पैसाले टुटायो प्यार


प्रकाशित मिति :2018-11-28 12:23:01

उनले विवाहको १८ वर्ष लगातार हिंसा भोगिन् । उनी थप्छिन्, ‘पैसाले श्रीमान्–श्रीमतीको सम्बन्धमा पनि फाटो ल्याउने रहेछ । जिन्दगीमा के सोचेको थिएँ, पैसा नहुँदा सबै सपना उडे ।’

-सरिता दाहाल-

मकवानपुर । १८ वर्ष अघि विवाहको पूर्वसन्ध्यामा उनीसँग मिठा कल्पना थिए । सोचेकी थिईन्, ‘कर्मघरसँग जोडिएका परिवारका सदस्यहरुमाथि पर्याप्त माया, ममता, सदभाव बाँडौंला अनि उनीहरुबाट पनि उसैगरी माया, ममता र आडभरोसा पाइएला ।’

उनी अर्थात् मकवानपुरकी ३६ वर्षीया सरस्वती विश्वकर्मा । उनले विवाहअघि देखेको मिठो सपना आजसम्म यथार्थमा भोग्न पाइनन् । ती कल्पना, कल्पनामै सिमित भइदिए ।

विवाह मण्डपमा सात फेरा लगाएर सात जुनी सँगै काटौंला भनेको जीवनसाथीको साथ सात महिना पनि सोचेजसरी पाइनन् । १७ वर्षको उमेरमा हेटौंडाका कृष्णबहादुर विकसँग विवाह भएको थियो उनको । विवाहको केही दिनपछि नै कृष्णबहादुरले मरणासन्न हुने गरी कुट्न थाले ।

विवाहपछि उनको कमाइ थिएन । श्रीमानकै नामको टीका, सिन्दूर लगाउन पनि उनले श्रीमानसँग पैसा माग्नुपर्ने भयो । त्यसैबापत पाउँथिन् श्रीमानको पिटाइ ।

पैसा नभएर श्रीमानले त्यस्तो व्यवहार गरेका होलान् । विस्तारै ठिक होला । व्यवहार सुध्रेला भनेर सहेरै बसिन् । उनले भनिन्, ‘श्रीमानले गरेको कुटपिट माइतीमा पनि भनिन् ।’

विवाहको पछिल्लो साल (१८ वर्षको उमेरमा) छोरा जन्मियो । त्यसपछि छोराको लागि पनि सामानहरु किन्नुपर्ने हुन थाल्यो । एक जनाबाट दुई भएपछि खर्च त बढ्ने नै भयो ।

त्यसपछि थपिए उनका दुर्दिन । आफ्नो आम्दानी नभएपछि उनी पूर्ण रुपमा श्रीमानमाथि आश्रित त थिइन् नै । त्यसमाथि काखे बच्चा । सरस्वतीका अनुसार उनका श्रीमान कृष्णबहादुर निर्माण मजदुरको काम गर्छन् ।

उनले भनिन्, ‘श्रीमान दिनभर काम गर्छन् । साँझ फर्किँदा रक्सी खान्छन् । दिनको कमाइ सक्छन् । अनि घर आएर मार्ने गरि कुट्छन् ।’ श्रीमानको लगातारको कुटाइको कारण आफू रोगी हुँदै आएको उनले बताईन् ।

‘खर्च नदिने, उपचार गर्न नलैजाने, उल्टै दिनहुँ पिटाई कति सहनु !’ उनी भन्छिन् ‘सबैतिरको आसा मारेर, मर्ने सोच बनाएँ । विष खाएँ । माइतीले थाहा पाएर अस्पताल पुर्याएछन् र बचाए ।’

सरस्वतीका अनुसार उनले विष सेवन गरेपछि श्रीमान्ले मतलब नै गर्न छाडे । त्यसपछि उनमा झन् स्वास्थ्य समस्या बढ्न थाल्यो । खान लाउन पनि राम्रोसँग नपाउने । अनि लगातारको कुटाइ पनि ।

उनले थपिन्, ‘त्यसपछि त मुटु दुख्ने समस्या बढ्न थाल्यो ।’ जाँजपछि थाहा भयो उनको मुटुको एउटा भल्बले नै काम गर्न छाडेको रहेछ । लालनपालनको निहुँमा दिनहुँ घर झगडा र पिटाई भोग्दै आएकी सरस्वतीको मुटुमा पाइपको भल्ब राख्नुपर्ने र उपचारमा धेरै खर्च लाग्ने निश्चित भएपछि कृष्णबहादुरले झनै वास्ता गर्न छाडेको उनले गुनासो गरिन् ।

माइतीको सहयोग र चन्दाबाट मुटुको भल्ब फेरेपछि झन् श्रीमान कृष्णबहादुरले ‘अंश माग्न बाँचेकी’ भन्दै पिट्ने क्रम जारी राखे ।

अहिले मासिक १ हजार ४ सय रुपैयाँको औषधि खर्च मकवानपुर जिल्ला दलित महिला संघले सहयोग गर्दै आएको छ । पारिवारिक बेमेलका कारण छोराले पनि पढ्न पाएन । अहिले उनको छोराको उमेर १७ वर्ष भयो । छोरा घर छोडेर भारतमा काम सिक्न गएको सरस्वतीले बताईन् ।

‘धेरै बोल्दा र तनाव लिंदा छाती र मुटु बेस्सरी दुख्छ’ सरस्वती भन्छिन् ‘धेरै पीडा सहेर बसेँ । अब अंश लिएर छुट्टिए सुखको श्वास फेर्नेछु ।’

सरस्वतीले विवाहको १८ वर्ष लगातार हिंसा भोगिन् । उनी थप्छिन्, ‘पैसाले श्रीमान्–श्रीमतीको सम्बन्धमा पनि फाटो ल्याउने रहेछ । जिन्दगीमा के सोचेको थिएँ, पैसा नहुँदा सबै सपना उडे ।’

उनी आफूले कहिल्यै फजुल खर्चको लागि पैसा नमागेको बताउँछिन् । न त श्रीमानको कमाइको हिसाब किताब नै मागिन् । उनले थपिन्, ‘अति आवश्यक पर्दा, २\४ पैसा मागेकै निहुँमा पिटाई र गाली नभोगेको दिनै भएन ।’ जिल्ला कानून सहायता समिति मार्फत निःशुल्क मुद्दा लडेर उनी श्रीमानसँग अंश लिने अन्तिम चरणमा छिन् ।

………………..

मकवानपुरकै ३७ वर्षीया शोभा स्याङ्तान श्रीमानसँगको अंश मुद्दाको अन्तिम फैसला भएपछि मालपोत कार्यालय हेटौंडामा जग्गा कित्ताकाटको लागि लाइनमा भेटिइन् ।

२०७३ चैत महिनामा जिल्ला कानूनी सहायता समिति मार्फत अंश मुद्दा दायर गरेकी शोभा झण्डै २ वर्षको अन्तरालमा अंश आफ्नो नाममा गरेर श्रीमानसँग छुट्टिदै छिन् ।

शोभाको २०६४ सालमा मागी विवाह भएको थियो । विवाहको केही दिनबाटै श्रीमानले हेला र गाली गर्न थाले । कुटाइ सहन नसकेर अधिकांश रात रात भागेर वा लुकेर काट्नु पर्ने उनको बाध्यता थियो ।

‘भान्छामा नुन, तेल, चामल सकिएपछि भन्न परिहाल्यो । भन्यो कि पिटाई खाइन्थ्यो’ शोभा भन्छिन्, ‘आफ्नो कमाइ नभएपछि श्रीमानबाटै हेलाको जिन्दगी बाँच्नुपर्ने रहेछ ।’

शोभाका अनुसार पैसा र घरेलु आवश्यकताका कुनै पनि कुरा उनले श्रीमानलाई सुनाउनै हुन्नथ्यो । साँझ रक्सी खाएर आउने ‘तँलाई पैसा चाहिएको थियो हैन’ भन्दै कलह सुरु गर्ने उनले बताईन् ।

‘एक दशक डरमा बाँचे, केही काम गरौंला र आफैं पैसा कमाउला भन्ने आसामा धेरै समय गुजारें’ शोभाले भनिन् ‘पढेको छैन, जागिर पाइन्न, खेतीपाती गरेर उब्जाउ गरेको उनैको हुने मैले कहाँबाट पैसा कमाउनु !’

सुन्नुस् शोभा स्याङ्तानको आवाज ।

शोभाका श्रीमान ४० वर्षका सूर्यबहादुर रुम्बा पनि मालपोत कार्यालय परिसरमै भेटिए । शोभाको लागि अंशको जग्गा कित्ताकाट गर्न आएका उनीसँग कुरा गर्न खोज्दा ‘घरेलु मामिला’ भन्दै बोल्न चाहेनन् ।

‘अदालतसम्म पुगेर टुङ्गेको कुरा अब किन पत्रकारलाई भनिराख्नुप¥यो’ उनको भनाइ थियो । त्यसपछि व्यङ्ग्य गर्दै यत्ति भने, ‘श्रीमतीहरुले पनि हामीलाई पालिदिए के फरक पर्छ र !’

भरोसा माइतीकै

सरस्वती विश्वकर्माले विष सेवन गर्दा पनि माइतीले नै उनलाई अस्पताल पुर्याएका थिए । मुटुको भल्बले काम गर्न छोडेपछि पनि माइतीकै सहयोगमा उनको उपचार भएको हो ।

माइतीको सहयोग र चन्दा संकलनबाट ७ लाख जोहो गरेर ८ वर्ष अघि सरस्वतीको मुटुको भल्ब फेरिएको थियो । अहिले पनि माइतीका दिदीबहिनीको सहयोगमा कोठा भाडामा लिएर बसिरहेकी छिन् । उनको कोठा भाडाको खर्च पनि दाजुभाइले नै तिरिदिने गरेको उनले बताईन् ।

शोभा पनि मुद्दा लडेर हक लिनेसम्मको अवस्थामा माइतीकै सहयोगले आइपुगेकी हुन् । विवाह भएको केही महिना नबित्दै श्रीमानले खर्च पनि नदिएपछि शोभाको लागि भरोसाको एउटा मात्रै केन्द्र माइती भयो ।

घर–माइती नजिकै थियो । त्यसैले पनि सबैजसो आवश्यक कुराको जोहो माइतीकै भरमा पुरा गर्दै आइन् । श्रीमानले बिरामी हुँदा उपचार समेत नगरिदिएपछि स्वास्थ्य उपचार, लत्ता कपडा लगायतमा दाजुभाइ र बहिनीहरुले सहयोग गर्न थाले ।

‘उपचार खर्च माग्दा मेरो पैसा सकाउने भइस्, मलाई छोडेर जा भन्दै कुट्थे’ शोभा भन्छिन् ‘श्रीमानले खर्च दिएको थाहा भएन, पैसा माग्दा जहिले लात्तीले हान्थे ।’

घर किन बिगार्नु भनेर उनले १० वर्ष हिंसा सहिन् । तर श्रीमानको व्यवहार सुध्रिएन । ‘रक्सी नखाई कहिल्यै घर नआउने, कहिल्यै राम्रो व्यवहार पनि नगर्ने, जहिले पनि निस्केर जा भन्ने, ननिस्किए खुकुरीले हान्न तयार हुने’ शोभाले विगत सम्झिइन्, ‘कहिले गाउँले आएर बचाउँथे कहिले माइती गएर लुक्थें ।’

………………..

नुवाकोट विदुरकी ३२ वर्षीया गोमा कुमालको ११ वर्ष अगाडि मकवानपुर हेटौंडा–१४ का जनकलाल कुमालसँग विवाह भएको थियो । परिवारकै सल्लाहमा उनीहरुको मागी विवाह भएको हो ।

विवाह पछि दुवैजनाको सम्बन्ध राम्रो थियो । विवाह अघि गोमा सिलाईकटाईको काम गर्थिन् । विहेपछि भने जनकले काम नगर भने । उनले काम छोडिन् ।

Related image

विहेको एक वर्ष पछि छोरा जन्मियो । आम्दानीको राम्रो बाटो नभएकोले कमाउन विदेश जाने जनकले निर्णय गरे । जनक साउदी अरेबिया गए ।

जानुअघि गोमालाई जनले भनेका थिए, ‘पैसा पठाउँछु । छोराको लालन पालन र आफ्नो आवश्यकता पुरा गर्नु ।’ विदेशिएपछि भने वचन दिएजस्तो व्यवहारमा साँचो देखिएनन् जनक ।

गोमा भन्छिन् ‘महिना मरेपछि पैसा पठाउँछु भनेर गएको मान्छेले रुँदा कराउँदा ६ महिनापछि १५ हजार पठाए, त्यसपछि नोट कस्तो हुन्छ पनि देख्न पाइएन ।’

आफ्नो र छोराको लागि आवश्यक खर्च नभएपछि गोमाले फोन गरेर पैसा माग्दा किन चाहियो भनेर जनकले गाली गर्ने गरेको गोमाले बताईन् । भनिन्, ‘कहिले छोरो बिरामी पथ्र्यो, कहिले आफुलाई पनि सञ्चो हुन्नथ्यो, पैसाको त आवश्यक परिरहन्थ्यो नि तर, तँलाई किन पैसा दिनु भनेर हकार्ने गर्न थाले ।’

सल्लाहमै विदेश गएको मान्छे एकाएक बदलिएपछि गोमा चुप बसिन् । पैसा लगायत आवश्यकतामा माइतीको सहयोग लिइन् ।

‘फर्केर घर आएपछि पहिले कै जस्तो हाँसी खुशी परिवार बस्ला भनेर चुप बसें । उनी त आए, परिवारमा खुशी आएन’ गोमा थप्छिन्, ‘४ वर्षपछि घर आउँदा पनि मलाई एक पैसा देखाएनन् । आफू रित्तै छु भने ।’

विदेशबाट लामो समयपछि फर्केका श्रीमानबाट मायाको साटो दिनुहँ कुटाई सहनु पर्यो । ‘जतिबेला पनि रक्सी खाने, पिट्ने गर्न थाले’ उनी भन्छिन् ‘हामीलाई भरणपोषण गर्ने त कता हो कता उल्टै रक्सी खान पैसा ले भनेर पिट्थे ।’

गोमाका अनुसार केही समय नेपाल बसेर जनक मलेसिया गए । छोरा स्कूल पढाउने बेला भो, गोमालाई पैसाको खाँचो बढ्दै गयो । ‘छोरालाई स्कूल भर्ना गर्नुपर्यो, पैसा पठाउनु भन्दा तैंले पढाए नी भैगो नी भनेर झपार्ने गर्ने थाले’ गोमाले भनिन्, ‘माइतीबाट दाजु आएर म पढाउँछु भान्जालाई भनेर लिएर गए ।’

सुन्नुस् गोमाको आवाज ।

अहिले उनको छोरा १० वर्षका भए । निजी विद्यालयमा कक्षा ५ मा पढ्दैछन् । उनको लागि लाग्ने खर्च मामाले गरिदिन्छन् ।

श्रीमान्ले बेवास्ता गरेपछि गोमा ८ वर्षदेखि माइतीमै बस्दै आएकी छन् । २०७५ वैशाखबाट उनले श्रीमान् जनकलालसँग अंशसहित सम्बन्ध विच्छेदको मुद्दा हालेकी छिन् ।

मुद्दाको तारिखका क्रममा जिल्ला अदालत मकवानपुरमा भेटिएकी गोमाले सम्बन्ध विच्छेदपछि पुरानै काम गर्ने योजना बनाएको सुनाइन् ।

गोमा रात्रीबस चढेर हेटौंडा आउँछिन् । कार्यालय समयमा अदालतको काम भ्याउँछिन् र रात्रीबसमै नुवाकोट फर्किछिन् ।

गोमाले श्रीमानको हिंसाबारे प्रहरीमा भने रिपोर्ट गरिनन् । बरु सहनै नसक्ने भएपछि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी हुन् । ‘जति पिटेपनि आफ्नो परिवारको इज्जत भनेर कतै रिपोर्ट गरिनँ, सुध्रने आसामा सहेरै बसें । नाता मात्रै राखेर किन पीडा बल्झाइरहनु । अब आफ्नो सुर गर्छु भनेर मुद्दा हालेको’ मुद्दा हाल्नुको कारण खुलाइन् ।

‘विहेपछि पनि आफैले गर्दै आएको काम गर्न पाएको भए आफ्नो खुट्टामा उभिने थिएँ । न काम गर्न दिए न लालनपालनको जिम्मा लिए’ गोमाले थपिन्, ‘पैसाको कारण कष्टकर बन्दै आएका दिन गुजार्न अहिले अंशसहित सम्बन्ध विच्छेदको फैसला कुरिरहेको छु ।’

सामान्य साक्षर उनीसँग अब अंश लिएर सिलाई कटाइको व्यवसाय सुरु गर्ने र भविष्य सहज बनाउने सपना छ । योजना सुनाईन्, ‘छोरालाई दाइले पढेसम्म पढाउँछु भन्नु भएको छ । मलाई पनि अहिले त सबै आर्थिक सहयोग गरिरहनु भएको छ । मुद्दा सकिएपछि म व्यवसाय सुरु गर्छु । पैसाको लागि अरुसँग हात फैलाउनु पर्दाको दिन सम्झेर रुनमात्रै मन लाग्छ ।’ उनले भनिन् ।

………………..

नेपाल प्रहरीको हवल्दारकी श्रीमती । ‘सरकारी नोकरी भएका श्रीमानले सुखैसँग पाल्छन्’, विहे अघि उनलाई सबैले यसै भन्थे । उनी अर्थात् हेटौंडोकी ३५ वर्षीया पूर्णकुमारी देवकोटा ।

२०६३ सालमा सोही ठाउँ निवासी बद्रीप्रसाद घिमिरेसँग मागी विहे भएको थियो । विवाहको केही दिनमै बद्री कामको सिलसिलामा जिल्ला बाहिर गए, पूर्णकुमारी घरैमा ।

आफ्नो कुनै पेशा र रोजागारी नभएको कारण पूर्णकुमारीलाई श्रीमानले खर्च देलान् भन्ने आसा हुन्थ्यो । आक्कलझुक्कल मात्रै घर आउने बद्रीले पूर्णकुमारीलाई खासै माया गर्दैनथे । पैसाको कुरा सुनाउँदा, झर्किन्थे, रिसाउँथे ।

सुन्नुस् पूर्णकुमारीको आवाज ।

‘सम्बन्ध साह्रै राम्रो नि हैन, खत्तम पनि हैन भन्ने अवस्थामा २ छोरा जन्मिए’ पूर्णकुमारी भन्छिन् ‘बच्चा भएपछि पैसा बढी चाहिने, पैसा बढी मागि भनेर भेट भयो कि कुट्न थाले ।’

बद्रीले ३ वर्ष अघि नै अर्को विहे गरेर बाहिरै राखेका रहेछन् । पूर्णकुमारीले पत्तो पाइनन् । भन्छिन् ‘मलाई अति नै सताउने, पिट्ने र पैसा पटक्कै नदिने गर्न थालेको पनि ३ वर्ष नै भयो ।’

अहिले बद्री अवकाशप्राप्त पछि घरैमा छन् । ‘दोस्रो विहेपछि पनि दुवैलाई मिलाएर राख्छु भनेकोले कतै उजुरी गरिन, अहिले त बस्नै नसक्ने भए’ पूर्णकुमारीले थपिन्, ‘शरीर भर निलडाम हुन्छ । अरुले सोध्दा लडेर ठोक्किएको भन्दै बस्छु ।’

उनको आँखामा रगत जमेको देखिन्छ । श्रीमानले नै कुटेर रगत जमेको बताईन् । उनका अनुसार सौतातर्फ पनि एक छोरा छन् । पूर्णकुमारीले सौताका छोरालाई राम्रो लालनपालन गरेको तर आफूलाई बेवास्ता गरेको गुनासो गरिन् ।

अहिले जिल्ला कानूनी सहायत समिति मार्फत जिल्ला अदालत मकवानपुरमा मुद्दा हालेकी छन् । मुद्दाबारे बुझ्न जिल्ला कानुनी सहायता समितिमा भेटिएकी पूर्णकुमारीले आफ्नो र सन्तानको लालनपालन र शिक्षा दिक्षा दिलाइपाउँ भनेर मुद्दा दर्ता गरेकी हुन् ।

परिवार टुट्ने कारण नै पैसा

मकवानपुरकी सेतीमाया पाख्रिन र कृष्णबहादुर बलले पनि २०७५ भदौ १४ गते जिल्ला अदालत मकवानपुरबाट अंशसहित सम्बन्ध विच्छेद गरेका छन् ।

यसैगरी मकवानपुरकै सुनिता रुम्बा र जयराम रुम्बाले पनि २०७५ भदौ ३ गते जिल्ला अदालत मकवानपुरबाट अंशसहित सम्बन्ध विच्छेद गरे ।

सेतीमाया र सुनिता दुवैले श्रीमानबाट आर्थिक सहयोग नपाएको भन्दै मुद्दा दायर गरेका थिए । बिरामी पर्दा स्वास्थ्य उपचार नगर्ने, घरमा चाहिएको सामान किन्न पैसा नदिने र लालनपालनमा चासो नदिएको भन्दै उनीहरुले अंशसहित सम्बन्ध विच्छेद गरेका जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार केशव कौशिकले बताए ।

पर्सा मधुवन गाउँपालिका घर भएकी सविना मोक्तानले मकवानपुर भिमफेदीका श्रीराम मोक्तानसँग अंशसहित सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालतमा २०७५ असोज १० गते दर्ता गराएकी छन् ।

विदेश रहेका श्रीमान्ले आफ्नो नाममा पैसा नपठाउने, फोनमा राम्ररी कुरा नगर्ने गरेपछि आफूले बाध्य भएर यस्तो कदम चालेको उनले बताइन् ।

पछिल्लो समय आर्थिक कारण परिवारमा विचलन आएर सम्बन्ध विच्छेद गर्नेहरु ह्वात्तै बढेको तथ्याङ्कले नै देखाउँछ । जिल्ला अदालत मकवानपुरमा आर्थिक वर्ष २०७४\०७५ मा दर्ता भएका ४ सय १३ सम्बन्ध विच्छेदका उजुरी मध्ये २ सय ९१ फैसला भइसकेका छन् ।

यसैगरी चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म दर्ता भएका सम्बन्ध विच्छेदका १ सय २७ उजुरी मध्ये ४१ मुद्दा फछ्र्यौट भइसकेका छन् । दर्ता भएका मध्ये ४७ मुद्दा आर्थिक कारण सिर्जना भएको अदालतका श्रेस्तेदार केशव कौशिकले बताए ।

महिलाहरु आफ्नो अधिकार खोज्ने र पुरुषहरु पुरानै शैलीमा घर चलाउने खोज्ने विवादले पनि सम्बन्ध विच्छेदको उजुरी बढेको भन्छन् श्रेस्तेदार कौशिक ।

श्रेस्तेदार कौशिक भन्छन्, ‘वैदेशिक रोजगारीको सिलसिला होस् वा स्वदेशमासँगै रहँदा भएको विवादको कारण, कतै न कतै आर्थिक अधिकार, आर्थिक स्वतन्त्रता सम्बन्ध बिच्छेदमा जोडिने गरेको पाइन्छ ।’

उनका अनुसार आव २०७४\०७५ मा ६३ वटा मानाचामल दिलाई माग गरिएको उजुरी दर्ता भएका थिए । २०७५ भदौ १ गतेबाट मुलुकी देवानी नयाँ संहिता लागु भएपछि भने दर्ता भएका १ सय २७ सम्बन्ध विच्छेदका उजुरीमा ८४ मुद्दामा महिला वादी रहेका छन् भने ४३ मा पुरुष वादी छन् ।

अधिवक्ता ललिता श्रेष्ठ पनि वादी प्रतिवादीसँग गहिरिएर कुरा खोतल्दै जाने हो भने सबैजसो सम्बन्ध विच्छदको उजुरीमा आर्थिक कारण जोडिने गरेको बताउँछिन् ।

९० प्रतिशत घरेलु हिंसाको कारण पैसा

जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला तथा बालबालिका सेवा केन्द्रमा २०७५ साउनदेखि कात्तिकसम्म दर्ता भएका १ सय ६६ घरेलु हिंसा मध्ये १ सय ५० वटा आर्थिक कारण सिर्जना भएका हिंसा छन् ।

जिप्रका महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी नायव निरीक्षक दीपा कार्कीका अनुसार श्रीमानले जिम्मेवारीपूर्वक परिवारको लालनपालन नगर्ने र आर्थिक कारण देखाउँदै श्रीमतीलाई प्रताडित गर्ने कारण बढी उजुरीहरु दर्ता हुने गरेका छन् ।

‘एकातिर महिलाको आर्थिक अवस्था नाजुक छ । अर्कोतिर सामाजिक, साँस्कृतिक सोच पुरुषप्रधान छ । त्यसैले महिलाहरु आर्थिक रुपमा पछाडि छन् र आर्थिक हिंसाको दलदलमा छन् ।’

यही अवधिमा ८७ लैङ्गिक हिंसाका उजुरी दर्ता भएका छन् । लैङ्गिक हिंसाको पनि कतिपय कारण आर्थिक पक्ष नै रहेको कार्कीले बताईन् । उनका अनुसार घरेलु तथा आर्थिक हिंसाका २० प्रतिशत मुद्दा अन्तिम टुंगोको लागि अदालत जान्छन् ।

हिंसामा परेका महिलाहरुको निःशुल्क मुद्दा हेर्ने निकाय जिल्ला कानूनी सहायता समितिमा पनि मुद्दाको चाप बढेको छ । समितिमार्फत मुद्दा हेर्ने जिम्मेवारीमा रहेकी अधिवक्ता अप्सरा बस्नेतका अनुसार आर्थिक वर्ष २०७५\०७६ को ४ महिनामा २८ उजुरी फछ्र्यौटको क्रममा छन् ।

तीमध्ये सम्बन्ध विच्छेदका ७, मानाचामलका ४, अंशसहित सम्बन्ध विच्छेदका ३, अंश दर्ता चलानका १०, जग्गा, जालसाजी, तथा विविध गरी ४ उजुरी रहेका छन् ।

यो समितिमा अघिल्लो आर्थिक वर्षमा ९६ उजुरी दर्ता भएका थिए । जसमध्ये सम्बन्ध विच्छेदका ३१ वटा, मानाचामलका १३ वटा, अंशसहित सम्बन्ध विच्छेदका १६ अंश मुद्दा दर्ता चलानको २१ थिए ।

अधिवक्ता बस्नेत भन्छिन्, ‘एकातिर महिलाको आर्थिक अवस्था नाजुक छ । अर्कोतिर सामाजिक, साँस्कृतिक सोच पुरुषप्रधान छ । त्यसैले महिलाहरु आर्थिक रुपमा पछाडि छन् र आर्थिक हिंसाको दलदलमा छन् ।’

(लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा संचारिका समूह र ‘सही हो’ अभियानको सहकार्य ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: