तिहारमा खाली निधार हुनुको पीडा


प्रकाशित मिति :2018-11-06 16:55:09

–इन्द्रसरा खड्का–

ललितपुर । मेरो नाम जयराज अवस्थी हो । घर बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ६ मा पर्छ । हामी ५ जना दाजुभाई छौँ ।

तिहार एकदमै मन पर्ने चाँड हो । गाउँघर नै झिलीमिली हुन्छ । देउसी भैलो खेलिन्छ । तर भाईटीका दिन चाहिँ निकै मन अमिलो हुन्छ । दिदीबहिनी नहुँदाको पीडा महसुस हुन्छ ।

सबैको निधारमा टीका र गलामा माला भइरहेको बेला मेरो निधार खाली हुन्छ । मन चसक्क हुन्छ । बहिनी नभएकोमा दुःख लाग्छ ।

दिदीबहिनीको महत्व के हो यो दिनले बुझाउँछ । लगातार ४ वर्ष भयो कार्यक्षेत्रबाट घर नगएको । तिहारबाहेक अन्य चाँड पर्वमा बिदा मिलाएर घर जान्छु । तर तिहारमा घर जानै मन लाग्दैन ।

पहिले सानो छँदा दिदी (ठूलाबुवाको छोरी)हरूले टीका लगाइदिन्थे । अब उनीहरू पनि बिहे गरेर गए । कहिले आउँछन्, कहिले आउँदैनन् । दिदीबहिनी नहुँदा हरेक चाँडबाँड खल्लो नै हुन्छ । भाईटीकामा त आँसु नै थाम्न सक्दिन ।

लक्ष्मी पनि महिला हुन् । मूर्तिमा महिलालाई पूजेर मनाइने पर्वमा घरमै लक्ष्मी नहुँदा कसरी तिहार रमाइलो हुन्छ ? साच्चै छोरी नहुने घर त घर जस्तै नहुँदोरहेछ । दिदीबहिनी नहुँदाको अवस्थाले गर्दा पनि होला मलाई छोरी मान्छेप्रति निकै ईज्जत छ ।

नभई नहुने सम्बन्ध

मेरो नाम बिजय खड्का हो । मेरो घर अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ हो । हामी ४ भाई छोरा मात्रै छौँ, दिदीबहिनी छैनन् ।

बहिनी नभएको महसुस तिहारले बढी गराउँछ । दिदीबहिनीले भाईको दीर्घायुको कामना गर्दै आशिष दिँदै टीका लगाउँछन् । यो बेला थाहा हुँदोरहेछ दिदीबहिनीको आवश्यकता र महत्व त ।

दिदीबहिनीका लागि दाजुभाई, दाजुभाईका लागि दिदीबहिनी । नभई नहुने सम्बन्ध रहेछ यो । एकबिना अर्को अपुरो । तिहारको बेला गाउँघर र शहरबजारको वातावरण जति झिलीमिली र रंगिचंगीे हुन्छ, मेरो मन त्यो भन्दा बढी धमिलो र अमिलो हुन्छ । असाध्यै नियाँस्रो लाग्छ ।

सबैको घरमा दिदीबहिनीले टीकाको अघिल्लो दिननै माला गाँस्न फूलको खोजी गर्छन् । घरै रमाइलो हुन्छ । मलाई मेरो घर नै शून्य र सुनसान लाग्छ । नरमाइलो लाग्छ ।

२५ वर्ष देखि निधार खाली

मेरो नाम धनिराम शर्मा । घर दाङको घोराही नगरपालिका वडा नम्बर १० मा हो । दाजुबहिनीको सम्बन्ध माया ममता कती आवश्यक हुन्छ म जस्ता दाईभाईलाई थाहा हुन्छ ।

हामी ५ जना दाजुभाइ छौँ । दिदीबहिनी छैनन् । २५ वर्ष भयो निधार खाली रहेको । सानोमा गाउँमा छदा तल्लो, माथ्लो घरका दिदीबहिनीहरूले टीका लगाइदिन्थे । रोल्पाबाट बसाईसरी यता आएदेखि निधार खाली छ ।

दिदीभाईको आत्मियता, माया प्रकट गर्ने दिन नै भाईटीका हो । यस्तो सौभाग्य प्राप्त गर्न नपाउँदा मन खिन्न भएर आउँछ ।

छोरी, दिदीबहिनी बिनाका हरेक चाँडबाँड प्राय खल्लो नै हुने रहेछन् । यी चाँडबाँड मध्ये टीका अझै महत्वपूर्ण पर्व लाग्छ । दिदीबहिनीबाट दीर्घायुको आशिष दिई, मखमली सयपत्री फूलहरूले रंगिचंगी हुने दिनमा एकान्तमा जान्छु । सकभर कुनै आफन्तले नदेखेको भए हुन्थ्यो जस्तो लाग्छ । निरास लाग्छ पर्व ।

छोरी चेलीलाई लक्ष्मीको रुपमा सम्मान गर्न सिकाएको छ हाम्रो संस्कृतिले । त्यो सौभाग्य मेरो नहुँदा सधै अधुरो, अपुरो जस्तै महसुस हुन्छ । दिदीभाईको सम्बन्ध अतुलनीय हुन्छ । यसको कुनै मापन नै हुँदैन ।

दसैँ आउँदा खुसी हुने मन, तिहार आउँदा अमिलो हुनु दिदीबहिनी नभएरै हो । त्यसैले पनि म तिहार आउँदा कहिल्यै घर जान्न । मलाइ दाईभाई नहुने सौभाग्य नभए पनि दिदीभाई हुने सबै जनाको तिहार सुखद्होस सुभकामना ।

खल्लो महसुस हुन्छ

मेरो नाम नरेन्द्र खड्का हो । घर गोदावरी नगरपालिका वडा नम्बर १ कैलाली हो । हामी ३ जना दाजुभाइ छौँ । कहिले स्वदेश भईन्छ, कहिले प्रदेश ।

स्वदेश भएको बेला अंकलका छोरीहरूले टीका लगाउँछन् । विदेश भएको बेला त निधार खाली नै हुन्छ । तिहार त विदेशमा भए पनि दिदीबहिनीहरू भईदिए हुन्थ्यो भन्ने महसुस हुनेरहेछ ।

घरमा दिदीबहिनी हुँदाको रौनक नै बेग्लै हुँदोरहेछ । आफ्नै दिदीबहिनी नभएकोमा खल्लो महसुस त भइहाल्छ नि ।

दिदीबहिनी भए जस्तो नभएको कहाँ रमाइलो हुन्छ र । तिहारमा त झन् धेरै महसुस हुन्छ दिदीबहिनीको महत्व ।

    Comment Here!

Related NEWS
मुख्य खबर

धर्ना बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्था बिग्रदै

धर्नामा बसेका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र कान्छी आमा लक्ष्मी पन्तको स्वास्थ्य अवस्था

छात्रालाई सेनेटरी प्याड

सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको छ ।

एन्जिना हत्या घटनाः दुई बालक सार्वजनिक

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी दिएका

बाल गृह र घरबाट भागेका ६ बालबालिका परिवारको जिम्मा

अधिकारको लागि बाल संरक्षण केन्द्र (सीपीसीआर) बाट भागेका चार बालक र घरबाट भागेका दुई बालिका

न्यूयोर्कमा पत्रकार मच्छेदेवी सम्मानित

अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुँदै आएको नेपाली पत्रिका एभरेष्ट टाइम्स १० वर्ष पुरा भई ११ औ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: