त्यो अन्तिम टीका


प्रकाशित मिति :2018-11-06 16:16:05

मखमली फुल्यो सयपत्री फुल्यो, बारीको डिलैमा
सम्झाउँदै मुहार दाजु र भाईको फेरि यो तिहारैमा
झिली र मिलि बत्ति हो बल्दा, त्यो पारी गाउँमा
बालुला दियो म पनि मेरै, स्यानो यो झुपडीमा ।

बनाउ न छोरी लक्ष्मीको पाइला, भन्दा त आमाले
म मुस्कुराउँदै अघि बढ्थे, टेक्दै मेरा पाईलाहरुले
यो मेरो जिद्दी छोरी नि कहिले भै नसुध्रिनी
त्यस्तै हो आमा तिम्रो नि लक्ष्मी, कहिले नभित्रिने ।

रुपा थापा

खेल्दै आउलान् देउसी र भैलो, मेरा नि आँगनीमा
नाचुलासंगै म पनि त त्यो, मादलुको तालैमा
दिलाउँछ याद त्यो बालापनको, भन्दै छिन् ठुल्दिदी
लाग्यो नि होला बजारमा मेला, भन्दै छिन ठुल्दिदी ।

सेताम्य केश घट्दो छ बल, नौ नाडी गलाउँछ
यो तिहारैमा देउसी र भैलो, संगसंगै नाचिन्छ
अर्को साल त के होला फेरि, मरिन्छ बाँचिन्छ
चिटिक्क पारी यही झुपडीमा, दियो नि बालिन्छ
कुटेर चामल यही ढीकिमा, सेलरोटी नि पकाइन्छ ।

थला परिन रे मेरी दिदी त भन्दै छन्, माथ्ला घरे काकाको
टक्टकाउँदै त्यो ज्वारी कोट र मिलाउँदै त्यो टोपी ढाकाको
यो लौरी टेक्दै जाने हो नि म त भाई टीका लाउनलाई
दिदीको हातको त्यो आशिष फेरि थापेर आउनलाई
वर्ष र दिनको यो चाड तिहारको बेलैमा
खबरै गरी पठाकी छिन् मेरी दिदीले फोनैमा
पर्दैन भाइ दक्षिणा दिन त आए हुन्छ है
भन्या छु दिदी मखमली माला उनेर राखे है
त्यो थालीमा सप्तरंगी टीकालाई सजाई राखे है ।

देखाउदै त्यो थोते दाँतलाई, सम्झिदै बालापन
गन्थन गर्दै त्यो आँगनीमा, घाम नि तापुला
बितेछ जोवन भनेर फेरि, संगसंगै हाँसुला
एकपल्ट फेरि त्यो तिम्रो काखमा, शीरै यो राखुला
अन्तिम बाजी त्यो तासको पत्ता, संगसंगै खेलौला
हारिछस् भनि ए दिदी फेरि, जिस्काउदै भागुला
समाउँदै हात एकपल्ट फेरि, त्यो बजारै घुमौला
थापेर च्याखे त्यो कौडाको खालमा, भाग्य यो आज्माउला
एक पल्ट फेरि देउसी र भैलो, संगसंगै खेलौला ।

अन्तिम त्यो टीका ए दिदी तिम्रो, हातको लगाउँदै
कसरी फर्किउ ए दिदी फेरि, यो लौरी टेक्दै
जान्छु ल दिदी भनेर तिम्रो, चित्त त बुझाएँ
तैले नि लुकाइस् आँसुको धारा, मैले नि लुकाएँ
हेर्छेस् कि फेरि फर्केर भनि, सुटुक्क चिह्याए
डाँडाँको जुन बनेर संगै, तिहार नि अस्तायो
मखमली माला त्यही आँखी झ्यालमा झरेर बिलायो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

धर्ना बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्था बिग्रदै

धर्नामा बसेका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र कान्छी आमा लक्ष्मी पन्तको स्वास्थ्य अवस्था

छात्रालाई सेनेटरी प्याड

सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको छ ।

एन्जिना हत्या घटनाः दुई बालक सार्वजनिक

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी दिएका

बाल गृह र घरबाट भागेका ६ बालबालिका परिवारको जिम्मा

अधिकारको लागि बाल संरक्षण केन्द्र (सीपीसीआर) बाट भागेका चार बालक र घरबाट भागेका दुई बालिका

न्यूयोर्कमा पत्रकार मच्छेदेवी सम्मानित

अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुँदै आएको नेपाली पत्रिका एभरेष्ट टाइम्स १० वर्ष पुरा भई ११ औ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: