हजुर आमाकाे खुसी


प्रकाशित मिति :2018-10-30 13:16:43

-सुजाता ढुंगाना-

भदाले सोध्छ, ‘फुपू, आमाले कति कक्षा पढ्नु भा’छ ?’

म चुप रहन्छु । आमा (हजुर आमा)ले विद्यालय जाने अवसर पाउनु भएन । आमाको पालामा अहिले जस्तो छोरीलाई पढ्न स्कूल थिएन ।

मेरो दाहिनेपट्टि बस्नु भएको हजुर आमा बोल्नु हुन्छ ।

‘मैले ८९ वर्ष पढेँ ।’ म सोच्दै थिएँ, आमाले ठिकै भन्नुभो ।

भदाले आमाको कुरा नपत्याए झैँ मबाट स्पष्ट हुन सोध्यो, ‘फुपू त्यत्रो धेरै पनि पढाइ हुन्छ र ? आमाले कहाँ पढ्नुभो त्यत्रो ।’ म फेरि अवाक् भएँ ।

आमातिर पुलुक्क हेरेँ, आमाले फेरि भाईलाई घरबाट २ सय मिटर पर रहेको बिम्माको कुटीतिर (गिता पूज्नेहरूले पाठ गर्ने ठाउँ) हेर्दै भन्नुभयो ‘मैले गिताको विद्यालयमा पढेँ ।’

आमाले ठिकै भन्नुभएको थियो । आमाले आफ्नै जिन्दगी पढ्नुभएको थियो । गिताका अक्षरहरू प्रत्येक दिन पढ्नुहुन्थ्यो । जिन्दगीको नियम राम्रोसँग बुझ्नुभएको थियो ।

जुन मैले अहिले आधुनिक भनिएका, देशको उत्कृष्ट भनिएको त्रिभुवन विश्व विद्यालयमा पढ्दा पनि पाईराखेको हुन्न थिएँ । त्यही भएर मैले कुरा गर्दै गर्दा म भन्दा उमेरले १९ वर्ष कान्छो भदालाई सँगै राखेको थिएँ ।

ता कि उसले चाहेर वा नचाहेरै पनि बुढाबुढीका कुरा सुन्न सकोस् । पुराना कुरा बुझ्न सकोस् । उहाँहरूको योगदानको कदर गर्न सिकोस् ।

म यस्तै सोच्दै थिएँ,

उसले फेरि आमालाई सोध्यो, ‘आमा तपाईंको मन पर्ने कलर कुन हो ?’

आमाले कलर बुझ्नुभएन । मैले आमाको मन पर्ने रंग रातो भनेँ ।

आमाले मलाई सपार्नुभयो । ‘हैन हैन, मलाई रातो मन पर्दैन ।’ हरीयो रंगको सारी देखाउँदै भन्नुभयो, ‘मलाई यो रंग असाध्यै मन पर्छ ।’ म त छक्क परेँ ।

६ वर्ष अघिसम्म रातो रंग आमाको असाध्यै प्रिय थियो । कसरी मन पर्ने रंग बद्लियो ।

बिहानको कुरा सम्झिएँ । बाहिरको खाटमा गलैंचा ओच्छ्याउन लाग्दा आमाले यो रातो तिमीहरूको कोठामा ओच्छ्याउ । बाहिर हरियो राम्रो देखिन्छ भन्दै गरेको ।

सकभर रातो छुन नपरे हुन्थ्यो, रातोमा बस्न नपरे हुन्थ्यो जस्तो गर्नुभएको थियो आमाले । मानौँ आमा र रातो रंगको दुस्मनी छ । जुन आमा आफूसँग भएको स्वीकार गर्न चाहानु हुन्न ।

अँ, मैले सम्झिएँ ।

५ वर्ष अघिको घटना । त्यो पुषको महिना, हजुरबुबाको मृत्युभएको दिन । घर वरिपरि मान्छेको भिड थियो । मान्छेको भिड के भन्नु, हजुरबुबालाई घाटसम्म लैजान तयार भएका मलामीको भिड थियो ।

आमाले सिउँदोमा लगाउनु भएको सानो सिउँदोको सिन्दूरको रंगमा समेत सबैले आँखा गाडेका थिए, आमालाई सबै राताकुरा हजुरबुबाको शवमाथि चढाउन भन्दै थिए ।

हो त्यही दिनबाट हो आमाले आफ्नो सबैभन्दा मन पर्ने रंगबाट टाढा बस्न थाल्नुभएको । जिन्दगीको प्रिय रंग हजुरबुबाको शवमा चढाएपछि त्यसबाट टाढिनुभएको । अर्थात रातोलाई तिलाञ्जलि दिनुभएको ।

अनि बुझेँ, आमाले ८९ वर्षको जिन्दगीबाट धेरै कुरा जान्नुभएछ । आमाले स्कूल जान पाउनुभएन, तर छोरछोरीलाई स्कूल पठाउन जान्नुभयो । ७ वर्षको उमेरमा डोली चढेर पराई घर आएपछि पराई घरलाई आफ्नै घर बनाउन पनि जान्नुभयो । १८ वर्षको उमेरमा बुवाआमा गुमाएपछी एक्लै जिन्दगी बाँच्न जान्नुभयो ।

सबैभन्दा ठूलो कुरा त आमाले आफ्ना खुसीका रंग बदल्न जान्नुभयो ।

खुसीहरू आउने बाटो खुल्ला गर्न जानेनौं । खुसी आउने झ्यालका पल्लाहरू खुला गर्न जानेनौं । तर भौँतारिरहेका छौं कि खुसी हरायो भनेर । खुसी नासियो भनेर र एउटा मान्छे जिन्दगीमा नहुँदा खुसी सकियो भनेर ।

आमालाई असाध्यै माया गर्ने बुवाआमाले संसार छोडेपछि हजुरबालाई हेरेर खुसी हुन जान्नुभयो । आफ्ना बाआमा बितेपछि उहाँ बा (श्रीमान)लाई हेरेर खुसी हुनहुन्थ्यो, तर उहाँले पनि साथ छोडेपछी हामीलाई हेरेर खुसी हुन जान्नुभयो । आफ्ना सन्तानलाई हेरेर खुसी हुन थाल्नुभयो । अरुका खुसीमा आनन्द मान्नुभो ।

हो, हाम्री आमाले खुसी बदल्न जान्नुभो । खुसी हुन चाहानुभयो र त खुसी हुनुहुन्छ । जुन हाम्रो पुस्ताले कहिल्यै यसरी खुसी बदल्न जानेन । उहाँले जसरी आफूलाई माया गर्न जान्नुभो, त्यसरी हामीले जानेनौं ।

खुसीहरू आउने बाटो खुल्ला गर्न जानेनौं । खुसी आउने झ्यालका पल्लाहरू खुला गर्न जानेनौं । तर भौँतारिरहेका छौं कि खुसी हरायो भनेर । खुसी नासियो भनेर र एउटा मान्छे जिन्दगीमा नहुँदा खुसी सकियो भनेर ।

नभए किन मान्छेहरू एक्लिन्थे ? किन सम्बन्धहरू टुक्रिन्थे ? किन बेग्लिन्थे र एउटै यात्रामा पनि फरक भएर । एउटै नदीका दुई किनार भएर ।

साँझ झमक्क पर्यो ।

भित्रबाट भाउजूको आवाज आयो, ‘आरोग्य आमालाई जप गर्न भन । खाना खानेबेला हुन लाग्यो ।’

आमा दिनको दुईपल्ट जप गर्नुहुन्थ्यो । आमा चुपचाप जप गर्न थाल्नुभो ।

हामी मौन बस्यौँ । आमाको ज्ञानको मौनताले हामीलाई छोप्यो । भदा उफ्रदैँ तुलसाको मठतिर लाग्यो । म भने आमाले छोप्नुभएको अनुहार भित्रबाट गुन्जिरहेको आवाज सुन्न थालेँ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

धर्ना बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्था बिग्रदै

धर्नामा बसेका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र कान्छी आमा लक्ष्मी पन्तको स्वास्थ्य अवस्था

छात्रालाई सेनेटरी प्याड

सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको छ ।

एन्जिना हत्या घटनाः दुई बालक सार्वजनिक

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी दिएका

बाल गृह र घरबाट भागेका ६ बालबालिका परिवारको जिम्मा

अधिकारको लागि बाल संरक्षण केन्द्र (सीपीसीआर) बाट भागेका चार बालक र घरबाट भागेका दुई बालिका

न्यूयोर्कमा पत्रकार मच्छेदेवी सम्मानित

अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुँदै आएको नेपाली पत्रिका एभरेष्ट टाइम्स १० वर्ष पुरा भई ११ औ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: