खोज्न जाने झुपडीमै छ खुसी


प्रकाशित मिति :2018-11-27 14:18:29

–सरिता श्रेष्ठ–

धादिङ । धादिङकी सुमित्रा राईले स्वदेशमै पनि विदेश भन्दा राम्रो कमाई गर्न सकिन्छ भन्ने सोचेकै थिइनन् । टन्न पैंसा कमाउने र घर घडेरी जोडेपछि नेपाल फर्किने सपना बोकेर जोर्डन पुगेकी उनलाई त्यतिबेला मात्रै यो कुरा क्लीक भयो जतिबेला उनलाई यस्तो काम नेपालमै गरे त राम्रो आम्दानी पो हुँदोरहेछ भन्ने महसुस भयो । अनि फर्किन् विदेशीएको १ वर्षमै स्वदेश ।

उनी अहिले विदेशमा कमाएको भन्दा बढी नेपालमै कमाउँछिन् । धादिङको थाक्रे गाउँपालिका–२ समनटारकी ३३ वर्षकी सुमित्रा राई सिलाइकटाइमा दक्ष छिन् । यही कामले उनलाई सान र मान दुवै दिएको छ ।

सामान्य परिवारमा जन्मेकी सुमित्राको पारिवारिक अवस्था कमजोर थियो । विवाह गरेका श्रीमान भेषबहादुरले वास्ता गरेनन् । कमाइको बाटो नै नभएपछि उनले पैसा कमाउन विदेश जाने सोच बनाईन् । साथीहरूले पनि विदेश जान हौस्याए ।

सुमित्रा राई

उनलाई पनि विदेशिनुअघि लागेको थियो ‘विदेश गएपछि टन्नै पैसा कमाइन्छ ।’ त्यसैले २०७२ सालको जेठमा जेठमा एक लाख ऋण गरेर जोर्डन गईन् ।

त्यतिबेला उनलाई सामान्य सिलाइ गर्न आउँथ्यो । तर, विदेशमा उनको सीप काम लागेन । भनिन्, ‘सामान्य सिलाउन जान्थें । मेरो काम कटिङतिर पर्यो ।’

जिम्मेवारी अनुसारको सीप नभएपछि कमाइ पनि सोचे जस्तो हुने कुरै भएन । महिनाको २५ हजार रुपैयाँ तलब पाउँथिन् उनले । त्यही पैंसाबाट पनि खाने खर्च कटाएर अलि अलि जोगाउँथिन् ।

सोचेजस्तो कमाइ र काम नभएपछि २०७३ साल जेठमा नेपाल फर्किइन् । ‘जोर्डनबाट नेपाल फर्किदा ऋण तिरेर एक लाख रुपैयाँ बचत गरेकी थिएँ,’ उनले सुनाइन् ।

नेपाल फर्किएपछि आफ्नो हातको सीपमा अझ निखार ल्याउने सोचिन् । ‘घरमा आएपछि सिलाइकटाइ सिकें ।’ उनले थपिन्, ‘अहिले आफैले व्यवसाय गर्न थालेकी छु ।’

नेपाल आएपछि आफूसँग भएको १ लाख रुपैयाँ रकममा थप १ लाख रुपैयाँ ऋण खोजेर दुई लाख लगानीमा सिलाइकटाइ सुरु गरेको बताईन् । उनले भनिन्, ‘सिलाइ व्यवसाय थालेको ७ महिनापछि आम्दानीबाट ऋण तिरें ।’

अहिले सुमित्राले महिना दिनमा खर्च कटाएर ३० हजार रुपैयाँसम्म कमाउँछिन् । एक जना महिलालाई रोजगारी पनि दिएकी छिन् । महिलाहरूले लगाउने हरेक डिजाइनका कपडा सिलाउने उनले बताईन् ।

सुमित्राको श्रीमान भेषबहादुर राई ट्रक चालक हुन् । तर, सुमित्रा र उनको सम्बन्ध राम्रो छैन । उनी माइतीमै बस्छिन् ।

उनका दुई छोरी छन् । सिलाइ कटाइबाटै आएको आम्दानीले छोरी पढाइरहेको बताईन् ।

विदेश गएर कमाउन नसक्ने पैसा र आत्मसन्तुष्टि उनले अहिले नेपालमै बसेर पाएकी छिन् । ‘पैसा त छँदैछ, सन्तुष्टि पनि कमाएको छु’, राईले भनिन्, ‘गाउँभरका दिदीबहिनीहरूले लगाउने कपडाको डिजाइन गरेर सिलाउने गरेकी छु ।’

उनले थपिन्, ‘खुसी खोज्न विदेश जाने होइन, राम्रो गर्न सके खुसी त झुपडीमै भेटिने रहेछ ।’

थाक्रे गाउँपालिका –५, सल्लेभञ्ज्याङकी ३२ वर्षकी टुकमाया तामाङले पनि साढे तीन वर्ष विदेशी भूमिमा काम गरिसकेकी छिन् ।

२० वर्षको हुँदा सानीमा नातापर्नेसँग विदेश गएकी उनी घरेलु कामदारका रुपमा २०६२ साल असारमा १ लाख खर्चिएर कुबेत पुगेकी थिइन् । घरेलु कामदारको रुपमा पनि नेपालबाट आधिकारिक श्रम स्वीकृति नलिई गएकी थिइन् ।

भनिन्, ‘त्यतिबेला महिलालाई नेपालबाट रोजगारीका लागि कुबेत जान दिँइदैन थियो । हामी भारतको बाटो हुँदै गएका थियौं ।’

घरबाट हिँडेको तीन दिनसम्म साइकलमा यात्रा गर्दै भारतको बम्बईमा पुगेको उनले बताईन् । बम्बईमा १५ दिन बसेपछि उनीहरू बल्ल कुबेत पुगेका थिए ।

घरायसी काम बाहेक कुनै पनि नआउने उनले साढे तीन वर्ष काम गर्दा सोचेजस्तो कमाई गर्न सकिनन् । साढे तीन वर्षको अवधिमा विदेश गएको ऋण तिरेर जम्मा ८० हजार रुपैयाँ घर पठाएकी थिईन् ।

‘काममा सधै साहुको गाली । नेपाल फर्किन्छु भने गाली वा कुटाई खाइन्थ्यो’ टुकमायाले कष्टपूर्ण ती दिन सम्झिइन्, ‘दिनको १० घण्टा काम गर्थें । महिनाको २२ हजार नेपाली रुपैयाँ कमाइ हुन्थ्यो त्यो पनि खान, बस्नमा खर्च हुन्थ्यो ।’

टुकमाया कुबेत रहँदा पछिल्लो एक वर्षको अवधिमा नेपाल रहेका उनका दुई भाइको ज्यान समेत गयो । त्यसपछि २०६५ सालको फागुनमा उनी नेपाल फर्किइन् ।

कुबेतबाट फर्किएपछि उनले कुखुरा र बाख्रा पालेकी छिन् । अहिले परिवारको माया पनि उनसँगै छ । अनि कमाइ पनि ।
अहिले टुकमायालाई महसुस हुन्छ, ‘विदेशमा खर्चिने पसिनाले भन्दा स्वदेशमा बग्ने पसिनाले सुख र आराम मिल्ने रहेछ ।’

‘मेहनत गर्ने हो भने नेपालमै पैसा कमाउन सकिँदो रहेछ’ तामाङले भनिन्, ‘घर नजिकै कुखुरा पालेर महिनामा ५० देखि ८० हजारसम्म कमाउने गरेकी छु ।’

टुकमायाको व्यवसायमा श्रीमानले पनि सहयोग गर्छन् । घरपरिवार चलाउनेदेखि लिएर दुई छोराहरूको पढाई राम्रैसँग चलेको छ । टुकमायाले कमाईको रकमबाट खर्च कटाएर केही रकम बैंकमा जम्मा गर्ने गरेको पनि बताईन् ।

सामान्यतया सुख, सुविधा खोज्ने मानवीय स्वभाव नै हो । सुविधा गाउँभन्दा सहरमा बढी छ । त्यसैले गाँउबाट सहर आउन मानिस आतुर हुन्छन् । सहरबाट पनि सुविधा भएको ठाउँ । त्यसले पनि नपुगेपछि विदेश सपना जोडिन्छ ।

टुकमाया र सुमित्राको गाउँमा पनि वैदेशिक रोजगारीको लहर नै जस्तो थियो, छ । पछिल्लो समय महिलाहरूमा पनि विदेशको लहर ह्वात्तै बढेको छ ।

स्वदेशमै कमाउन सक्ने सम्भावनाका बाटाहरूप्रति विश्वास कम भएर वैदेशिक रोजगारीमा जाने गरेको पछिल्लो यथार्थ हो ।

अञ्जना कार्की

यस्तै यथार्थ थाक्रे –६ कि ३० वर्षीया अञ्जना कार्कीको पनि थियो । ११ वर्षको हुँदा आमाको मृत्यु भएपछि घरको आर्थिक भार उनैमा थुप्रियो ।

घर चलाउनै मुस्किल भएपछि उनले कमाउन विदेश जाने निधो गरिन् । विदेश जाने त निर्णय भयो उनीसँग हातमा खर्च थिएन । त्यसपछि ९० हजार रुपैयाँ ऋण गरेर दुबई जाने निर्णय गरिन् ।

दलालले कमाइ धेरै हुन्छ भन्ने प्रलोभन देखायोे । घरको आर्थिक संकट टार्नका लागि उनमा कमाउने सपना झल्झली आउन थाल्यो ।

फुपू दिदीको छोरा पर्नेले दुबई लैजाने भन्दै भारतमा लगे । स्कूल टेक्न नपाएकी उनले एक हप्तापछि मात्र आफू भारतमा रहेको थाहा पाइन् ।

चिनेजानेको कोही थिएन, हातमा सीप पनि थिएन । न भाषा बुझिन्छ न खर्च नै छ । दुबई हिँडेको मान्छे भारतमा पुगेपछि उनी झस्किइन् । दुई महिनासम्म काम पाइनन् । आफूले जानेको त्यही घरायसी काम मात्रै थियो । त्यही पनि भनेजस्तो पाइएन ।

विस्तारै भारतमै ज्यामी काम सिकिन् र छाक टार्न थालिन् । एक, दुई दिन भन्दै ६ वर्ष भारतमा बिताइन् । खासै कमाई गर्न सकिनन् । भारतकै एक रेष्टुरेन्टमा काम गर्ने केटासँग बिहे गरिन् र नेपाल फर्किइन् ।

उनलाई विदेशले समयको महत्व, परिश्रम र उपयोग बुझाएको छ । त्यसैले नेपाल आएर सिलाइकटाइ तालिम सिकिन् । अनेक डिजाइनका कपडाहरू सिलाउन थालेपछि आम्दानी पनि हुन थाल्यो ।

‘अहिले महिनामा ६ देखि १५ हजारसम्म कमाई हुने गरेको छ ।’ कार्कीले भनिन्, ‘विदेशमा बगाएको पसिनाले आफूलाई भतभती पोलिरहेको छ । गर्न सके नेपालमा नै सुन फल्दो रहेछ ।’

नेपाल फर्किएपछि पनि श्रीमानले दोस्रो बिहे गरे । सम्बन्ध त टुट्यो तर खाने गर्जो कसरी टार्ने भन्ने चिन्ता उनमा छैन । छोरा लिएर छुट्टै बस्छिन् ।

घरको काम पनि गर्छिन् । अर्डर अनुसार सिलाइ गरेर आम्दानी गर्छिन् । उनका अनुसार पैसा कमाउन विदेशिनु भन्दा राम्रो कमाई गाउँघरमै गर्न सकिन्छ ।

आफ्नो तितो विगतबाट उनले सिकेको पाठ ‘सकेसम्म विदेश नजाने, गए पनि सीप सिकेर मात्र जाने ।’

गजुरी गाउँपालिका –६, किरान्चोककी ३० वर्षकी दुर्गा अधिकारी पनि विदेशको लहरमा तानिने महिला मध्ये एक हुन् । सन् २०१२ मा कमाउनकै लागि माल्दिभ्स गएकी थिईन् ।

२७ महिनासम्म विदेशी भूमिमा माछा प्याकिङको काम गरिन् । उनले माछा प्याकिङ गर्ने काम पनि जानेकी थिईनन् । सीप नजानी जाँदा केही महिना काम गर्न गाह्रो भयो । ‘विदेश आएकोमा पश्चाताप समेत लाग्यो’ उनले भनिन् ।

माल्दिभ्स जाँदा एक लाख रुपैयाँ ऋण थियो । २७ महिना काम गरेर फर्किदा ऋण चुक्ता गर्दै धौधौ भयो ।

दुर्गा अधिकारी

अहिले उनी महादेवबेशी बजारमा ब्यूटी पार्लर व्यवसाय गर्छिन् । सानैदेखि पार्लर गर्न औधी नै खुबी राख्ने उनले विदेशबाट फर्किनेबित्तिकै पार्लर व्यवसाय सुरु गरिन् । सन् २०१५ मा साढे दुई लाख लगानी गरेर ब्यूटी पार्लर गर्न थालिन् ।

अरूको देखासिकी र धेरै पैंसा कमाउने होडमा माल्दिभ्स पुगेकी उनी जहाँ गए पनि दुःख नगरी नहुने बताउँदै थप्छिन्, ‘त्यही काम नेपालमा गरे किन हुँदैन र भन्ठानेर नेपाल फर्किएँ ।’

विदेशबाट रित्तो हात फर्किएर स्वदेशमा ब्यूटी पार्लरबाट आम्दानी गर्छिन् । उनको काममा श्रीमान किशोर अधिकारीले पनि आँट थपे । अहिले सिलाइ पनि सिकिरहेको बताईन् ।

भन्छिन्, ‘विदेश भनेको विदेश मात्रै हो ? त्यहाँ जिन्दगी हुँदैन । यहाँ आफ्नो जीवन छ । परिवार छ । सन्तुष्टि पनि छ । अब भुलेर पनि विदेशको सपना देख्दिन ।’

दुःखले जेलिएको जीन्दगी

निलकण्ठ नगरपालिका –५ खाल्टेकी ३० वर्षकी गीता वस्ती तीन वर्षको हुँदा आमाले छोडेर अन्तै विवाह गरिन् । बुबाले पनि खासै वास्ता गर्दैनथे ।

दिदीदाईको सहारामा हुर्किइन् । घाँसदाउरा, मेलापात उनको दैनिकी थियो । होटलका जुठा भाँडा माझेर खानेकुराको जोहो गर्नुपथ्र्यो ।

उनले स्कूल देख्दै पाइनन् । एकै उमेरका साथीसँगी स्कूल जाँदा उनको मन कुँडिन्थ्यो । राम्रो लगाउने, मिठो खाने त सपना जस्तै थिए ।

गीता वस्ती

१२ वर्षकी थिईन्, काठमाडौँमा काम लगाइदिने भन्दै आफन्तले फकाएर बिहे गरिदिए । विवाहपछि दुई वर्ष काठमाडौं बसिन् ।

उनलाई माइती पठाएर कामको सिलसिला भन्दै श्रीमान साधुराम वस्ती भारत गए । साथमा दोस्रो श्रीमती लिएर भारत गएका श्रीमान ९ महिना पछि फर्किए ।

श्रीमानले कमाएर ल्याउला र मिठो खान पाउला भन्ने आशामा गीता बाटो कुरिरहेकी थिईन् । आशा सबै निरासामा बदलिए । त्यसपछि २०५९ सालमा उनले माइती पनि छोडिन् । चितवन गइन् ।

चितवनमा मजदुरी गर्न थालिन् । घर छोडेर चितवन गए पनि बेला बेला श्रीमान पुगिरहन्थे । कुटपिट गर्ने, दुःख दिने गरिहन्थे । त्यतिबेला उनी १४ वर्षमात्रै पुगेकी थिईन् । चितवनमै रहँदा गर्भवती भइन् । गर्भावस्थामा पनि मजदुरी गर्न छोडिनन् । २०६० सालमा उनले पहिलो सन्तान छोरा जन्माइन् । र २०६२ सालमा दोस्रो सन्तान पनि छोरा नै भयो ।

दुई सन्तान जन्मिएपछि श्रीमान चितवननै लिन पुगे । गीतालाई लिएर धादिङ फर्किए । तर घर आएपछि सुत्केरी श्रीमतीलाई कुट्न थाले । सुत्केरी अवस्थामा नै दिनदिनै घाँसदाउरा, मेलापात त छँदै थियो ।

श्रीमानको कुटाईले उनको शरीर थप गल्दै गयो । सासूससुराले पनि हेला गर्न थाले । चुरोटको ठुटाले शरीरभरि डामिएको हुन्थ्यो ।
आर्थिक अवस्था कमजोर थियो । त्यसैले कुटपिट गरे पनि श्रीमान हुन् भन्ने लाग्यो गीतालाई । ‘दिदी भिनाजुसँग पैसा मागेर श्रीमानलाई मलेसिया पठाएँ ।’ उनले भनिन्, ‘श्रीमानको राम्रो कमाइ भएन । त्यसपछि त झन् सासूससुराले गाली गरेर बसिसक्नु भएन ।’

त्यसपछि भने उनलाई आफ्नै बुतामा केही गर्नुपर्छ भन्ने लाग्यो । २ सन्तान च्यापेर चितवन झरिन् । २०६६ सालमा ईंट्टा बोक्ने काम गर्न थालिन् । छोराछोरीलाई विद्यालय भर्ना गर्न गलाको मंगलसुत्र बेचिन् । आफू मजदुरी पनि गर्दै गईन् ।
विस्तारै मजदुरीको रकम बचत पनि गर्न थालिन् । २०६८ सालमा एक लाख रुपैयाँमा होटल किनिन् । होटलबाट राम्रो आम्दानी हुन थाल्यो । होटलकै आम्दानीले घरनजिकै जग्गा पनि किनिन् ।

मलेसियामा कमाउन नसकेका श्रीमान फर्केर उनीकहाँ आए । तर साथमा फेरि अर्की श्रीमती । भन्छिन्, ‘आफ्नै बलबुताले कमाउँछु भन्दा पनि जीवनमा कहिले सुखको सास फेर्न पाइन ।’

श्रीमानले फेरि हिंसा गर्न थाले । ‘कहिले मार्ने धम्की दिन्थे त कहिले कपडाहरू जलाइदिन्थे’ गीताले भनिन्, ‘श्रीमानको यातना सहन नसकेपछि राम्रो व्यापार भइरहेको होटल छाडेर गाउँ फर्किएँ ।’

श्रीमानले मलेसिया गएर पनि नकमाएपछि गीतालाई आफैले कमाउने सोच आयो । २०७० सालमा ९० हजार रुपैयाँ खर्चिएर उनी आफू पनि मलेसिया गइन् ।

तर उनीसँग हातको सीप थिएन । न पढलेख नै थियो । मलेसियामा दैनिक आठ घण्टा पञ्जा बनाउने काम गरी बाँकी समयमा मःमः बेचेर खर्च जुटाउने गर्थिन् ।

घरमा पैसा पनि पठाउँदै आइरहेकी थिइन् । श्रीमतीको निरन्तरको मेहनत तर आफूले गरेको शोषण सम्झेर उनको श्रीमानलाई पश्चाताप हुन थालेछ ।

‘श्रीमानले आत्मग्लानी भएर विष खाएछन् ।’ गीताले भनिन्, ‘खबर पाएको १० दिनपछि नेपाल फर्किएँ । श्रीमान आईसीयूमा थिए । बचाउन सकिन्छ कि भनेर १३ लाख खर्च गरें । तर सकिन ।’

४ वर्ष मेलसियामा काम गरेर कमाएको पैसा श्रीमानको उपचारमै सकियो । त्यसपछि उनी मलेसिया फर्किनन् । ठेलामा मःमः बनाएर बजार डुल्दै बेच्न थालिन् ।

राम्रै आम्दानी हुन थाल्यो । २०७४ सालमा होटल खोलिन् । ‘अहिले राम्रै व्यापार हुन थालेको छ ।’ गीताले भनिन्, ‘आफैले घर बनाएर सासूससुरालाई राखेकी छु । दुई छोरा पनि पढ्दै छन् ।’

वैदेशिक रोजगारीमा महिला

पछिल्लो समय वैदेशिक रोजगारीमा महिलाको आकर्षण बढेको छ । सँगै रोजगारीका क्रममा विदेशमा दुःख पाएर फर्किएका महिला पनि छन् ।

पौरखी धादिङकी अध्यक्ष राममाया श्रेष्ठ घरदेखि नै महिला भएका कारण हुने शोषण र हिंसाका कारण तुलनात्मक रुपमा पुरुषका तुलनामा महिला कामदारहरू बढी जोखिममा छन् ।

कतिपय महिला घरमा विभेद, हिंसा, एकल आर्थिक दायित्व, श्रीमान कमजोर भएका कारण महिला वैदेशिक रोजगारीमा जाने गरेका छन्’ श्रेष्ठ भन्छिन्, ‘तर त्योभन्दा बढी हिंसा र शोषणको शिकार गन्तब्य देशमा खेप्ने गरेको अवस्था छ ।’

महिला कामदारहरू वर्षौसम्म परिवार र बालबच्चाबाट टाढा रहनुपर्ने र चाहेको समयमा घरमा आउन नपाउँदा आत्महत्याको घटना बढेको पनि उनी बताउँछिन् । उनका अनुसार वैदेशिक रोजगारीको सामाजिक मुल्य रेमिट्यान्सले दिने आनन्द भन्दा बढी पीडादायी छन् ।

वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आइरहेको सामी परियोजना अन्र्तगत सूचना तथा परामर्श केन्द्र धादिङका अनुसार वैदेशिक रोजगारीमा जानेहरूको महिलाको संख्या हरेक वर्ष बढेको देखिन्छ ।

केन्द्रका अनुसार सन् २०१५\२०१६ मा ९४१ महिला वैदेशिक रोजगारीमा गएकोमा सन् २०१७\२०१८ मा आइपुग्दा २ हजार २ सय ४२ जना छ ।

हेर्नुस् तथ्याङ्कः

पारिवारिक विखण्डनसँगै मानसिक समस्या

नेपालको वैदेशिक रोजगारीको इतिहास सय वर्ष भन्दा पुरानो छ । भारत, ब्रिटिस सेना, सिंगापुरमा आर्मी प्रहरीमा नेपाली युवाहरू जागिर खान लाहुरे बन्ने चलनबाट वैदेशिक रोजगारी सुरु भएको मानिन्छ ।

पुरुषहरू सेनामा जागिर भएर सुरु भएको वैदेशिक रोजगारीमा महिला जाने क्रम पछिल्लो एक दशकयता बढ्न थालेको ।
तर, वैदेशिक रोजगारीको सामाजिक मूल्य भने चर्को पर्न थालेको छ । त्यसको पुष्टि जिल्ला अदालत धादिङमा दर्ता सम्बन्ध विच्छेदका मुद्दाले पनि गर्छ ।

अदालतका श्रेष्तेदार नवराज दंगाल भन्छन्, ‘अधिकांश सम्बन्ध विच्छेदमा वैदेशिक रोजगारीका कथा जोडिएको छ ।’

उनका अनुसार मुद्दा दर्ता गर्न आएकामध्ये अधिकांशको कारण श्रीमान वा श्रीमती वैदेशिक रोजगारबाट फर्केर आएपछि सम्बन्ध बिग्रिएको हुन्छ ।

श्रीमान विदेश गएर आएपछि श्रीमती बीचको सम्बन्ध चिसिएको पाइने गरेको छ । उनले थपे, ‘श्रीमान् अर्कै महिलासँग सम्बन्ध राख्न जाने भन्ने श्रीमतीको आरोप रहेको हुन्छ । त्यस्तै श्रीमती विदेशमा कमाएर आए परपुरुषसँग सम्बन्ध रहेको छ भन्दै श्रीमान्ले आरोप लगाउने ।’

बेनिघाट रोराङ गाउँपालिकाकी २३ वर्षकी महिलाको परिवारमा पनि वैदेशिक रोजगारीले विखण्डन ल्याइदियो ।

घरको आर्थिक संकट टार्न कतार गएका श्रीमानले पैसा कमाएर खुसी देलान् भनेको उल्टै अर्को श्रीमती लिएर आए । त्यसपछि श्रीमानसँगै सासूससुराले वास्ता नगर्ने र श्रीमानले पनि पिट्ने गर्न थालेको उनले बताईन् ।

अहिले उनी माइतीमा छिन् । श्रीमानसँग सम्बन्ध नभएपनि आफू कमाउन जापान जाने तयारीमा रहेको बताईन् ।

सीपबिनै विदेशतिर

जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउनेहरूलाई सामी परियोजनाले परामर्श दिने गरेको छ । परामर्शका क्रममा अधिकांश महिलालाई कुन कामका लागि विदेश जाने भन्ने पनि थाहा नहुने सूचना केन्द्रका सहजकर्ता विनोद ढकाल बताउँछन् ।

‘कति महिलाहरू विदेश जाने भन्दै राहदानी बनाउन आउनुहुन्छ’, ढकाल भन्छन्, ‘तर विदेशमा गर्ने कामबारे जानकारी नहुँदा कतिपय त्यतिकै फर्कनुपर्ने अवस्था पनि छ ।’

उनका अनुसार वैदेशिक रोजगारीमा जानेमध्ये ७५ प्रतिशत नेपाली सीप बिना नै विदेश जान्छन् । त्यसकारण सास्ती भोग्न बाध्य हुन्छन् । यसरी सीप बिनै विदेशीनेमा पुरुष भनदा महिला धेरै हुने गरेको उनले बताए । सीप र जानकारीको अभावमै विदेश जाने, टन्न कमाएर मात्रै स्वदेश फर्किने महत्वकांक्षामा डुब्नुभन्दा त स्वदेशमै पसिना बगाए परिवारको माया र आम्दानी गुमाउनु नपर्ला कि ?

(लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा संचारिका समूह र ‘सही हो’ अभियानको सहकार्य ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: