इमोको इमोशन


प्रकाशित मिति :2018-11-26 11:40:21

-बिरोध खतिवडा-

म जन्मिएपछिको २४ औँ तिहार अघिल्लो वर्ष पहिलोपटक निधार खाली रह्यो । घरबाहिरको बसाइको लामो अनुभव नभएकोले घर गाउँको सम्झनाले अलि पिरोलिएँ म । म सँगै पिरोलिए बा आमा अनि अझ बढी मेरा दिदी र बहिनी । घर गएर टीका ग्रहण गर्न नपाएपछी पोहोरको तिहारमा दिदीबहिनीलाई खुब सम्झिएँ चितवनबाटै ।

यसपाली पनि घर बाहिर नै थिएँ, धरानमा । म सहरमा थिएँ, दिदीबहिनी गाउँमा । सहर झिलिमिली भएर सजिरहँदा पनि मनमा भने एक प्रकारको अन्धकार नै थियो । दिदीबहिनीको पालैपालो ‘तिहारमा आउँछस् कि आउँदैनस ?’ भन्ने प्रश्नको ठेली लगातार आइरहे–फोन, फेसबुक र मेसेज मार्फत । फेसबुक खोलेर हेर्छु, भित्तैभरी साथीहरूले अघिल्ला केही वर्षहरूका तिहारका चेली र माइतीका सप्तरंगी टीका मालासहितका तस्वीर छन् ।

फौजको जागिर, दशैंमा घर गए तिहारमा जान नपाइने । तिहारमा जान परे दशैंमा जान नपाइने । म त यसै पनि दशैंमा घर गैसकेको हुनाले तिहारमा जान नपाइएला भन्ने पक्कापक्की नै थियो । फेसबुकमा दुःखपूर्ण तिहार विशेष एउटा स्टाटस पोस्ट गर्छु ।

विरोध खतिवडा दिदी र बहिनीको साथमा ।

पहिलो कमेन्टमै बहिनीले दुई आँखाबाट आँसु झारिरहेको एउटा स्टिकर खसाल्छे । त्यो देखेर लाग्छ, स्टिकर होइन साँच्चै बहिनी आफै रोइरहेकी हो । दिदीको शब्दमा यो स्टिकरको चलनले मान्छेको इमोसन नै फेक बनाइदिएको भएता पनि यो पटकको इमोले प्रस्तुत गरेको इमोशन फेक थिएन । एउटा दाईको निम्ति बहिनीको माया कसरी फेक हुनसक्छ ?

लगत्तै फोन गरेर बहिनीले रुञ्चे स्वरमा ’पोहोर पनि निधार खाली भयो दाई, यसपाली त जसरी भए पनि आउनु है तिहारमा ?’ भनेपछि मैले नाई भन्नै सकिनँ ।

जसोतसो बिदा त मिल्यो । तर अघिल्लो दिन टीका लगाउन घर जानुभएको साथी फर्किएर भोलिपल्ट (टीकाको दिन) अफिसमा हाजिर भएपछि मात्र मेरो लागि घर जाने बाटो खुल्ने भयो । टीकाको दिन १२ बजेपछि मात्र म घरको लागि निस्किएँ । धरान गाईघाटको डाइरेक्ट गाडी नपाएपछि इटहरी र लाहानमा गाडी फेरिएर म साँझ ५ बजे मात्र घर पुगेँ ।

दुई वर्षपछिको तिहारमा घर पुग्दा मन साह्रै आनन्दित थियो । बिहानैदेखि मलाई पर्खिएर भोकै बसिरहेका दिदीबहिनी, छोरोको बाटो कुरेर बसिरहनुभएका बुढा बाआमा, र ‘बि’ मामा भन्दै तोते बोलीमा पुकार्ने सानी भाञ्जी लगायत जिन्दगीका खुसी हुनुपर्ने सम्पूर्ण कारणहरू एकै ठाउँमा देख्दा त्यो भन्दा ठूलो खुसी के हुन सक्छ र ?

ढिला नगरी टीकाको तयारीमा जुटेका दिदीबहिनीले टीकाको लागि बोलाएपछी सुरुभयो हाम्रो भाईटीका र दाईटीका । ‘हाम्रो रक्षा गर्ने मेरो भाई’ भन्दै दिदीले टीका सुरु गर्नुभयो । कान्छी बहिनीले पनि दिदीलाई साथ दिईन् ।

म उमेरमा दिदीभन्दा दुई वर्ष कान्छो । बहिनी मभन्दा दुई वर्ष कान्छी । यो हिसाबले पनि दिदीले धेरै अगाडिदेखि मेरो र बहिनीको स्याहारसुसार र सुरक्षा गरिरहनु भएको कुरा दिदी आफैलाई हेक्का छैन ।

होइन होइन, दिदीलाई यो कुरा थाहा नभएको होइन । बरु वर्षौंदेखि हाम्रो समाजमा व्याप्त रहेको पितृसत्तात्मक सोचले उहाँ (नारी) लाई कमजोर र म (पुरुष)लाई बलियो बनाइदिएको हुनाले उहाँलाई पनि यो भ्रम छ कि दाजुभाईहरू माथी छन् र दिदीबहिनीहरू तल । अनि माइतीले चेलीको रक्षा गरिरहेका छन् ।

मेरी दिदी म र बहिनीका लागि दिदी मात्र नभै आमा पनि हुनुहुन्थ्यो । उहाँले आमाले जस्तै माया गर्नुहुन्छ हामीलाई । उहाँ गुरू पनि हुनुहुन्थ्यो हाम्रो । धेरै कुराहरू सिकेका छौँ हामीले उहाँबाट । साथी पनि हो उहाँ हाम्रो । खेल्छौँ पनि हामी उहाँसँग । हामीलाई मिलाएर खेलाउन पनि जान्नुभएको छ दिदीले । आफैलाई हराएर प्रत्यक खेलमा जिताउनु पनि भएको छ उहाँले हामीलाई । यति धेरै व्यक्तित्वकी धनी हाम्री दिदी कसरी कमजोर हुन सक्नुहुन्छ म भन्दा ?

हामी सानो हुँदा बुवा परदेशमा हुनुहुन्थ्यो । आमा पनि कामको सिलसिलामा निकै लामो समयसम्म घर बाहिरै रहनुभयो । कान्छी बहिनी मावल बस्थिन् त्यसबेला । दिदी र म मात्र थियौँ घरमा । त्यसबेला पनि मैले दिदीको रक्षा गरेको होइन कि बरु दिदीको संरक्षणमा म बसेको थिएँ । कसैसँग कतै झगडा परे म दिदीसँग गुहार माग्न जान्थेँ । म स्कूल जानेबेला दिदीले मलाई तयार गर्नुहुन्थ्यो र मेरो हात समाएर स्कुलसम्म पुर्याउनुहुन्थ्यो । स्कुलबाट घर आएपछी दिदीले बनाएको नास्ता खाएपछी दिदीकै सहयोगमा मात्र मेरो गृहकार्य सकिन्थ्यो । उमेरले दुई वर्ष मात्र फरक भए पनि दिदी सँधै ठूली हुनुभयो मेरो लागि । सँधै परिपक्व अनि सँधै प्रौढ । अनि अहिले आएर मैले दिदीको रक्षा गरुँला भन्ने कुरामा कसरी छाती फुलाउन सक्छु र म ?

यी यावत कुराहरू मनमा खेलाउँदै गर्दा अर्को कुरा पनि सोच्न बाध्य हुन्छु म, ‘के आखिर सम्पूर्ण चेलीको रक्षा दाजुभाईले नै गरिरहेका छन् र ? के हाम्रा चेली आत्मरक्षाका काबिल छैनन् ? अनि फेरि जो दिदीबहिनीको दाजुभाई नै छैनन् उनीहरू सुरक्षित नै छैनन् र ? कञ्चनपुरकी निर्मला पन्त हुन् या उदयपुरकी एन्जिला खड्का । काभ्रेकी एलिसा तामाङ हुन या पोखराकी श्रेया सुनुवार । कैलालीकी माया बिक हुन् या धनुषाकी मनिता यादव उनीहरूले आफ्नो रक्षाको लागि भाईटीका लगाएनन् होला र ?

मेरा घरमा पनि दुई निर्मलाहरू छन् । र, तिनीहरूलाई एकदिन आँखामा आँखा जुधाएर म भन्न चाहान्छु, ‘तिम्रो देश, तिम्रो दाईको र भाईको देश, तिमीहरूको लागि सुरक्षित छ’ भनेर ।

प्रत्यक वर्ष रक्षा बन्धनमा आफ्नो रक्षाको लागि दाजुभाईको हातमा राखी बाँधेनन् होला र उनीहरूले ? यदि यसो होइन भने किन भएन त उनीहरूको रक्षा ? किन लुटिए र मारिए त उनीहरू फेरि ? आफ्नो चेलीको रक्षार्थ सप्तरंगी टीका लगाएकाहरूले नै किन गर्दैनन् त अरु चेलीको रक्षा ? के उनीहरूमा त्यो जिम्मेवारी छैन र ? एकान्तमा भेटिएकी एक्ली नारी चाहे ती बालिका हुन या वयस्क कुनै पनि छोरा मान्छेको लागि मौका होइन, जिम्मेवारी हो भन्ने कुरा किन सिक्दैनौं हामी ? यो त केवल नारीलाई सँधै कमजोर र दुर्बल सम्झने तुच्छ मानसिकता बोकेका मानवरुपी दानवहरूको कुकृत्यको पराकाष्टा हो । अनि फेरि रक्षा गर्ला भनी भाईटीका लगाइदिएका आफ्नै माइतीबाट लुटिएका चेलीहरूको कैयौँ उदाहरण छैनन् र हामीकहाँ ?

यस्ता घटनाक्रमहरू सम्झिरहँदा म दिदीबहिनीको आँखामा आँखा जुधाउन सक्दिन । म पनि यही समाजमा हुर्किएको मानिस । मेरो दिमागमा पनि पितृसत्तावादी संकुचित विचारहरू अझै छन् जसलाई फुत्त उखेलेर फालिहाल्न पनि दिंदैन मेरो मानसिकताले । फेरि त्यसलाई दिमागमा राखिरहन पनि एउटा अर्कैखाले बोझको महसुस गरिरहन्छु म ।

म परिवर्तन चाहान्छु, बदलाव चाहान्छु । मेरा मात्र होइन, सम्पूर्ण चेलीहरूलाई सुरक्षित हेर्न चाहान्छु । अब कुनै पनि निर्मला, एलिसा, एन्जिला, माया, मनिषा र श्रेयाहरू असुरक्षित नहोउन् भन्ने चाहान्छु म ।

मेरा घरमा पनि दुई निर्मलाहरू छन् । र, तिनीहरूलाई एकदिन आँखामा आँखा जुधाएर म भन्न चाहान्छु, ‘तिम्रो देश, तिम्रो दाईको र भाईको देश, तिमीहरूको लागि सुरक्षित छ’ भनेर ।

भोलिपल्ट बिहान दिदीबहिनी सुतिरहेकै अवस्थामा म आफ्नो कर्मस्थलतिर लाग्छु । उनीहरूलाई ‘म गएँ है !’ भनेर बिदा माग्ने हिम्मतसम्म हुँदैन मसँग ।

    Comment Here!

Related NEWS
मुख्य खबर

आफ्नै कथा विमोचन गर्नुभो हजुरआमाले

पुस्तकमा ८० वर्ष कटेका महिलाका कथा समेटिएको छ । किताबमा समेटिएका पात्रहरू (हजुरआमा)ले नै किताब

संचारिकाका पहिलो निर्वाचित अध्यक्ष बन्दना राणालाई जनसेवा श्री

-महिला खबर- संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने राणा नै पहिलो नेपाली हुन् ।

नेपालको पहिलो रेस्लर महिला भगवतीलाई सुप्रवल जनसेवा श्री

राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान

पत्रकार पण्डित र पुन सुप्रवल जनसेवा श्रीबाट विभुषित हुने

-महिला खबर- यो सम्मान आगामी बैशाख महिनामा प्रदान गरिने छ ।

संविधान दिवसमा प्रधानमन्त्रीले यसो भने (मन्तव्यको पूर्ण पाठ)

धेरै पटक भनेको छु, मैले मृत्युलाई नजिकैबाट देखेको छु । जनबोलीमा भन्नुपर्दा पटक–पटक मरेर बाँचेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: