें । छोराछोरीको भविष्यको लागि पनि नेपाल फर्किनु पर्ने थियो ।’

नेपाल फर्किएपछि रोजागारीका लगि धेरै ठाउँमा भौतारिएको उनले बताइन् । तर आफूले सोचे जस्तो रोजगारी पाइनन् । भनिन्, ‘प्राईभेट स्कूलमा पढाउँदा थोरै तलब हुने, सरकारीमा आफ्नो पावर छैन, फाईनान्समा पनि कम तलबमा धेरै काम गर्नुपर्ने, व्यवसाय गर्न आफूसँग ठूलो रकम थिएन । धुलिखेलमा एक जना दिदीले ज्यामी गर्ने अवसर दिनुभयो । छोराछोरीको भविष्यकै लागि मैले त्यो अवसर सहर्ष स्वीकार गरेँ ।’

आफू १२ कक्षा पास भएर पनि उनले सोचेजस्तो जागिर पाइनन् । त्यसैले उनलाई लाग्यो ‘काम आफैमा कहिल्यै सानो ठूलो हुँदैन ।’ त्यसपछि उनले ज्यामी हुँदै डकर्मी बन्ने निर्णय लिईन् ।

ज्यामी कामबाट नै उनी अहिले डकर्मी बनेकी छिन् । ज्यामी काम पनि सुरु सुरुमा निकै गाह्रो भएको थियो । उनले काम सुरु गर्दाका दिन सम्झिईन्, ‘सुरुको दिन काम कसरी गर्ने होला भन्ने मात्र सोच आउँथ्यो । निकै मोटी थिएँ । ७५ किलो थिए त्यो बेलामा । भारी बोक्न लाग्दा थर्रर काप्थेँ । पछि काम गर्दै गएपछि सजिलो हुन थाल्यो । अहिले ज्यान घटेर ५० किलोमा पुगेको छ ।’

उनलाई ज्याम काम गर्दा गर्दै, डकर्मीको काम पनि गर्न सक्छु भन्ने हिम्मत आयो । आफूभन्दा जान्ने डकर्मीले गरेका काम हेर्न थालिन् । अलिअलि आउन थाल्यो ।

कल्पनाले डकर्मी कामको पहिलो दिन यसरी सम्झिइन्, ‘सुरुको दिन निकै डर लागेको थियो । बिग्रने पो हो कि ? बिग्रियो भने कसैले गाली गर्ने हो कि भनेर चिन्ता लाग्थ्यो । डण्डी बाँध्ने, घण्टी मिलाउने, गाह्रो ग्याप मिलाउने काम अरु डकर्मी साथीहरूले सिकाउनुभयो । सिक्दै गएपछि काम गर्ने बानी पर्यो ।’

कल्पनाले डकर्मी भएपछि ३० वटा घर बनाउने काम गरिसकेकी छिन् । तर आजसम्म डकर्मी तालिम भने पाएकी छैनन् ।

उनीहरूको डकर्मी काम गर्ने ३५ जनाको समूह छ । जसमा १५ जना महिला र २० जना पुरुष छन् । महिला पुरुष मिलेर समूह समूहमा काम गर्ने गर्छन् । समूहमा काम गर्न धेरै सजिलो र छिटो हुने उनले बताईन् ।

आफूले नजानेको कुरा सिकाई माग्न उनलाई अप्ठ्यारो लाग्दैन । समूहमा काम गर्दा कुनै काम गर्न नसकेको बेलामा सघाईदिने, नजानेका कुरा सिकाउने हुँदा काम गर्न सजिलो भएको उनको अनुभव छ ।

भनिन्, ‘हामी महिला र पुरुषसँगै समूहमा काम गर्छौँ । पुरुष साथीहरूले हाम्रो कामको सम्मान गर्नुहुन्छ र हामी पनि उहाँहरूलाई सम्मान गछौँ । काम गरेको आजको दिनसम्म महिला पुरुषबीच कुनै भेदभाव भएको थाहा छैन ।’ महिला पुरुषबिचको समान व्यवहार र सहयोगले उनलाई काम गर्न उर्जा आउँछ ।

नेपालमा भूकम्पले घर लडाउँदा उनी विदेशमा नै थिईन् । भूकम्पको खबरले उनी नेपाल फर्किइन् । घरको बनाउन केही रकम छोडेर फेरि विदेश गईन् । त्यतिबेला उनको गाउँमा डकर्मीको तालिम गएको रहेछ ।

उनका ससुराले डकर्मीको तालिम लिएर आफैले आफ्नो घर बनाए । अहिले उनका ससुरा पनि गाउँमा डकर्मीको काम गर्छन् ।

कल्पनाको काममा परिवारको पनि सहयोग छ । आम्दानी पनि राम्रो । छोटो दिनमा २० देखि २५ हजार र लामो दिनमा बिहानदेखि काम गर्दा मासिक ३५ हजार रुपैयाँ आम्दानी हुने उनले बताईन् ।

उनको आम्दानीले दैनिकी त फेरिएको छ नै, समाजमा हेर्ने दृष्टिकोणमा समेत परिवर्तन भएको छ । उनी भन्छिन्, ‘महिला भएर पनि डकर्मीको काम गर्न सक्यो भनेर आजभोलि कामको प्रशंसा गर्नुहुन्छ ।’

रहरले डकर्मी

कल्पनाकै समूहकी बिमला रानामगर पनि डकर्मी हुन् । बिमला बालुवा, सिमेन्ट र गिट्टीलाई साबेलले बिस्तारै मिलाउँदै थिइन् । छेउमै भएको ड्रमबाट पानी झिकेर अलिकति हालिन् । सबैलाई एकैचोटी फेरि घोलिन् । केही बेरमै मसला तयार भयो । तयार भएको मसला डकर्मीलाई पुर्याईदिइन् ।

बिमला पनि दक्ष डकर्मी हुन् । तर, परेको बेला ज्यामी काम पनि गर्छिन् । उनी ३५ वर्षकी भइन् । डकर्मी काम १० वर्ष अघि फूर्सदको बेला सिकेकी हुन् । १० वर्षअघि बिमला श्रीमानसँगै रोजगारीका लागि काठमाडौं गएकी थिईन् ।

रहरले डकर्मी बनेकी बिमला गाराे लगाउने मसला बनाउँदै

उनका श्रीमान गाडी चलाउँथे । बिमला दिनभर कोठामा एक्लै हुन्थिन् । कोठमा दिनभर यत्तिकै बस्नुभन्दा केही काम गर्न पाए, घर खर्च पुग्थ्यो भन्ने उनले सोच्थिन् ।

टोलका केही महिला ज्यामी काममा जाने गरेको पाईन् । उनलाई पनि काम गर्न मन लाग्यो । ती महिलाहरूसँग आफूलाई पनि लैजान अनुरोध गरिन् । उनीहरूले पनि उनलाई समूहमा राखे । बिमला ज्यामी काम गर्न थालिन् ।

उनका श्रीमानलाई भने उनले काम गरेको चित्त बुझेको थिएन । ‘तिमीले ज्यामी काम गर्न सक्दैनौ । म कमाइहाल्छु, तिमी किन दुःख गर्छौ ?’ भन्थे ।

बिमलामा भने आफू आत्मनिर्भर हुनुपर्छ भन्ने थियो । त्यसैले उनले ज्यामी काम गर्न जिद्धी गरिन् । ज्यामी काम गर्दै गईन् । सुरुमा त उनलाई पनि काम गर्न गाह्रै भएको थियो । काम गर्दै गएपछि बानी परेर सजिलो भएको उनी बताउँछिन् ।

बिमलाले विगत सम्झिइन्, ‘काम गर्दा त रमाइलो लाग्थ्यो । तर, ज्यामी काम गर्ने महिलाहरूप्रति मानिसहरूको नराम्रो दृष्टिकोण हुँदो रहेछ । ज्यामी गर्ने भनेर मेरो बारेमा धेरैले नराम्रो भने । तर कसैको कुरा पनि सुनिन । आफ्नो कामसँग मात्र मतलब राख्थें ।’ अरुले साथ नदिए पनि नदिएपनि श्रीमानले भने उनलाई सधैँ साथ दिएको बताइन् ।

बिमलाका श्रीमानले धुलिखेलको गाडी चलाउन थालेपछि उनीहरूको बसार्ई धुलिखेलमा सर्यो । बिमला धुलिखेल बस्न थालेको ४ वर्ष भयो ।
धुलिखेल गए पनि उनले काम छोडिनन् । धुलिखेलमा ज्यामी काम गरेको १ महिना पछि महिला डकर्मीले उनलाई डकर्मी काम गर्न हौस्याए ।

सुरुमा त प्राविधिक काम जान्दिन कि जस्तो लागेको थियो । भन्छिन, ‘गारो कसरी लगाउने, ईंट्टा कसरी हाल्ने ? कति ईन्चको गाह्रो चाहिन्छ ? भन्ने कुरा पहिला सिके । केही कुरा हेर्दै गर्दै जानें, केही डकर्मी साथीहरूले सिकाउनुभयो ।’

ज्यामी काम गर्दा सुरुमा उनका ज्याला १ सय ५० रुपैयाँ थियो । त्यो बढेर ३ सय ५० रुपैयाँ हुँदासम्म उनले ज्यामीको काम गरिन् ।

धुलिखेल आएर ज्यामी गर्दा ५ सय पाउँथिन् । अहिले ज्यामीहरूको पारिश्रमिक बढेको उनी बताउँछिन् । उनका अनुसार, महिला ज्यामीले दैनिक ६ सय पाउँछन् भने पुरुष ज्यामीले ७ सय पाउँछन् ।

तर, डकर्मीमा चाहिँ महिला पुरुषको पारिश्रमिक बराबर छ । उनले भनिन्, ‘यहाँ महिला र पुरुषको काम एउटै हुन्छ । पुरुषले जति पाउँछन्, महिलाले पनि त्यति नै पाउँछन् ।’

अहिले श्रीमानको भन्दा बिमालाको कमाइ राम्रो छ । श्रीमानले मासिक १५ हजार रुपैयाँ कमाउँछन् । उनले मासिक ३० हजार । श्रीमानको आम्दानी घरायसी खर्चमा प्रयोग हुने र उनको आम्दानी बचत गर्ने गरेको उनले बताईन् ।

महिलासँग काम गर्दा काममा संवेदनशिल भइन्छ

३८ वर्षका हेमन्त बूढाथोकीको घर संखुवासभा हो । उनी डकर्मी हुन् । कामको लागि २ वर्ष यता धुलिखेलमा बस्छन् ।

निर्माण क्षेत्रमा उनको ४ वर्षको मात्रै अनुभव छ । उनीले काम गर्ने डकर्मीको समूह छ । ११ जनाको समूहमा ७ जना पुरुष र ४ जना महिला छन् । काममा हामी सधैँ सँगै हुन्छौँ, महिला र पुरुष भनेर कुनै विभेद हुँदैन, उनले भने, ‘पुरानो रुढिवादी समाजमा मात्र महिला र पुरुषबिच विभेद देखिन्छ । पुरुषलाई जस्तो व्यवहार गरिन्छ, महिलालाई नि त्यस्तै गर्छौँ ।’

उनको अनुभवमा महिलाहरूसँग काम गर्दा झनै कामप्रति संवेदनशिल भइन्छ । एक अर्काप्रति सम्मान पनि हुने उनले बताए ।

भूकम्पले बनायो डकर्मी

काभ्रेमा भूकम्पले सबैभन्दा बढी क्षति गराएको क्षेत्र मण्डन देउपुर हो । भूकम्पले धेरैको घर लडायो । तीनै लडेका घर केही बनिसके । केही बन्ने क्रममा छन् । कुन्तावेशी मण्डन देउपुरको शहरी क्षेत्र हो । त्यहाँबाट १३ किलोमिटर टाढा छ चण्डेनी ।

१ घण्टाको उकालो चढेपछि चण्डेनी गाउँ पुगिन्छ । चण्डेनी चोकमै भक्तलाल श्रेष्ठको घर बनिरहेको छ । ढलानको तयारीमा रहेको घरमा आधाजसो महिला डकर्मी थिए ।

उनीहरू ढलानको लागि फर्मा ठोक्दै थिए । तिमध्ये एक थिईन् संगीता श्रेष्ठ । हातमा उनका औजारहरू थिए । संगीता डकर्मी भएको एक वर्ष मात्रै भयो । मण्डनदेउपुर–१० उनी आफैले यो पेशा रोजेकी हुन् ।

अाफ्नाे कर्म क्षेत्रमा संगीता श्रेष्ठ

१० वर्ष ज्यामी भएपछि उनी डकर्मी बनेकी हुन् । १० वर्षसम्म बालुवा, गिट्टी, रोडा, ढुङ्गा, ईट्टा बोक्ने काम गरिन् । डकर्मी सार्थीहरूले गारो लगाएको र प्लास्टर गरेको देख्दा उनलाई पनि गर्ने ईच्छा जाग्थ्यो । तर सीप थिएन ।

सीप नहुँदा आँट आउने कुरै भएन । कहिलेकाहिँ भने लुकीछिपी अलि अलि अभ्यास पनि गरेको उनले बताईन् । २०७२ सालको भूकम्पले धेरै घर ढलायो । अनि त्यही भूकम्पले नै संगीतालाई पनि डकर्मी बन्ने अवसर आयो ।

भूकम्प पछि कारितास नेपाल नाम गरेको संस्थाले चण्डेनीमा आवास पुर्न निमार्णको लागि गाउँका महिला र पुरुषलाई डकर्मीको तालिम दिएको थियो ।

संगीताले पनि डकर्मीको तालिम लिने मौका पाईन् । गाउँका लडेका घर उठाउने अवसर उनको पोल्टोमा पनि पर्यो । तालिम लिएपछि आफूले धेरै कुरा जानियो, उनले भनिन्, ‘सुर बन्धन, जग बन्धन, ढोका बन्धन भनेको केही थाहा थिएन । ९ ईन्चको गारो लगाउनुपर्छ भन्ने पनि थाहा थिएन । तालिम पछि लम्बाई चौडाईको हिसाब गरेर काम गर्नुपर्ने रहेछ भन्ने थाहा पाएँ । अनि डकर्मी बन्ने हिम्मत आयो ।’

संगीताको परिवारमा ६ जना छन् । २ छोरी, १ छोरा, श्रीमान्, सासू अनि संगीता । पहिलेदेखि नै संगीता आफैले घर व्यवहार धान्दै आएकी थिईन् । अहिले डकर्मीको काम गर्न थालेपछि आम्दानी पनि राम्रो भएको छ । घर व्यवहार धान्न उनलाई सजिलो भएको बताईन् ।

उनका श्रीमान् पनि रोजगार छन् । त्रिशुलीको ईट्टाभट्टामा लेखापाल काम गर्छन् । महिनामा १, २ पटक मात्र घर आउँछन् । ज्यामी हुँदा श्रीमानको भन्दा कम कमाउने उनको अहिले श्रीमानको जत्तिकै कमाइ छ । मासिक ३० हजार रुपैयाँ कमाउँछिन् ।

अहिलेसम्म उनले ४० वटा घर तयार पारिसकिन् । डकर्मी काम गर्न हल्ले, सिमचौर, गैराथोक, जैसी थोक ठाउँमा पुग्ने गर्छिन् । केही समयपछि गाउँमा घरमा रंग लागाउने तालिम पनि आउने उनले खबर पाएकी छिन् । त्यसमा पनि सहभागी भएर आफूमा क्षमता बढाउने उनले बताइन् ।

भूकम्प अघिसम्म कविता श्रेष्ठ सामान्य गृहिणी थिइन् । भूकम्पले धेरै भौतिक पूर्वाधारको विनास गर्यो । कवितालाई भने गृहिणीबाट पूननिर्माणकर्ता बनायो ।

भूकम्पमा ढलेका घरहरू बन्न थाले । सुरुमा कविताले फूर्सदको समयलाई सदुपयोग गर्दै ज्यामी काम गर्न थालिन् । ज्यामी काम गरेको १ वर्ष नबित्दै २०७३ सालमा गाउँमा डकर्मी तालिमको अवसर आयो ।

कविता जसलाई भूकम्पले बनायाे डकर्मी

एक सय जनाले तालिम लिएकोमध्ये कविता पनि एक थिईन् । तालिमले महिलाहरूलाई परिपक्व बनाउनुको साथै उनीहरूमा काम गर्ने उर्जा थपिदियो । तालिम लिएक सय जनामध्ये ९ जना महिला समूहमा मिलेर काम गर्ने कविता बताउँछिन् ।

कविताका श्रीमान पनि डकर्मी हुन् । श्रीमानले पनि उनलाई नजानेको ठाउँमा सिकाइदिए । अहिले दुवै जना काममा सँगै निस्किन्छन् । सँगै घर फर्किन्छन् । तालिम पछि कवितामा ‘म पनि श्रीमानसरहको काम गर्न सक्छु’ भन्ने आत्मविश्वास बढेको छ ।

भन्छिन्, ‘पहिले श्रीमानसँगै हिँड्दा डकर्मीको काम गर्न मन लाग्थ्यो । अलि अलि सिकाउनुहुथ्यो । तर धेरै कुरा त तालिम लिएरै जानियो । अहिले पनि श्रीमानले केही बिग्रिए सिकाइदिनुहुन्छ ।’

कविताले दैनिकी डकर्मीबाट १ हजार आम्दानी गर्छिन् भने उनको श्रीमान् बालकृष्ण श्रेष्ठले पनि उत्ति नै । डकर्मीको काम नगर्दा अलिकति पैसा चाहिए पनि अरुसँग हात थाप्नुपथ्र्यो, तर अहिले आम्दानी राम्रो छ । कसैसँग खर्च माग्नु पर्दैन ।

शौचालय मुख्य समस्या

डकर्मी काम गर्दा दुर्घटनाको जोखिम त हुन्छ । लड्न सकिन्छ । फर्मा ठोक्दा किलाले बिज्न सक्छ । ईट्टा खसेर चोटपटक लाग्न सक्छ ।

डकर्मी सर्मिला कार्की भन्छिन्, ‘डण्डी बान्ने बेलामा पनि धेरै ध्यान दिनुपर्छ, छतमा बसेर काम गर्नुपर्छ त्यसमा पनि धेरै विचार गर्नुपर्ने हुन्छ ।’

उनले थपिन्, ‘काम गर्दा सुरक्षाका लागि चाहिने सामाग्रीहरु पनि प्रयोग गरिरहेका छौँ ।’ उनीहरुलाई नयाँ घर बनाउँदा सबैभन्दा धेरै समस्या शौचालयको हुने रहेछ । केटाहरु त सजिलै शौच गरिदिन्छन् । तर, महिलाहरुलाई भने धेरै समस्या हुने गरेको कार्कीले बताईन् ।

उनले भनिन्, ‘नयाँ घर बनाउने ठाउँमा शौचालय हुँदैन । त्यसैले दिसा पिसाब आउँदा शौचालय खोज्नै भौतारिनुपर्छ ।’

काभ्रेमा अहिले आवास पुनर्निर्माणको चटारो छ । कतै भर्खरै सुरु भएको छ भने कतै अन्तिम चरणमा पुगिसकेको छ ।

पुनर्निर्माणमा महिलाहरूको सहभागिता पनि बाक्लिँदै गएको छ । पुनर्निर्माणमा सहयोग गरिरहेका विभिन्न संघ संस्थाले डकर्मी, पाईप फिटिङ, रङरोगन जस्ता तालिमको अवसर महिलाहरूलाई पनि दिँदै आएको छ ।

नेपालमा सन् २०१६ देखि पुनर्निर्माणमा सहयोग गर्दै आएको कारितास नेपालले काभ्रेको ३ वटा ठाउँमा डकर्मीको तालिम दिँदै आएको छ । कोशीपारीमा २ सय र बल्थलीमा ५४ जना पुरुषलाई डकर्मीको तालिम दिएको कारितास नेपालका सब–ईन्जिनियर सुबास सापकोटाले जानकारी दिए । चण्डेनीमा भने ९३ जना पुरुष र ७ जना महिलालाई तालिम दिइएको उनले बताए ।

२०७२ साल बैशाखको भूकम्पले काभ्रेमा ९० हजार ४ सय घर क्षति गराएको थियो । जसमध्ये ८२ हजार ८ सय ३३ घरको पुननिर्माण भईरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई, जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेले जनाएको छ ।

पुननिर्माण कार्यलाई तीव्र बनाउन जिल्ला आयोजना कार्यान्वयन इकाइ काभ्रेले गत आर्थिक वर्ष २०७४/७५ मा १ सय २० जनालाई पुननिर्माण सम्बन्धि तालिम दिएको थियो । उक्त तालिममा कति महिला र कति पुरुषको सहभागिता रहेको भन्नेमा एकिन तथ्याङ्क भने नरहेको इकाई काभ्रेका लेखा अधिकृत गणेश घिमिरेले बताए ।

(लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा संचारिका समूह र ‘सही हो’ अभियानको सहकार्य ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: